Haiti

हैटीमा कामको यात्रा र ‘मृत्युको बाटो’

हिंसात्मक गिरोहहरुले पोर्ट-औ-प्रिन्स कब्जा गरेपछि उपनगरका बासिन्दाहरूले शहरको केन्द्रमा यात्रा गर्न महँगो मूल्य तिर्नुपरेको छ।

Read this story in

Publication Date

To and From Work on Haiti’s ‘Road of Death’

एन मिरियम बोलिभर, जिपिजे हैटी

सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि हिंसात्मक गिरोहहरूले रुट नेशनल २ का खण्डहरू कब्जा गरेका छन्।

Publication Date

पोर्ट-औ-प्रिन्स, हैटी — सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्या हुनुभन्दा अगाडि, पेलेज फ्रान्कोइसको घरदेखि उनको अटो पार्ट्स आपूर्ति व्यवसायसम्मको यात्रा सीधा थियो। 

उनी मार्टिसेन्टको दक्षिणी जिल्लामा बस चढ्थे, ४० हैटीयन गौरदे (लगभग $०.३८) तिर्थे, मुख्य राजमार्ग हुँदै लगभग १५ मिनेटपछि पोर्ट-औ-प्रिन्स शहरमा पुग्थे। आजभोलि भने काममा जान फ्रान्कोइसलाई १,००० गौरदे (लगभग $९.५०) खर्च र भाँडाको मोटरसाइकलमा लामो अफ्ठ्यारो बाटो भएर जाने भएकोले एक घण्टा जति नै लाग्न थालेको छ। 

“यो बाटो यति धुलाम्य छ कि अफिस छिर्नुअगाडि म साथीको घर छिरेर नुहाउनुपर्छ,” भिर्ने झोला मिलाउँदै मोटरसाइकल पछाडि बस्दै गर्दा फ्रान्कोइस भन्छन्। “तर सबैभन्दा महत्त्वपूर्ण कुरा, म सुरक्षित भएर काम गर्न पाउँछु र जीवितै घर फर्कन्छु।”

हैटीका राष्ट्रपतिको हत्याले ल्याएको अस्थिरताले असुरक्षामा झनै वृद्धि भएको छ। साथै, यात्रुहरुलाई आफ्नो सुरक्षाको लागि चरम र महँगा उपायहरुको अबलम्बन गर्न बाध्य पारेको छ। यस्ता हिंसा मुख्यतया सशस्त्र गिरोहहरूद्वारा गरिन्छ जसले देशमा बलियो सरकार र सुरक्षा बल नहुनुको फाइदा उठाएको छ।

करिब ९५ गिरोहहरु पोर्ट-औ-प्रिन्सका धेरै भागहरुलाई कब्जा गर्न भिंडिरहेका छन्। उनीहरुको हिंसाबाट १५ लाख मानिस प्रभावित रहेको सन् २०२१ को संयुक्त राष्ट्रसङ्घको रिपोर्टले जनाएको छ। त्यस्तै, संयुक्त राज्य अमेरिकामा रहेको मानवअधिकार संगठन इन्स्टिच्युट फर जस्टिस एन्ड डेमोक्रेसी इन हैटी ले हिंसाका कारण करिब १९,००० विस्थापित भएको बताएको छ। 

गिरोहहरूको आम्दानीको एक प्रमुख स्रोत अपहरण हो। सेन्टर फर एनालाइसिस एन्ड रिसर्च अन ह्युमन राइट्स को एक रिपोर्टले जनवरी र मार्चको बीचमा कम्तिमा २२५ अपहरणका घटना भएको फेला पारेको थियो। यो सन् २०२१ को सोही अवधिमा भएको भन्दा ५८% ले बढी हो। 

मोइसको हत्यापछि सुरक्षा स्थिति झन् बिग्रिएको छ र राजधानीमा हिंसावृद्धि भएको छ। मार्टिसेन्टमा गिरोहहरुले रुट नेशनल २ का भागहरु नियन्त्रणमा लिएका छन्। यो रुट देशका चार विभागहरू वा प्रान्तहरू जोड्ने र पोर्ट-औ-प्रिन्सदेखि लेस केस शहरसम्म जाने एउटा प्रमुख राजमार्ग हो। उनीहरुले यात्रुहरुलाई गोली, हत्या, बलात्कार र फिरौतीको लागि अपहरण गर्ने जस्ता कार्यद्वारा आतंकित पारेका छन्। स्थानीय यसलाई “रुट डे ला मोर्ट,” अर्थात् मृत्युको बाटो भन्छन्। 

पोर्ट-औ-प्रिन्सस्थित एक मानव अधिकार समूह रेसेउ नेशनल डे डिफेन्स डेस द्रोइट्स ह्युमेन्सले फेब्रुअरीमा प्रकाशित गरेको एक प्रतिवेदनका अनुसार, विगत चार वर्षमा ३,२९४ हत्याका घटना घटेका छन्। 

“यो बढ्दो असुरक्षा जनताको सुरक्षा सुनिश्चित गर्न अधिकारीहरू असफल रहनुको परिणाम हो,” समूहका कार्यकारी निर्देशक पियरे एस्पेरेन्स भन्छन्। 

आफ्नो व्यवसायको लागि सामान किन्न रुट नेशनल २ मा २० वर्षभन्दा बढी दिनहुँजस्तो यात्रा गरेकी एक व्यापारी रोजलोर ओसिअन स्वयंले आतंकको अनुवभ गरिन्। डिसेम्बरको एक दिन उनी पोर्ट-औ-प्रिन्स जाने सार्वजनिक बसमा थिइन्। “हामी चिन्तित भएपनि गाडीको वातावरण भने एकदमै जीवन्त थियो,” ओसिअन भन्छिन्। “हामी गफिंदै, हँसिमजाक गर्दै थियौं।”

“सबैभन्दा महत्त्वपूर्ण कुरा, म सुरक्षित भएर काम गर्न पाउँछु र जीवितै घर फर्कन्छु।”पेलेज फ्रान्कोइस मार्टिसेन्टका बासिन्दा

मार्टिसेन्टमा पुगेपछि ट्राफिक जाम भयो। अचानक, टाढाबाट बन्दुक चलेको आवाज आयो। गाडी चल्दै थियो तर डाकाहरुले गाडीमा जथाभावी गोली हान्न थाले। उनी सँगै बसेकी एक महिलालाई गोली लाग्यो र तिनको तत्कालै मृत्यु भयो। ओसिअन सिटहरु बीचको भुइँमा थुचुक्कै बसिन्। त्यसपछि आँखा खोल्दा, उनले आफूलाई अस्पतालको खाटमा आफ्नो दायाँ तिघ्रामा गोलीले घाउ पारेको अवस्थामा पाइन्।

“बाँच्न पाएकोमा आफूलाई एकदम भाग्यमानी ठान्छु,” ओसिअन भन्छिन्। “त्यस दिनदेखि मैले मानिसहरुलाई मार्टिसेन्टबाट नजान सल्लाह दिने गरेकी छु। सुरक्षित हुन लामै बाटो प्रयोग गर्दा राम्रो हुन्छ।”

हैटीस्थित एक नागरिक अधिकार संगठन, चेमिन लुमियर, युनिटेज ए चेन्जमेन्ट्स सुर सिक्स्टि फाइभ फर्म्सका महासचिव स्टेनली जीन जुलियन मार्टिसेन्टको अहिलेको अवस्था देखेर आफूलाई दुःख लागेको बताउँछन्। यो शान्त उपनगर थियो जहाँ मानिसहरु आफूलाई मन लागेको ठाउँमा स्वतन्त्ररुपमा बाहिर जान सक्थे, उनी भन्छन्। “हामीले मानिसहरूलाई फेरि सुरक्षित भएको महसुस गराउन सक्ने सबै प्रकारका पहलहरूलाई प्रवर्द्धन गर्न आवश्यक छ।”

हैटीको असुरक्षा चाँडै समाप्त हुने कुनै सङ्केत भने देखिंदैन। राज्यको प्रहरी बल सशस्त्र हतियारधारी गिरोहहरूको पछि लाग्न निकै कमजोर अवस्थामा छ, एस्पेरेन्स भन्छन्। हिंसाबाट प्रहरी पनि अछुतो रहन सकेको छैन। सन् २०१८ यता १५३ पुलिस अधिकारीहरूको हत्या भएको छ। यसमध्ये ५४ घटना सन् २०२१ मा भएका थिए।

‘The Young Entrepreneurs Who Refuse to Leave’click to read

“प्रहरीले असुरक्षाको समस्या आफै समाधान गर्न सक्दैन,” एस्पेरेन्स बताउँछन्। “हामीलाई बलियो र विशुद्ध न्याय प्रणाली, सुदृढ सरकार र विधिको शासन अन्तर्गतको राज्य चाहिएको छ। हामीलाई विदेशबाट कुनै सहयोग चाहिंदैन।”

स्कूल शिक्षक जीन-मेरी फर्नी जस्ता केहीको भनाइमा भने बाह्य सहायता विना हैटीयनहरूले गिरोहलाई परास्त गरेको कल्पना गर्न गाह्रो छ। “लुटेराहरु प्रहरीभन्दा बढी नै हातहतियारयुक्त हुन्छन्,” फर्नी भन्छन्। “हाम्रा सहयोगी भनेर दाबी गर्ने देशहरुले हाम्रो पुकारको जवाफ दिनुपर्छ।”

यता हैटीको वैदेशिक नियन्त्रण भने विवादास्पद छ। पछिल्ला तीन दशकमा, संयुक्त राज्य अमेरिका, फ्रान्स र संयुक्त राष्ट्रसङ्घका सेनाले स्थिरता सिर्जना गर्ने प्रयास गरेका छन्। उनीहरुको उपस्थितिले स्थिति भने प्रायः बिगारेको छ। उदाहरणको लागि, संयुक्त राष्ट्रसङ्घको १३ वर्षको सेनाद्वारा व्यापक यौन दुर्व्यवहार भएको र हैजाको प्रकोप फैलिएर हजारौंको ज्यान गएको रिपोर्टहरु बाहिरियो।

अटो पार्ट्स डिलर फ्रान्कोइस आफ्नो दैनिक यात्राको लागि २,५००% बढी कहिलेसम्म तिर्न सक्छन् थाहा नभएको बताउँछन्। उनको आम्दानी उनको बिक्रीको आधारमा हुन्छ। कुनै दिन उनी १,००० गौरदे मात्र कमाउँछन् जसमा कुनै नाफा नै हुँदैन।

“हामीलाई मात्र सुरक्षाको अनुभूति र पहिलेजस्तै स्वतन्त्र जीवन चाहिएको छ,” उनी भन्छन्। “अहिले हामी स्वतन्त्र छैनौं। हाम्रा बालबच्चाहरुलाई स्वतन्त्रताबाट वञ्चित पारिएको छ।”

हाललाई, फ्रान्कोइससँग आफ्नो व्यवसाय जारी राख्न काम गर्न जानु बाहेक अन्य कुनै विकल्प छैन।

Anne Myriam Bolivar est journaliste à Global Press Journal en poste à Port-au-Prince, en Haïti.


NOTE À PROPOS DE LA TRADUCTION

Traduit par Ndahayo Sylvestre, GPJ.

Related Stories