Nepal

दक्षिणपूर्वी नेपालको ठूलो पर्यटकिय आकर्षण? आँखाको उपचार

बिगतका दशकमा, नेपालले दूरदृष्टि र अदूरदृष्टि समस्या भएका बिरामीहरूलाई उपचार गर्न आकर्षित गर्न आफ्नो विज्ञताको अनुपम क्षेत्र बनाएको छ। त्यसले स्थानीय अर्थतन्त्रलाई माथि उठाउन सहयोग गरेको छ। तर यसको भविष्य के हुन्छ?

Read this story in

Publication Date

Southeastern Nepal’s Big Tourist Draw? Eye Care

ग्राफिक्स: म्याट हाने, जिपिजे

Publication Date

झापा, नेपाल — इन्दिरा सुवेदीलाई सधैं आफ्नो पुर्ख्यौली थलो नेपाल घुम्न मन लाग्थ्यो। दश वर्षअघि भारतको आसाम राज्य स्थित आफू जन्मेर हुर्केको घरमा घाँस काट्दै गरेको बेलामा, तीखो घाँसले उनको आँखा घोच्यो। उनको आँखाको दृष्टिमा बादल छाएको जस्तो भयो। उनको आँखामा जमेको रगतले धब्बा देखिन थाल्यो र यसले उनीलाई आँखा खोल्न गाह्रो बनायो। उनीलाई त्यसबेलामा कसैले नेपालमा गएर उपचार गराउन सुझाव गरेपछि उनी देशको पूर्वी जिल्ला झापामा पर्ने बिर्तामोड पुगिन्।

आँखा सम्बन्धी उपचारभन्दा बाहेक, नेपाल र भारत बीचको मेडिकल टुरिजमको प्रवाह पहिलादेखि अहिलेसम्म हेर्दा – सामान्यतया एउटै दिशामा अगाडि बढिरहेको छ। सन् २०१६ को एक आंकलनअनुसार २,००,००० भन्दा बढी भारतीय बिरामीहरू आँखाको शल्यक्रियाका लागि नेपाल आउने गर्दछन् भने थप १५ लाख मानिसहरू आँखाको उपचारका लागि आउने गरेका छन्। “नेपालका आँखा अस्पतालमा भारतको भन्दा तीन गुणा कम दरमा आँखाको अपरेसन हुन्छ।,” भारतीय सीमावर्ती काँकडभिट्टामा रहेको निजी आँखा अस्पताल मेची नेत्रालय तथा आँखा अस्पतालका प्रबन्धक जय प्रकाश “ज्याक” पोखरेल बताउँछन्। “त्यही कारण पनि आँखा उपचारको मुख्य गन्तव्य नेपाल बनेको हो।”

सुवेदीको उपचार प्रक्रिया सकेपछि, उनी आफ्नो पतिको पुर्ख्यौली घर धनकुटा जिल्लामा गइन् र त्यहाँ बसेर निको भइन्। उनी पहिलो पटक नेपाल आएकी थिइन्। उनी धेरै पछि अप्रत्याशित रूपमा आएको भएर आफन्तहरूले उनलाई अँगालो हाले। तिनीहरू सँगै बसेर रोए किनभने तिनीहरू धेरै समय पछाडि एकअर्काको अँगालोमा बस्न पाएका थिए। त्यसबेलादेखि, सुवेदी आँखा सम्बन्धी रोगको उपचार गर्न खोज्ने आसामी छिमेकीहरूको लागि दोभाषे र गाइडको रूपमा पटक-पटक नेपाल फर्केर आइन्। एक स्थानीय डाक्टरको अनुमानअनुसार झापाका आँखा अस्पतालहरूमा झन्डै ७० प्रतिशत बिरामीहरू सीमापारीबाट आएका हुन्छन्।

अन्धोपना विरुद्ध लड्न समर्पित गैर नाफामूलक संस्था – नेपाल नेत्र ज्योति संघ सन् १९७८ को स्थापना भएपछि – र सन् १९८१ मा राष्ट्रव्यापी रूपमा दृष्टिविहीन सर्वेक्षण गरेपछि, पछिल्ला पाँच दशकहरूमा, नेपालले आँखा उपचारको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। जनसंख्या बृद्धि भएतापनि दृष्टिविहीन हुने मानिसहरूको अनुमानित संख्या घटेको छ। नेत्र रोग विशेषज्ञहरूको संख्या नाटकीय रूपमा बढेको छ, सन् १९८० मा भएको सात जनाको सङ्ख्याबाट सन् २०२० मा ४०० जना पुगेको छ, जबकि सामुदायिक आँखा केन्द्र, आँखा विभाग र आँखा अस्पतालहरूसहित आँखाको उपचार पूर्वाधार – सन् १९८१ मा भएको पाँचबाट बढेर सन् २०१० सम्म १०० भन्दा बढी पुगेको छ। सन् २०१८ मा नेपाल सार्वजनिक स्वास्थ्य समस्याको रूपमा रहेको विश्वमा अन्धोपना हुने प्रमुख संक्रामक कारण रहेको ट्रकोमा उन्मूलन गर्ने क्षेत्रको पहिलो देश बन्यो।

आँखाको उपचारको क्षेत्रमा देशको सफलता आंशिक रूपमा एक व्यक्तिः वरिष्ठ नेत्र रोग विशेषज्ञ सन्दुक रुइतको प्रयासको कारण भएको हो, जसले नेपालमा धेरै महँगो नपर्ने इन्ट्राओकुलर लेन्स उत्पादन गरे र यसलाई धेरै मानिसहरूले किन्न सक्ने मूल्यमा सबै ठाउँमा उपलब्ध गराए। सन् १९९० को सुरूमा, रुइतले तिलगङ्गा नेत्र विज्ञान संस्थान, अस्पतालहरूको नेटवर्क, आउटरिच क्लिनिक, तालिम कार्यक्रम र काठमाडौंमा मुख्यालय रहेको एउटा आँखा बैंक स्थापना गरे। यस संस्थानले विश्वभर निर्यात गर्नका लागि कृत्रिम लेन्स र प्रोस्थेटिक आँखा पनि उत्पादन गर्छ।

झापा जिल्लामा, नेपालको आँखा सम्बन्धी रोगका क्षेत्रमा नाम चलेका धेरै आँखा अस्पतालहरू रहेका छन्। सुवेदीले उपचार गर्न खोजेको मेची आँखा अस्पताल २७ वर्ष अगाडि पहिलो पटक सानो केन्द्रका रूपमा स्थापना भएको थियो। यसको एक दशक पछि, यसलाई अत्याधुनिक सुविधा भएको भवनमा सारियो। सोही क्रममा सडक छेउमा, स्थानीय बासिन्दा विष्णु माया सुवेदी बस्नेत आफ्नो घर बनाउँदै थिइन्। उनले सो क्षेत्र बाहिरबाट आउने बिरामीहरूलाई खाने वा बस्ने ठाउँ नभएको बुझिन्। त्यसैले उनले ती बाहिरबाट आएका मानिसहरूका लागि खाना तयार गर्न थालिन्। पछि, उनले आफ्नो घरलाई होटलमा परिणत गर्ने निर्णय गरिन्। बीसवटा कोठा पर्याप्त थिएन, उनी भन्छिन्। उपचारका लागि आउने मानिसहरू भान्साकोठा र ढोका छेउको मझेरीमा पनि सुत्ने गर्थे, र तिनीहरूले एक दिनमा नै सात बोरा चामलको खाना खान्थे।

आँखाको उपचारको क्षेत्रमा देशको सफलता आंशिक रूपमा एक व्यक्तिः वरिष्ठ नेत्र रोग विशेषज्ञ सन्दुक रुइतको प्रयासको कारण भएको हो, जसले नेपालमा धेरै महँगो नपर्ने इन्ट्राओकुलर लेन्स उत्पादन गरे र यसलाई धेरै मानिसहरूले किन्न सक्ने मूल्यमा सबै ठाउँमा उपलब्ध गराए।

“यहाँको होटल भारतीयकै कारण चलेको छ।” उनी भन्छिन्। अहिले उक्त क्षेत्रमा डेढ दर्जनभन्दा बढी होटलहरू खुलेका छन्, बस्नेत पहिला अस्पताल बनाएको समयमा सो ठाउँ सुनसान भएको सम्झना गर्छिन्। मेची आँखा अस्पताल अगाडि चार महिनादेखि नयाँ उद्यम सञ्चालन गर्दै आएका तुलसी पौडेल आफ्नो होटल कहिल्यै खाली नहुने कुरा बताउँछन्। प्रायजसोः सबै परिवारहरू जाँच गर्न आएको बेलामा, उनीहरू रोग निको भएपछि उनीहरू घुम्ने सक्छन् भनेर नजिकै रहेका पर्यटकिय आकर्षणका स्थलहरू – प्राकृतिक आरक्षित स्थल, वाटर पार्क, धार्मिक स्थलहरू – बारेमा सोधपुछ गर्छन्।

“उत्कृष्ट आँखा उपचारका लागि भारतीयहरू नेपाल आएको देख्दा र उनीहरूबाट आर्थिक लाभ समेत भएको अनुभवले चाँहि म जस्तै धेरै नेपालीलाई खुसी लागेको हुनुपर्छ।,” झापा जिल्ला र भारत दुवै छिमेकी भएको इलाम जिल्लाका केदार शर्मा भन्छन्। उनी भन्छन्, दुई देशका बीचमा खुला सिमाना भएको विशिष्ट सम्बन्ध रहेको छ, तर औपनिवेशिक युगमा भएको पूर्वाधारको असमानता र भारतको धेरै ठूलो अर्थतन्त्रले नेपालीहरूलाई रोजगारी र अन्य आवश्यकताका लागि भनेर भारत जान बाध्य पारेको छ। नजिक रहेको भौगोलिक दूरी सुविधाजनक हुन सक्दछ, तर असमान परिवर्तनको असरले नेपालीहरूमा सामूहिक हीनताभावको जटिलता पनि निम्त्याएको छ, उनी भन्छन्।

भारतको पश्चिम बङ्गालको इस्लामपुर सहरकी जमुना सिङ्घमले काँकडभिट्टामा रहेको मेची नेत्रालयमा उपचार गराइन्। उनी भारतमा आँखाको उपचार सेवा उपलब्ध भएतापनि नेपालमा उपचारको गुणस्तर राम्रो भएकाले आफूले यहाँ उपचार गराएको कुरा बताउँछिन्। यहाँको उपचार छिटो, सस्तो पनि छ र उनीलाई फलो-अप जाँच गराउनका लागि पटक-पटक फर्किन पनि पर्दैन। (आफ्ना सीमा पारीका ग्राहकहरूलाई ध्यानमा राख्दै, मेची नेत्रालयले शल्यक्रिया गरेका बिरामीहरूलाई व्हाट्सएपमार्फत तालिका बनाएर फलो-अप गर्दछ।)

यसबाहेक, नेपालका सीमावर्ती क्षेत्रका अधिकांश मानिसहरू बङ्गाली वा हिन्दी बोल्ने गर्दछन्, यस कुराले पनि सीमापारका बिरामीहरूलाई आकर्षित गरेको छ। “दिनमा दुई सय देखि तीन सयसम्म भारतीय आँखाका बिरामी आउने गर्छन्।”, पोखरेल भन्छन्। “अहिले अस्पतालले बीमा कार्यक्रम सुरु गरेकाले केही नेपाली पनि बढेका छन्। हामीप्रतिको विश्वास र गुणस्तरीय सेवाकै कारण आएका हुन्।” सन् २०१६ मा नेपाल सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन केही अस्पतालहरूमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सुरु गरेको थियो।

यस प्रवृत्तिलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ। डा. युवराज बोहराले मेची आँखा अस्पतालले छिट्टै नै बहिरोपना र अन्य कानका समस्याहरू उपचार गर्न शाखा खोल्ने कुरा बताए। बिर्तामोड नगरपालिकालाई मेडिकल टुरिजम हब बनाउने चर्चा चलेको छ।

“उत्कृष्ट आँखा उपचारका लागि भारतीयहरू नेपाल आएको देख्दा र उनीहरूबाट आर्थिक लाभ समेत भएको अनुभवले चाँहि म जस्तै धेरै नेपालीलाई खुसी लागेको हुनुपर्छ।”

नगरपालिकाका जन स्वास्थ्य अधिकृत राजीव कृष्ण बिष्टले नगर आफैंले त्यस्तो कुनै पहल नगरेको भएतापनि अस्पतालले योजना तयार गरेमा कार्यान्वयनमा सहयोग गर्न इच्छुक रहेको कुरा बताउँछन्। “आँखा अस्पतालमा आउने बिरामीहरूलाई हेर्दा स्वास्थ्य उपचार गर्ने हब स्थापना गर्ने प्रशस्त सम्भावना रहेको छ।”, उनी भन्छन्। “तर यो नयाँ विषय भएकोले, हामी अझै यसलाई कसरी गर्ने भनेर छलफल गरिरहेका छौं।”

अझै पनि, आँखा उपचारको क्षेत्र भित्र पनि, निरन्तर प्रगति हुनेछ भन्ने कुराको ग्यारेन्टी गरिएको छैन; र देश भित्र असमानताको अवस्था कायम रहेको छ। सामुदायिक आँखा स्वास्थ्य जर्नल को २०१८ को प्रतिवेदन ले पूर्वी प्रदेश कोशी (जहाँ झापा जिल्ला रहेको छ।) र बागमतीमा ३७% जनसंख्याको ६०% आँखा विशेषज्ञहरूमा पहुँच छ, जबकि देशको पहाडी क्षेत्रहरूमा एकजना पनि नेत्र रोग विशेषज्ञले उपचार सेवा प्रदान गर्दैनन् भनेर उल्लेख गरेको छ। बिर्तामोडमा रहेको दृष्टि आँखा अस्पतालका डाक्टर र सूचना अधिकारी अजितकुमार ठाकुर भन्छन्, सन् १९८१ को अन्धोपना सम्बन्धी सर्वेक्षणले तराईमा — अर्थात् नेपालको तराई भू-भागमा आँखाको उपचार बढी आवश्यक रहेको कुरालाई सङ्केत गरेको थियो — जसले पहुँचको वर्तमान भौगोलिक असन्तुलनलाई व्याख्या गर्न सक्दछ।

यसबाहेक, विज्ञहरूले यस क्षेत्रमा हालसम्म धेरै प्रगति हासिल हुनुमा नेपाल नेत्र ज्योति संघ जस्ता गैर-नाफामूलक संस्थाहरू सञ्चालनमा आएर भएको कुरा बताउँछन् र यसलाई थप सुधार गर्न — विशेष गरी चिकित्सा पेशाकर्मीहरूले राम्रो अवस्थामा पुर्‍याउन अझै धेरै राज्य तर्फको सहयोग चाहिन सक्छ। सन् २०१० को सर्वेक्षण को सर्वेक्षणले एक तिहाइभन्दा बढी आँखा चिकित्सक र दश भागको एक भाग आँखा विशेषज्ञहरू राम्रो अवसरका लागि नेपालबाट बाहिर गएको देखाएको थियो।

“राज्यद्धारा नै आँखा स्वास्थ्य सञ्चालनको नीति अवलम्बन गर्न खोजिएको देखिन्छ।” बोहरा भन्छन्। “तर आवश्यक जनशक्ति पूर्वाधार पूर्ण रुपमा उत्पादन गर्न सकेको छैन।” उनले विद्यालय भर्ना सुरु गर्नुभन्दा अगाडि सबै बालबालिकाको आँखा परीक्षण गराउने सरकारी निर्णयलाई स्पष्ट पारे — धेरैजसो मानिसहरूलाई चश्मा लगाएर र स्थानीय अस्पतालहरूमा आँखा सम्बन्धी प्राविधिक पदहरू राखेर आँखाका कमजोरीहरू सजिलै निको पार्न सकिन्छ भनेर थाहा पाउँदैनन्। यद्यपि, त्यो निर्णय कार्यान्वयन हुन बाँकी नै छ।”

कोशी प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराई संघीय नीति तयार गरेको भएतापनि प्रदेश स्तरमा कार्यान्वयनको योजना अझैसम्म नआएको कुरा बताउँछन्।

अन्तमा, देशले हासिल गरेको सफलतामा डाक्टरहरूले अफसोच गर्न सक्दैनन् भनेर जोड दिए। निरन्तर नयाँ कुरा प्रयोग गर्नु यस सफलताको कडी हो। “अहिले मोतियाविन्दु धेरै छ।” आफ्नो अस्पतालमा सबैभन्दा सामान्य हुने प्रक्रिया र नेपालले विज्ञता विकास गरेको छ भनेर वर्णन गर्दै ठाकुर भन्छन्। “पछि यो कम होला र अन्य समस्या धेरै आउला, — मोतियाविन्दुको जस्तो सस्तो अन्य उपचार नहुन सक्छ। त्यसको लागि पनि सोच्नु पर्छ कि।”

मायामितु न्याैपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।


अनुवाद नोट

जिपिजेका केन सुवेदीले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।