Mongolia

‘कुमारीत्व परीक्षण’ विरुद्ध महिला छात्राको विद्रोह

छात्राहरु र अभिभावकहरुका अनुसार संयुक्त राष्ट्रबाट निन्दित, जबरजस्ती गरिने परीक्षणले महिलाहरुलाई आघात पुर्‍याउँछ। विद्यार्थी अभियानकर्ताको समूहले यसको अन्त्य होस् भन्ने चाहेका छन्।

Read this story in

Publication Date

Female Students Revolt Against ‘Virginity Tests’

खोर्लु खुख्नोखोइ, जिपिजे मंगोलिया

सामाजिक लान्छनाको कारण गोप्य रहन चाहने एक महिला विद्यार्थी भन्छिन् कि उनका स्कूलका डाक्टरहरु गर्भवती भएको र यौन संचारित रोगहरुको जाँच गर्नुअघि केटीहरूबाट अनुमति लिंदैनन्।

Publication Date

अर्डिनेट, ओर्खन प्रान्त, मंगोलिया —सन् २०१९ को अक्टोबरमा दिउँसाेकाे घण्टी बजेपछि केटीहरुले स्कूल छुट्टी भएकाे ठाने । घर जान तयार भएका बेला शिक्षकहरुले बस्न लगाए । उनीहरुले डाक्टर भेट्नुपर्ने भयाे ।

त्यतिखेर १० कक्षा पढ्दै गरेकी खलिउन खुरल्बटो छक्क परिन् । कसैले पनि उनीहरुलाई चिकित्सकलाई भेट्नुपर्नेबारे भनेको थिएन, न त अनुमति नै लिएका थिए।

अफिस अगाडि उनीहरु लाइन लागेर बसे र एक-एक गर्दै भित्र छिरे । दुईजना डाक्टरले सेताे गाउन र प‌न्जा लगाएकाे उनी सम्झिन्छिन् । एउटा कुर्सी र सानो अल्ट्रासाउन्डको मेशिन सँगै राखिएको थियो। डाक्टरले खलिउनलाई आफ्नो प्यान्ट र भित्री वस्त्र खोल्न लाए।

“परीक्षण चलिरहँदा मलाई लुगा लगाउन मन थियो,” खलिउन भन्छिन्। यसो भनिरहँदा उनकाे आवाज मसिनाे भइरहेकाे थियाे । “हामी सबैजना एकदम दुःखी थियाैं ।”

रिसले आगो भएकीले यस्ता कुमारीत्व परीक्षण भनाउँदा जाँचहरुको अन्त्य गर्न पहल गरिएको एक आन्दोलनमा उनी सामेल भइन् ।

सन् २०१८ मा, संयुक्त राष्ट्रले याे विश्वव्यापी अभ्यासलाई किशाेरीहरुलाई अपमान गर्ने, मनोवैज्ञानिक आघात पुर्‍याउने र यौन अधिकार उल्लङ्घन गर्ने हिंसारुपी कार्यका रुपमा निन्दा गर्‍याे। तर मंगोलियाका केटीहरुका अनुसार यस्ता परीक्षण कहिल्यै सकिएनन्।

“यी किशोरीहरुका स्कूलका जाँचबारे कसैले वास्ता गरेनन्,” १८ वर्षकी मायाग्मर्सुरन ज्ञान्सुक भन्छिन्। उनी राष्ट्रियस्तरमा आन्दोलनको पहल गर्ने यङ भ्वाइसेज् ग्रुपको नेतृत्व गर्छिन् जसमा खलिउन जोडिएकी थिइन्। “हामीले आफै यसको विरोधमा आवाज उठाउने निर्णय गर्‍याै‌ं ।”

expand image
expand slideshow

खोर्लु खुख्नोखोइ, जिपिजे मंगोलिया

कक्षा १२ की विद्यार्थी मायाग्मर्सुरन ज्ञान्सुक “काैमार्य‍‍‍ ‍‍परीक्षण” भनाउँदा अभ्यासको विरोध गर्ने राष्ट्रिय विद्यार्थी संगठन यङ भ्वाइसेज् ग्रुपको नेतृत्व गर्छिन्।

आधिकारिकरुपमा, डाक्टरहरु खलिउन र उनका साथीहरुलाई गर्भवती भएको र यौन संचारित रोगहरुको लागि जाँच्दै थिए, जुन अभ्यास मंगोलियामा १९९० ताका मौलाएको थियो। बालिकाहरु १५ वर्ष पुगेपछि परीक्षण शुरु हुन्छ र स्कूल नसकिएसम्म वार्षिक रुपमा चलिरहन्छ। आधिकारिक राष्ट्रिय नीति नरहेतापनि स्कूलहरुमा अहिले पनि यस्ता जाँचहरु व्यापक स्तरमा गरिन्छन्।

विगतमा यस्ताे हुने देशमा म‌ंगाेलिया मात्र थिएन । “महिला र बालिका विरुद्ध जताततै हुने हिंसा अन्त्य गर्न विश्वव्यापी आह्वान गर्दै” विश्व स्वास्थ्य संगठन, युएन वुमन र संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगले यी जाँचहरुलाई “विश्वभरिका कम्तिमा पनि २० देशहरुमा लामो समयदेखिको चल्दै आएको परम्पराझैं रेकर्ड गरिएको” भनेर उल्लेख गरे।

उनीहरुका भनाइले जाँचहरुलाई “चिकित्सकीय रुपमा अनावश्यक, प्रायःजसो पीडादायी, अपमानजनक र अन्त्य हुनैपर्ने दर्दनाक अभ्यास” को रुपमा आक्रमण गरेको छ।

गत वर्ष, मायाग्मर्सुरनको समूहले अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेन र राष्ट्रिय परामर्श, वकालत र प्रशिक्षण समूह द प्रिन्सेस सेन्टर टु प्रोटेक्ट द राइट्स अफ गर्ल्स एन्ड यङ विमनसँगको साझेदारीमा “गर्ल्स भ्वाइसेज्” सर्वेक्षणको नेतृत्व गरेको थियो।

सर्वेक्षणले मंगोलियन केटीहरुलाई पहिले नै थाहा भएको कुरा प्रमाणित गर्‍याे: स्कूलहरुले अझै कुमारीत्व परीक्षण गरिरहेका थिए। ७२ प्रतिशतले जाँचको लागि आफ्नो अनुमति नदिएको बताए। दुई-तिहाई सहभागीहरु जस्तोसुकै परिस्थितिमा पनि यस अभ्यासको विरुद्धमा थिए।

“परीक्षण गर्नुअघि किशोरीहरुलाई कुनै पनि जानकारी दिइ‌ँदैन,” आठ कक्षामा पढ्ने १४ वर्षकी उजिन सैन्खु भन्छिन्। “शिक्षकहरु पनि, ‘खुरुक्क गर न’ भन्छन्।”

सन् २०१९ को अक्टोबरमा खलिउन र उनका साथीहरु जाँचको लागि कुर्दै गर्दा अलमल परेजस्ता र चिन्तित देखिन्थे, उनी भन्छिन्। अफिसमा एकजना डाक्टरले भने नदुख्ने र डराउनु नपर्ने कुरा गरेका थिए।

जाँच सकिएपछि अल्ट्रासाउन्ड गरियो। त्यो सबै गर्न जम्मा १० मिनेट जति लाग्यो। त्यसपछि डाक्टरले अर्की केटीलाई भित्र पठाउन लगाए।

“अन्जान मान्छेको अगाडि आफ्नो भित्री लुगा खोलेर जाँच गरिनु एकदम अफ्ठ्यारो कुरा हो,” १८ वर्ष पुगेकी खलिउन भन्छिन्। “जब म नाङ्गै थिए, भित्र कोही आउने हो कि भनेर एकदम तर्सिरहेको थिएँ।”

यस परीक्षणको बारेमा उनले खासै कसैलाई भनेकी थिइनन् रे।

स्कूलमा अभिभावकहरुले यसबारे अनविज्ञता जाहेर गरे। चार छोरीकी आमा एरिअनजार्गल लहासरेन भन्छिन्, “हामीलाई परीक्षण सकिएपछि मात्र थाहा हुन्छ। आइन्दादेखि, मलाई मेरो अनुमति विना छोरीहरुको परीक्षण गराउनु छैन।”

शिक्षा र विज्ञान मन्त्रालयका अधिकारीहरुले कुनै जवाफ दिन चाहेनन्। सन् २०१८ मा, मन्त्रालयले पाठ्यक्रममा स्वास्थ्य शिक्षाको साथै प्रजनन स्वास्थ्य पनि थपेको थियो। तर गर्ल्स भ्वाइसेज् सर्वेक्षणमा, प्रायःजसो विद्यार्थीहरुले प्रजनन र यौनका बिषयमा खासै केही नपढेको कुरा बताए।

उत्तरी मंगोलियामा अवस्थित ओर्खन प्रान्तमा रहेको फ्यामिली, चाइल्ड एन्ड युथ डेभलपमेन्ट एजेन्सीमा बाल स्वास्थ्य शिक्षा र युवाका समस्याहरुका विशेषज्ञ बदामखंड टुमुर्बटो यी परीक्षणका पक्षमा छन्: “नियमित चिकित्सा जाँचहरु सञ्चालन गर्नु उपयाेगी हुन्छ।”

त्यस्तै, खलिउनका स्कूलका अर्का डाक्टर ज्ञान्चाईमेग बिलेग्साएखन् पनि यसको पक्षमा छन्। उनका अनुसार परीक्षणहरुले गर्भवती हुन र यौन संचारित रोगहरुबाट बचाउनुका साथै यसलाई अनुसन्धानको लागि पनि प्रयोग गर्न सकिन्छ।

“यो जाँच ठीक ढङ्गले गरिनुपर्छ र किशोरीहरुको स्वास्थ्यको लागि यो राम्रो हुन्छ,” ज्ञान्चाईमेग भन्छन्।

तर धेरै छात्राहरु विमति जनाउँछन्। यो अभ्यासविरुद्ध प्रमुख नेतृत्व गर्ने यङ भ्वाइसेज् ग्रुपमा मंगोलियाभरिका २८ माध्यमिक विद्यालय र विश्वविद्यालयका २५० छात्राहरु रहेका छन्। गत वर्ष, यो ६ वर्ष पुरानो संस्थाले व्यावसायिक संगठनहरुसँगको सहकार्यमा “स्कूल इज नट अ हस्पिटल” भन्ने कार्यक्रमको थालनी गर्‍याे।

यस परियोजना किशोरीहरुलाई प्रजनन स्वास्थ्यको बारेमा शिक्षित बनाउनमा केन्द्रित छ। यसमा ई-लर्निङ्ग कोर्स र फेसबुक पेज छ जहाँ च्याटबोटले उनीहरुलाई प्रजननसम्बन्धी जानकारी र सल्लाहहरु दिन्छ। यसबाट सहयोग पाएका किशोरीहरु २००० भन्दा बढी छन्।

स्कूलहरुले प्रजनन मुद्दाका नीतिहरुमा किशोर-किशोरीहरुलाई सामेल गर्न थाल्नुपर्छ, मायाग्मर्सुरन भन्छिन्। “वयस्कहरुले युवाका विचारहरु नसुन्नु उनीहरुको मानव अधिकार हनन हुनु हो। ”

खस्लन ब्याडमजव १० कक्षामा पढ्ने १६ वर्षीय छात्रा हुन्। उनको एकपटक परीक्षण भइसकेको छ। सर्वेक्षण र “स्कूल इज नट अ हस्पिटल” परियोजनामा सहभागी भइसकेपछि उनलाई “केटीहरुलाई अनुमति विना जाँचिराख्नु पर्दैन” भन्ने महसुस भयो।

अर्को पटक स्कूलका डाक्टरहरुले जाँच्ने कुरा गर्दा, उनी हुन्न भन्ने योजनामा छिन्।

खोर्लु खुख्नोखोइ मंगोलियास्थित ग्लोबल प्रेस जर्नलकी रिपोर्टर हुन्।

अनुवाद नोट: जिपिजेकी अट्गनबटो सेडेनडेम्बेरलले मंगोलियन भाषाबाट यसलाई अनुवाद गरेकी हुन्।

Хөхнохойгийн Хорлоо нь Глобал Пресс Жоурналын Монгол дахь сурвалжлагч.


Орчуулгын тэмдэглэл

Бямбацогтын Номин, ГПЖ, Энэхүү өгүүллийг орчуулсан.

Related Stories