Democratic Republic of Congo

कर वा हिंसा? प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक गाउँमा सशस्त्र समूहद्वारा छनौटको दबाब

के गाउँका बासिन्दाले बाध्य भएर सशस्त्र समूह मे मे माजेम्बेलाई तिरेको कर, नाममात्रको सुरक्षाको लायक छ त? मिरिकीमा कोही छ भन्छन् भने धेरैले चाहिं भोकमरीको डरले आफ्नो घर र क्षेत्र नै छाडेका छन्।

Read this story in

Publication Date

Taxes or Violence? Armed Group in DRC Forces One Village to Choose

मर्भिल कविरा लुनेघे, जिपिजे प्रजातान्त्रिक गणतन्त्र कङ्गो

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मिरिकी गाउँ आंशिकरूपमा त्यागिएको छ किनभने स्थानीय सशस्त्र समूहले त्यहाँ बस्ने मानिसहरूलाई कर लगाउँछ । स्थानीय बासिन्दाहरू कर तिर्न मन नलाग्ने बताउँछन् तर कर उठाउने सशस्त्र समूहले त्यस क्षेत्रमा सुरक्षाको झल्को नै भएपनि कायम राख्न मद्दत गर्ने कुरालाई भने उल्लेख गर्छन् ।

Publication Date

मिरिकी, प्रजातान्त्रिक गणतन्त्र कङ्गो — अम्बा-केराका रुखहरु, कासावा-सिमीका बोटहरु यस ग्रामीण भेगको सानो गाउँ मिरिकीतिर जाने साँघुरो, चिटिक्क परेको बाटोछेउ उभिएका छन् । त्यहाँ पुग्न यात्रुहरूले काघुमोको सानो बस्ती पार गर्नुपर्छ ।

यस भेगको समस्याको पहिलो सङ्केत काघुमोमा स्पष्ट देखिन्छ: सालाखाला २०० घरधुरीमध्ये झन्डै १५० त्यागिएका छन्। मानिसहरूले किन बस्ती छाडे भने, उनीहरूले कुनै समयमा बजार गएको र व्यापार गरेको मिरिकी गाउँमा अब नि:शुल्क जान पाउँदैनन् ।

वर्षौंदेखि मिरिकी सशस्त्र समूहको कब्जामा छ जसले प्रवेश कर तिराउँछ । प्रत्येक महिना १,००० कङ्गोली फ्रान्क (लगभग ६२ सेन्ट) तिरेको रसिद विना कसैले गाउँ प्रवेश गर्ने अनुमति पाउँदैन । (ग्लोबल प्रेस जर्नलले गाउँमा बस्ने मानिसहरूको अन्तर्वार्ता लिन प्रवेश कर तिरेको थियो । )

तर कर त्यतिमै मात्र सीमित छैन । मे मे माजेम्बे भनेर चिनिने सशस्त्र समूहले, काटिएका बालीनालीका केही भागमा पनि दाबी गर्छ वा किसानहरूलाई आफ्नो खेतमा जाँदा ३०० कङ्गोली फ्रान्क (लगभग १९ सेन्ट) शुल्क तिराउँछ ।

expand image
expand slideshow

Merveille Kavira Luneghe, GPJ DRC

The village of Kaghumo sits just off the road that leads to Miriki, which is controlled by an armed group known as Mai Mai Mazembe.

दुर्लभ नगद, थोरै वा नगन्य आम्दानी भएको यस क्षेत्रमा, ती करहरूले ग्रामीण प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेको अस्थिरताको तीतो यथार्थको सम्झना दिलाइराख्छन् ।

तथापि, धेरै परिवारले सशस्त्र समूहको नियन्त्रणबाट बच्न गाउँ छाड्दै गर्दा, त्यहाँ बसेका केहीले चाहिं, कहिलेकाहीं तनावपूर्ण नै भएपनि शान्ति कायम राख्न कर एक आवश्यक विधि भएको बताउँछन् ।

“साँच्चै भन्नुपर्दा, हामीले हाम्रो परिवारलाई भोकमरीबाट बचाउनको लागि मात्रै नियमहरूको पालना गरेका थियौं,” छ सन्तानकी आमा ३८ वर्षीया रेचेल कन्येरे भन्छिन्।

कन्येरे सन् २०१३ मा मिरिकीमा जाँदा, डेमोक्रेटिक फोर्सेज फर द लिबरेसन अफ रुवान्डाको सबैभन्दा डरलाग्दो हुतु सशस्त्र समूहहरूमध्ये एक एफडिएलआर-एफओसीए यस क्षेत्रमा सक्रिय थियो र गाउँलाई नियन्त्रण गरेको थियो । रुवान्डामा लाखौं मानिसहरूको हत्या भएको सन् १९९४ को नरसंहारपछि त्यो समूह प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा सरेको थियो ।

त्यस समूहका केही नेताहरुले नरसंहारलाई उक्साएको आशंका गरिएको छ।

कन्येरेका भनाइमा, एफडिएलआर-एफओसीए आउँदा ठूलो झगडा भएको थियो । साथै, स्थानीय बासिन्दा बिरुद्ध अनियन्त्रित हिंसा पनि थियो। स्थानीयका भनाइमा, १२० भन्दा बढी गाउँका बासिन्दाहरू मारिएका र २० महिला र बालिकाहरू बलात्कृत भएका थिए । (सन् २०१७ को एम्नेस्टी इन्टरनेशनलको एक रिपोर्टले एफडिएलआर-एफओसीएद्वारा एकै दिनमा १४ व्यक्तिको हत्या भएको जनाएको थियो।

“हामी आफ्ना घरबारी र सामान छाडेर भाग्न बाध्य पारियौं,” कन्येरे भन्छिन् ।

सन् २०१५ र २०१६ को बीचमा, नन्दे, हुन्डे र कोबो जनजातिका सशस्त्र समूहहरूबीच नयाँ गठबन्धन बन्यो । आफूलाई मे मे माजेम्बे भन्दै एफडिएलआरलाई क्षेत्रबाट बाहिर निकाल्ने र स्थानीयहरूलाई एफडिएलआरको कब्जामा हुँदा सहेकोजस्तो हिंसाबाट बचाउनको लागि समूह ठूलो आन्दोलनको एक हिस्साको रूपमा गठन भयो । सन् २०१६ को अन्त्यसम्ममा मे मे माजेम्बेले मिरिकीलाई नियन्त्रणमा लिएपछि आन्दोलन सफल भयो ।

“मे मे” प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा स्थानीय सशस्त्र समूहहरूलाई जनाउने एक साधारण शब्द हो ।

मिरिकीका नागरिक समाज अध्यक्ष फर्डिनान्ड काटेम्बो, मे मे माजेम्बेले शृंखलाबद्ध करको बदलामा स्थानीय जनतालाई सुरक्षाको अंश प्रदान गर्ने कुराको पुष्टि गर्छन् ।

कर सङ्कलनका दौरान समूहले कहिलेकाहीं हिंसा प्रयोग गरेतापनि कन्येरेलाई अरु समूहभन्दा मे मे माजेम्बेले नै गाउँ नियन्त्रण गरोस् भन्ने लाग्छ रे ।

“हामीलाई घर फर्किउँ फर्किउँ जस्तो लाग्यो,” उनी भन्छिन् ।

मानिसहरुले नियम पालना गरुन्जेल सुरक्षित रहन्छन् ।

“मार्लान् भन्ने डरले कर तिर्छौं,” वधशालाका मालिक पालुकु शबानी भन्छन् ।

तिरेनौं भने, मे मे लडाकुहरूको क्रोधबाट बच्ने एक मात्र उपाय भनेको ठाउँ छाड्नु हो, उनी बताउँछन् । अनि ठाउँ छाडियो भने, भोकै परिन्छ किनभने हामीलाई अन्न दिने खेतबारीहरूबाट हामी टाढा गएका हुन्छौं, उनी थप्छन् ।

ती नियम पालना नगर्नुका गम्भीर परिणामहरू हुन सक्छन् ।

एक ट्याक्सी चालक चार्ल्स किभुया भन्छन्, उनी र एक यात्रु मिरिकी पुग्नै लाग्दा उनीहरूले सडक अवरोध भएको देखे । मे मे माजेम्बे लडाकुहरूले कार रोकेपछि उनीहरुले कर तिरे । त्यसपछि लडाकुहरूले किभुयाका यात्रुलाई आफ्नो मतदाता कार्ड देखाउन भने तर उनीसँग थिएन ।

“लामो भाला बोकेको एउटा बडेमानको केटो रिसले पागलजस्तै भयो, हामीलाई तुरुन्तै फर्किनू र त्यहाँबाट भागिहाल्नू भन्यो,” किभुया भन्छन् । “डरले बान्तै आउला जस्तो भएर हामीले गाडी घुमायौं र बेग गतिमा कुदायौं,” उनी थप्छन् ।

नागरिक समाज अध्यक्ष काटेम्बो, मानिसहरुसँग मे मे माजेम्बेको अधीनमा रहन स्वीकृति दिनुबाहेक अन्य विकल्प नभएको बताउँछन् ।

“यो हामी जङ्गलमा बसेजस्तै हो । हाम्रो राष्ट्र अराजकताबाट मुक्त नभएसम्म केही परिवर्तन हुनेवाला छैन,” उनी भन्छन् ।

जिपिजेका न्दहयो सिल्भेस्टरले फ्रेन्चबाट यो लेख अनुवाद गरेका हुन्।