क्रिल, मेक्सिको — सल्लाघारी, हरिण र गाइवस्तुका बथान। फर्सी फलेका खेत, लटरम्म पाकेका मकै र सिमीहरु । आदिवासी रारामुरी आग्रिपिना भिनिएग्रा आफ्नो बाल्यकाल सम्झिन्छिन् । उत्तर–मध्य मेक्सिकोस्थित सियरा ताराहुमारामा उनको बाल्यकाल गुज्रेको थियो।
सन् २०११ को चर्को खडेरीयता भने यी २४ वर्षेको खेतीपाती, वस्तुभाउ र घरायसी प्रयोजनको लागि मनग्य पानी पर्न सकेको छैन । यसैकारण, सन् २०२० मा नेशनल वाटर कमिशनले चिहुआवा प्रान्तको साथै सियरा ताराहुमारामा प्राकृतिक प्रकोपको घोषणा गरेको थियो ।
“हाम्रा पानीका मुहानहरु सुकिसके,” भिनिएग्रा दुखेसो पोख्छिन् ।
शुरुमा त रारामुरी परिवार पानी भर्न हप्तामा धेरैपटक आरारेको तालमा ४ घण्टा उकाली–ओराली गर्ने गर्थे। प्लास्टिकका ड्रम र २-लिटर पानीका बोतलहरु गाडामा राख्दै धकेल्थे । जलवायु परिवर्तनको बढ्दो खतराबाट जोगिन दश वर्षपछि उनीहरुले दीगो आर्थिक र वातावरणीय रणनीतिहरु अपनाएका छन्। यस अन्तर्गत पर्यटन, वस्तु विनिमय प्रणाली, पानी ट्याङ्कीहरु, वन पुनरुत्थान परियोजनाहरु आदि पर्दछन् ।
प्रयास सफल भएमा, मेक्सिकोका अन्य आदिवासी समुदायका लागि यो एक नमूना बन्नसक्छ । सन् २०२० को जनगणना अनुसार यी समुदायले कूल जनसंख्याको पाँच भागमा एक भाग ओगटेको छ । स्टेट इलेक्टोरल इन्स्टिट्युटको जातीय समूह तथा आदिवासी जनजातिकी संयोजक जर्जिना गाओनाका अनुसार, निर्वाहमुखी कृषिमा आश्रित र खडेरी-उन्मुख क्षेत्रमा बसोबास केन्द्रित यी समुदायहरु जलवायु परिवर्तनले प्रभाव पार्ने अति संवेदनशील वर्गमा पर्छन् ।
“बर्षा ऋतुहरु परिवर्तन भएका छन्, समय परिवर्तित भएको छ”, उनी भन्छिन् । जलवायुमा कुनै पनि किसिमको फरकपना—चाहे बर्षा थोरै होस् वा ढिला—उनीहरुको फसलमा असर पर्छ ।
रारामुरीजस्ता समुदायहरु बाँधजस्ता बाली उत्पादन सुधार गर्ने सिंचाई परियोजनाको लागि आवश्यक राजनीतिक पहुँच र आर्थिक कोषबाट टाढै छन्, गाओना थप्छिन् । एउटा इनार खन्न करिब १ करोड ३० लाख नेपाली रुपियाँ (रु.) (करिब $१००,०००) र ५ देखि १० वर्षको अनुमोदन प्रक्रिया लाग्छ ।
चिहुआवाकी पूर्व सामाजिक विकास मन्त्री भिक्टर किन्ताना खबरदारी गर्छन्, खाद्य उत्पादनको तीब्र गिरावटले सियरा ताराहुमारामा जटिल कुपोषण र रोगको बढ्दो जोखिम निम्त्याइरहेको छ । जवाफमा, स्टेट कमिशन फर इन्डिजिनस पिपल्सका परिचालन निर्देशक लुइस अक्टाभिओ इहार भन्छन्, सरकारले ५,६०० भन्दा बढी स्थानीय कृषकहरुलाई खडेरी-सहनशील तरिकाहरुको प्रयोगबारे र भिन्नखालका तरकारी र विरुवाहरु उमार्ने तालिम दिइरहेको छ ।
“हामी के चाहन्छौं भने उनीहरुले आफ्नो चलिआएको चलनको साथसाथै आफूलाई मन लागेको खानेकुरा खाने अधिकार पनि जोगाउन् जसले गर्दा आफ्नो रुचिको खानेकुरा खानसक्ने हुन्छन्”, उनी भन्छन् । “मनग्य खान पुगोस् भन्ने हेतुले हामी सलाद र स्विस साग, पालुङ्गो र हरिया वस्तुहरुका बीउ प्रदान गर्छौं ।”
यता ५५ वर्षकी रारामुरी अउरोरा चभेज् बतिस्ता भने आफूले कृषिक्षेत्र त्यागेको धेरै वर्ष भयो भन्छिन्। २३ वर्षको उनको छोरोले मकै र गेडागुडी उत्पादन गर्दै गर्दा उनी आफ्ना दिदीबहिनीहरुसँग मिलेर बास्केट र ब्रेसलेटहरु बुन्नुका साथै बाख्राका छाला काठका ड्रममा बाँध्ने काम गर्छिन् ।
महिनाको एकपटक उनीहरु ट्याक्सीमा ४० मिनेटको यात्रा गरी आफ्ना सामान बेच्न क्रिल शहरमा जान्छन् । यस शहरमा भएका हस्तकलाका पसलहरुले संयुक्त राज्य अमेरिका, क्यानडा, यूरोप र मेक्सिकोका अन्य भागका अतिथिहरुलाई आकर्षित गर्दछ ।
कोरोनाको कारण अघिल्लो वर्ष पर्यटन क्षेत्रमा व्यापक असर परेपछि कालिगढहरु वस्तु विनिमय प्रणालीमा फर्किए । महिनामा एक वा दुइपटक सेन्टर फर अल्टरनेटिभ इन्डिजिनस डेभलपमेन्टद्वारा सञ्चालित व्यापारिक पोस्टमा उनीहरु आफ्ना शिल्पका सामानहरु खानेकुरासँग आदानप्रदान गर्छन् । यो गैरसरकारी संस्थाले सियरा ताराहुमारामा झण्डै २० वर्ष काम गरेको छ ।
“वस्तु विनिमयप्रति म ज्यादै कृतज्ञ छु किनकि यसले हामीलाई धेरै राहत दिन्छ,” चभेज् बतिस्ता भन्छिन् । “पसलमा खासै केहि दिंदैनन्, यहाँ भने खानेकुरा पाइन्छ ।”
आग्रिपिना सहमति जनाउँछिन् । “वस्तु विनिमयले नै हाम्रो लागि काम गरेको छ,” उनी भन्छिन् । “यदि यो नहुँदो हो त, हामीले कतैबाट पनि खानेकुरा पाउने थिएनौं ।”
पछिल्लो दशकमा, उनले रारामुरी हस्तकला विक्रेताहरुको संख्या करिब ८० बाट बढेर २०० भएको देखेकी छिन् । यहि समयमा आफ्ना सामानहरुलाई पनि झनै रङ्गिन र पृथक बनाउन सिकेकी छिन् । उनेका गहनाबाट शुरु गरी अहिले विस्तृत रुपमा कढाई गरिएका कम्बल र कपडाहरुतिर उन्मुख भएकी छिन् ।
यद्यपि, परम्परागत हस्तकलाका निम्ति कच्चा पदार्थको रुपमा प्रयोग हुने सल्लाका काठ र सोतल (मरुभूमिमा पाइने एक विरुवा) का पातहरुले वन विनाश गराएको छ । यसले सुख्खा याममा हुने नकारात्मक प्रभावहरुलाई झनै मलजल गरेको छ ।
आदिवासी विकास केन्द्रको सहयोगमा २२ वर्षीय एस्टेला बतिस्ताले धातुका तीनवटा ठूला ट्याङ्कीहरुलाई घरको छतमुनि मिलाएर राखेकी छिन् । ती सबै भर्न कम्तीमा चार दिन लागेपनि प्रत्येक ट्याङ्कीले एक महिना पानीको बन्दोबस्त गरिदिन्छ ।
यसबापत उनी संगठनको वन पुनरुत्थान परियोजनामा आबद्ध भएकी छिन् र आदिवासी जनजातिलाई सल्ला र सोतलका बीजहरु सङ्कलन गर्ने, हेरचाह गर्ने र रोप्ने तरिका सिकाउँछिन् ।
उनी भन्छिन्, “सल्लाका रुखहरु नभएकोले, आगलागी हुने, पानी नपर्ने र मानिसहरुले रुख काट्ने भएकोले हामी वन पुनरुत्थान गर्छौं ।”
उनीहरुको प्रयासलाई सकारात्मक सोच र धैर्यताको खाँचो छ—अघिल्लो वर्ष खेती गरिएका ३०० रुखमध्ये जम्मा सातवटा जीवित रहे—तर आफ्नो समुदायको भविष्य सुरक्षित गर्न रारामुरी यसलाई अर्को एक समायोजन मान्छन् ।
“यदि हामी वस्तु विनिमयलाई निरन्तरता दिन चाहन्छौं भने, हामीले विरुवा रोपेको रोप्यै गर्नुपर्छ,” भिनिएग्रा भन्छिन् । “अन्यथा, खानेकुरा साँटासाँट गर्न हामीसँग अन्ततः कुनै हस्तकला बाँकी हुने छैन ।”
लेलेट ए. काेन्त्रेरस मेक्सिकोको क्वाउतेमाेक शहरस्थित ग्लोबल प्रेस जर्नलकी रिपोर्टर हुन् ।
अनुवाद नोट: श्यानन कर्बि, जिपिजे, ले स्पेनिशबाट यो कथा अनुवाद गरेकी हुन् ।
Lilette A. Contreras es reportera de Global Press Journal, y se encuentra en Cuauhtémoc, México.
NOTA SOBRE LA TRADUCCIÓN
Aída Carrazco, GPJ, adaptó este artículo de su versión en inglés.