गिसेनी, रुवान्डा — २६ वर्षीया मिरेली म्बान्जिसारो दिनभरि सामान बेच्न प्रजातान्त्रिक गणतन्त्र कङ्गो छिर्नुअगाडि आफ्नी सानी छोरीलाई बोर्डरमा छाड्ने गर्थिन्।
उनी बच्चीलाई अरु बालबालिकाको जिम्मा लगाउँथिन् जो आफै छाडिएका हुन्थे। कहिलेकाहीं त उनी छोरीलाई एक्लै छाड्न बाध्य हुन्थिन्।
आज टाउकोमाथि सामान राखेको बाल्टिन लिएर म्बान्जिसारो रुवान्डाको गिसेनी र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको गोमाबीचको सानो बोर्डर ला पेटाइट ब्यारियरतर्फ हिंड्छिन्। तर यसपटक भने, उनी एउटा घर अगाडिको खुल्ला ढोकानिर रोकिन्छिन् जहाँ अहिले २ वर्ष पुगेकी उनकी छोरी भित्र जान हतारिन्छिन्।
छोरीलाई पिठ्यूँबाट हटाउँदै गर्दा, भर्खर खुलेको दिवा स्याहार केन्द्रका दुईजना केयरगिभरहरु उनकी छोरी र अरु केटाकेटीलाई घरभित्र लैजान नजिकै आउँछन्। आधारभूत वस्तुहरु उच्च मूल्यमा बिक्री हुने प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बाल्टिनभरिका सामान बेचिसकेपछि ती आमाहरु बेलुका फर्किन्छन्। सिमानातर्फ जाँदा उनीहरु आनन्दको अनुभूति गर्छन्।
म बच्चालाई ४ महिनाको हुँदा बोर्डरका पसलका बरन्डामा छाड्ने गर्थें। जब-जब पानी पर्थ्यो, बच्चालाई चीसोले समातिहाल्थ्यो। बच्चालाई उपचारको लागि अस्पताल लैजानु त मेरो सामान्य दिनचर्या नै भएको थियो।
– मिरेली म्बान्जिसारो
“म बच्चालाई ४ महिनाको हुँदा बोर्डरका पसलका बरन्डामा छाड्ने गर्थें,” म्बान्जिसारो भन्छिन्। “जब-जब पानी पर्थ्यो, बच्चालाई चीसोले समातिहाल्थ्यो। बच्चालाई उपचारको लागि अस्पताल लैजानु त मेरो सामान्य दिनचर्या नै भएको थियो।”
अरु खतरा पनि थिए। कतिपय आमाहरुले आफ्ना सन्तान हराएको बताएका थिए भने केहीले चाहिं हिंसाको सामना गरेका थिए।
सन् २०१६ मा पहिलोपटक जिपिजेद्वारा संवादित, कामकाजी आमाहरुले आफ्ना सन्तानलाई सिमानामा छोडेर जाने समस्याले अधिकारीहरूको ध्यानाकर्षण गरायो। सन् २०१७ मा, रुबाभु जिल्लाले समुदायका कमजोर सदस्यहरूका लागि वकालत गर्ने स्थानीय गैर-नाफामूलक संस्था एक्शन पौर ले डेवेलोप्पेमेंट डु पेपलसँगको साझेदारीमा सीमामा दिवा स्याहार केन्द्र खोल्यो।
बोर्डरमा एक्लै छाडिएका बालबालिका आफैले वर्षौंसम्म भोक, मौसम र हिंसामा आफ्नो ख्याल राख्नुपर्थ्यो। तीमध्ये प्राय ४ देखि १० उमेर भएका केहीले बच्चालाई पिठ्यूँमा बोकेर बाँध्ने र दिनभरि उनीहरुलाई स्याहार्ने गर्थे।
स्थानीय सरकारको अनुमान अनुसार, एक दिनमा करिब ४५,००० मानिसले ला पेटाइट ब्यारियर प्रयोग गर्छन् जसमा ९० प्रतिशत महिला हुन्छन्। यहाँका अनौपचारिक व्यापारीहरूमध्ये झण्डै तीन चौथाइ महिला छन्, जसमध्ये धेरैले टाउकोमा सामान बोकेर सीमाको अर्को छेउमा बेच्ने गरेका छन्।
साना केटाकेटीहरूलाई सीमापारी ल्याउँदाका खर्च र परिणामहरू धेरै भएको आमाहरू बताउँछन्। एउटा बच्चाको लागि ट्राभल डकुमेन्ट बनाउन १०,००० रुवान्डन फ्रान्क ($११.७४) लाग्छ जुन धेरै घरपरिवारहरूको लागि अति नै महँगो हो। त्यसमाथि, बोर्डरको अर्को छेउको सुरक्षा पनि शंकास्पद छ।
यो दिवा स्याहारको कुनै औपचारिक नाम छैन तर किन्यारवान्डामा इरेरेरो रियो कु मुपाका मुटो भनेर चिनिन्छ। यसको अर्थचाहिं सानो सिमानामा दिवा स्याहार हो। यो भाँडाको घरबाट सञ्चालन हुन्छ जहाँ दिनहुँ २५ देखि ३० बालबालिका बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आउँछन्। बच्चाहरूलाई पाँच तालिमप्राप्त केयरगिभरहरुको रेखदेखमा धेरैपटक खाना खुवाइन्छ र पोषिलो दूध पिउन दिइन्छ। कुनै बिरामी वा कुपोषणको लक्षण भएका बालबालिकालाई दिउँसो स्थानीय स्वास्थ्य सेवा केन्द्रहरूमा लगिन्छ र पोषण विशेषज्ञकहाँ पुर्याइन्छ।
संयोजक मारी जीएन मुकरुरंगाको भनाइमा, बालबच्चाहरूको हेरचाह गर्नुको अलावा उनको जस्तै दिवा स्याहार केन्द्रहरुले आमाहरूको लागि शिक्षाका विभिन्न अवसरहरू पनि प्रदान गर्दछ।
“महिलाहरु यस केन्द्रमा फोहोरी लुगामा ननुहाएका बच्चाहरु लिएर आइपुग्थे। अनि फर्किने बेलामा बच्चा लिन आउँदा आफ्ना बच्चाहरु सफा भएको पाउँथे। अहिले उनीहरुलाई आफू र आफ्नो बालबच्चाको शरीर सफा राख्ने बानी नै लागिसक्यो,” मुकरुरंगा भन्छिन्।
जिल्लाको लिङ्ग तथा परिवार प्रवर्द्धन अधिकृत ओनेस्फोर बिरयाबन्जीका भनाइमा, केन्द्रमा एकजना नर्स पनि छिन् जो आमाहरुलाई भेट्ने र गर्भनिरोधक बाँड्ने गर्छिन्। फलस्वरूप, १० मध्ये ८ जना आमाहरु गर्भनिरोधक उपाय अपनाउँछन्।
उनका भनाइ अनुसार, डे केयर सेन्टरले बाल दुर्व्यवहार र गरिबी दुबै विरुद्ध लड्नु नै यसको भिजन हो।
छोराछोरीलाई केन्द्रमै छोड्ने आमाहरुले रुवान्डामा आफ्नै व्यवसाय शुरु गर्न थोरै कर्जाको लागि आवेदन दिन सक्छन्। जिल्ला र स्थानीय साझेदार एक्शन पौर ले डेवेलोप्पेमेंट डु पेपल बीचको साझेदारीलाई धन्यवाद छ।
बिरयाबन्जीका उद्धरणमा, “यसले बोर्डर पार गर्ने महिला र दिवा स्याहारमा छाडिएका बालबालिकाको संख्या घटाउन योगदान दिनेछ किनभने उनीहरूका आमाहरू गाउँमा उनीहरूसँगै बस्नेछन् र उनीहरूको जीवनस्तर सुधार्ने अपेक्षा गरिएको आफ्नै प्रोजेक्ट चलाउनमा व्यस्त हुनेछन्।”
आमाहरू दिवा स्याहार केन्द्रका सबै सेवाहरू, विशेष गरी उनीहरूका सन्तानको स्वास्थ्य र सुरक्षामा सुधार गर्ने खालका सेवाका लागि कृतज्ञ भएको बताउँछन्।
“मेरी छोरी अहिले २ वर्षकी भई र एकदम स्वस्थ्य छे”, म्बान्जिसारो भन्छिन्।
जिपिजेका न्दहयो सिल्भेस्टरले यस लेखलाई फ्रेन्चबाट अनुवाद गरेका हुन्।