मुकरदजी, माउन्ट डार्विन, जिम्बाबे — दिउँसोको २ बजे अचाक्ली गर्मीमा धुलो पसिना केही नभनी दर्जनौं महिला-पुरुष चट्टान फोड्दैछन्।
जमिनभरि प्वालैप्वाल र खाल्डाखुल्डी छन्। प्रायः आधिकारिकरुपमा दर्ता नगरिकन एक्लै अथवा सानो समूहमा काम गर्ने भएकोले उनीहरुलाई “आर्टिसनल” भनिन्छ। उनीहरुले सुनको सम्भावना भएका कुनै पनि ठाउँमा खन्ने र ढुङ्गाका टुक्राहरू तान्दै मसिनो धुलो नहुन्जेल चकनाचुर पार्ने गर्छन्। एकजनाले केही धुलो कचौरामा खन्याउँछ र पातलो प्लास्टिकको झोलामा राखिएको पारोले छोप्छ ।
त्यो धुलोलाई एउटा कपडामा राखेर त्यसबाट उसको नाङ्गो हातले विषाक्त मर्करी निचोर्छ। दिन शुभ भए, कपडा खोल्दा एउटा सानो सुनको टुक्रो देख्छ। त्यसपछि, हावामा विषाक्त धुवाँ छोड्दै त्यो टुक्रोलाई पोलेर मर्करीका कण-कण फ्याल्छ। पारोले निम्त्याउनसक्ने गम्भीर रोग र मृत्युको बारेमा उसलाई खासै थाहा छैन।
“मर्करी बिना सुनका कणहरु एउटै तत्वको रुपमा पाउन गाह्रो हुन्छ,” खानी मै काम गर्ने गोड्फ्रे बोन्डेरा सुनको टुक्रो पोल्न झुप्रोभित्र हतारिंदै बताउँछन्। “यो एकदम सुरक्षित छ।”
राज्यको अत्यन्त अनियमित स्वर्ण उछाललाई झनै टेवा दिन साउथ अफ्रिका र अन्य छिमेकी देशहरुबाट जिम्बाबेमा पारो आइपुग्छ। यसको आयात र निर्यात पछ्याउन गाह्रो छ किनभने कुनै पनि देशले सुन खनन निम्ति किनिएको मर्करीको हिसाबकिताब राखेको हुँदैन। दक्षिणी अफ्रिकाका प्रायः पारो व्यापार कमजोर सिमानामा थोरै वा बिना कुनै रोकतोक नै हुने गर्छन्।
माउन्ट डार्विन खानीमा पारो बिक्रेताहरु देखा पर्छन्। खानी कामदारहरु खुरुखुरु किन्छन् तर कहाँबाट आयो भनेर सोद्धैनन्।
एक कामदारका अनुसार, मर्करी सस्तो हुन्छ – $२ प्रति ग्राम (.०३५ औंस) – बोक्न सजिलो, प्रयोग गर्न त झनै सजिलो। बच्चाले पनि सक्ने।
सन् २०१४ मा प्याक्ट जिम्बाबेले गरेको एक अध्ययनअनुसार, जिम्बाबेका प्रत्येक तीनजना खानी कामदारमध्ये दुई जनाले खनिजबाट सुन निकाल्दा बिना कुनै सुरक्षा नै पारो प्रयोग गर्छन्। यसो गर्दै गर्दा, उनीहरुले आफ्ना स्नायु, प्रतिरक्षा र प्रजनन प्रणालीलाई भने जोखिममा पारेका हुन्छन्।
यसैबीच, मर्करीको प्रयोग रोक्न सरकारले खासै केही गरेको छैन। बरु, जिम्बाबियनहरुलाई कुनै पनि औजार वा पदार्थको प्रयोग गरी सुन खनन गर्न प्रोत्साहित गरेको छ। खानीमा काम गर्ने मानिसहरुले प्राविधिकरुपमा सरकारकहाँ गएर दर्ता गर्नुपर्ने हुन्छ, तर वास्तवमा जोकोहीले पनि र जत्रोसुकै सुनको टुक्रो पनि, बिना कुनै प्रश्न नै सरकारको सुन किन्ने फिडेलिटी प्रिन्टर्स एन्ड रिफाइनर्सलाई बेच्न पाउँछ।
सन् २०१३ मा जिम्बाबेले संयुक्त राष्ट्रसङ्घको मिनामाता मर्करी महासन्धिमा हस्ताक्षर गर्यो। यस सन्धिले सरकारलाई आफ्ना नागरिक र वातावरणलाई मर्करीबाट सुरक्षा प्रदान गर्न लगाउँछ तर जिम्बाबेले पारोको प्रयोगलाई पूर्णरूपमा उन्मूलन गर्न खोज्ने महासन्धिलाई अनुमोदन भने गरेको छैन।
हाल सुनले नै जिम्बाबेको धराशायी अर्थतन्त्रलाई हाँकिरहेको छ। यसमा आर्टिसनल र साना खालका खानी कामदारहरुले नेतृत्व लिइरहेका छन्। मिनिस्ट्री अफ माइन्स एन्ड माइनिङ्ग डेभलपमेन्टको महाशाखा द च्याम्बर अफ माइन्सका अनुसार, औपचारिकरुपमा रोजगारी पाएकामध्ये २५ प्रतिशतभन्दा बढी मानिसहरु सुनखानीमा काम गर्छन्। करिब १६ मिलियन जिम्बाबियनहरुमध्ये १ मिलियनभन्दा बढी प्रत्यक्षरुपमा कुनै न कुनै किसिमका खनन कार्यमा संलग्न छन्।
यही सुनको मूल्य भने ठूलै चुकाउनुपर्ने भएको छ: एकातिर धेरै खानी कामदारहरु गम्भीर स्वास्थ्य समस्याबाट पीडित छन् भने अर्कोतिर पारोको खतराको ज्ञान भएका कामदार पनि यसको सम्पर्कलाई रोक्न नसकिने बताउँछन्।
“मर्करी भएको सुन धोएको पानी नै पिउन र पकाउन प्रयोग गर्छौं,” सुनको देश जिम्बाबेका एक अनुभवी कामदार मर्सी बुन्गु बताउँछन्। “पिउने पानी दुषित भएकोले धेरै बच्चाहरुलाई पखाला लागेको उदाहरण हामीसँग छ।”
बुन्गुको भनाइमा खानी कामदारका लागि सफा पानीको बन्दोबस्त गरिदिन सरकारले इनार खनिदिनुपर्छ।
धेरै खानी कामदारहरु बस्ने माउन्ट डार्विनस्थित अस्थायी शिविरमा आधारभूत सुविधा समेत छैन। त्यहाँका बासिन्दा चरम गरिबीमा बाँचेका छन्। मौसम वा खानीको अवस्थामा कुनै सुरक्षा नदिने झुत्रा लुगा लगाउँछन्। पन्जा, काम गर्दा लगाउने लुगा र हेल्मेट त सपनाको कुरा भयो।
त्यसैले, केमिकल र अन्य पदार्थहरुको सम्पर्कबाट पीडित बिरामी देखेर स्थानीय डाक्टर निराश हुन्छन्।
“मर्करी प्रयोग गर्दा मानिसहरुले हेभी-ड्युटी पन्जा र मास्क लगाउनुपर्छ,” माउन्ट डार्विनमा कहिलेकाहीँ खानी कामदार जाँच्ने डिस्ट्रिक्ट मेडिकल अफिसर डा. जर्ज म्यापिये भन्छन्।
जिम्बाबेको मिनिस्ट्री अफ हेल्थ एन्ड चाइल्ड क्यरका स्थायी सचिव डा. जेराल्ड ग्विनजीका भनाइमा, पारोसँग सम्बन्धित स्वास्थ्य समस्याका लागि उपचार गरिएका मानिसहरुको बारेमा सरकार सचेत छ। स्वभाविकरुपमै यो खतरनाक भएको उनी बताउँछन् तर प्रयोग नकार्न नसकिने अवस्थामा सुझाब दिन्छन्: “एकदम सावधानीपूर्वक प्रयोग गर्नुहोस्। पोख्याउने वा सुँघ्ने नगर्नुहोस्। उपयुक्त अवस्थामा मात्र वा बट्टामा हालेर प्रयोग गर्नुहोस् र सुहाउँदो ठाउँमा भण्डारण गरेर राख्नुहोस्।”
लघु सुन उत्पादनतर्फ सरकारको जोड र ग्विनजीको स्वीकारोक्तिका बाबजुद पनि, खानी कामदारलाई पारोका खतराहरुको बारेमा जानकारी दिने कुनै औपचारिक सरकार-प्रायोजित तालिम छैनन्।
वाशिङ्गटन डि.सी.स्थित एक गैरसरकारी संस्था प्याक्टअन्तर्गत जिम्बाबे अकाउन्टेबिलिटी एन्ड आर्टिसनल माइनिङ्ग प्रोग्रामका लागि प्रोजेक्ट लिडर नर्मन मुक्वामीका भनाइमा, खानी कामदारहरु विषाक्त मर्करी र अन्य रोगका लक्षणबीचको भिन्नता प्रायः छुट्याउन सक्दैनन्। मानसिक रोग, गर्भपतन, पुरुष नपुंसकता, कम्पन, र दाँत कुहिनुजस्ता सबै समस्या मर्करीको सम्पर्कमा आउनाले हुन्छ।
यसमा थप्दै मुक्वामी भन्छन्, सो संस्थाले ३०० जना खानीमा काम गर्ने मानिसहरुका लागि दुईवटा मर्करी सुरक्षा तालिमका साथै मिनामाता महासन्धिको बारेमा छलफल गर्न पनि दुई बैठकहरु संचालन गरेको थियो। यसमा करिब ६० मानिसले सहभागिता जनाएको उनी बताउँछन् ।
अधिकांश खानी कामदारहरु भने मर्करीको प्रयोग जारी राख्ने योजनामा छन्।
ओलिभर माबोधोले एक बर्षअघि आर्मीको जागिरबाट अवकाश पाएपछि सुन खननमा लागे। उनी १५ मिटर (४९ फिट) गहिरो र ४५ मिटर (१४८ फिट) लामो खानीमा काम गर्छन्। खानी कसैले निरीक्षण गरेको छैन तर सुरक्षित छ भन्नेमा उनी विश्वस्त छन्।
“खानीमा न्यानो हुने हुनाले जाडो महिनामा हामी यहीं सुत्छौं,” उनी भन्छन्।
उनका लागि जीवन कठिन भए पनि सम्भावित पारिश्रमिकले काममा निरन्तर लागिरहन लोभ्याउने बताउँछन्। फेब्रुअरीमा उनले ६७ ग्राम (२.३ औँस) सुन फेला पारे, जुन $३७ प्रति ग्राम बेचे – नगदको अभाव र भोकमरी व्याप्त भएको देशमा $२,४०० भन्दा बढी कमाउने अवसर पाए ।
मर्करीले त्यो कमाई सम्भव बनाएको माबोधो बताउँछन्।
“कुनै विकल्प छैन,” उनी भन्छन्।
जिपिजेकी लिन्डा मुजुरुले केही अन्तर्वार्ताहरु शोना भाषाबाट अनुवाद गरेकी हुन्।