Democratic Republic of Congo

ज्वालामुखी चेतावनी प्रणाली असफल हुनुमा अधिकारीद्वारा अरूमा दोषारोपण

गोमा ज्वालामुखी अब्जरभेटरीले माउन्ट निरागोन्गो विष्फोट हुनुअघि स्थानीय बासिन्दाहरूलाई चेतावनी दिनुपर्ने थियो । कहाँ चुक भयो ?

Read this story in

Publication Date

Officials Trade Blame for Failed Volcano Warning System

नोएला निराबिहोगो, ग्लोबल प्रेस जर्नल, प्रजातान्त्रिक गणतन्त्र कङ्गो

क्माउन्ट निरागोन्गो विस्फोट भएपछि त्यसबाट बच्नका लागि फ्लोरिडा बारालिजीले आफ्नो घर छोडिन् । उनी अहिले शरणार्थी शिविरमा बस्छिन् ।

Publication Date

गोमा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो — बिहानीको पारिलो घाम ताप्दै फ्लोरिडा बारालिजी एउटा सानो झुपडीको अगाडि रहेको एउटा ठूलो ढुङ्गामा बस्छिन् । उनी निराश र हतास देखिन्छिन् । गत मे महिनाको २२ तारिखमा अफ्रिकाको एउटा सबैभन्दा खतरनाक ज्वालामुखी माउन्ट निरागोन्गोको विस्फोटले सो ज्वालामुखीको फेदीमा बस्ने बारालिजी र अन्य लाखौँ बासिन्दालाई स्तब्ध बनायो । ज्वालामुखीले उनको घर, पसल, लुगा, पैसा, व्यक्तिगत कागजात र सिमी बाली लगाएको खेत सबै खरानीमा परिणत भयो ।

अहिले ४३ वर्ष पुगेकी बारालिजी आफ्ना चार सन्तानलाई लिएर ४०० अन्य परिवारसँगै ज्वालामुखीभन्दा करिब ८ किलोमिटरको दूरीमा गोमा सहरबाट केही टाढा रहेको बुकान्डा गाउँमा रहेको शरणार्थी शिविरमा बस्छिन् ।

“मलाई एक सेकेन्डको लागि त यो सबै सपना हो, कुनै विपना होइन भन्ने लाग्यो,” उनी भन्छिन् । “तर दुःखको कुरा यो मेरो आँखाको अगाडि छर्लंगै थियो, मैले मेरो घर र मसँग भएका सबै कुरा गुमाएकी थिएँ, मेरा बालबच्चाको पालनपोषणमा सहयोग गर्ने सबै कुरा गुमिसकेको थियो ।”
उक्त ज्वालामुखी विष्फोटले ३ हजारभन्दा बढी घरहरू नष्ट गर्यो र कङ्गोको पूर्वी क्षेत्रमा बसोबास गर्ने ४ लाख मानिसलाई विस्थापित गरायो । कम्तीमा ३१ जनाको मृत्यु भएको थियो । एकातिर बारालिजी र अन्य प्रभावित मानिसहरूले आफ्नो टुक्रिएको जीवनलाई फेरि सम्हाल्ने कोशिस गरिरहेका थिए, भने अर्कातिर त्यहाँका बासिन्दा र वैज्ञानिकहरू सरकारको प्रारम्भिक चेतावनी प्रणालीले राम्रोसँग काम गरेको भए यो विष्फोटको विनाशकारी नतिजाबाट बच्न सकिन्थ्यो भनिरहेका देखिन्थे ।

 

expand image
expand slideshow

नोएला निराबिहोगो, ग्लोबल प्रेस जर्नल, प्रजातान्त्रिक गणतन्त्र कङ्गो

माउन्ट निरोगोन्गो विष्फोट भएको भोलिपल्ट बिहान मानिसहरू फोटोहरू खिच्दै लाभा अवलोकन गरिरहेका ।

कङ्गोको जोखिम न्यूनीकरण कार्यक्रम मुख्यबिन्दु गोमा ज्वालामुखी अब्जरभेटरी हो । कङ्गो सरकारले १९८६ मा यो अब्जरभेटरी स्थापना गरेको थियो । सन् २००२ मा माउन्ट निरागोन्गो विष्फोट भएपछि यस अब्जरभेटरीले दुई वटा सक्रिय ज्वालामुखी – माउन्ट निरागोन्गो र माउन्ट न्यामुलागिरा – विष्फोट हुने सङ्केतहरूको निगरानी गर्न थाल्यो । यो पूर्वचेतावनी प्रणालीले त्यहाँका बासिन्दालाई ज्वालामुखी विष्फोट हुनुभन्दा दुई हप्ता अघि नै सतर्क गराएर उनीहरूलाई सुरक्षित स्थानमा जान सहयोग गर्नुपथ्र्यो । तर यस वर्षको मे महिनामा माउन्ट निरागोन्गो फेरि विस्फोट हुँदा यस अब्जरभेटरीले कुनै चेतावनी दिएन ।

स्थानीय बासिन्दा र वैज्ञानिकहरू अब्जरभेटरीका प्रशासकहरूको भ्रष्टाचार र खराब व्यवस्थापनले गर्दा यस्तो भएको आरोप लगाउँछन् । गत जुन महिनामा सो अब्जरभेटरीमा कार्यरत वैज्ञानिकहरूको समूहले कङ्गोका राष्टपति फेलिक्स तशिसकेडीलाई एउटा खुला पत्र लेख्दै अब्जरभेटरीका प्रशासकहरूले कोषको दुरूपयोग गरेको बताए । युरोपियन युनियन, विश्व बैंक र अन्य समूहहरूबाट सहयोग गरिएका ७० लाख डलरभन्दा बढी पैसा लक्षित परियोजनामा खर्च नगरिएको ती वैज्ञानिकहरूको आरोप थियो ।

“यी परियोजनाहरूको सहयोगका लागि आएका धेरैजसो कोषहरू अन्यत्र खर्च गरियो र धेरै परियोजनाहरू अगाडि बढ्न पाएनन्,“ पत्रमा भनिएको छ । यसो हुँदा जनचेतना अभियान, अनुसन्धान कार्यक्रम र उपकरण खरिद लगायतका कुरा अघि बढ्न सकेन ।

गोमा ज्वालामुखी अब्जरभेटरीका वैज्ञानिक निर्देशक सेलेस्टिन कासेरेका माहिन्दाले गोमा ज्वालामुखी अब्जरभेटरीले केन्द्रीय सरकार र अन्तर्राष्ट्रिय दाताहरूबाट सहायता पाउन छोडेको भन्दै यी आरोपहरूबाट एजेन्सीको बचाउ गर्दछन् । आर्थिक सहयोगको अभावका कारण अक्टोबर २०२० देखि अप्रिल २०२१ सम्म सात महिना माउन्ट निरागोन्गोको अनुगमन गर्न नसकिएको महिन्दा बताउँछन् ।

महिन्दा भन्छन्, “यस अवधिमा हामीसँग कुनै इन्टरनेट कनेक्सन थिएन र हामीले वास्तविक समयको कुनै पनि तथ्याङ्क प्राप्त गर्न सकेनौँ,” महिन्दा भन्छन् ।

expand image
expand slideshow

नोएला निराबिहोगो, ग्लोबल प्रेस जर्नल, प्रजातान्त्रिक गणतन्त्र कङ्गो

विस्थापित बासिन्दाहरू बुकान्डा शरणार्थी शिविरमा सहायताको प्रतीक्षामा ।

गत मे महिनामा गोमा ज्वालामुखी अब्जरभेटरीले संयुक्त राज्य अमेरिकाबाट थप कोष सहायता प्राप्त गर्यो, महिन्दा भन्छन्, र यसले अब्जरभेटरीलाई फेरि ज्वालामुखी भित्रको म्याग्माको गतिविधिको निगरानी सुरु गर्न सहयोग गर्यो । तर दुर्भाग्य, यो विस्फोटको लागि तयारी गर्ने पर्याप्त समय थिएन ।

“इन्टरनेटमा पहुँच हुने बित्तिकै हामीले चेतावनीका सङ्केतहरू रेकर्ड गर्यौँ, तर ज्वालामुखीले पहिले नै निकै सक्रिय भइसकेको थियो,” महिन्दा भन्छन् । “त्यसैले हामी विस्फोटबाट स्तब्ध हुन पुग्यौँ ।”

जुन ५ मा आयोजित एउटा पत्रकार सम्मेलनमा वैज्ञानिक अनुसन्धान मन्त्री जोसे पान्डा काबान्गुले गोमा ज्वालामुखी अब्जरभेटरीलाई सरकारले स्रोत छुट्याउन असफल भएको स्वीकार गर्दै अबदेखि अब्जरभेटरीले आवश्यक रकम र उपकरणहरू प्राप्त गर्ने बताए ।

यस विपद्को समयमा सरकारले जनतालाई खाना, पानी र स्वास्थ्य सेवा उपलब्ध गराउने काम गरेको छ । जुन महिनामा तशिसेकेडीले अर्को एउटा एजेन्सी स्थापनाको घोषण गरे जसले विपद्को प्रभावकारी रोकथाम र व्यवस्थापन सुनिश्चित गर्न गोमा ज्वालामुखी अब्जरभेटरीसँग मिलेर काम गर्नेछ ।

प्रभावित धेरै बासिन्दाका लागि यी प्रस्तावहरू धेरै ढिलो गरी आएका छन् ।

“यस विष्फोटले मेरो सबै कुरा नष्ट गर्यो, यहाँ जीवन धेरै गाह्रो छ, खासगरी हाम्रा छोराछोरीका लागि,” ६ जना छोराछोरीका बाबु हाङ्गी बिजिमुन्गु भन्छन् । “उनीहरू राम्रोसँग खान र सुत्न पनि पाउँदैनन् ।”

expand image
expand slideshow

नोएला निराबिहोगो, ग्लोबल प्रेस जर्नल, प्रजातान्त्रिक गणतन्त्र कङ्गो

गोमा नजिकैको विद्यालयको मैदानमा एउटा अस्थायी झुपडी बाहिर बसेका हाङ्गी बिजिमुन्गु । यहाँ उनी र उनको परिवार विद्यालयको कक्षाकोठामा सुत्छन् । उनीहरू माउन्ट निरागोन्गोको विष्फोटबाट विस्थापित भएका हुन् ।

गोमाबाट केही माइल पर रहेको किबाती गाउँको काहेम्बे स्कुलमा शरण लिने एक हजारभन्दा बढी मानिसमध्ये बिजिमुन्गुको परिवार पनि रहेको छ । विभिन्न सहायता समूहहरूबाट सहयोग प्राप्त भए पनि विद्यालयको आश्रय उनीहरूका लागि कठिन रहेको छ । विस्थापित परिवारहरू राति मात्र विद्यालयको कक्षाकोठामा सुत्न पाउँछन् तर बिहान विद्यार्थीहरू आइपुगेपछि उनीहरू बाहिर निस्कनुपर्छ । विद्यालयमा जम्मा चारवटा मात्र शौचालय छन्, यसले गर्दा शौचालयका लागि लामो लाइन लाग्नुपर्ने र सरसफाइ तथा स्वच्छतामा समेत समस्या हुने गरेको छ ।

बारालिजी विष्फोट हुनुअघि आर्थिक रूपमा आत्मनिर्भर थिइन्, तर अहिले उनी आफू र छोराछोरीको जीवन थेग्न खानेकुरा कतिबेला पाइने हो भनेर प्रतीक्षमा नै दिनहरू बिताउँछिन् । हरेक साँझबिहान उनी फेरि राम्रो घर बनाउन र व्यवसाय गर्न सकियोस् भनेर प्रार्थना गर्छिन् ।

“राष्ट्रपतिले हालै शिविरको भ्रमण गरी सबै कुरा ठीक हुने वचन दिएका छन्,” बारालिजी भन्छिन् । “तर एउटा कुरा स्पष्ट छः जीवन फेरि कहिल्यै पहिलेजस्तो हुनेछैन ।”

नोएला निराबिहोगो प्रजातान्त्रिक गणतन्त्र कङ्गोको गोमास्थित ग्लोबल प्रेस जर्नलका सम्वाददाता हुन् । उनी शान्ति र सुरक्षा विषमा कलम चलाउँछिन् ।

अनुवाद जानकारी: इमिलाइन बर्ग, ग्लोबल प्रेस जर्नलले फ्रान्सेलीबाट अंग्रेजीमा अनुवाद गर्नुभयो। यस नेपाली संस्करण अंग्रेजी अनुवादबाट रुपान्तरण गरिएको हो ।

Noella Nyirabihogo est journaliste à Global Press Journal en poste à Goma, en République démocratique du Congo. Elle est spécialiste des reportages sur la paix et la sécurité.


NOTE À PROPOS DE LA TRADUCTION

Traduit par Kiampi Kongopi, GPJ.