Nepal

अर्को तिहार सकियो तर मन्दिर मर्मतको प्रतिक्षा सकिएन

२०७२ सालको भूकम्पले भत्काएको एउटा ऐतिहासिक मन्दिर वर्षौ बितिसक्दा पनि अझै पुनःनिर्माणका क्रममा छ । तिहारमा यो धार्मिकस्थलमा टिका थाप्न र पुजा गर्न जाने हिन्दु धर्मावलम्बीहरु मन्दिर पुनःनिर्माणको ढिलाइले निरास छन् ।

Read this story in

Publication Date

Still Waiting for Temple Repairs in Nepal As Another Festival of Lights Passes

कल्पना खनाल, जीपीजे नेपाल

काठमाडौंको ऐतिहासिक रानी पोखरीभित्र रहेको मन्दिर जाने बाटोमा थुप्रिएको भग्नावशेष । यो बाटो अहिले प्रयोगविहीन छ ।

Publication Date

काठमाडौं, नेपाल : राजधानी काठमाडौंको मुटुमा रहेको सुन्दर ऐतिहासिक रानी पोखरीको मध्यभागमा अवस्थित मन्दिरलाई एउटा पालले ढाकिएको छ । मन्दिरको वरपर फराकिलो सुख्खा जमिन छ, जहाँ पहिले पोखरी थियो । २०७२ मा आएको भूकम्पले भत्काएको १७ औं शताब्दिको रानी पोखरी अझै पनि निर्माणाधीन छ ।

कात्तिकमा मनाइएको यस वर्षको तिहारमा पनि अघिल्लो वर्षझैं पुजाका लागि रानी पोखरीको मन्दिर खुला नभएपछि यहाँका हिन्दु धर्मालम्बीहरु निरास बनेका छन् ।

“हामीले पुजा गर्ने ठाउँको यस्तो हालत देख्दा साह्रै चित्त दुख्छ,” काठमाडौं निवासी सुनिता दास, ३२, भन्छिन्, “एउटा पोखरी बनाउन त यति समय लाग्छ भने अन्त के हालत होला ?”

expand image
expand slideshow

कल्पना खनाल, जीपीजे नेपाल

चन्द्रकला देवी, ६५ (रातो लुगा लगाएकी) र सुनिता दास, ३२ (पहेंलो सलमा) । उनीहरु रानी पोखरी खुल्ने लामो प्रतिक्षाले निरास भएको बताउँछन् ।

१२ वैशाख २०७२ मा आएको ७.८ म्याग्निच्युडको भूकम्प र त्यसपछि हप्तौंसम्म आएका पराकम्पनले भत्काएका संरचनामध्ये रानी पोखरी एउटा झिनो अंश मात्र हो । उक्त भूकम्पमा करिब नौ हजार मानिसको ज्यान गएको थियो भने लाखौंले बास गुमाएका थिए । अझै ठूलो संख्यामा भूकम्पपीडित परिवार अस्थायी टहरामा बसिरहेका छन् । तर धार्मिक मात्र होइन, सांस्कृतिकरुपमा सक्रिय नेपालीका लागि समेत मन्दिर र अन्य धार्मिकस्थलले पनि घर जत्तिकै महत्व राख्छ ।

काठमाडौं महानगरपालिकाले रानी पोखरी पुनःनिर्माणको जिम्मा लियो तर मापदण्ड उल्लंघन गरेर मन्दिर बनाउन लागेको भन्दै पुरातत्व विभागले भाद्र २०७३ मा हस्तक्षेप गर्यो । महानगरपालिकाले काठलगायत परम्परागत निर्माण सामग्रीको साटो मापदण्डविपरीत सिमेन्ट तथा छडको प्रयोग गरेर निर्माण गरेको विभागको दाबी छ । विभागको हस्तक्षेपपछि रानी पोखरी पुनःनिर्माणको सबै काम ठप्प भयो ।

पुनःनिर्माण प्रक्रियाप्रति स्थानीय समुदायले देखाएको चिन्ताका बीच सांस्कृतिक सम्पदा संरक्षणको जिम्मेवारी पाएको संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोलेसमेत निन्दा गरेको थियो । पुनःनिर्माणको निरीक्षणका लागि पुरातत्व विभागलाई संलग्न गराउन युनेस्कोले सरकारी अधिकारीलाई आग्रह गरेको थियो ।

अहिलेको सम्झौतामा पुरातत्व विभागले मन्दिर र महानगरले पोखरीको पुनःनिर्माण गर्ने उल्लेख छ ।

expand image
expand slideshow

कल्पना खनाल, जीपीजे नेपाल

२०७२ मा भूकम्प जाँदासम्म रानी पोखरीको बीचमा रहेको मन्दिर पोखरीले घेरिएको थियो । अहिले पोखरी रहेको स्थान सुख्खा छ र झार तथा बुट्यानले छोपिएको छ ।

तर तिहारमा भक्तजनहरुको घुइचो हुने यो मन्दिरको कुनै पनि काम समयमा सम्पन्न भएन ।

“अब त रानी पोखरी छिटै बन्ला भन्ने आशै मरिसक्यो,” हरेक तिहारमा रानी पोखरी जाने गरेका सुरेश श्रेष्ठ, ३०, भन्छन् ।

राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युपछि शोकाकुल बनेकी रानीलाई सान्त्वना दिन पोखरीको निर्माण गरेको इतिहासविद् मुकुन्दराज अर्याल बताउँछन् । यो मन्दिर सर्वसाधारणका लागि प्रत्येक तिहारको भाईटिकाको दिन मात्रै खुला गरिन्छ । यस पर्वमा आफ्नो दाजुभाई वा दिदीबहिनी नभएकाहरु टिका र आशिर्वाद थाप्न यहाँ आउने गर्छन् ।

expand image
expand slideshow

कल्पना खनाल, जीपीजे नेपाल

राजा प्रताप मल्लले पुत्र वियोगमा रहेकी रानीलाई सान्त्वना दिन बनाएकाले पोखरीले घेरिएको बीचमा रहेको मन्दिरसहितको क्षेत्र रानी पोखरीको नामले चिनिन्छ । रानी पोखरीको मर्मत २०७३ मा अवरुद्ध भएको हो ।

यस पोखरी ६२ रोपनी जग्गामा फैलिएको छ । छेउमा हिंड्नका लागि पेटी, अन्य सुविधा र मन्दिर मर्मतसहित पोखरी निर्माणका लागि १५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । त्यस्तै, मन्दिर मर्मतका लागि करिब एक करोड ३० लाख रुपैयाँ लाग्नेछ ।

पुनःनिर्माणको काम जथाभावी भएको भनेर स्थानीय सञ्चारमाध्यमले प्रचार गरेकै आधारमा पुरातत्व विभागले काममा रोक लगाएको र त्यतिबेलासम्म महानगरले आधा काम सकिसकेको काठमाडौं महानगरपालिका शहरी पुर्वाधार विकास विभागका प्रमुख उत्तरकुमार रेग्मी बताउँछन् ।

तर पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरचाहीं मन्दिर र पोखरीको निरीक्षण गरेरै विभागले महानगरको काम रोकेको दाबी गर्छन ।

गत वैशाखमा निर्माणकर्तासँग सहमति गरिएको र अबको दुई वर्षभित्र रानी पोखरीको पुनःनिर्माण सम्पन्न गर्ने अपेक्षा रहेको कुँवरको भनाई छ ।

 

जीपीजेका सागर घिमिरेले यो लेख नेपालीमा अनुवाद गरेका हुन् ।

Related Stories