Nepal

महिला बडिबिल्डरहरूलाई नेपाली संस्कृतिको लैङ्गिक विभेदसँग जुध्न अतिरिक्त शक्ति आवश्यक

महिलालाई पातलो, कोमल र पहिरनले ढाकिएको रुचाउने नेपाली समाजमा महिला बडिबिल्डरहरू दुर्लभ छन् । तर स्वर्णपदक विजेता रजनी जस्ता खेलाडीहरूले खेलकुदको माध्यमबाट परिवर्तनका लागि प्रेरणा दिइरहेका छन् ।

Read this story in
Women Bodybuilders Need Extra Strength to Combat Sexism in Nepali Culture

याम कुमारी कंडेल, जिपिजे नेपाल

काठमाडौँको एक जीममा रजनी श्रेष्ठले भारोत्तोलन गरेको हेर्दै अजसरा ढुङ्गाना र सञ्जीव श्रेष्ठ ।

काठमाडौँ, नेपाल — एउटा प्रमुख शारीरिक सुगठन प्रतियोगिताको तयारी गरिरहेकी रजनी श्रेष्ठ काठमाडौँमा आफ्नो घर नजिकै बानेश्वर हाइटस्थित एक व्यायामशालामा व्यायाम गर्दैछिन् । ४२ वर्षीय यी महिलाले डेडलिफ्टमा ५० किलोग्राम (११० पाउण्ड) तौल उठाउँदै गर्दा बाहिरैबाट नसाको आकृति देखिने उनका पाखुरा र घाँटीका मांसपेशीहरू फुलेर बाहिर आउँछन् । उनका अनुसार यहाँ “पुरुषको जस्तो पाखुरा” भएको महिला देखिनु निकै दुर्लभ दृश्य हो ।

क्लबमा आउने पुरुष बडिबिल्डरहरूको नजर उनीतिर हुन्छ । “मलाई कसले के भन्छ, के गर्छ मलाई मतलबै हुँदैन । मैले जसरी पनि खेल जित्नुपर्छ,” श्रेष्ठ भन्छिन् । दिन बित्दै जाँदा यो क्लबमा उनी मात्रै बाँकी रहन्छिन् । श्रेष्ठका लागि खेर फाल्ने समय नै छैन । अगस्टको यो दिनबाट ५५औँ एसियाली शारीरिक सुगठन प्रतियोगिता (एसियन बडिबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप)को तयारीका लागि उनीसँग एक महिना मात्रै बाँकी रहन्छ।

सन् २०१९ मा काठमाडौँ भएको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता र इन्डोनेसियाको बटाममा सम्पन्न ५३औँ एसियाली शारीरिक सुगठन प्रतियोगितामा उनले रजत पदकहरू जितेकी थिइन् । उनको उत्कृष्टतालाई राष्ट्रिय खेलकुद परिषद्‌ले पनि कदर गरेको छ ।

नेपालमा आदर्श महिलाको मानकको परिभाषामा श्रेष्ठ अटाउँदिनन् । पातलो शरीरलाई सुन्दर मान्ने समाजले कसिलो शरीर भएका महिला बडिबिल्डरहरूलाई “केटा” को उपमा दिनुका साथै उपहास र खिल्लीको पात्र बनाउँछ ।

यद्यपि लिङ्गबारे मानिसहरूको धारणा बिस्तारै परिवर्तन हुँदै गइरहेको छ र यसको केही श्रेय शारीरिक सुगठन जस्ता खेलकुदमा महिलाको सहभागितालाई पनि जाने हाल प्रतिनिधिसभा सदस्य रहेकी समाजशास्त्रकी पूर्व प्राध्यापक विद्या भट्टराई बताउँछिन् । “यदि महिलाहरूको पनि जीवन पुरुषको जस्तै हुने हो भने उनीहरू खेलकुदका लागि पनि उपयुक्त छन् भन्ने कुरा नेपाली समाजले महसुस गरिरहेको छ । उ कस्तो देखिन्छ भन्दा पनि उसले खेलमा कस्तो प्रदर्शन गर्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण हुँदै गइरहेको छ ।”

expand image
expand slideshow

याम कुमारी कंडेल, जिपिजे नेपाल

काठमाडौँमा हुन लागेको शारीरिक सुगठन प्रतियोगितामा सहभागिताका लागि भारोत्तोलनको प्रशिक्षण लिँदै रजनी श्रेष्ठ । उनी केहीबेर मात्रै विश्राम लिएर दिनको आठ घण्टा तालिम लिन्छिन्।

धेरै अगाडी जानै पर्दैन, एक दशक पनि भएको छैन, पाँच जना महिलाहरू पनि मञ्चमा देख्न मुस्किल हुन्थ्यो, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका उपाध्यक्ष दिनेश राजभण्डारी भन्छन् । “केटा जस्तो देखिन्छ भन्ने अपवाहकै कारण पनि महिलाहरू बडिबिल्डिङका लागि आउन मान्दैनथे,” उनी भन्छन् ।

विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालको तर्फबाट पहिलो पटक सन् २०१५ मा बैङ्ककमा भएको प्रतिस्पर्धामा सहभागी भएकी निर्मला महर्जन खेलाडीले लगाउने ठानिएको बिकिनी जस्तो देखिने टु पिस भनिने पोसाककै कारण पनि परिवारले यस्तो खेलमा समर्थन नगर्ने बताउँछिन् ।

यस्तो पोसाकमा श्रेष्ठ पहिलो पटक मञ्चमा देखिँदा उनका श्रीमान्‌को परिवारले उनलाई “आफ्नी श्रीमतीलाई बिगारेको” भन्दै उपहास गरेका थिए । उनका छिमेकी र कतिपय आफन्तले उनको “ठूलो” शरीरप्रति ठट्टा गरेका थिए भने कतिपयले महिला त “कोमल” पो हुनुपर्छ भनेका थिए । तर निर्भीक श्रेष्ठ शारीरिक सुगठन मार्फत “नेपाललाई विश्वमा चिनाउन लागिरहेको” बताउँछिन् ।

शारीरिक सुगठनमा लाग्नुअघि आफूले देशका आम महिलाहरू जसरी नै साधारण जीवन बिताइरहेको श्रेष्ठ बताउँछिन् । उनले १६ वर्षकै उमेरमा विवाह गरिन् र १७ वर्षमै आमा बनिन् ।

expand image
expand slideshow

याम कुमारी कंडेल, जिपिजे नेपाल

समिर श्रेष्ठ, बायाँ, आफ्नी श्रीमती रजनी श्रेष्ठलाई काठमाडौँमा भएको ५५औँ एसियन बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिप सुरू हुनुअघि सहयोग गर्दै ।

उनका लागि शारीरिक सुगठन खासै सपनाको विषय थिएन । गर्दै जाँदा उनलाई यसमा मोह जाग्यो । श्रेष्ठ ३६ वर्षकी हुँदा उनको घाँटीमा २२ वटा गाँठाहरू देखा परे । डाक्टरहरूले उनलाई क्यान्सर भएको शङ्का गरे । त्यसपछि उनको इन्डोस्कोपी गरियो, बायोप्सी र कैयौँ परीक्षणहरू गरिए । नतिजाको लागि लामो समय पर्खनुपर्‍यो । दिनहरू बित्दै जाँदा उनले आशा गुमाउँदै जान थालिन् । उनीहरूको जोडीले सबै उपायहरू लगाइरहँदा उनका श्रीमान् समिर श्रेष्ठले व्यायामले गाँठाहरू घटाउने आसाले उनलाई फिटनेस सेन्टर जान सल्लाह दिए । “चमात्करै भयो,” रजनी भन्छिन् । जीम सुरु गरेको तीन महिनामै घाँटीका गाँठाहरू हराएर गए ।

तालिममा उनको शरीरले जनाएको प्रतिक्रिया र उनको कडा मेहनत देखेका उनका प्रशिक्षकले सन् २०१७ मा प्रतिष्ठित मिस्टर काठमाडौँ बडिबिल्डिङ एन्ड लेडिज फिटनेस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न प्रोत्साहित गरे । त्यसरी नै श्रेष्ठले जीम सुरू गरेको आठ महिनामा पहिलो स्वर्ण पदक हात पारिन् ।

उनी फिटनेसले आफूलाई “नयाँ जीवन दिएको” बताउँछिन् । त्यसमाथि स्वर्ण पदकले उनलाई यसमा अझै फड्को मार्न प्रेरणा दियो । सन् २०१९ को मिस्टर हिमालय नेसनल ओपन बडिबिल्डिङ च्याम्पियनसिपका लागि उनले एक वर्षसम्म नियमित तयारी गरिन् र फेरि पनि स्वर्ण पदक हात पारिन् । यसको नाम पुरुष प्रधान भए पनि सन् २०१६ यता यो मिस्टर हिमालय प्रतियोगिता महिला र पुरुष दुवैका लागि हो ।

नेपालमा सन् २००५ देखि नै महिलाहरू शारीरिक सुगठन खेलहरूमा प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०१५ मा महिलाहरूका लागि छुट्टै श्रेणि स्थापना गरियो । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका उपाध्यक्ष राजभण्डारीका अनुसार महिलाहरूको बढ्दो रुचिका बाबजुद सन् २००५ यताका सुगठन प्रतियोगितामा जम्मा १३ जना महिलाहरू मात्रै शीर्ष प्रतिस्पर्धी बनेका छन् ।

expand image
expand slideshow

याम कुमारी कंडेल, जिपिजे नेपाल

स्वेता कपाली, बायाँ, र लुना श्रेष्ठ ५५औँ एसियन बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपको तयारीका लागि रजनी श्रेष्ठलाई सहयोग गर्दै ।

बडिबिल्डर बन्नका लागि धेरै समय र कठिन परिश्रम आवश्यक पर्छ । प्रतिस्पर्धाहरूको तयारीका लागि अनुशासन र शरीरको हरेक भागका लागि लक्षित व्यायाम आवश्यक हुन्छ । सहभागीहरूले आवश्यकता अनुसार मांसपेशीको विकास, मांसपेशीको सुगठनका लागि आहारमा उच्च ध्यान दिनुपर्छ । श्रेष्ठको दैनिक आहारमा ओट्स भनेर चिनिने जौको चिउरा, एक क्रेट अण्डा, एक किलोग्राम कुखुराको छातीको भागको मासु, ब्रोकाउली, गेडागुडी र छ चम्चा प्रोटिन हुन्छ । यी खानेकुराहरू “निकै महँगा” भए पनि शरीर बनाउनका लागि यिनीहरू निकै महत्त्वपूर्ण रहेको उनी बताउँछिन् ।
यो प्रतियोगिताको तयारीका लागि श्रेष्ठले नुन नखाने जस्तो निकै कठोर आहार अनुशासन पालना गर्नुपरेको थियो । “मलाई खेल जितेर देशको झन्डा फहराउन मन छ,” उनी भन्थिन् ।

र उनले खेल जितिन् पनि ।

यो सेप्टेम्बर ५ को दिन हो र श्रेष्ठले ५५औँ एसियाली शारीरिक सुगठन प्रतियोगितामा भर्खरै स्वर्ण पदक जितेकी छिन् । कम्मरमा २०६ नम्बरको प्लेट टाँसेकी र गुलाबी टु पिसमा सजिएकी श्रेष्ठले महिलातर्फ ५५ किलोग्राम तौल समूहमा भारतकी सबिता बानियालाई पछि पार्दै पहिलो उपाधि जितिन् । कसिलो शरीर र क्रिकेटको बल जस्ता बाइसेप्सकी धनी श्रेष्ठ त्यसपछि क्यामराका लागि आफ्नो सदाबहार मुस्कान दिन्छिन् र आफ्नी प्रतिस्पर्धीलाई अङ्गालो मार्छिन् । उनले देशको राष्ट्रिय झन्डा फहराइरहँदा रङ्गशालामा राष्ट्रिय गान गुन्जिन थाल्छ ।

उनी मञ्चबाट बाहिरिँदै गर्दा उनलाई बधाई दिन र उनीसँग तस्बिर खिचाउन पर्खिइरहेका मानिसहरूको हुल हुन्छ । एकनास मुस्कुराइरहेकी उनका आँखा भने आँसुले भरिएका हुन्छन् ।

“रजनीले राष्ट्रिय र अन्तर्राष्ट्रिय उपाधिहरू जितेपछि मानिसहरूले उनलाई एक जना महिलाका रूपमा मात्र नभएर बडिबिल्डरका रूपमा चिन्न सुरु गरे,” उनका श्रीमान्‌ सुनाउँछन् ।

expand image
expand slideshow

याम कुमारी कंडेल, जिपिजे नेपाल

निर्णायक र सहभागीहरू काठमाडौँमा भएको ५५औँ एसियन बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा बडिबिल्डिङतर्फ ५५ किलोग्राम तौल समूहमा रजनी श्रेष्ठले स्वर्ण पदक पाएको अवलोकन गर्दै ।

तर उनी मञ्चबाट बाहिरिने समय आयो ।

५५औँ एसियाली शारीरिक सुगठन प्रतियोगिता भएको रङ्गशालामा सुरक्षा गार्डको रूपमा काम गरेका बुलेट शेर्पाले श्रेष्ठ र अन्य महिलाले गरेको अभ्यास हेर्ने मौका पाए । “महिलाहरू त सिल्की र चटक्क परेको राम्रो लाग्छ नि । उनीहरू (महिला बडिबिल्डर) त त्यस्तो देखिँदैनन्,” उनी भन्छन् ।

आफ्ना छोरा पनि प्रतिस्पर्धी रहेको प्रतियोगिता हेर्न गएका ७६ वर्षीय भक्त बहादुर खत्री महिलाको पूरै शरीर देख्दा आफूलाई “असजिलो” लागेको बताउँछन् । “विदेशी कपडा नेपाली संस्कृतिमा सुहाएन…..छोरा भए त कट्टु मात्र लगाए पनि ठिकै हो । छोरीले बडि बनाएको त राम्रो छ । लुगा मात्र नेपाली संस्कारलाई सुहाएन,” उनले भने ।

श्रेष्ठ जस्ता महिलाहरूले लड्दै आएको लडाइँ यो मात्रै छैन्।

expand image
expand slideshow

याम कुमारी कंडेल, जिपिजे नेपाल

काठमाडौँमा सम्पन्न ५५औँ एसियन बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा बडिबिल्डिङतर्फ ५५ किलोग्राम तौल समूहमा स्वर्ण पदक प्राप्त गरेपछि खुसी मनाउँदै रजनी श्रेष्ठ ।

श्रेष्ठ पुरस्कारका रूपमा महिला र पुरुषलाई दिइने रकमप्रति सङ्केत गर्दै त्यसले आफूलाई दुखित बनाउने बताउँछिन् । विश्व विजेता महेश बस्नेत सहितका धेरै खेलाडीहरू पुरस्कारको रकम सबै लिङ्गका लागि बराबर हुनुपर्ने ठान्ने भए पनि यसलाई व्यवहारमा उतार्ने कुरा धेरै टाढा छ ।

“नीतिगत रूपमा नै खेलाडीहरूलाई आर्थिक सुरक्षा दिन गाह्रो छ,” सङ्घीय सरकारको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता कुमारप्रसाद दाहाल भन्छन्, “राष्ट्रिय खेलकुद परिषद् पनि व्यवस्थित छैन । पुरस्कारको व्यवस्था समय सापेक्ष छैन । उनीहरूलाई उत्प्रेरित गर्न प्रशिक्षण तथा पुरस्कारको व्यवस्था हुनुपर्छ ।”

राष्ट्रिय खेलकुद परिषद्‌की सदस्य सुमित्रा चौधरी परिषद्‌को नीतिले लिङ्गका आधारमा गरिने विभेद प्रतिबन्धित गरेको बताउँछिन् । नेपालमा नयाँ नयाँ खेल दर्ता भइरहेका कारण सबै खेलको व्यवस्थापन गर्न परिषद्लाई चुनौती रहेको उनी बताउँछिन् ।

खेल्ने प्रोत्साहनका लागि आयस्रोत आवश्यक पर्ने श्रेष्ठ बताउँछिन् । “सरकारको सहयोग भए खेलाडी प्रोत्साहित हुन्छन्,” रजनी भन्छिन् । आफ्नो हकमा दुवै नभएको उनी बताउँछिन् ।

याम कुमारी कंडेल ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।


अनुवाद नोट

जिपिजेका सागर घिमिरेले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।

Related Stories