Nepal

निर्माण क्षेत्रमा महिलाहरु: नेपालको लैंगिक रुढीवादमा भूकम्पको धक्का

नेपालमा महिलाहरु परम्परागतरुपमा इट्टा फुटाउँने र निर्माण क्षेत्रमा सामान बोक्ने काममा सीमित थिए तर सन् २०१५ को भूकम्पले पूर्वाधारहरु तहसनहस बनाएपछि देशले पुनःनिर्माणका लागि चाहिने श्रमिकको अभाव झेल्यो । हाल डकर्मी तालिमका कारण लैंगिक रुढीवादी सोच तोड्दै महिलाहरु घर निर्माणमा सिपालु हुँदैछन ।

Read this story in

Publication Date

Women in Hard Hats? Nepal’s Earthquake Shakes Up Gender Stereotypes

कल्पना खनाल, जीपीजे नेपाल

धादिङ जिल्लामा भूकम्पप्रतिरोधी घर बनाउन पुरुष र महिलाहरु सँगै काम गर्दै । २०७२ को भूकम्प अघि महिलाहरु निर्माण क्षेत्रमा सामान बोक्ने काममा मात्रै सिमित थिए ।

Publication Date

जोगीमारा, नेपाल : वैशाख २०७२ मा आएको शक्तिशाली भूकम्पले सन्तमाया चेपाङको घर भत्कायो । उनले कहिल्यै सोचेकी थिइनन्, भूकम्पको कारण साह्रो ह्याट र सुन्तला रंगको सुरक्षा ज्याकेट लगाउनुपर्ने छ । तर अहिले उनी पहिले कहिल्यै नसाचेको यस्तै अवस्थामा आइपुगेकी छन् । उनी नेपालको पश्चिमी भेगलाई राजधानीसँग जोड्ने डरलाग्दो पृथ्वी राजमार्गबाट केही समय हिँडेर पुगिने आफ्नै गाउँमा इट्टा बनाउन सिक्दै छिन् ।

एकल महिला तथा दुई सन्तानकी आमा ३२ वर्षीया चेपाङ २५ जना अरु महिलासँग एउटा कक्षा कोठामा छिन् । उनीहरु  भूकम्प प्रतिरोधी घर कसरी बनाउने भन्ने सिकीरहेका छन् ।

“यस्तो लुगा लगाएर पुरुषले जस्तै घर बनाउन सक्छु भन्ने त मैले कहिले सोचेको थिइनँ,” चेपाङ भन्छिन् ।

महिलाले यस्तो काम गर्नु नेपालमा अनौठो मात्र होइन, व्यवहारिकरुपमा ‘हाम्रो संस्कतिमाथि व्यङ्य’ पनि भएको यो तालिम सञ्चालन गरेको समग्र विकास सेवा केन्द्रका कार्यक्रम संयोजक इश्वर कँडेल बताउँछन् ।

चेपाङ र अन्य महिलालेझैं चरम निराशाले कुनै ठाउँ र त्यहाँका मानिसमा परिवर्तन ल्याउन सक्छ ।

महिलाहरु प्रायः निर्माणस्थलमा इट्टा, ढुंगा र बालुवा बोक्ने काममा लगाइएका हुन्छन, जहाँ निर्माणको मुख्य काम पुरुषको जिम्मा हुन्छ ।
“तर, अब महिलाले धेरैभन्दा धेरै काम गर्न सक्छन्,’’ चेपाङ भन्छिन्,“घर बनाउन पुरुष नै चाहिन्छ भन्ने सोच हटेको छ ।”

expand image
expand slideshow

कल्पना खनाल, जीपीजे नेपाल

गोमा दर्लाकोटी, १८ (अगाडी देखिएकी) र सन्तमाया चेपाङ, ३२, (रातो धोतीमा) धादिङ जिल्लामा घरको जग बनाउने काम गर्दै ।

नेपालभर महिलाहरु पुनःनिर्माणको प्रयासमा यसरी जुटेका छन्, जुन ९ हजार मानिसको ज्यान लिएको र ७ लाख घर भत्काएको भूकम्पअघि सम्भव थिएन । ठूलो संख्यामा नेपाली पुरुष विदेशमा काम गर्छन् ।

सन् २००८ यता २० लाखभन्दा बढी नेपालीलाई बहुवर्षीय करारमा वैदेशिक रोजगारीको लागि श्रम अनुमति जारी गरिएको छ । श्रम अनुमति प्राप्त गर्नेमा अधिकांश पुरुष छन् ।

नेपालमा भूकम्प आउँदा नै थुप्रै गाउँमा पुनःनिर्माणका लागि आवश्यक युवा र दरिला कामदारको अभाव थियो ।

यसको परिणामस्वरुप महिलाहरु उल्लेख्य संख्यामा निर्माण क्षेत्रमा प्रवेश गरेका छन् ।

सरकारी तथ्यांकअनुसार ८ सय भन्दा बढी महिलाले ६ जिल्लामा डकर्मीको तालिम प्राप्त गरिसकेका छन् ।

देशभर १ हजार २ सय बढी मानिसलाई भूकम्प प्रतिरोधी शैलीको डकर्मी तालिम दिइसकेको बताउने सिभिल इन्जिनियर विवेक बरालका अनुसार अहिले त्यस्तो निर्माणस्थल छैन, जहाँ महिलाले डकर्मीको रुपमा काम नगरेका हुन् । “यो हाम्रो समाजको लागि सकारात्मक कुरा हो,” उनी भन्छन् ।

थुप्रै परिवारमा महिला मात्र काम गर्न सक्ने अवस्थामा छन् ।

सीता चेपाङ, ४०, का दुई छोरी र एक छोरा छन्, उनीहरु कोही पनि तालिममा भर्ना हुन परिपक्व भइसकेका छैनन् । उनका सासुससुरा पनि उनमै निर्भर छन्, उनीहरु सबैलाई बस्नका लागि एउटा स्थायी बासस्थान चाहिएको छ । त्यसैले सीता चेपाङ सन्तमाया चेपाङजस्तै तालिममा सहभागी भइन् । (चेपाङ यो क्षेत्रको साझा थर हो । यी दुई महिला एक आपसमा सम्बन्धित छैनन् ।)

सीता चेपाङका सासुससुराले सुरुमा उनलाई निर्माणको काम पुरुषको हो भनेर सम्झाए । उनीहरुले उनको श्रीमान् फर्किएपछि घर बनाउँछन् भनेर यो कामको लागि निरुत्साहित गरे । “तर, मैले हिम्मत जुटाएर डकर्मीको तालिम लिन आएँ,” चेपाङ भन्छिन्, “अब त श्रीमान् नेपाल फर्कने बेलासम्म घर बनाइसक्छु ।”

expand image
expand slideshow

कल्पना खनाल, जीपीजे नेपाल

धादिङ जिल्लामा आयोजित भूकम्पप्रतिरोधी घर बनाउने तालिममा सहभागी महिलाहरु ।

तालिम कार्यक्रम संयोजक कँडेल आफूले नेतृत्व गरेको तालिममा महिलाहरु भूकम्पको पीडाको कारणले  घर निर्माणका लागि धेरै नै उत्साहि भएको हुनसक्ने बताउँछन् ।

“मानिसहरु अहिले पनि सानो टहरा र पालमा बसिरहेको देख्न सकिन्छ,” उनी भन्छन् ।

सन्तमाया चेपाङ र उनको सन्तानको अवस्था पनि त्यस्तै नै थियो । उनका श्रीमान् लामो समयदेखि विरामी भएर ओछ्यान छाड्न नसक्ने स्थितिमा थिए । भूकम्प जाँदा उनको टाउकोमा चोट लाग्यो । सबै परिवार गर्मीयाममा उकुसमुकुस हुने र पानी चुहिने पालमा बसिरहेका बेला एक वर्ष अघि श्रीमान्को मृत्यु भएको सन्तमाया चेपाङ बताउँछिन् ।

उनले सरकारले उपलब्ध गराउने ३ लाख रुपैयाँ अनुदानमध्येको पहिलो किस्ताबापत ५० हजार रुपैयाँ त प्राप्त गरिन् तर घर बनाउनका लागि कोही पनि पाउन सकिनन् । यसबाट निराश भएपछि उनी डकर्मीको तालिम लिन गइन् । शिक्षाको कमीले तालिममा सिक्न मुस्किल हुन्छ कि भन्नेमा  चिन्तित थिइन् । तर, प्रशिक्षकले तालिम सुरु गरेपछि आत्मविश्वास बढेको उनी बताउँछिन् । अहिले उनी साथीहरुको सहयोगमा आफ्नो घर निर्माणमा जुटेकी छन् ।

 

जीपीजेका सागर घिमिरेले यो लेख नेपालीमा अनुवाद गरेका हुन् ।

Related Stories