Nepal

के यी युवाले परिवर्तन ल्याउलान्?

नेपालले तीन दशकभन्दा लामो समयदेखि स्थिर सरकार पाउन सकेको छैन । यसैबिच, युवा सांसदहरूको एउटा सानो समूहले देशको नेतृत्व गरेर देशलाई नयाँ तथा उत्पादनशील युगतर्फ लैजाने आशा राखेको छ ।

Read this story in

Publication Date

Are These Young People the Face of Change?

याम कुमारी कंडेल, जिपिजे नेपाल

हालसालै सांसद निर्वाचित भएकी सोबिता गौतम (दायाँबाट तेस्रो) । उनी नेपालको प्रतिनिधि सभाको सबैभन्दा कम उमेरकी सांसद हुन् ।

Publication Date

काठमाडौं, नेपाल — २७ वर्षीय सोबिता गौतम हाल नेपालको प्रतिनिधि सभामा सबैभन्दा कम उमेरकी प्रत्यक्ष निर्वाचित सांसद हुन् । जनताबाट निर्वाचित भएको केही हप्तापछि उनले सन् २०२२ को डिसेम्बर महिनाको अन्त्यतिर क्रिकेट रङ्गशालामा भेला भएको भीडलाई सम्बोधन गर्दै भनिन्, “अब हामी युवा संसदमा आइसक्यौँ । मिलेर देशको विकास गर्नु पर्छ ।”

विगतमा टेलिभिजन प्रस्तोताका रूपमा काम गरेकी गौतम राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हुन् । पत्रकारबाट राजनीतिज्ञ बनेका रवि लामिछानेले सन् २०२२ मा यो दल गठन गरेका थिए । पुराना नेताहरूको कामबाट वाक्कदिक्क भइसकेका मतदाताहरूले यो पटक गौतम जस्ता केही नयाँ सांसदहरूलाई शक्तिमा पुर्‍याएका हुन् ।

सन् १९९० मा बहुदलसहितको प्रजातन्त्र आएपछि नेपालमा अहिलेसम्म झन्डै ३० वटा सरकार बनिसकेका छन् । तर यीमध्ये कुनै पनि सरकारले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न सकेको छैन । सन् २०२२ को आम निर्वाचनमा ६१% मतदाताको मात्र मत खसेको थियो । यो अघिल्लो निर्वाचनमा खसेको ६८% मतभन्दा कम हो । साथै, यस निर्वाचनमा देशका तीनओटै ठुला दलहरूको मत सङ्ख्या घटेको छ । नयाँ अनुहारले तुलनात्मक रूपमा राम्रो नतिजा ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सात जना उम्मेदवार प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका छन् भने अन्य पाँच जना स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेर सांसद भएका छन् । वर्षको सुरुवाततिर ३२ वर्षीय र्‍यापर बालेन साह काठमाडौं महानगरको पहिलो स्वतन्त्र मेयरका रूपमा निर्वाचित भएपछि विगतमा राजनीतिक अनुभव नभएका अन्य कयौँ उम्मेदवारहरू पनि चुनाव लड्न प्रेरित भएका थिए ।

गौतम भन्छिन्, “नेपाली राजनीतिप्रतिको वितृष्णा एकदमै धेरै भएको र नयाँ चाहिन्छ भन्ने मानसिकता नेपाली जनतामा भएको कारणले हामी आउन पाएका हौँ ।“

७६ वर्षीय डिल बहादुर कार्की लामो समयदेखि नेपाली काँग्रेसप्रति वफादार थिए तर उनले नोभेम्बरमा भएको चुनावमा भने गौतमलाई मतदान गरे । उनी भन्छन्, “नयाँ केटी मान्छे आएको हो । भोट दियो भने गर्लान् भनेर दिएको हुँ ।“ हाल विदेशमा बसोबास गर्ने उनका दुई जना नातिनीहरूले उनलाई गौतमलाई मतदान गर्न भनेका थिए र उनको निर्वाचन क्षेत्रबाट विगतमा जितेका जनप्रतिनिधिले खासै केही पनि काम नगरेकाले उनले आफ्ना नातिनीहरूले भनेको कुरा माने ।

सत्ताधारीप्रतिको यो असन्तुष्टिले गर्दा गौतम जस्ता राजनीतिज्ञहरूलाई शक्तिमा ल्याएको छ । राजनीतिक विश्लेषक र भूतपूर्व विद्यार्थी नेता झलक सुवेदी भन्छन्, “नागरिकहरू संविधान र सिस्टमदेखि दिक्क भएका होइनन् । देशमा मौलाएको भ्रष्टचार र देशको झन्झटिलो प्रशासनिक व्यवस्थादेखि आजित भएका नागरिकहरूले नयाँ उम्मेदवारहरूलाई मत दिएर पुरानो दलप्रतिको असन्तुष्टि व्यक्त गरेका हुन् ।“ त्रिभुवन विश्वविद्यालयको समाजशास्त्रका प्राध्यापक चैतन्य मिश्र प्रमुख राजनीतिक दलहरूले आफू शक्तिमा रहिरहनका लागि गर्ने संघर्षले गर्दा मतदाता वेवस्तामा परेको तर्क गर्छन् । उनी भन्छन्, “पदमा बस्ने मात्र मुख्य कुरा भयो, पदमा बसेर के गरिन्छ भन्ने कुरा ठुलो कुरा भएन ।”

expand image
expand slideshow

याम कुमारी कंडेल, जिपिजे नेपाल

काठमाडौंमा समाचारका बारेमा छलफल गर्दै गर्दा पोट्रेट फोटो खिचाउनका लागि पोज दिँदै गरेका डिल बहादुर कार्की (बायाँ) र पुण्य प्रसाद तिमल्सिना ।

३३ वर्षीय तोसिमा कार्की आफूले आर्जन गरेको नयाँ राजनीतिक शक्तिको सक्दो सदुपयोग गर्ने कुरामा दृढ छिन् । भूतपूर्व डाक्टर र नेपाल मेडिकल काउन्सिलकी सदस्यसमेत रहेकी उनी स्वास्थ्य सेवामा व्यापक भ्रष्टाचार र असमानता देखेपछि आफू राजनीतिमा लागेको बताउँछिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट पाएर चुनाव लडेकी उनले स्वास्थ्य सेवामा सबैको पहुँच र स्वास्थ्यकर्मीहरूको सङ्ख्या बढाउनु पर्ने कुराको वकालत गरेर वरिष्ठ राजनीतिज्ञ तथा भूतपूर्व मन्त्रीसमेत रहेकी आफ्नी प्रतिस्पर्धीलाई भारी मतान्तरले हराएकी थिइन् । सांसद भएपछि उनी आफ्नो निर्वाचन क्षेत्रका स्वास्थ्य संस्थाहरूको भौतिक अवस्था र स्वास्थ्य सेवाको गुणस्तरको जाँच गरिरहेकी छिन् र देशमा स्वास्थ्य बिमा योजना सञ्चालन गर्न मुख्य भूमिका निर्वाह गर्ने योजना बनाएकी छिन् । उनी भन्छिन्, “जनमुखी मुद्दालाई संसद भवनमा पठाउँछु । नीतिनियम बनेका छैनन् भने बनाउँछु ।”

राजनीतिक विश्लेषक झलक सुवेदी भने यो कुरा भन्न जति सजिलो छ, गरेर देखाउन त्यति नै गाह्रो रहेको टिप्पणी गर्छन् । उनी नेपालमा कर्मचारीतन्त्र र राज्यका अन्य निकायहरूसँग धेरै शक्ति सञ्चित रहेको कुरामा जोड दिँदै नयाँ राजनीतिज्ञहरूसँग राजनीतिका बारेमा साँघुरो बुझाइ भएको बताउँछन् । उनी भन्छन्, “उनीहरू अन्तराष्ट्रिय संरचना, संविधान, कानुन, स्रोतको सीमितता र यसको संयमपूर्ण प्रयोगका बारेमा जानकार हुनुपर्छ ।” धेरै जनाले व्यक्तिगत प्रतिष्ठाका आधारमा विजयी भएको कुरा टिपोट गर्दै उनी भन्छन्, “एक जना राम्रो भयो भने डेलिभरी राम्रो हुन्छ भन्ने विश्वास यति बेला आम जनमानसमा छ । यो विश्वासले कसरी काम गर्छ हेर्न बाँकी छ ।“

संसदमा प्रवेश गरेदेखि नै सोबिता गौतमले प्रशासनमा रहेका चुनौतीहरूका बारेमा बुझेकी छिन् । बाहिरबाट राजनीतिक दलहरूले केही गरेनन् भनेर आलोचना गर्न निकै सजिलो थियो, उनी भन्छिन् । उनले निर्वाचनका बेला आफ्नो क्षेत्रमा राम्रो सडकको व्यवस्था गर्ने, खानेपानीको पहुँच बढाउने र ढल व्यवस्थापन गर्ने भनेर निर्वाचन अभियान चलाएकी थिइन् तर उनलाई अहिले आफ्नो मुख्य जिम्मेवारी कानुन बनाउने हो भन्ने कुरा महसुस भएको छ । उनी भन्छिन्, “सबै विकास निर्माणका कामहरू नीतिगत त्रुटिले गर्दा बिग्रेका हुन् । त्यसैले, म नीतिगत तहमा सहजीकरण गर्दिन्छु ताकि विकास निर्माण गर्ने कार्यकारी निकायहरूलाई सजिलो होस् ।”

यसैबिच, अन्य मान्छेहरूलाई भने नेपाली राजनीतिमा आएको यो नयाँ परिवर्तनले गर्दा पुराना दलहरू सोच्न बाध्य हुनेछन् र यसले गर्दा चुनावी मैदानमा अझ अर्थपूर्ण परिवर्तन आउने आशा छ । हाल देशकै ठुलो दल नेपाली काँग्रेसको काभ्रेपलाञ्चोक जिल्लाको सचिव रहेका र विगतमा नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठनको सहमहामन्त्री भइसकेका माधव ढकाल भन्छन्, “राजनीतिक दल हाँक्ने नेताहरूले पुस्तान्तरण गर्न नचाहेका कारण नयाँ र स्वतन्त्र दलहरू जन्मिएका हुन् । स्वतन्त्र युवाहरूको आगमनले राजनीतिमा युवाहरूलाई प्रोत्साहन गरेको छ ।”

२० वर्षदेखि सक्रिय राजनीति गर्दै आएका ढकालले आफ्नो दलभित्रको वरीयता क्रमले गर्दा अहिलेसम्म मेयर वा संसदको टिकट पाएका छैनन् र निर्वाचित राजनीतिज्ञका रूपमा काम गर्न पाएका छैनन् । उनी आफ्नो दलप्रति अझै पनि वफादार छन् तर नयाँ राजनीतिज्ञहरू आएको देख्दा उत्साहित छन् । उनी भन्छन्, “स्वतन्त्र युवाहरूको आगमनले राजनीतिमा युवाहरूलाई प्रोत्साहन गरेको छ । आज ३० वर्षमुनिका सांसद ८-९ जना भएका छन् । यो प्रगति हो । यसले चाहिँ हामी जस्तो मान्छेलाई उत्साहजनक छ ।”

expand image
expand slideshow

याम कुमारी कंडेल, जिपिजे नेपाल

आफ्नो निर्वाचन क्षेत्रको स्वास्थ्य चौकीका बिरामीहरू भेट्दै हालसालै निर्वाचित भएकी सांसद तोसिमा कार्की (बायाँतिरको बिचमा) ।

याम कुमारी कंडेल ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।


अनुवाद नोट

जिपिजेका अनुप जोशीले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।