नामासुङ, नेपाल – यहाँ बसोबास गर्ने १८ परिवारले यो गाउँलाई आफ्नो घर बनाउनका लागि घर र पूर्वाधार निर्माणमा वर्षौं बिताएका छन् । यो कामको शुरुवात उनीहरूले आफ्नो पुर्खौली घर सामजोङले आफ्नो कृषि र पशुपालन गर्ने परम्परालाई टिकाउन सकिँदैन भन्ने तथ्य बुझेपछि छ वर्ष पहिला भएको थियो । नजिकैका पानीका स्रोतहरू सुकेका थिए, र अन्य तरिकाको पानी खोज्ने कुनै राम्रा विकल्पहरू पनि थिएनन् ।
सो क्षेत्रको शाही परिवारले ती परिवारहरूलाई सामजोङ गाउँबाट करिब पाँच किलोमिटर दक्षिण-पश्चिममा रहेको करिब २५ एकड जग्गा दान दिएपछि, घर बनाउने र माटो खनजोत गर्ने काम सुरु भयो । २०१७ मा, नामासुङको नयाँ गाउँले आफ्नो पहिलो अन्नबाली भित्र्यायो । (ग्लोबल प्रेस जर्नलले २०१३ देखि गाउँलाई समेटेको छ । त्यस वर्षको स्टोरी यहाँ र २०१७ को स्टोरी यहाँ पढ्नुहोस् ।)
यद्यपि, सामजोङबाट नामासुङ सर्ने काम पूरा भएको छैन । परिवारहरू अहिले प्रत्येक गाउँमा एउटा खुट्टा अड्किएको कुरा बताउँछन् ।
“आधा परिवार सामजोङमा, र आधा परिवार नामासुङमा बस्दछन्,’ दुवै ठाउँका बासिन्दा रिन्जेन दोर्जे बिष्ट भन्छन्। “सामजोङमा कुनै मोटर गुड्ने बाटो छैन, र त्यहाँ पुग्न दुई घण्टा लाग्छ ।”
गाउँलेहरूले सामजोङ छोड्नुको एउटा ठूलो कारण भनेको सो ठाउँ अलग्गै एकान्त ठाउँमा रहेकोले हो । तर त्यो अलग रहेकोले पनि तिनीहरूलाई पूर्ण रूपमा छोडेर जान रोकिरहेको छ । दुई ठाउँको बीचमा पूर्ण सडक नबन्दा गाईवस्तु र अन्य बहुमूल्य धनसम्पत्ति सार्न नसकिने कुरा मानिसहरू बताउँदछन् ।
दुई ठाउँ बीचको सडकमा काम सुरु भएको थियो, तर सामजोङका सबै बासिन्दाहरूको अरू ठाउँमा बाहिरिने योजना स्थानीय सरकारलाई थाहा भएपछि दुई वर्षअघि त्यो काम रोकियो ।
काम छिट्टै रोकिएको थियो, सेनजुङ गुरुङ बताउँदछन् ।
उनी भन्छिन्, “हामी पूरै सर्न सक्दैनौं ।” “हाम्रो मल सामजोङमा भण्डार गरिएको छ, र त्यहाँ धेरै छ ।”
गुरुङ भन्छिन् कि उनी स्थानीय सरकारले सडक छिट्टै नै सम्पन्न गर्ने आशा गर्छिन्, तर त्यो सम्भव भने छैन ।
“मानिसहरूको सामान ढुवानी गर्नका लागि मात्रै हामी सामजोङ जाने सडक बनाउन सक्दैनौं,” स्थानीय सरकार महाशाखा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण बिष्ट भन्छन् । “यदि हामीले सडक बनायौं भने, नियमित रूपमा प्रयोग गर्नुपर्छ । यदि मानिसहरू नामासुङ र सामजोङमा बस्छन् भने शायद हामी बाटो बनाउन सक्छौँ ।”
त्यहाँ अर्को विकल्प पनि रहेको छ: सामजोङ गाउँलाई ऐतिहासिक स्थलमा परिणत गरेर पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ । त्यस अवस्थामा, सो गाउँ सडक बिना आफ्नो मौलिक संस्कृति र अलग हुने अनुभूति राम्रोसँग जोगाउन सक्नेछ ।
सामजोङका अर्का बासिन्दा पासाङ छिरिङ गुरुङ भन्छिन्, “म हाम्रो गाउँलाई बरु सङ्ग्रहालयमा परिणत गर्न चाहन्छु ।”
तर सामजोङका बाँकी मानिसहरूले त्यो विचारको विपक्षमा मतदान गरे, पासाङ गुरुङ बताउँछिन्, बरु उनीहरू सडक निर्माण गर्न चाहन्छन् ।
केही परिवर्तन नभएसम्म, गाउँ विभाजित हुनेछ: प्रत्येक परिवारको आधा मानिसले नामासुङमा लगातार भविष्य निर्माण गर्नेछ, जबकि बाँकी आधा मानिसहरू सामजोङमा बिगतमा बाँचिरहन्छन् ।
सम्पादकको नोट: यो स्टोरी भएको क्षेत्रमा गुरुङ नाम सामान्य हो र यसले स्रोतहरू सीधै सम्बन्धित छन् भन्ने सङ्केत गर्दैन ।
ग्लोबल प्रेस जर्नलकी शिलु मानन्धरले सबै अन्तर्वार्ताहरू नेपालीबाट अनुवाद गरिन् ।