Democratic Republic of Congo

खोपको अभावले बालबालिका जोखिममा

देशको बाल खोप आपूर्ति सकिंदै जाँदा चिन्तित आमा-बुबाहरु आफै कस्सिएका छन्।

Read this story in

Publication Date

Vaccine Shortage Puts Children at Risk

Photo by Françoise Mbuyi Mutombo, GPJ DRC

Fanny Kunda holds her 7-month-old son, Resolu Sabiti, in Makiso, Democratic Republic of Congo. A severe shortage of pediatric vaccines has left children like Resolu vulnerable.

Publication Date

किसानगानी, प्रजातान्त्रिक गणतन्त्र कङ्गो — फ्यानी कुन्डा आफ्नो घरअगाडि छोरो रेसोलु साबितीलाई काखमा राखेर बसेकी छिन्। बच्चा चुपचाप छ, यानि उसलाई सन्चो छैन।

“एकदम डर लागिरहेको छ, अब के गर्ने पनि थाहा छैन,” कुन्डा विचलित हुन्छिन्।

बच्चालाई ज्वरो आएको छ। यो सामान्य कुरा हो तर ७ महिने रेसोलुले अझै पनि खोप लगाएका छैनन्। युनाइटेड स्टेट्स सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार शिशुहरूलाई जन्मेको दुई महिनाभित्र पहिलो खोप दिइसक्नुपर्छ। तर प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बाल खोपको गम्भीर अभाव, आर्थिक कोषका मुद्दा र महामारीमा पुन: केन्द्रित प्रयासहरू हुनुले धेरै बालबालिकालाई प्राणघातक रोगहरूको जोखिममा पारेको छ। घट्दो खोपको कारण, स्वास्थ्य सेवा प्रशासकहरू एचआईभी लागेर रोग प्रतिरोध क्षमता कम भएका बालबालिकालाई प्राथमिकतामा राख्न बाध्य छन्। फलस्वरूप, बालमृत्यु दरमा वृद्धि भएको छ र कुन्डाजस्ता अभिभावकमा डर पैदा भएको छ।

सरकारको खोप कार्यक्रम प्रोग्राम एलर्गी डे भ्याक्सिनेसनका प्रान्तीय संयोजक डा. बोम्स बोनोमाका भनाइअनुसार, सन् २०२१ को पहिलो छ महिने तथ्याङ्कले, अघिल्लो वर्षको तुलनामा, देशको उत्तरी मध्य त्सोपो प्रान्तको राजधानी किसानगानीमा शिशु मृत्युदर २३% ले बढेको देखाएको थियो। “यो सरकारद्वारा सृजित संकट हो किनभने सरकारले कोभिड-१९ महामारीमा बढी ध्यान केन्द्रित गरी नवजात शिशुहरूको खोप आवश्यकतालाई बेवास्ता गरेको छ,” उनी भन्छन्।

एचआईभी/एड्स विरुद्धको राष्ट्रिय लडाइँको नेतृत्व गर्ने एजेन्सी, प्रोग्राम नेशनल मल्टिसेक्टोरियल डे लुटे कोन्ट्रे ले सिडाकी प्रान्तीय संयोजक डा. ओलिन्डा लोको अबिसा बाल खोपको अभाव देशव्यापी भएको र विगत करिब दुई वर्षदेखि नै भइरहेको बताउँछिन्।

“केन्द्र सरकारले आफ्नो बाह्य साझेदार ग्लोबल फन्डलाई ऋण नतिरेकोले यो अभाव भइरहेको हो,” अबिसा भन्छिन्।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोले, रोगसँग लड्न विश्वभरका सरकारहरु र निजी क्षेत्रहरूसँग साझेदारी गर्ने संस्था ग्लोबल फन्डलाई सन् २०२०-२०२२ मा ६ मिलियन अमेरिकी डलर तिर्ने प्रतिज्ञा गरेको थियो। ग्लोबल फन्डका अनुसार भने, सरकारले यसको कुनै पनि भुक्तानी गरेको छैन।

त्सोपोको प्रान्तीय स्वास्थ्य विभाग, डिभिजन प्रोभिन्सियल डे सान्टेका प्रमुख डा. फ्रान्सिस बेलोङ्गडी सरकारको कार्यको बचाउ गर्छन्। उनका भनाइमा अधिकारीहरूको ध्यान कोभिड-१९ लाई फैलिनबाट रोक्नतिर जान आवश्यक छ। “सरकार हामीसँग कोरोनाभाइरस खोप भएको सुनिश्चित गर्न लगानी गरिरहेको छ,” बेलोङ्गडी भन्छन्।

तर प्रजातान्त्रिक गणतन्त्र कङ्गोले विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको कोभिड-१९ खोप-साझेदारी कार्यक्रम कोभ्याक्समार्फत आफ्ना कोरोनाभाइरस खोपहरू नि:शुल्क नै पाउँछ। साथै, यस देशको खोप स्वीकृति दर विश्वमा नै सबैभन्दा कम छ। अफ्रिका सेन्टरस् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गोका ९ करोड मानिसहरूमध्ये ०.६१% लाई मात्र पूर्ण खोप लगाइएको छ। यो महादेशीय औसत १५.८५% भन्दा निकै कम हो। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार, कोभिड-१९ महामारी शुरु भएयता प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा करिब १,३०० व्यक्तिहरूले यसबाट ज्यान गुमाएका छन्। त्यसैले, अफ्रिकाको दोस्रो ठूलो राष्ट्रका लागि यो रोग त्यति ठूलो खतरा नभएको संकेत पनि मिलेको छ। बेलोङ्गडी भने सरकारले अझै पनि महामारीसँग लड्न जरुरी रहेको भनी अडान लिन्छन्।

“मानिसहरुले कोरोना भाइरसको खोप लगाएनन् भन्दैमा सरकारले केही नगरी हात बाँधेर बस्न मिल्दैन,” उनी भन्छन्।

यसै सन्दर्भमा, सरकारले कोभिड-१९ विरुद्ध लड्न के गरिरहेको छ र बच्चाहरुलाई खोप लगाउने कार्यक्रमलाई कसरी बेवास्ता गरेको हुनसक्छ भनी बुझ्न खोज्दा, बेलोङ्गडीले सो प्रश्न केन्द्र सरकारको लागि भएको बताए। टिप्पणीको लागि बारम्बार अनुरोध गर्दा पनि किन्शासाको स्वास्थ्य मन्त्रालयले भने कुनै चासो देखाएन।

त्सोपोस्थित एचआईभी/एड्स विरुद्ध अभियानकी संयोजक एबिसाको भनाइअनुसर, खोपको अभावले गर्दा, सार्वजनिक स्वास्थ्य अधिकारीहरु तथा स्वास्थ्य सेवा पैरवीकर्ताहरुले एचआईभी लागेका बालबालिकालाई खोपको प्राथमिकतामा राख्ने प्रयास गरे। सन् २०२१ को जनवरीमा, १६० भन्दा बढी देशमा सञ्चालित क्याथोलिक परोपकारी संस्थाहरूको गठबन्धन, क्यारिटस इन्टरनेसोनालिसले त्सोपोका बालबालिकाको एचआईभी परीक्षण गर्ने अभियान शुरु गर्‍यो। उनीहरुले १,५१६ जना पहिचान गरे, जसमा ६०१ जनालाई स्वास्थ्य सेवा केन्द्रहरूमा पठाइयो र एन्टिरेट्रोभाइरल उपचारको लागि सिफारिस गरियो। बिडम्बना, औषधिको पनि अभाव भएकाले जम्मा २१ बालबालिकाहरुलाई मात्रै उपचारमा राखिएको क्यारिटस कङ्गो, स्वास्थ्य प्रवर्द्धन सेवाका राष्ट्रिय संयोजक डा. जीन मुनोन्गो बताउँछन्।

खोप र एन्टिरेट्रोभाइरलको अभावले आफ्ना छोराछोरीलाई एड्स लाग्नसक्ने भन्दै आमा-बुबा चिन्तित भएका छन्। एचआईभी पोजिटिभ देखिएको आफ्नो ३ वर्षको छोरोको लागि औषधिको अभाव भएको भनिंदिंदा पाउलिन नेबोया निराश भएकी थिइन् रे।
“म त चलमलाउनै नसक्ने भएँ, के गर्ने पनि थाहा छैन,” उनी असमञ्जसमा पर्छिन्।

मूल्य तिर्न चाहनेका लागि भने खोपहरू निजी क्लिनिकमा पाइन्छन्। दिनमा करिब ३,००० कङ्गोली फ्रान्क ($ १.५०) कमाउने कुन्डाले रेसोलुलाई खोप लगाउन अन्ततः १०,००० फ्रान्क (लगभग $५) तिर्ने निर्णय गरिन्।

“खोपलाई कहिल्यै पैसा तिर्नुपरेको थिएन, तर छोरोको ज्यान त जोगाउनै पर्‍यो।” उनी भन्छिन्।

जिता आमवाङ्गा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, किसानगानीस्थित ग्लोबल प्रेस जर्नलकी रिपोर्टर हुन्। जिपिजेकी फ्रान्सोइज एमबुये मुटोम्बोले यस लेखको रिपोर्टिङमा योगदान दिएकी हुन्।


अनुवाद नोट

जिपिजेकी मेगन स्पाडाले फ्रेन्चबाट यो लेख अनुवाद गरेकी हुन्।

Zita Amwanga est journaliste à Global Press Journal et vit à Kisangani, en RDC.

Françoise Mbuyi Mutombo, GPJ, a contribué à cet article.


NOTE À PROPOS DE LA TRADUCTION

Traduit par Ndahayo Sylvestre, GPJ.

Related Stories