Nepal

ग्रामीण नेपालमा जलन व्याप्त छन्, उपचार भने छैनन्

नेपालका धेरैजसो जलनका घाइतेहरु ग्रामीण र विपन्न क्षेत्रका हुने गर्छन्। महङ्गो उपचारको लागि लामो दुरीको यात्रा गर्नु भनेको उनीहरुसँग बचेखुचेको पनि बेच्नु हो।

Read this story in

Publication Date

Publication Date

काठमाडौं, नेपाल — सन् २०१९ को एक बिहान घामले बिस्तार-बिस्तार मध्य तराईको फाँटलाई न्यानो बनाउँदै गर्दा स्कूल जाँदै गरेकी १४ वर्षिया मुस्कान खातुन नजिकै दुई केटाहरु आए र पानीजस्तो देखिने झोल पिउन आग्रह गरे। पिउन नमानेपछि त्यो झोल उनीतिर हुत्याएर भागे। “मलाई आगोमाथि बसिरहेको र जिउँदै जलाइएको अनुभव भइरहेको थियो,” उनी सम्झिन्छिन्। त्यो तरल पदार्थ एसिड भएको कुरा उनले पछि मात्र थाहा पाइन्। त्यसले उनका हातहरु, घाँटी र छातीका साथै अनुहारको दायाँ भाग पनि जलाएको थियो।

वरपरका मानिसले खातुनलाई नजिकैको अस्पतालमा दौडाए। तराई क्षेत्रमा अवस्थित बिरगंज नेपालका ठूला शहरहरुमध्ये एक हो जुन काठमाडौंको १३५ किलोमिटर (८४ माइल) दक्षिणमा पर्दछ तर त्यहाँका डाक्टरहरुलाई उनको उपचार कसरी गर्ने भन्ने थाहा थिएन: उनीहरुले घाउमा पट्टीमात्र लगाइदिए र पेनकिलरहरु दिएनन्। “म त्यो अवस्थाबाट बाँचेर कसरी आइपुगें भन्ने कुरा सपनाजस्तो लाग्छ,” उनी भन्छिन्। (उनको सम्झना उनले आफूले सम्झेको र आफ्नो बुबाले उनलाई भनेका कुराहरुमा आधारित छ।) पछि उनलाई एम्बुलेन्समा काठमाडौं लगियो र यात्रा छ घण्टाको थियो। त्यतिन्जेलसम्म उनको पूरै शरीर सुन्निसकेको थियो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, ग्रामीण नेपालमा हुने घाउ-चोटहरुमध्ये जलन दोश्रो नम्बरमा आउँछ र यसले अशक्ततामा ५% ओगटेको छ। खुल्ला आगोमा खाना पकाउने प्रचलन र चिसो र उच्च क्षेत्रमा बसोबास गर्ने समुदायका कारण, विश्वमा आगोजन्य जलनका घटनाहरु उच्च हुने देशहरुमा नेपाल पनि पर्दछ। धेरै नेपाली महिलाहरूले सप्को हालेर सारी लगाउँछन्। सप्को काँधमा टाँसेर खुल्लै छोडिने हुनाले उनीहरूलाई आगोमा चोटपटक लाग्ने सम्भावना पनि बढ्छ। तर जलनको व्यवस्थित हेरचाह राजधानीमा केन्द्रित हुनाले धेरैलाई लामो दूरीको यात्रा गर्न बाध्य पारेको छ।

नेपालमा बर्न केयर युनिट भएका ६ वटा अस्पताल काठमाडौंमा छन् भने ३ वटा मात्र देशका बाँकी भागमा छन् । हालै गरिएको एक अध्ययन अनुसार, २०.३% जनसङ्ख्याले यात्राको दुई घण्टाभित्र, ३७.२% ले ६ घण्टाभित्र र ७२.६%ले १२ घण्टाभित्र व्यवस्थित बर्न केयरमा पहुँच पाएको छ। काठमाडौंको कीर्तिपुर अस्पतालका बर्न, प्लाष्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी प्रमुख किरन नकर्मीका भनाइमा, उनका १० मध्ये ९ जना बिरामी शहर बाहिरका हुन्। “बिरामीहरु सबै विपन्नबर्गका हुन्छन्।” उनी थप्छन्। “अस्पतालसम्म आइपुग्दा जलन भएको २४ घण्टा बितिसकेको र प्राथमिक उपचार पनि पाएका हुँदैनन्।”

कीर्तिपुर अस्पताल जलन उपचारको लागि देशकै ठूलो स्थान हो; खातुनलाई यहीं भर्ना गरिएको थियो। आधा घण्टासम्म डाक्टरहरूले उनको शरीरमा पानी खन्याए: ताप सोस्ने चिसो पानीले घाउहरूलाई बिग्रनबाट रोक्छ। दुई दिनपछि उनको पहिलो शल्यक्रिया सम्पन्न भयो। उनको शरीरको ४५ प्रतिशत भाग जलेको थियो; नेपालमा थोरै विरामीहरुले मात्र यति ठूलो चोटपटकलाई पार लगाउँछन्। उनलाई तीन महिनापछि डिस्चार्ज गरिएको थियो, त्यसपछि उनले फलोअप उपचारको लागि हरेक हप्ता जानुपर्थ्यो। बिरगंजमा उनको बुबाको आल्मुनियमको व्यापार थियो, तर आवतजावतको हैरानी थियो। त्यसैले उनको परिवारले जग्गा बेचेर काठमाडौंमा सरे र अस्पताल नजिकै कोठा भाँडामा लिए। विगत चार वर्षमा उनको ६ वटा शल्यक्रिया भइसकेको छ। खातुनका डाक्टरहरूले उनलाई अस्पताललाई पनि आफ्नो “आधा घर” मान्न सुझाए।

झण्डै ५६०,००० भन्दा बढी नेपालीहरूले आफ्नो जीवनकालमा कुनै उल्लेखनीय जलन भोगेका छन्। सरकारी स्वास्थ्य तथ्याङ्कअनुसार, सन् २०१९ र २०२० बीचको एक वर्षको अवधिमा १,७०० भन्दा बढी जलन घाइतेहरु अस्पताल भर्ना भएका थिए भने ८३,६६० जनाले बहिरंग उपचार पाएका थिए; ८९ जनाको मृत्यु भएको थियो। तुलनात्मक रुपमा, नेपालमा जलनका घाइतेको मृत्युदर दोश्रो विश्वयुद्धपूर्वको संयुक्त राज्यसँग मिल्दोजुल्दो छ जतिबेला एन्टिबायोटिकको आविष्कार भएको थिएन। “जलनका बिरामी ९० प्रतिशत विपन्नवर्गका हुनाले हाम्रो देशमा जलन बेवास्ता गरिएको विषय हो,” अनुसन्धानकर्ता कमल फुयाँल भन्छन्। “नेपालको नीति बनाउने ठाउँमा अधिकांश माथिल्लोवर्गका मानिसहरु भएकोले नीति पनि आफू अनुकूल बनाउँछन्।” स्वास्थ्य केन्द्रका १०० कर्मचारीको सर्वेक्षणमा एक जनालाई पनि जलनपछि के गर्ने भन्ने तालिम नदिइएको उनी बताउँछन्।

उत्तरपश्चिम नेपालको रुकुम जिल्ला अस्पतालका मेडिकल अफिसर ओसन पुन मगर भन्छन्, “यहाँको अस्पतालमा एन्टिबायोटिक दिने, ब्याण्डेज गर्ने काम मात्र हामी गर्छौं। तर, जटिल खालको केसलाई काठमाडौंमा रेफर गर्छौं।” रुकुम राजधानीबाट करिब ६०० किलोमिटर (३७३ माइल) टाढा छ।

ट्रस्टको रूपमा सञ्चालित काठमाडौंको कीर्तिपुर अस्पतालले देशभरका जिल्ला अस्पतालहरुमा बर्न केयर तालिम दिंदै आएको छ। तर नेपालको नेसनल हेल्थ ट्रेनिङ सेन्टरसँगको साझेदारीमा गरिएको पहल फलदायी हुन सकेको छैन। “नेपालमा डाक्टरहरुले जलनको क्षेत्रमा काम गर्न चाँहदैनन्,” नकर्मी भन्छन् र यो कार्य जटिल र प्राय असहज भएको कुरा थप्छन्। “तालिम लिने नर्सहरु पनि विदेशिने ट्रेन्ड बाक्लिंदो छ।”

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

नर्सहरु जलनका घाइतेहरुलाई काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा हेरचाह गर्दै।

मगर कतिपय अवस्थामा मानिसले आफ्नो घाउ आफै निको हुन्छ भनी ठानेको पनि बताउँछन्। “बिरामीहरुले जलनपछि एलोभेरा, गोलभेंडा र गोबर पनि लगाउने गर्दछन्,” फुयाँल भन्छन्। “अन्तमा घाउ बिग्रेपछि काठमाडौं आउँछन् र उनीहरुको लाखौं खर्च हुन्छ।” सन् २०२१ को एक अध्ययनले अस्पताल भर्ना भएका विशेष जलन उपचारको लागि औसत खर्च २६०,२७० नेपाली रुपैयाँ (१,९८९ अमेरिकी डलर) भएको पत्ता लगायो जुन नेपालको औसत प्रतिव्यक्ति आयभन्दा दोब्बर हो।

सन् २०२२ को सेप्टेम्बरमा, पश्चिम नेपाल कालिकोटकी दर्पना बुढाको घर पहिरोले पुरियो, उनको ससुराको ज्यान गयो र आगो सल्क्यो जसले उनको बच्चालाई चोट पुर्‍यायो। अस्पताल पुग्न तीन दिन लाग्यो: पहिरोले जमिनको सबै यातायात अवरुद्ध भएकाले सेनाको हेलिकप्टर बोलाइयो। तर परिवारको लागि यो परीक्षाको शुरुवात मात्र थियो। दुबै खुट्टा जलेकी बुढाकी २ वर्षीया छोरीलाई बारम्बार विभिन्न अस्पतालमा पठाइएको थियो। उनी हाल राजधानीको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचाररत छिन् जुन उनको चौथो अस्पताल हो। उनको हालसम्म २१ वटा शल्यक्रिया भइसकेको छ। “हड्डीसम्म जलेको छ। हड्डीबाट पिप बगिरहन्छ,” बुढा भन्छिन्। “लाखौं पैसा अस्पतालमा तिर्नु छ। हामीसँग बेच्नको लागि घर जग्गा बाँकी छैन।”

बर्न केयरको निषेधात्मक रुपमै महँगो र धेरै लामो प्रकृतिलाई ध्यानमा राख्दै, डाक्टरहरू र अन्य पैरवीकर्ताहरू उपचारमा सरकारले अनुदान दिनुपर्ने सुझाव दिन्छन्। “आगोले पोल्ने विपन्नहरुलाई हो, त्यसैले सरकारले विपन्नको लागि फन्डको व्यवस्था गरिदिनु जरुरी छ,” सुष्मा कोइराला मेमोरियल अस्पतालका प्लास्टिक, रिकन्स्ट्रक्टिभ तथा कस्मेटिक सर्जन सन्तोष विक्रम भण्डारी भन्छन्।

बर्न भाइलेन्स सर्वाइभर्स नेपालका प्रोग्राम म्यानेजर श्री कृष्ण थापा भन्छन्, परोपकारी संस्थाले विपन्न नागरिक औषधि उपचार कोषको निर्देशिकामा जलनलाई समावेश गर्न लबिङ गरिरहेको छ। सन् २००६ मा पहिलो पटक स्थापना भएको कोषले क्यान्सर, स्ट्रोक र मृगौला र हृदय रोग जस्ता रोगहरूबाट पीडित नेपालीहरूलाई आर्थिक सहायता प्रदान गर्दछ, तर जलनका चोटपटकहरू यस वर्गमा पर्दैनन्।

“जलन भनेको प्राथमिक स्वास्थ्य अन्तर्गत पर्दछ,” नेपालको स्वास्थ्य मन्त्रालयका पूर्व प्रवक्ता सन्जय कुमार ठाकुर (त्यसपछि उनी अर्कै मन्त्रालयमा सरे) भन्छन्। “सबै स्वास्थ्य चौकी र डाक्टरहरुलाई तालिम पनि दिइएको छ। जलन हुनेबित्तिकै काठमाडौँमा रेफर गरिहाल्नु पर्दैन।” जलन उपचारको उच्च लागततिर इंगित गर्दै उनले धान्न नसक्नेहरूको लागि स्वास्थ्य सेवा खर्च घटाउने लक्ष्य राखेको नेपालको सामाजिक सुरक्षा इकाई सबै सरकारी अस्पतालमा सञ्चालन भइरहेको बताए। “त्यसका लागि सरकारले अनुदान पनि दिन्छ।”

खातुन अहिले १८ वर्षकी भइन् र उनले जलनको चोटपटकबारे सचेतना फैलाउन आफ्नो जीवन समर्पण गरेकी छिन्। “प्राथमिक उपचार समयमा नपाएको कारण मेरो घाउ झनै जटिल बन्यो,” उनी भन्छिन्। उनी चाँडो वा उचित उपचार नपाएकै कारण कसैको अकाल मृत्यु नहोस् भन्ने कुरा सुनिश्चित गर्न कटिबद्ध छिन्। “कुनै समय मेरो अनुहारको दाग देखेर आफै झस्किन्थें। तर, आज यही दागले मलाई अगाडि बढ्ने साहस दिन्छ।”

सुनिता न्यौपानेग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।


अनुवाद नोट

जिपिजेकी दीपा सिलवालले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेकी हुन्।