Zimbabwe

जिम्बाबेको कमजोर अर्थतन्त्रबीच परम्परागत हिलरहरू उतारचढाव अनुभव गर्छन्

मेडिकल डाक्टरहरू परम्परागत हिलरहरूको सल्लाह नलिन जिम्बाबेका मानिसलाई चेतावनी दिन्छन् तर ती हिलरहरूले भने धेरै मानिसहरूका लागि सेवा प्रदान गरिराखेका छन् । त्यस्तै, अहिलेको आर्थिक संकटमा, पादरीहरु प्रार्थना गर्दा कुनै शुल्क नलाग्ने चर्चमा उपचार खोज्न मानिसहरूलाई आग्रह गरिरहेका छन् ।

Read this story in

Publication Date

In A Weak Economy, Traditional Healers In Zimbabwe Feel Boom and Bust

गमुचिराई मसिइवा, जिपिजे जिम्बाबे

मेमोरी कुजोनेईको परम्परागत आध्यात्मिक हिलरको पेशा जिम्बाबे सरकारले नियमन गर्ने गरेको छ किनभने ८० प्रतिशतभन्दा बढी जिम्बाबियनहरू उनीजस्ता उपचारकहरूसँग परामर्श लिने गर्छन् ।

Publication Date

हरारे, जिम्बाबे — २८ वर्षिया मेमोरी कुजोनेई भाँडाको सानो कोठामा नुन, सुर्तीको धुलो र पानीले भरिएका तीनवटा काठका बटुकोले घेरिएर बसेकी छिन् । एउटा बटुकोमा खन्जर राखिएको छ । आफ्नो पुर्ख्यौली आत्मासँग जोडिंदा उनी रातो, सेतो र कालो कपडामा बेरिन्छिन्।

उनका अनुसार, मानव शरीरका अङ्गहरू र जडिबुटीबाट बनेको दुष्टात्मा भनेर मानिने भूत-पिशाच र सर्पहरूलाई नष्ट गर्न खन्जरको प्रयोग गरिन्छ । उनले धेरैपटक भूत-पिशाच र सर्पहरू नष्ट गरिसकेकी छिन् रे ।

आफ्नो मत्स्यकन्या आत्मासँग जोडिनुपर्ने बेलाको लागि शुद्धताको प्रतीकको रुपमा उनी अर्को सेतो कपडा सानो कोठामा लुकाएर राख्छिन् ।

कोठाबाहिर सबै मानिसहरू चर्को घाममा लाइन लागेर कुजोनेईलाई पर्खेर बसिरहेका छन् । उनले सन् २०११ देखि यहाँका बिरामी र बाँझा मानिसहरूलाई निको पार्दै आएकी छिन् । उनी वैवाहिक र आर्थिक समस्याहरू समाधान गर्नको लागि पनि चिनिन्छिन्।

कुजोनेई एक परम्परागत आध्यात्मिक हिलर हुन् । यो पेशालाई जिम्बाबे सरकारले नियमन गर्छ । मेडिकल डाक्टरहरूले निको पार्न वा पत्ता लगाउन नसक्ने समस्याहरुको लागि मानिसहरूले आध्यात्मिक उपचार र हस्तक्षेप खोज्नु यहाँ सामान्य मानिन्छ ।

कुजोनेईको व्यवसाय फस्टाइरहेको छ, तर राष्ट्रले बढ्दो आर्थिक निराशा सहेकोले बिरामीको संख्या घट्दै गएको गुनासो अन्य हिलरहरू गर्छन् ।

“कठिन आर्थिक अवस्थाका कारण मानिसहरू पहिलेजस्तो आउँदैनन् । परामर्शका लागि कुनै शुल्क नलाग्ने चर्चमा गएर मद्दत माग्न थालेका छन्,” एक आध्यात्मिक चिकित्सक सोफिया मचाका भन्छिन् ।

यस्ता हिलरहरु सामान्यतया जस्तासुकै भुक्तानी पनि स्वीकार गर्छन् जसमा बाख्रा र अन्य जनावरहरू आदि पर्दछन् ।

परम्परागत चिकित्सकहरू जिम्बाबेको सन् १९८१ को परम्परागत चिकित्सा व्यवसायी ऐन अन्तर्गत नियमन गरिएका हुन्छन् । सन् २०१० को संसदको स्वास्थ्य समिति रिपोर्टअनुसार, जिम्बाबेका ८० प्रतिशतभन्दा बढी मानिसहरु आध्यात्मिक हिलरसँग परामर्श लिन्छन् ।

जिनाथाको राष्ट्रव्यापी नेटवर्कमा लगभग ५५,००० आध्यात्मिक उपचारकहरू छन् । जिनाथासँग उनीहरूले उपचार गर्ने मानिसहरुको संख्याको बारेमा औपचारिक तथ्याङ्क त छैन, तर जिनाथाका शिक्षा सचिव प्रिन्स सिबान्डाका भनाइमा, उनीहरु दिनमा औसतमा ५० जना मानिसहरूलाई हेर्छन् ।

जिम्बाबेमा बढ्दो धार्मिक आन्दोलनको अगुवाइ गर्ने केही पेन्टेकोस्टल पादरी र ज्योतिषीहरू परम्परागत चिकित्सकलाई दुष्ट आत्मासँग जोड्छन् र आफ्ना चर्चका सदस्यलाई उनीहरुबाट टाढै रहन चेतावनी दिन्छन् । यसले गर्दा आध्यात्मिक उपचार गर्नेहरूको संख्यामा कमी आएको जिनाथा सदस्यहरू बताउँछन् ।

यसैबीच, केही पास्टरहरूका भनाइमा, धेरै मानिसहरूले आध्यात्मिकरुपमा निको पार्ने चिकित्सकहरुको साटो चर्चमा उपचार गर्न गएर चर्चमा बस्ने सिटहरु भरिरहेका छन् । तर यसको अर्थ उनीहरु इमान्दार क्रिश्चियनहरू हुन् भन्ने चाहिं नभएको कोही बताउँछन् ।

हरारेको पेन्टेकोस्टल चर्च, विनर्स चैपल इन्टरनेशनलका डेकन निकोलस न्याहोरा परम्परागत चिकित्सकहरूलाई खराब शक्तिको प्रयोग गरेर चमत्कार देखाउने बाइबलका जादुगर एलिमाससँग तुलना गर्छन् ।

“[परम्परागत हिलरहरू] कहाँ जाने मानिसहरू क्रिस्चियन होइनन्, चर्च जानेहरू मात्र हुन् । यो किनभने क्रिस्चियनहरूलाई आध्यात्मिक उपचारको लागि कहाँ जाने भन्ने कुरा थाहा हुन्छ,” न्याहोरा भन्छन् ।

अनुमानित ८४ प्रतिशत जिम्बाबियनहरू क्रिस्चियन भएको दाबी गर्छन्, तर परम्परागत उपचारकका भनाइमा, तीमध्ये धेरैले अझै पनि उनीहरूको सेवाहरू खोज्छन् । आध्यात्मिकरुपमा निको पार्ने टिचकुण्ड बोटेका भनाइमा, क्रिश्चियनहरू अन्धकारमा उनलाई भेट्न आउने भएकोले उनी अबेरसम्म काम गर्छन् । चाहे चर्चमा होस् वा हिलरको अफिसमा, उनीहरूले खोजेको ईश्वर उही हो, बोटे भन्छन् ।

“हामी पनि परमेश्वरमा विश्वास गर्छौं, तर क्रिश्चियनभन्दा हामी फरक हुनुमा हामीले परमेश्वरकहाँ पुग्न प्रयोग गर्ने विधिहरू पर्छन्,” उनी भन्छन् ।

व्यावहारिक कारणहरूले गर्दा पनि, आधिकारिकरूपमै चिकित्सा व्यवसायीहरु बिरामीलाई आध्यात्मिक हिलरहरुकहाँ जान निरुत्साहित गर्छन् ।

हरारेमा बस्दै आएकी डा. भर्जिनिया मासुन्डाका भनाइमा, परम्परागत चिकित्सकले प्रयोग गर्ने जडीबुटी र चिरा पार्नेजस्ता उपचारले चलनचल्तीका औषधिहरूमा हस्तक्षेप गर्न सक्छ । तर विशेष गरी मानसिक रोगीका लागि, यस्ता उपचारकले पश्चिमी मुलुकमा प्रशिक्षित डाक्टरहरूको कामलाई पूरक बनाउनसक्ने कुरालाई भने उनी स्वीकार्छिन् ।

“जब उनीहरू आध्यात्मिक उपचारकर्ताकहाँ जान्छन् र उनीहरुका परम्परागत आस्थामा केन्द्रित समस्यालाई विश्वासिलो किसिमले सम्बोधन गरिएको पाउँछन्, तब स्वतः नै मनोवैज्ञानिक रूपमा उनीहरूलाई अलि स्थिर हुन सहयोग पुग्छ किनभने आत्माहरू शान्त भइसकेका हुन्छन्,” उनी भन्छिन् ।

मत्स्यांगना आत्मा भएको दाबी गर्ने हिलर कुजोनेई आफ्नो व्यवसाय फस्टाउँदै गएको र उनका बिरामीहरूमा चर्चका नेताहरू पनि रहेको बताउँछिन् ।

कुजोनेई आफ्ना व्यस्त दिनहरूमा १५० जनालाई हेर्छिन् र सामान्यतया प्रत्येकलाई केही मिनेट मात्रै दिन्छिन् रे । धेरैजसोचाहिं, उनले दिनमा ४० जना जतिलाई हेर्ने बताइन् । उनी पानीमा मसिनो सुर्तीको धूलो मिसाउँछिन् र खराब आत्माहरू भगाउन ग्राहकहरूलाई त्यसमा नुहाउन लगाउँछिन् । त्यही पानीमा अण्डाहरू थपेर फेरि उनीहरूलाई त्यसमा नुहाउन लगाउँछिन् । अनि त्यसलाई उमालेर नुन नहाली खान लगाउँछिन् । उनका भनाइमा, यो प्रक्रियाले कुनै पनि व्यक्तिलाई विवाह गर्नबाट रोक्ने नराम्रो भाग्यलाई पखाल्छ ।

“विभिन्न क्षेत्रका मानिसहरू मेरो सेवा लिन आउँछन् र कहिलेकाहीं भींड देखेर एकदम उत्साहित हुन्छु,” उनी भन्छिन् । “चर्चका अगुवाहरू समेत, धेरै मानिसहरू उनीहरूको चर्चमा आऊन् भनेर मकहाँ बढी शक्ति प्राप्त गर्न आउँछन्,” उनी थप्छिन् ।

कुजोनेईको परामर्श शुल्क $३ हो तर कुनै गहन समस्याको भने $५० लाग्छ। उनी विदेशमा बस्नेहरूलाई फोनमा परामर्श समेत दिन्छिन् जसमध्ये अधिकांशले उनलाई धन्यवादको रूपमा उपहार पठाउँछन् ।

कुजोनेईका अनुसार उनले १० वर्षको उमेरमा नै उपचार गर्ने शक्ति प्राप्त गर्न थालिन् जब आफ्नो गाउँको घर नजिकैको नदी किनारबाट पानी ल्याउँदै गर्दा उनलाई जलपरीहरूले लगे। उनी ती मत्स्यकन्याहरूसँगै पाँच वर्षसम्म समुद्री संसारमा बसिन् रे ।

“आमाले पानी लिन पठाउनुभएको थियो, अनि आँधीबेहरी आयो, भाँडो उँडायो। त्यसपछि, आफूलाई पानीमुनि देखें, कसरी त्यहाँ पुगें थाहै पाइनँ,” उनी भन्छिन् ।

अहिलेचाहिं कुजोनेईसँग दुईवटा आत्माहरू छन् रे । विभिन्न समस्यामा परेका मानिसहरूलाई मद्दत गर्न पालैपालो उनी त्यसको प्रयोग गर्छिन् रे । उनको मत्स्यांगना आत्मालाई शोना भाषामा शावी रेन्जुजु भनिन्छ भने उनको जिज्युबाजेतिरको दोस्रो आत्मालाई शोनामा मुड्जिमु भनिन्छ । समुद्रको संसारबाट जमिनमा फर्किंदा दुवै आत्माले उनलाई कब्जा गरेका थिए रे ।

केही बिरामीहरूको लागि, कुजोनेईको काम वास्तवमै जीवनदान दिने खालको छ ।

शुपिकाई चिसेन्गा सन् २०१४ मा आफ्नो छोरोलाई भूत-पिशाचले आक्रमण नगरुन्जेल आफूलाई परम्परागत हिलरहरूमा विश्वास नलागेको कुरा बताउँछिन् । २२ महिनाको बालक मरिसकेको थियो रे ।

“उसको नाडी नै थिएन, चलमल गर्न र सास फेर्न पनि सकेको थिएन । साँच्चिकै मरी नै सकेको थियो,” उनी भन्छिन् ।

छिमेकीहरु समवेदना प्रकट गर्न समेत आएका थिए ।

expand image
expand slideshow

GAMUCHIRAI MASIYIWA, GPJ ZIMBABWE

Shupikai Chisenga dit que sa foi dans les guérisseurs traditionnels a été restaurée lorsque Memory Kuzonyei a guéri son fils, Junior Chisenga, qui a maintenant 3 ans.

कुजोनेईले आफ्नो जलपरी आत्माको प्रयोगद्वारा त्यो बालकलाई सुर्तीमा नुहाउन लगाएर दुष्टात्मा निकालेपछि ऊ तुरुन्तै जीवित भयो रे ।

जिनाथाका शिक्षा सचिव प्रिन्स सिबान्डाका भनाइमा, परम्परागत उपचारकहरुको माग सधैं रहनेछ किनभने उनीहरू शारीरिक र आध्यात्मिक दुवै आवश्यकताहरूलाई सम्बोधन गर्छन् । साथै, ग्राहकलाई चलनचल्तीका चिकित्सा उपचार चाहिएको खण्डमा, हिलरले सो व्यक्तिलाई अस्पतालमा पनि पठाउन सक्नेछ, उनी थप्छन् ।

“हामी वास्तवमा को हौं भन्ने बिषयमा गलत व्याख्या गरिएको छ । हामीलाई बोक्सा-बोक्सीको रूपमा बुझिन्छ तर त्यस्तो होइन,” उनी भन्छन् । “हामी बोक्सीविद्या विरुद्ध लड्ने चिकित्सक हौं। हाम्रो म्यान्डेट नै निको पार्नु हो ।”

गमुचिराई मसिइवा, जीपीजेले शोनाबाट केही अन्तर्वार्ताहरू अनुवाद गरेकी छिन् ।

Related Stories