
उरान्चिमेग सोग्खू, जिपिजे मंगोलिया
महामारीमा आफ्ना छोराछोरीलाई अनलाइन लर्निङ्गमा सहयोग गर्न तुमेंदेल्गेर ल्खाग्वाले सेफको जागिर छोडिन्।
दालनझगड, उम्नुगोवी प्रान्त, मंगोलिया — पोहोर सालसम्म पनि तुमेंदेल्गेर ल्खाग्वा एक स्थानीय पावर प्लान्टमा हरेक दिन सयौं कामदारहरुलाई खाना पकाउने सेफको रुपमा काम गर्थिन्। तर महामारीमा स्कूलहरु बन्द भएपछि यी चार सन्तानकी आमा काम छाड्न बाध्य भइन्।
चाइनाको बोर्डरमा रहेको, मंगोलियन प्रान्तको सबैभन्दा ठूलो र सबैभन्दा दक्षिणी विन्दुमा पर्ने उम्नुगोवीमा बस्ने यी ३५ वर्षीया भन्छिन्, “काम गर्न असम्भव नै भयो।”
शुरुमा त प्रयास गरेकी नै हुन्। नौघण्टे कामभन्दा अगाडि नै चार छोराछोरीलाई ख्वाउन र तयार पार्न हरेक दिन बिहान ६ बजे अलार्म बज्थ्यो। अनलाइन पढून् भनेर बूढा सासूससुराको जिम्मा लाउँथिन्। घर फर्केपछि खाना पकाउने, सरसफाई गर्ने र बच्चाहरुलाई होमवर्क गर्न सघाउने गर्थिन् । राति १० बजे सुत्थिन्। तर उनीहरुलाई थप सहयोग चाहिने देखेपछि डिसेम्बरमा तुमेंदेल्गेरले राजीनामा दिइन्।
श्रीमानको जागीरले सेफको अवस्था झनै नाजुक भयो। खानीमा काम गर्ने भएकोले उनी हप्तौं दुर्गम शिविरमा बस्थे। “श्रीमान् काममा गएपछि त म एकल महिलाजस्तै हुन्छु,” उनी भन्छिन्।
श्रीमानहरु घरमा हुँदा पनि मंगोलियन महिलाहरुले घरको भार भने खेप्नुपर्ने हुन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको सन् २०१९ को सर्वेक्षणले महिलाले दिनहुँ झन्डै पाँच घण्टा घरधन्दाजस्ता बेतलबी काममा खर्च गर्ने गरेको पत्ता लगायो। यही कुरा पुरुषको हकमा भने दुई घण्टाभन्दा कम रहेको पाइयो।
कोरोना महामारीले महिलालाई घरभित्रै सीमित राखेको छ। फेब्रुअरीमा तथ्याङ्क कार्यालयले जनाएअनुसार, लकडाउन र दुर शिक्षाले गर्दा महिलाहरुले सामान्य वा विना पारिश्रमिक गरिने बाल स्याहारजस्ता कामका लागि आफ्ना जागीर छाडिरहेका थिए।
फलस्वरुप, श्रमको लैङ्गिक अन्तरमा वृद्धि भएको छ। रोजगारी पाएका पुरुष र महिलाको सङ्ख्यामा भिन्नता आएको छ। तथ्याङ्क कार्यालयका अनुसार, यो अन्तर सन् २०२१ को दोश्रो त्रैमासिकमा १५% रहेको थियो जसमा पुरुषहरुले श्रम शक्तिको ६०% र महिलाहरुले ४५% ओगटेको पाइयो। सन् २०१९ को दोश्रो त्रैमासिकभन्दा यो झन्डै ३% ले बढी हो।
मंगोलिया एउटा उदाहरण मात्र हो। महामारीले संसारभरिका कामकाजी आमाहरुलाई दुःख दिएको छ। वर्ल्ड इकोनमिक फोरमको पछिल्लो लैङ्गिक अन्तर प्रतिवेदनले औंल्याएअनुसार, कोरोना भाइरसका कारण महिलाले पुरुषकोभन्दा उच्च बेरोजगारी दरको सामना गर्नुपरेको छ। त्यसमाथि पनि, काम र घरायसी धन्दाको बोझले बालबच्चा हुनेका लागि भने यो दर झनै तीब्र रहेको छ। लैङ्गिक न्यायको प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसंघको संस्था युएन विमनको गत नोभेम्बरको आँकडाले सूचित गरेअनुसार महामारीले लैङ्गिक समानतामा गरेको २५ वर्षको विकास नष्ट पनि गर्नसक्छ।
मंगोलियाका खोजकर्ताहरु, प्रचलित सामाजिक मान्यताले गर्दा, कोरोना भाइरसका नकारात्मक परिणामलाई उल्ट्याउन देशलाई झनै गाह्रो हुने चिन्ता ब्यक्त गर्छन्।
“यो महामारीमा महिलाले आफ्ना काँधमा थप बोझ बोकेका छन्। उनीहरुसँग अरु केही उपाय पनि छैन,” मंगोलियाको राजधानी उलानबटोरको युनिभर्सिटी अफ द ह्युमनिटीजमा अन्तर्राष्ट्रिय सम्बन्धकी वरिष्ठ प्राध्यापक गान्टुया अरुणसन भन्छिन्।
उनी “लैङ्गिक स्टिरियोटाइप्स, तलबको अन्तर, बाल स्याहार प्रावधान र बेतलबी घरायसी कामकाजमा ज्यादा समय खर्च गर्ने महिलाहरु,” तिर इशारा गर्छिन् जसले महिलालाई पुरुषभन्दा अझ बढी महामारीको जोखिममा पार्छ। गान्टुया मंगोलियामा “लैङ्गिक अधिकार र लक्षित नीति समर्थनको राम्रो बुझाइ” आवश्यक रहेको ठान्छिन् ।
पर्याप्त बाल स्याहारको अभाव नै स्पष्टरूपमा देखिने खाडल हो। कामकाजी अभिभावकको आवश्यकता पूर्ति गर्न राज्यले बाल स्याहार सेवाअन्तर्गत सन् २०१५ मा आफ्नो पहिलो कानून अङ्गिकरण गर्यो। आधिकारिकरुपमा दर्ता गरिएका बाल हेरचाह सेवाहरुलाई पहिलोपटक परिचित गराइयो। राष्ट्रव्यापीरुपमा ५५० भन्दा बढी केन्द्रहरु खोलिएको एक गैरसरकारी संस्था एसोसिएशन अफ चाइल्ड क्यर प्रोभाइडर्सकी बोर्ड सदस्य एन्खजुल मिल्खा बताउँछिन्। राष्ट्रिय मागको तुलनामा थोरै देखिएतापनि, कानून आउनुभन्दा पहिले नै केही बाल हेरचाह केन्द्रहरु भएकोले शुरुमा राम्रै थियो। कोरोना भाइरसको कारण भने छ वर्षपछि झन्डै ६०% बन्द भएको कुरा एन्खजुल जानकारी गराउँछिन्।



पूर्व विद्यालयको समानान्तर अभाव हुनुले पनि बाल स्याहारको आवश्यकता बढाउँछ। सन् २०१७ को सरकारी प्रतिवेदनले ३ देखि ५ वर्षका बालबालिकामध्ये ६८% ले मात्र पूर्व विद्यालय सेवामा पहुँच पाएको जानकारी दियो।
जुलाईमा अपनाइएको श्रम कानून पूर्व विद्यालय वा बाल स्याहार केन्द्रमा थप स्रोतहरु निर्धारित गर्न असफल रह्यो। गत अप्रिलमा भने, महामारीले सरकारलाई लगभग-सार्वभौमिक बाल सुविधाहरु प्रति बालक प्रति महिना २०,००० मंगोलियन तोगरोग ($७) बाट बढाएर १००,००० तोगरोग ($३५) बनाउन उत्प्रेरित गर्याे।
हालै बढेको बाल भत्ता र पूर्व विद्यालय वृद्धि गर्न भइरहेको प्रयासतर्फ इशारा गर्दै नेशनल कमिटी अन जेन्डर इक्वालिटीको सूचना तथा अनुसन्धान विभागकी प्रमुख मिन्जिन त्सेरेंबल्ताव भन्छिन्, “मंगोलियन सरकारले महिलाको रोजगारीलाई सहयोग गर्न नीति तथा निर्णयहरु बनाएको छ।” तर उनी थप्छिन्, “यो अझै पर्याप्त छैन।” मिन्जिन टाढैबाट गर्न सकिने कामलाई एउटा समाधान देख्छिन् र “घरमा बच्चाहरुलाई हेर्दै आमाहरुलाई अनलाइन काम गर्न दिने” नयाँ “इ-नेशन” अभियानतिर संकेत गर्छिन्।
मंगोलियाका झन्डै ३३ लाख मानिस बसोबास गर्ने दुर्गम भेगको समस्या झनै विकराल छ। हाल विद्यमान २२८ बाल स्याहार केन्द्रहरुमध्ये आधाभन्दा कममात्र ग्रामीण क्षेत्रमा रहेका छन्।
ओचमाण्डख सुमियाजस्ता गोठालाका लागि, पूर्व विद्यालय शिक्षा महामारीअघि नै एक चुनौती थियो र त्यतिखेर बाल हेरचाह केन्द्र नगन्य थिए। उनका श्रीमान् पनि खानीमै काम गर्ने भएकोले गर्मीयाममा गाइवस्तु चराउन जाँदा तीन छोराछोरीलाई आफूसँगै लानुबाहेक अरु उपाय हुँदैन।
“गाउँघरतिर हुने घुमन्तेखालका भैदिएका भए मेरो कान्छो छोरोलाई पूर्व विद्यालय पठाउँथे,” अरु मंगोलियन क्षेत्रमा गोठालाका लागि बनाइएका मोबाइल सेवातिर इशारा गर्दै यी ३४ वर्षिया भन्छिन्। तर उम्नुगोवीजस्तो दुर्गम भूमिमा कुनै पनि छैनन् ।
छोराछोरीले शिक्षा पाऊन् भन्ने हेतुले, ओचमाण्डख वर्षभरि जस्तो नै ब्यान्डलाई जिल्लाको शहरी शिविरमा बिताउँछिन् जहाँ कोरोना भाइरस शुरु हुनुअगाडि तीनैजनाले शिक्षा लिएका थिए।
मंगोलियाका केही भागमा धेरै स्कूल र बाल स्याहार केन्द्रहरु सेप्टेम्बरसम्म खुलिसकेका थिए तर उम्नुगोवीमा भने बन्द नै थिए।
तुमेंदेल्गेर बच्चाहरु स्कूल जाने भएपछि आफू काममा फर्किएको सपना देख्छिन्। “मलाई समूहको हिस्सा भएर काम गर्न, कमाउन र श्रीमानलाई सहयोग गर्न मन छ,” उनी भन्छिन्।
जिपिजेकी नान्सालमा ओयोञ्चिमेगले यस लेखमा रिपोर्ट गर्न सघाएकी छिन्। उरान्चिमेग सोग्खू मंगोलियास्थित ग्लोबल प्रेस जर्नलकी रिपोर्टर हुन्।
जिपिजेका अट्गनबटो सेडेनडेम्बेरलले मंगोलियन भाषाबाट यसको अनुवाद गरेका हुन्।