Puerto Rico

विशिष्ट कृषकहरु मन्दरुपमा तप्कने कफीको पुनरुत्पादन गर्दै

चार वर्षअघि मारिया आँधीले उद्योगलाई तहसनहस पार्‍यो। आँधीपछि फेरि उठ्न खोज्नु मात्र यस क्षेत्रका घट्दो संख्याका कृषकहरूको लागि अवरोध भने होइन।

Read this story in

Publication Date

Specialty Coffee Farmers Brew a Slow-Drip Revival

कोराली क्रुज मेहिआस, जिपिजे पुएर्टो रिको

जिमी गोन्जालेज आफ्नो फार्ममा कफीका बिरुवाहरूलाई नियाल्दैछन्। एक साना उत्पादकको रूपमा, उनी पुएर्टो रिकोको स्थानीय कफी उद्योगलाई ब्युँताउन खोजिरहेका छन्।

Publication Date

सान सेबास्टियन, पुएर्टो रिको — आँप, भुइँकटहर र केराका रुखहरु जिमी गोन्जालेजको कफी फार्म जाने घुमाउरो बाटोभरि छन्। यस न्यानो, रमणीय पहाडी इलाका पुएर्टो रिकोको कफी उत्पादन केन्द्रहरूमध्ये एक हो। उनको खेतको बीचमा उभिंदा, माथि पहाडदेखि तलसम्म फैलिएका कफी फार्महरू देख्न सकिन्छ।

४८ वर्षीय गोन्जालेजले पुलिस अफिसरको पेशा अपनाएका थिए। तर उनका बुबा र हजुरबुबा भने कफी किसान थिए र उनीहरूले नै गोन्जालेजलाई व्यापार गर्ने तरिका सिकाए। दुई वर्षअघि उनले जागिर छाडेर १० कुएर्डास (लगभग ३९,३०० वर्ग मिटर वा १० एकड) जमिन किने। उनका बुबासँग अझै पनि नजिकै ८० कुएर्डास (लगभग ३१४,४०० वर्ग मिटर वा ७८ एकड) जमिन छ जहाँ उनी पनि भुइँकटहर, केरा र अन्य फलफूल उब्जाउँछन्।

“म सानो हुँदा देखि नै मलाई गेडा राख्ने क्यानसँगै बोकिन्थ्यो र म भुइँबाट कफी टिपेर जम्मा गर्थें,” गोन्जालेज सानो रोस्टिङ मेसिन शुरु गर्दै सुनाउँछन्।

यस्ता सम्झनाहरु धेरै पुएर्टो रिकनहरुको दिमागमा महत्वका साथ बसेका छन्। कफी लामो समयदेखि पुएर्टो रिकोको प्राथमिक बालीहरूमध्ये एक हुनुको साथै यस क्षेत्रको सामूहिक पहिचानमा पनि यसले मुख्य भूमिका खेल्ने गरेको छ। यद्यपि, स्थानीय कफी उद्योग वर्षौंदेखि संघर्षरत छ– विशेषगरी सन् २०१७ को मारिया आँधी पछि।

हाल गोन्जालेजजस्ता साना उत्पादकहरू यसलाई पुनर्जीवित गर्ने अभियानमा लागेका छन्।

expand image
expand slideshow

Coraly Cruz Mejías, GPJ Puerto Rico

Jimmy González picks a handful of coffee cherries.

पुएर्टो रिको डिपार्टमेन्ट अफ इकोनोमिक डेभेलप्मेन्ट एन्ड कमर्सका अनुसार पुएर्टो रिकोमा अहिले २,००० कफी फार्म र १०,००० कफी कृषक छन्, जसमध्ये अधिकांश साना तथा मझौला उत्पादकहरु छन्। स्थानीय उद्योग सन् १९८० देखि घट्दै गएको छ। उत्पादन महँगो हुँदै गएकोले किसानहरूलाई दिइने सरकारी अनुदान भने बन्द भएको छ र नयाँ नियमहरूले गर्दा किसानहरूले आफ्नो बालीका लागि लिनसक्ने शुल्क पनि सीमित भएको छ।

त्यसमाथि, मारिया आँधीले उद्योगलाई अर्को ठूलो धक्का दियो। यसले स्थानीय कफी फार्महरू सखाप पार्‍यो र १ करोड ८० लाख कफीका रूखहरू र अपेक्षित फसलको ८५% नष्ट गर्‍यो। सन् २०१२ मा पुएर्टो रिकोमा लगभग ५,००० कफी फार्महरू भएकोमा, संयुक्त राज्यको कृषि विभागले बताएअनुसार करिब ३,००० जति भने आँधीबाट बच्न सकेनन्। अहिले पनि व्यवसाय जारी राखेका कफी कृषकलाई स्थानीय कामदारहरुलाई फसलको काममा राख्न धौधौ परिरहेको छ।

फलस्वरूप, पुएर्टो रिकोमा प्रायः कफीहरू विशेषगरी मेक्सिको र डोमिनिकन गणतन्त्रबाट आयात गरिन्छ। एउटै मात्र कम्पनी पुएर्टो रिको कफी रोस्टर्सले बजारको ८०% भन्दा बढी नियन्त्रण गरेको छ।

धेरैजसो पुएर्टो रिकनहरु स्थानीय कफी उद्योगले भोगिरहेको पीडालाई महसुस गर्दैनन्, कफी उत्पादक र अन्तर्राष्ट्रिय स्वादका प्रशिक्षक अल्फ्रेडो रोड्रिग्ज मेलेन्डेज भन्छन्।

“त्यो अझै छ भन्ने भ्रम कायम राख्न अर्थतन्त्रलाई फेरबदल नै गर्ने मुद्दा हो यो,” उनी भन्छन्। “आशाका त्यान्द्राहरु त छन् तर सबै त्यस्तै चाहिं हैन।”

केही विज्ञहरूका अनुसार एउटा समस्या के हो भने, यदि अन्तिम उत्पादनमा प्रयोग भएको श्रम, प्याकेजिङ्ग वा कच्चा पदार्थको कम्तिमा पनि ३५%, स्थानीय स्रोतबाटै पूर्ति भएको खण्डमा आयातित कफी “पुएर्टो रिकोमा बनेको” भन्ने लेबल लगाएर स्टोरहरूमा बिक्रि गर्न सकिन्छ।

expand image
expand slideshow

Coraly Cruz Mejías, GPJ Puerto Rico

Jimmy González roasts and processes Arabica coffee harvested from his farm, which surrounds a small house that once belonged to his grandfather.

लेबल जारी गर्ने व्यापारिक समूह मेड इन पुएर्टो रिको एसोसिएसनकी अध्यक्ष आयशा इसा भन्छिन्, ब्रान्डिङको सवालमा कुनै अन्यौल छैन र लेबलले स्थानीय अर्थतन्त्रलाई उकास्न झन् मद्दत गरेको छ।

“वास्तविकता के हो भने यसले कहिल्यै कुनै समस्या दिएकै छैन,” इसा भन्छिन्। “अन्यौलभन्दा बरु यसले संलग्नताको सिर्जना गर्छ। स्थानीय उपभोक्ताहरू यसको खोजी गर्छन् र उनीहरूले यसलाई गुणस्तरसँग जोड्छन् भन्ने कुरा तथ्याङ्कबाट पनि साबित भइसकेको छ।”

यता पुएर्टो रिको विश्वविद्यालय कृषि अर्थशास्त्रकी सेवानिवृत्त प्रोफेसर कारमेन अलामो भने यो लेबल भ्रामक भएको तर्क गर्छिन्।

“उत्पादनको लेबल पुएर्टो रिकोबाटै आएको हो भनेर देखाउनेखालको तर ‘पुएर्टो रिकोमा बनेको’ भन्ने लेबलभन्दा चाहिं फरक हुनुपर्छ,” उनी बताउँछिन्।

त्यस्तै, उत्पादनको प्याकेजिङले, “उपभोक्तालाई उनीहरूले वास्तवमा के उपभोग गरिरहेका छन् भनेर सूचित गर्नुपर्छ”, उनी भन्छिन्।

स्थानीय कफी उत्पादकहरूको चेतना अभिवृद्धि गर्न, अलामो र विश्वविद्यालयका अन्य विशेषज्ञहरूले द गोल्डेन कप नामक प्रतियोगिताको सिर्जना गरेका छन्, जसमा पुएर्टो रिकोका विशिष्ट कफीहरूलाई पुरस्कृत गरिन्छ। साथै, उनीहरूले किसानहरूको लागि उनीहरूको बालीको गुणस्तरमा सुधार ल्याउन सघाउने एक शक्तिशाली शैक्षिक अभियान पनि शुरु गरेका छन्। यसबाट उनीहरूले बढी मूल्य माग गर्न र आयातित कफीसँग राम्रोसँग प्रतिस्पर्धा गर्न सक्नेछन्।

कृषिविद् र स्वाद विज्ञ जुआन कार्लोस सोटो भन्छन्, कफी उद्योगको व्यवसायिक मोडेलले किसानहरूलाई घाटामा राख्छ किनभने सरकारी नियमहरूले गर्दा उनीहरूले निश्चित मूल्यमा मात्र कफी बेच्न पाउँछन्।

“किसानहरु उत्पादन गर्छन्, प्रशोधन चाहिं अरु कसैले गर्छ र नाफा लिन्छ,” सोटो भन्छन्।

expand image
expand slideshow

Coraly Cruz Mejías, GPJ Puerto Rico

Jimmy González says he is thinking about opening a coffee bar near his farm to boost business.

यस कुरालाई सम्बोधन गर्न, गोन्जालेजजस्ता कफी कृषकहरूले आफ्नै कफी रोस्ट गर्न र बेच्न थालेका छन्। यसबाट उनीहरुलाई केही सञ्चालन लागत ग्राहकहरूतर्फ सार्न अनुमति पनि मिल्छ। केही कृषकहरूले व्यापार बढाउन फार्म टुर मार्केटिङ पनि गर्न थालेका छन्। यो सँगसँगै, गोन्जालेज पनि नजिकै एउटा कफी बार खोल्ने सोचमा रहेको सुनाउँछन् – तथापि, यी योजना कोरोनाभाइरस महामारीको कारण रोकिएको अवस्थामा छन्।

सोटोको लागि, आयातित कफी सधैं नै टेबलमा रहनेछ – पुएर्टो रिकोमा स्थानीय किसानहरुले एक्लै भ्याउनै नसक्नेगरी कफीको अतिउच्च माग रहेको छ, उनी भन्छन्।

स्थानीय कफी कृषकहरूले सामना गर्नुपर्ने चुनौतीहरूका बाबजुद पनि गोन्जालेज भने आशावादी छन्। गोन्जालेज भन्छन्, एक दिन उनी आफ्नो कफी फार्म आफ्नो छोरालाई हस्तान्तरण गर्न सक्षम हुने कुराको आशा गर्छन्। मारिया आँधीपछि उनले रोपेका बिरुवाहरुबाट यस वर्ष र आगुम साल राम्रो बाली हुने अपेक्षा गरिएको छ। अब उनलाई फसलमा सघाउने कामदारहरु मात्र चाहिएको छ। वर्षौंको संघर्षपछि, अन्ततः उद्योगमा सकारात्मक संकेत मिलेको छ।

कोराली क्रुज मेहिआस पुएर्टो रिकोस्थित ग्लोबल प्रेस जर्नलकी वरिष्ठ रिपोर्टर हुन्। उनले वातावरणीय रिपोर्टिङ्गमा विशेषज्ञता हासिल गरेकी छिन्।

अनुवाद नोट
जिपिजेकी शानन किर्बीले यस लेखलाई स्पेनिशबाट अनुवाद गरेकी हुन्।

Coraly Cruz Mejías es reportera de Global Press Journal, establecida en Puerto Rico. Se especializa en escribir sobre el medio ambiente.


NOTA SOBRE LA TRADUCCIÓN

María Cristina Santos, GPJ, adaptó este artículo de su versión en inglés.

Related Stories