Mexico

बाँच्नैकाे लाागि पनि आदिवासी समायोजन अपरिहार्य

एक दशककाे खडेरीले नै शताब्दीऔंका रारामुरी कृषकहरुलाई बैकल्पिक उपाय खोज्न बाध्य बनाएकाे छ ।

Read this story in

Publication Date

To Survive, Indigenous Community Must Adapt — Fast

लेलेट ए. काेन्त्रेरस, जिपिजे मेक्सिकाे

सियरा ताराहुमाराकाे जलवायु परिवर्तनले आग्रिपिना भिनिएग्राजस्ता आदिवासी किसानहरुलाई आय र जलस्रोतका नयाँ उपायहरुको खोजी गर्न बाध्य पारेको छ।

Publication Date

क्रिल, मेक्सिको — सल्लाघारी, हरिण र गाइवस्तुका बथान। फर्सी फलेका खेत, लटरम्म पाकेका मकै र सिमीहरु । आदिवासी रारामुरी आग्रिपिना भिनिएग्रा आफ्नो बाल्यकाल सम्झिन्छिन् । उत्तर–मध्य मेक्सिकोस्थित सियरा ताराहुमारामा उनको बाल्यकाल गुज्रेको थियो।

सन् २०११ को चर्को खडेरीयता भने यी २४ वर्षेको खेतीपाती, वस्तुभाउ र घरायसी प्रयोजनको लागि मनग्य पानी पर्न सकेको छैन । यसैकारण, सन् २०२० मा नेशनल वाटर कमिशनले चिहुआवा प्रान्तको साथै सियरा ताराहुमारामा प्राकृतिक प्रकोपको घोषणा गरेको थियो ।

“हाम्रा पानीका मुहानहरु सुकिसके,” भिनिएग्रा दुखेसो पोख्छिन् ।

शुरुमा त रारामुरी परिवार पानी भर्न हप्तामा धेरैपटक आरारेको तालमा ४ घण्टा उकाली–ओराली गर्ने गर्थे। प्लास्टिकका ड्रम र २-लिटर पानीका बोतलहरु गाडामा राख्दै धकेल्थे । जलवायु परिवर्तनको बढ्दो खतराबाट जोगिन दश वर्षपछि उनीहरुले दीगो आर्थिक र वातावरणीय रणनीतिहरु अपनाएका छन्। यस अन्तर्गत पर्यटन, वस्तु विनिमय प्रणाली, पानी ट्याङ्कीहरु, वन पुनरुत्थान परियोजनाहरु आदि पर्दछन् ।

प्रयास सफल भएमा, मेक्सिकोका अन्य आदिवासी समुदायका लागि यो एक नमूना बन्नसक्छ । सन् २०२० को जनगणना अनुसार यी समुदायले कूल जनसंख्याको पाँच भागमा एक भाग ओगटेको छ । स्टेट इलेक्टोरल इन्स्टिट्युटको जातीय समूह तथा आदिवासी जनजातिकी संयोजक जर्जिना गाओनाका अनुसार, निर्वाहमुखी कृषिमा आश्रित र खडेरी-उन्मुख क्षेत्रमा बसोबास केन्द्रित यी समुदायहरु जलवायु परिवर्तनले प्रभाव पार्ने अति संवेदनशील वर्गमा पर्छन् ।

“बर्षा ऋतुहरु परिवर्तन भएका छन्, समय परिवर्तित भएको छ”, उनी भन्छिन् । जलवायुमा कुनै पनि किसिमको फरकपना—चाहे बर्षा थोरै होस् वा ढिला—उनीहरुको फसलमा असर पर्छ ।

expand image
expand slideshow

लेलेट ए. काेन्त्रेरस, जिपिजे मेक्सिकाे

वस्तु विनिमय सेन्टरको गोदाममा अउराेरा चभेज् बतिस्ता आफ्ना हस्तकला साँट्दा पाएको खानेकुरा बोरामा भर्दै।

रारामुरीजस्ता समुदायहरु बाँधजस्ता बाली उत्पादन सुधार गर्ने सिंचाई परियोजनाको लागि आवश्यक राजनीतिक पहुँच र आर्थिक कोषबाट टाढै छन्, गाओना थप्छिन् । एउटा इनार खन्न करिब १ करोड ३० लाख नेपाली रुपियाँ (रु.) (करिब $१००,०००) र ५ देखि १० वर्षको अनुमोदन प्रक्रिया लाग्छ ।

चिहुआवाकी पूर्व सामाजिक विकास मन्त्री भिक्टर किन्ताना खबरदारी गर्छन्, खाद्य उत्पादनको तीब्र गिरावटले सियरा ताराहुमारामा जटिल कुपोषण र रोगको बढ्दो जोखिम निम्त्याइरहेको छ । जवाफमा, स्टेट कमिशन फर इन्डिजिनस पिपल्सका परिचालन निर्देशक लुइस अक्टाभिओ इहार भन्छन्, सरकारले ५,६०० भन्दा बढी स्थानीय कृषकहरुलाई खडेरी-सहनशील तरिकाहरुको प्रयोगबारे र भिन्नखालका तरकारी र विरुवाहरु उमार्ने तालिम दिइरहेको छ ।

“हामी के चाहन्छौं भने उनीहरुले आफ्नो चलिआएको चलनको साथसाथै आफूलाई मन लागेको खानेकुरा खाने अधिकार पनि जोगाउन् जसले गर्दा आफ्नो रुचिको खानेकुरा खानसक्ने हुन्छन्”, उनी भन्छन् । “मनग्य खान पुगोस् भन्ने हेतुले हामी सलाद र स्विस साग, पालुङ्गो र हरिया वस्तुहरुका बीउ प्रदान गर्छौं ।”

 

expand image
expand slideshow

लेलेट ए. काेन्त्रेरस, जिपिजे मेक्सिकाे

हरेक आइतबार आग्रिपिना एक पसलेलाई खानेकुरा संकलन गर्न सहयोग गर्छिन् जुन विनिमय केन्द्रमा आउने आदिवासी कालिगढहरुलाई दिइन्छ ।

यता ५५ वर्षकी रारामुरी अउरोरा चभेज् बतिस्ता भने आफूले कृषिक्षेत्र त्यागेको धेरै वर्ष भयो भन्छिन्। २३ वर्षको उनको छोरोले मकै र गेडागुडी उत्पादन गर्दै गर्दा उनी आफ्ना दिदीबहिनीहरुसँग मिलेर बास्केट र ब्रेसलेटहरु बुन्नुका साथै बाख्राका छाला काठका ड्रममा बाँध्ने काम गर्छिन् ।

महिनाको एकपटक उनीहरु ट्याक्सीमा ४० मिनेटको यात्रा गरी आफ्ना सामान बेच्न क्रिल शहरमा जान्छन् । यस शहरमा भएका हस्तकलाका पसलहरुले संयुक्त राज्य अमेरिका, क्यानडा, यूरोप र मेक्सिकोका अन्य भागका अतिथिहरुलाई आकर्षित गर्दछ ।

कोरोनाको कारण अघिल्लो वर्ष पर्यटन क्षेत्रमा व्यापक असर परेपछि कालिगढहरु वस्तु विनिमय प्रणालीमा फर्किए । महिनामा एक वा दुइपटक सेन्टर फर अल्टरनेटिभ इन्डिजिनस डेभलपमेन्टद्वारा सञ्चालित व्यापारिक पोस्टमा उनीहरु आफ्ना शिल्पका सामानहरु खानेकुरासँग आदानप्रदान गर्छन् । यो गैरसरकारी संस्थाले सियरा ताराहुमारामा झण्डै २० वर्ष काम गरेको छ ।

“वस्तु विनिमयप्रति म ज्यादै कृतज्ञ छु किनकि यसले हामीलाई धेरै राहत दिन्छ,” चभेज् बतिस्ता भन्छिन् । “पसलमा खासै केहि दिंदैनन्, यहाँ भने खानेकुरा पाइन्छ ।”

expand image
expand slideshow

लेलेट ए. काेन्त्रेरस, जिपिजे मेक्सिकाे

पानी पर्न थालेपछि एस्टेला बतिस्ताका नयाँ ट्याङ्कीहरुले उनको परिवारको लागि तीन महिनासम्म जोहो गरिदिन्छन् ।

आग्रिपिना सहमति जनाउँछिन् । “वस्तु विनिमयले नै हाम्रो लागि काम गरेको छ,” उनी भन्छिन् । “यदि यो नहुँदो हो त, हामीले कतैबाट पनि खानेकुरा पाउने थिएनौं ।”

पछिल्लो दशकमा, उनले रारामुरी हस्तकला विक्रेताहरुको संख्या करिब ८० बाट बढेर २०० भएको देखेकी छिन् । यहि समयमा आफ्ना सामानहरुलाई पनि झनै रङ्गिन र पृथक बनाउन सिकेकी छिन् । उनेका गहनाबाट शुरु गरी अहिले विस्तृत रुपमा कढाई गरिएका कम्बल र कपडाहरुतिर उन्मुख भएकी छिन् ।

यद्यपि, परम्परागत हस्तकलाका निम्ति कच्चा पदार्थको रुपमा प्रयोग हुने सल्लाका काठ र सोतल (मरुभूमिमा पाइने एक विरुवा) का पातहरुले वन विनाश गराएको छ । यसले सुख्खा याममा हुने नकारात्मक प्रभावहरुलाई झनै मलजल गरेको छ ।

लेलेट ए. काेन्त्रेरस, जिपिजे मेक्सिकाे

सल्लाका साना विरुवाहरु हुर्केर समुदायका स्वयंसेवकहरुले रोप्न मिल्ने नहुन्जेल विनिमय केन्द्रमा हेरचाह गरिन्छन् ।

आदिवासी विकास केन्द्रको सहयोगमा २२ वर्षीय एस्टेला बतिस्ताले धातुका तीनवटा ठूला ट्याङ्कीहरुलाई घरको छतमुनि मिलाएर राखेकी छिन् । ती सबै भर्न कम्तीमा चार दिन लागेपनि प्रत्येक ट्याङ्कीले एक महिना पानीको बन्दोबस्त गरिदिन्छ ।

यसबापत उनी संगठनको वन पुनरुत्थान परियोजनामा आबद्ध भएकी छिन् र आदिवासी जनजातिलाई सल्ला र सोतलका बीजहरु सङ्कलन गर्ने, हेरचाह गर्ने र रोप्ने तरिका सिकाउँछिन् ।

उनी भन्छिन्, “सल्लाका रुखहरु नभएकोले, आगलागी हुने, पानी नपर्ने र मानिसहरुले रुख काट्ने भएकोले हामी वन पुनरुत्थान गर्छौं ।”

उनीहरुको प्रयासलाई सकारात्मक सोच र धैर्यताको खाँचो छ—अघिल्लो वर्ष खेती गरिएका ३०० रुखमध्ये जम्मा सातवटा जीवित रहे—तर आफ्नो समुदायको भविष्य सुरक्षित गर्न रारामुरी यसलाई अर्को एक समायोजन मान्छन् ।

“यदि हामी वस्तु विनिमयलाई निरन्तरता दिन चाहन्छौं भने, हामीले विरुवा रोपेको रोप्यै गर्नुपर्छ,” भिनिएग्रा भन्छिन् । “अन्यथा, खानेकुरा साँटासाँट गर्न हामीसँग अन्ततः कुनै हस्तकला बाँकी हुने छैन ।”

लेलेट ए. काेन्त्रेरस मेक्सिकोको क्वाउतेमाेक शहरस्थित ग्लोबल प्रेस जर्नलकी रिपोर्टर हुन् ।

अनुवाद नोट: श्यानन कर्बि, जिपिजे, ले स्पेनिशबाट यो कथा अनुवाद गरेकी हुन् ।

Lilette A. Contreras es reportera de Global Press Journal, y se encuentra en Cuauhtémoc, México.


NOTA SOBRE LA TRADUCCIÓN

Aída Carrazco, GPJ, adaptó este artículo de su versión en inglés.

Related Stories