मन्डनदेउपुर, काभ्रे, नेपाल : अरुलाई काम लगाउनुभन्दा आफैंले घर बनाउँदा सस्तो पर्ने भएकाले तिलकप्रसाद ढकालले सरकारले दिएको १२ दिने डकर्मी तालिम लिए अनि २०७२ को भूकम्पमा भत्किएको आफ्नो घर आफैं बनाए ।
यो तालिमपछि उनले घर बनाउन थुप्रै काम पाउने आशा राखेका थिए ।
भूकम्पबाट करिब आठ लाख घरहरु भत्किए । नागरिकलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम प्रदान गर्नुको पछाडी उनीहरुले आफ्नो घरको निर्माण आफैं गरुन र अरुलाई पनि सहयोग गरुन भन्ने सरकारको उद्देश्य थियो ।
भूकम्पपीडितलाई घर बनाउन तीन किस्ता गरेर तीन लाख रुपैयाँ अनुदान दिने समेत सरकारले प्रतिवद्धता गरेको थियो ।
त्यसैले तालिम लिएअनुसार ढकालले स्वभाविकरुपमा प्रशस्त काम पाउनुपर्ने हो । तर अहिलेसम्म कसैले उनलाई घर बनाउन बोलाएका छैनन् ।
सरकारी अधिकारीहरुका अनुसार सरकारले गत आर्थिक वर्ष २०७२/०७३ मा मात्र पुनःनिर्माणका लागि साढे ४९ अर्ब रुपैयाँ खर्च गर्यो ।
तर यतिका रकम कहाँ खर्च भयो, खासै देखिदैन । पुनःनिर्माण व्यवस्थापनको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार सात लाख ६५ हजार भन्दा बढी लाभग्राहीहरु घर पुनःनिर्माण अनुदानका लागि योग्य ठहरिएका थिए । तर हालसम्म एक लाखभन्दा कम घरहरु मात्र बनेका छन् ।
प्राधिकरणका लागि भने यो अवस्था दुर्भाग्यपूर्ण हो । प्राधिकरणले आफैं वा अन्य संस्थाहरुबाट सञ्चालित कार्यक्रमहरुमार्फत ४४ हजार तीनसय भन्दा बढी इन्जिनियर र डकर्मीलाई तालिम प्रदान गरेको छ । तर तालिमप्राप्त जनशक्तिमध्ये थोरै मात्र पुनःनिर्माण कार्यमा सक्रिय छन् ।
हाल प्राधिकरणमा एक हजारभन्दा बढी इन्जिनियर पद रिक्त छन् । तर योग्य जनशक्ति पुनःनिर्माण काम गाह्रो भएपनि तलब थोरै पाउने गुनासो गर्छन् । उता, धेरै जसो इन्जिनियरहरु आफ्नो सिप निजी क्षेत्रमा खर्चिन्छन् ।
तर, सरकारी इन्जिनियरको अभावमा पुनःनिर्माणको काम अवरुद्ध भएको छ । भूकम्पपीडितहरुले तीन किस्तामा सरकारी अनुदान प्राप्त गर्छन् र सरकारी निर्देशिका अनुसार उक्त पैसा तीन चरणमा प्रयोग गर्नुपर्ने हुन्छ । सरकारी इन्जिनियरले घर निर्माण भएको पहिलो चरण पुरा गरेको प्रमाणित नगरेसम्म लाभग्राहीले अर्को किस्ताको अनुदान रकम पाउँदैनन् ।
अधिकांश नेपालीहरु सरकारले दिएको अनुदान रकम निर्माण सामाग्री किन्न र कामदारलाई ज्याला दिन पनि नपुग्ने बताउँछन् । (पुनःनिर्माण अनुदानको समस्याबारे हाम्रो समाचार यहाँ पढ्नुहोस् ।)
यस्ता समस्याले पुनःनिर्माण प्राधिकरणका सहायक प्रवक्ता भीष्मकुमार भुषाललाई निरास बनाउँछ । आफ्नो घर पुनःनिर्माणका लागि व्यक्ति आफैं दुःख गर्न तयार हुनु पर्ने उनको भनाई छ ।
“उनीहरु सरकारले नै आफ्नो लागि घर बनाइदियोस् भन्ने चाहन्छन्,” उनी भन्छन्
तर आफैंले घर बनाइरहेका पीडितहरुले घर निरीक्षण गरिदिने इन्जिनियर पाउनसमेत मुस्किल छ ।
तीस हजार रुपैयाँ मासिक तलब र २० हजार रुपैयाँ थप प्रोत्साहन भत्ता पाइने पुनःनिर्माणको यो अस्थायी जागिर हो ।
सहरी विकास मन्त्रालयका वरिष्ठ डिभिजन इन्जिनियर सुरेशकुमार वाग्लेका अनुसार नक्सा र डिजाइनको स्वीकृति तथा बन्दै गरेको घरको निरीक्षणसहित प्रत्येक इन्जिनियरको सात सय ५० घर हेर्ने जिम्मेवारी रहेको छ । (उनि अहिले छुट्टै मन्त्रालयमा छन् |)
हाल प्रत्येक गाउँ विकास समिति को लागि औसत पाँच जना र नगरपालिकाका लागि सात जना इन्जिनियर खटाइएको वाग्ले बताउँछन् ।
इन्जिनियरका लागि कामको ज्यादै बोझ ज्यादै छ तर तलब साह्रै न्यून । फिल्डमा जाँदा लाग्ने खर्चसमेत नपुग्ने पुनःनिर्माण प्राधिकरणका उपसचिव विजय राना बताउँछन् ।
भ्रमण खर्च भन्दा तलबभत्ता कम भएकाले उनीहरुले जागिर छोड्ने रानाले जानकारी दिए ।
उनका अनुसार यो ‘विकराल समस्या’ हो ।
पुनःनिर्माण प्राधिकरणका इन्जिनियर पुरुषोत्तम थापा घर निर्माणको अनुगमन गर्न जाँदा दिनमा १२ घण्टा हिड्ने गरेको बताउँछन् ।
दैनिक पन्ध्र सय रुपैयाँ भन्दा बढी खानबस्न खर्च लाग्छ । निर्माणस्थल अनुगमन गर्न जाँदा मात्रै आफ्नो तलबभत्ता सकिने उनी बताउँछन् ।
तर उनले यो काम कर्तव्य ठानेर गरिरहेका छन् ।
“यो अफ्ठ्यारो परिस्थितिमा म राष्ट्रप्रतिको दायित्व सोच्छु,” उनी भन्छन् ।
थापाले आकर्षक तलबको जागिर खोज्ने हो भने धेरै टाढा जानु पर्दैन ।
विशेष सिप भएका दक्ष कामदारलाई वैदेशिक रोजगारीका लागि नेपालमा रोजगार एजेन्सीले बारम्बार विज्ञापन गरिरहेका हुन्छन् ।
नेपाल सरकारको सन् २०१४को वैदेशिक रोजगार सम्बन्धी एक रिपोर्ट अनुसार सन् २००८ देखि २०१५ सम्म २० लाखभन्दा नेपालीले विदेशमा काम गर्न जानका लागि श्रम स्वीकृति लिएका छन् ।
सरकारी रिपोर्ट अनुसार भूकम्प गएको दिन १२ वैशाख २०७२ र यो वर्षको जुन महिनाको बीचमा मात्र रोजगारीका लागि ११ लाख नेपालीहरु परदेश गएका छन् ।
धेरै नेपालीहरु विदेशमा जोखिमपूर्ण र विज्ञापन गरिएभन्दा कम तलबमा काम गर्न बाध्य हुन्छन् र कतिपय कामदारहरु त घर फर्कन नदिने रोजगारदाताको फन्दामा परेका छन् । केहीले भने राम्रै आम्दानी गर्छन् र त्यसमध्ये धेरै पैसा परिवारलाई घर पठाउँछन् ।
विशेष सिपको तालिमप्राप्त व्यक्ति नेपाल बाहिर जाँदा राम्रो काम पाउने र बढी कमाई हुने सम्भावना हुन्छ ।
नेपालमै बसे भने पनि आफ्नो लागि निजी क्षेत्रमा राम्रो रोजगारीको अवसर अझ बढी हुने त्यस्ता कामदारहरु बताउँछन् ।
गणेशबहादुर श्रेष्ठ, ३८, ले लुथरन वल्र्ड फेडेरेशनमार्फत् सन् २०१६ मा डकर्मी तालिम लिए । तर उनले तालिम सकिएपछि स्थायी काम पाउन सकेनन् । आफूसँग पर्याप्त पैसा नभएकाले आफ्नै घर समेत निर्माण गर्न सकेका छैनन् । श्रेष्ठ अहिले भरियाको काम गर्छन ।
“काम नगरी यत्तिकै बस्नु भन्दा त दिनमा दुई–तीन सय रुपैयाँ कमाउनु नै राम्रो हो,” उनी भन्छन् ।
जीपीजेका सागर घिमिरेले यो लेख नेपालीमा अनुवाद गरेका हुन् ।