Nepal

दासताबाट उम्कन संघर्ष गर्दै 'मुक्त हलिया'

सरकारले सन् २००८ मा हलिया प्रथा अन्त्यको घोषणा गरेपनि अझै हजारौं हलिया मुक्त भएका छैनन् । उनीहरु जीविकोपार्जनको लागि जमिन चाहन्छन् तर सरकारसँग भने हलियाको आधिकारिक तथ्यांकसमेत छैन ।

Read this story in

Publication Date

No Money, No Land: Nepal’s Indentured Servants Are Free, but Can’t Escape System

ल्पना खनाल, जीपीजे नेपाल

४४ वर्षीय छोरा गोरेराम लावडसँगै डोको बुनिरहेका ७४ वर्षीय माने लावड । ४० वर्षअघि लिएको ऋण चुक्ता गर्न दुवैजना हलिया बसेका छन् ।

Publication Date

दसरथचन्द, नेपाल: नेपाल सरकारले एक दशकअघि हलिया प्रथाको अन्त्य गर्यो । तर ४४ वर्षीय गोरेराम लावड उनले १३ वर्षअघि साहूसँग लिएको ४० हजार रूपैयाँ ऋण तिर्न अझै हलिया बसिरहेका छन् । झोलुङ्गोबाट खसेर २ वर्षीय छोराको हात भाँच्चिएपछि उपचारको लागि उनले त्यतिबेला ऋण लिएका थिए ।त्यसअघि पनि उनको ऋण थियो । त्योभन्दा पहिला पनि ऋण थियो । त्यो ऋण सँगै दशकौ अघिदेखि ऋण थियो ।

७४ वर्षीय बाबु माने लावडले करिब ४० वर्षअघि लिएको १५ हजार रूपैयाँ ऋण चुक्ता गर्न गोरेराम लावड १५ वर्षको उमेरदेखि साहूकोमा काम गरिरहेका छन् । लावड परिवार नेपालको सुदूरपश्चिम क्षेत्रको ग्रामीण जिल्ला बैतडीमा बस्छ जहाँ रोजगारीको अवसर एकदमै कम र गरिबी व्याप्त छ ।

जति मेहनत गरेपनि कर्जाको व्याजमात्रै तिर्न सकेको तर साँवा भने जत्तिको त्यत्तिनै बाँकी भएको उनी बताउँछन् ।

“अब यो कति पुस्तासम्म जाने हो मलाई थाहा छैन,” माने लावड भन्छन् ।

नेपालमा बधुँवा मजदुरको रुपमा काममा लगाइएका धेरै हलियासँग सम्पत्ति छैन र जीविकोपार्जन वा परिवार पाल्न खेतिपाती वा पशुपालन गर्न सक्दैनन् । गुजाराका लागि उनीहरु साहूसँग कर्जा लिन्छन् र चुक्ता गर्न साहूकोमै काम गर्छन् । त्यस्तो ऋणको व्याज एकदमै चर्को हुन्छ । धेरै साहूले त्यस्ता ऋणीलाई हलियाको रुपमा काम लगाउँछन् र घर बनाउन थोरै जग्गा दिन्छन् तर भाडा लिएर । जब उनीहरुले लिएको ऋण तिर्न सक्दैनन् त्यस्तो ऋण सन्तानमा सर्छ ।

सन् २००८ मा नेपाल सरकारले हलियालाई उनीहरुको ऋणबाट मुक्त घोषणा गर्यो र घर बनाउने जग्गा र पैसा पनि दिने प्रतिबद्धता व्यक्त गर्यो । तर हलियालाई ऋणमुक्त गर्ने प्रक्रियाले थुप्रै वर्ष खेर गएको छ ।

expand image
expand slideshow

ल्पना खनाल, जीपीजे नेपाल

पश्चिम नेपालमा रहेको आफ्नो घरको आँगनमा गोबर सोहोर्दै ४४ वर्षीय गोरेराम लावड । मलको लागि यो गोबर साहूको खेतवारीमा बोकेर लैजाने उनी बताउँछन् । साहूको ऋण चुक्ता गर्न १५ वर्षको उमेरदेखि हलिया बसेको उनी बताउँछन् ।

तथ्यांकका आधारमा सरकारले २०१२ मा हलियाको प्रमाणिकरण गर्न कर्मचारी खटाएको गिरि बताउँछन् । प्रमाणिकरण गरिएका करिब १७ हजार हलिया सरकारको तथ्यांकमा रहेको उनी बताउँछन् । तीमध्ये साहुको ऋणबाट मुक्त भनी सरकारी परिचयपत्र प्राप्त गर्ने १७ हजार ७ सय ५० जना छन् ।

सरकारले मुक्त हलियालाई घरजग्गा किनिदिन ८७ करोड ५० लाख रूपैयाँ बजेट छुट्टयाएको छ । हालसम्म ४ हजार १ सय ३९ हलियालाई ‘पुनस्र्थापना’ गरिएको गिरि बताउँछन् । तीमध्ये ८ सय १२ जनालाई जग्गा किनिदिएको उनी बताउँछन् । ७ सयभन्दा केही धेरैले घर बनाएको र २ हजार ६ सय जनाले घर मर्मत गरेको उनी बताउँछन् ।

मुक्त हलियाको परिवारले १ लाख २५ हजार रूपैयाँदेखि २ लाख रूपैयाँसम्म नगद अनुदान प्राप्त गर्ने गरेको गिरि बताउँछन् ।

यति गर्दा पनि अझै हजारौं हलियाहरु मुक्त नभएको अनुमान छ । हलिया अधिकारको क्षेत्रमा काम गर्ने संस्थाको आग्रहमा सन् २००८ मा भएको हलिया आन्दोलनमा सहभागी भएको गोरेराम लावड बताउँछन् । कानुनीरुपमा हलिया मुक्त भएको सुनेको उनी बताउँछन् । उनले परिचयपत्र आउने आशमा आफ्नो नाम सरकारी कर्मचारीलाई टिपाए तर त्यस्तो कार्ड अहिलेसम्म पाएका छैनन् ।

अब के गर्ने भन्नेमा उनी अनिश्चित छन् । उनका तीन छोराछोरी विद्यालय जान्छन् तर उनीहरुको लागि किताबकापी र अन्य आवश्यक सामग्री जुटाउन गाह्रो परेको उनी बताउँछन् । कतिदिन त खाने कुरा नहुँदा परिवारै भोको बस्नुपर्ने उनी बताउँछन् ।

“म कहाँ जाऊँ र कसलाई भेटूँ ?,” उनी प्रश्न गर्छन्, “मैले चिनेको कोही छैन । गरिबलाई कसले वास्ता गर्छ र ?”

सरकारी गणनामा केही हलिया छुटेको हुनसक्ने उपसचिव गिरि स्वीकार्छन् । तर सही तथ्यांक उपलब्ध गराउन नसक्ने दोष उनी हलिया अधिकारको क्षेत्रमा काम गर्ने संस्थालाई दिन्छन् । सरकारसँग गोरेराम लावड र उनीजस्तै प्रमाणिकरणमा छुटेका अन्य हलियालाई तत्काल सहयोग गर्ने केही योजना भने छैन । सरकारी तथ्यांकमा रहेका हलियाले सहयोग प्राप्त गरेपछि छुटेका हलियाहरुको पुनः गणना गरेर सरकारले सहयोग गर्नसक्ने गिरि बताउँछन् ।

घर छेउमा बसिरहेका गोरेराम लावड र उनकी श्रीमती जयन्ती लावड । लावड जोडीनै हलिया हुन् । यो प्रथामा अभिभावकले लिएको ऋण तिर्न सन्तानसमेत हलिया बन्छन् । तस्बिरमा देखिएका लावडका सन्तानले समेत आफ्नो आमाबाबुको ऋण चुक्ता गर्न हलिया बन्नुपर्ने हुन्छ ।

हलिया मुक्ति समाज महासंघका अध्यक्ष राजुराम भुल सरकारले हलिया समस्या समाधान गर्न धेरै समय लगाएको बताउँछन् । औपचारिकरुपमा हलिया मुक्त घोषणा भएको एक दशक भइसकेको उनी बताउँछन् ।

“हलिया पुर्नस्थापना कछुवाको गतिमा छ,” उनी भन्छन् । यस्तो ढिलासुस्तीले नेपालभरका हलिया मुक्त हुन अझै २० वर्ष लाग्ने उनी बताउँछन् ।

मालपोत कार्यालय बैतडीका नायब सुब्बा राजेन्द्रसिंह थापा जिल्लाका हलियालाई जग्गा किन्न र घर बनाउन सहयोग गर्न २ करोड ५० लाख रूपैयाँ छुट्टयाइएको बताउँछन् । हालसम्म ६४ हलिया परिवारले घर बनाएको र १ सय १० परिवारले घर मर्मत गरेको उनी जानकारी दिन्छन् ।

जिल्लाका केही हलियाहरुले आवश्यक सहयोग नपाएको उनलाई थाहा छ तर आफूले केही गर्न नसक्ने उनी बताउँछन् ।

“केन्द्रबाट प्रमाणीकरण भएर आएका हलियाबाहेक अरुलाई हामीले केही दिन मिल्दैन,” उनी भन्छन् ।

हलिया अधिकारको वकालत गर्ने संघसंस्थाबाट अहिलेसम्म हलिया तथ्यांकमा भएको त्रुटीबारे कुनै औपचारिक गुनासो नआएको गिरि बताउँछन् ।

औपचारिकरुपमा कुनै उजूरी गरेको वा नगरेको प्रष्ट नभए पनि हलिया अधिकारकर्मीहरु सरकारले बनाएको हलियाको सूची त्रुटीपूर्ण रहेको बताउँछन् ।

सरकारले १२ जिल्लाका अनुमानित १० हजार हलियालाई तथ्यांकमा छुटाएको भुल बताउँछन् ।

expand image
expand slideshow

ल्पना खनाल, जीपीजे नेपाल

बैतडीस्थित आफ्नो घर अगाडि बसिरहेका गोरेराम लावड ।

स्थानीय जनप्रतिनिधिहरु पनि यसलाई समस्याको रुपमा देख्छन् । बैतडी जिल्लाको बाडीलेख गाउँ रहेको वडाको निर्वाचित वडा सदस्य पार्वती भुल उक्त वडाका ८० हलिया परिवारमध्ये ४ परिवारले मात्रै परिचयपत्र पाएको बताउँछिन् ।

बैतडीभर यस्तै अवस्था रहेको उक्त क्षेत्रकी हलिया अधिकारकर्मी सरस्वती नेपाली बताउँछिन् । प्रमाणिकरणमा नपरेका करिब ५ हजार हलिया बैतडीमा मात्रै रहेको उनको अनुमान छ । सरकारले गणनामा पूरै गाउँहरु नै छुटाएको उनी बताउँछिन् । सरकारको पुनस्र्थापना प्रभावकारी हुन नसकेको भन्दै उनी चिन्तित छिन् । मुक्त हलिया परिवारलाई खेतिपातीको लागि पर्याप्त जग्गा नदिइए उनीहरु फेरि हलिया बन्नसक्ने उनको भनाई छ  ।

बधुँवा मजदुर विश्वभर रहेको समस्या हो । अन्तर्राष्ट्रिय श्रम संगठन र अन्य साझेदार संस्थाहरुले सन् २०१७ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०१६ मा निजी अर्थतन्त्रको क्षेत्रमा रहेका १ करोड ६० लाख बधँुवा मजदुरमध्ये करिव आधाजति व्यक्तिगत ऋणको कारणले यो समस्यामा परेका थिए । बधँुवा मजदुरको दर एसियामा सबैभन्दा उच्च भएपनि सबै क्षेत्रमा त्यस्ता मजदुरको संख्या उल्लेखनीय रहेको प्रतिवेदनमा भनिएको छ ।

नेपालका केही जमिनदार भने हलिया प्रथा गरिबका लागि सहयोगी भएको बताउँछन् ।

“पहिले उनीहरुले आफ्नो साहूबाट कम्तिमा खान र लाउन त पाउँथे,” सरकारको हलिया मुक्ति घोषणा कार्यक्रम सुरु नहुँदासम्म दुईजना हलिया राखेको बताउँने रमेश लेखक भन्छन् ।

उनीहरुलाई ६० हजार ऋण दिएको तर एक पैसा पनि फिर्ता नपाएको उनी बताउँछन् । अब ती कामदारसँग त्यस्तो सहायताको विकल्पसमेत नभएको लेखक बताउँछन् ।

“उनीहरुले न पढेलेखेका छन् न अरु केही काम गर्न सक्छन्,” लेखक भन्छन्, “सरकारले उनीहरुलाई कुनै रोजगारी दिए राम्रो हुन्थ्यो ।”

expand image
expand slideshow

ल्पना खनाल, जीपीजे नेपाल

डोकोमा मल बोकेर साहूको बारीमा लैजादै गोरेराम लावड ।

लेखकले वर्णन गरेको हलिया प्रथा धेरै हलियाले बताउने गरेको अवस्थाभन्दा फरक छ ।

५६ वर्षीय ईश्वरी भुल १५ जनाको परिवार पाल्न २० वर्षको अवधिमा २ जना साहूबाट जम्मा ५० हजार सापटी लिएको बताउँछन् । कर्जा लिदा तिर्नसक्ने सम्भावना न्यून छ भन्ने आफूलाई थाहा भएको उनी बताउँछन् ।

“घर पनि नभएको मान्छेले कसरी ऋण तिर्न सक्छ ?,” उनी सोध्छन् ।

भुल उक्त ऋण तिर्न अझै काम गरिरहेको बताउँछन् । सरकारी तथ्यांकमा समावेश गर्न भनेर हलिया मुक्तिको लागि काम गर्ने कसैले उनको नाम टिपेर लगेको तर त्यसपछि केही नभएको उनी बताउँछन् । त्यसैले उनी अहिले पनि उक्त ऋणको व्याज चुक्ता गर्न लागिपरेका छन् ।

भुल दमको रोगी हुन् तर पनि साहू उनले ऋणको व्याज तिरोस भन्ने अपेक्षा गर्छन् । उनले लिएको ऋण उनको सन्तानमा सरिसकेको छ । रोगले गर्दा काम गर्न नसक्ने भएकाले घरमै बस्ने उनी बताउँछन् ।

आफ्नो साटो खेतमा काम गर्न छोराहरु जाने उनी बताउँछन् ।

जीपीजेका सागर घिमिरेले यो लेख नेपालीमा अनुवाद गरेका हुन् ।