काभ्रेपलाञ्चोक, नेपाल – बुंगुरलाई खुवाउने दाना राखिएको बाल्टिन उचाल्दा ३५ वर्षीय ज्ञानबहादुर रम्तेल पीडाले रन्थनिन्छन् ।
‘भारी नउचाल्नु भनेकै थिएँ,’ उनको हातबाट १० लिटरको बाल्टिन खोस्दै उनकी पत्नी मन्दिरा रम्तेल गाली गर्छिन् ।
उनी सन् २०११ देखि यस्तैखाले दुखाई सहेर बसेका छन् । उनी आफूलाई मृगौला दानको लागि बाध्य पारिएको बताउँछन् ।
एक साँझ मदिरा पिउँदै गरेको बेला उनका साथीले उनलाई पेटमा ‘सामान्य शल्यक्रिया’ गरेको भरमा १० हजार रुपैयाँ कमाई हुने सुनाए । साथीको कुरा सुनेपछि यसबारे जान्न आफू उत्सुक बनेको उनी बताउँछन् ।
तर भोलिपल्ट उनी भारत स्थित एक अस्पतालको बेडमा व्यूँझिए । त्यो बेला उनी चिन्तित र द्विविधाग्रस्त थिए । काठमाडौंबाट उनलाई रातारात भारत पुर्याइएको थियो ।
‘अस्पतालमा रहेको थाहा पाउँदा आफूलाई कुनै रोग लागेको जस्तो ठानें,’ उनी भन्छन् ।
उनको आँखा खुल्दा उनको अगाडि प्रल्हाद र अन्य केही व्यक्तिहरु उभिएका थिए । उनीहरु गुण्डाजस्ता देखिन्थे, उनी भन्छन् ।
प्रल्हादले उनलाई चिकित्सकले उनको रगत जाँच गरिरहेको बताए तर किन रगत जाँच गरेको भने बताएनन्, उनी भन्छन् ।
जब उनीहरु त्यहाँबाट गए, अर्का एक बिरामीले आफूलाई वास्तविकता खोलेको उनी बताउँछन् ।
“एक युवक बिस्तारै मकहाँ आएर र कानमा साउती गर्दै भने, ‘यहाँबाट भाग, उनीहरुले तिम्रो मृगौला निकाल्न खोज्दैछन्,” उनी भन्छन्, “अस्पतालबाट भाग्न धेरै पटक प्रयास गरें तर हरेक पटक उनीहरुले रोके ।”
प्रल्हाद र उनका समूहले आफूलाई अस्पतालबाट निस्किन नदिएको उनी बताउँछन् तर अस्पतालका कर्मचारी यसबारे बेखबर थिए ।
अस्पतालमा मृगौला झिकिएका अन्य धेरै नेपालीहरु थिए, उनी भन्छन् ।
“घर फर्किनै नदिने हुन् कि भन्ने डरले मैले उनीहरुलाई मृगौला झिक्न दिएँ,” उनी भन्छन् ।
प्रल्हादले मलाई भनेका कुनै कुरा पनि सत्य होइन रहेछ, उनी भन्छन् ।
उनको मृगौला झिकियो तर उनले भनेअनुसारको १० हजार रुपैयाँ पाएनन् । बरु, प्रहरीकहाँ उजुरी गरे मारिदिने धम्कीसहित हातमा ७ सय भारतीय रुपैयाँ थमाएर उनलाई बस चढाएर नेपाल पठाइयो ।
मृगौला दानको लागि रगत वा कम्तिमा दुई वर्षदेखिको वैवाहिक नाता हुनुपर्ने कानूनी प्रावधान भए पनि नेपालमा अवैध मृगौला दान समान्य छ । अधिकारकर्मीहरु भन्छन्, कानुन भए पनि नेपालमा एक दशकदेखि मृगौलाको कालाबजारी बढ्दो छ र मृगौला दिएबापत ठूलो आर्थिक लाभको प्रलोभनसहित नेपाली युवाहरुलाई नियमितरुपमा भारत लैजाने गरिन्छ ।
नेपालले औपचारिकरुपमा २००८ देखि मृगौला प्रत्यारोपण सेवा गरेको र यहाँ मृगौलासम्बन्धी रोग बढ्दो अवस्थामा रहेको प्रविणकुमार जोशी बताउँछन् । जोशी भक्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रको प्रत्यारोपण र कलेजो–पित्तथैली शल्यक्रिया विभागका शल्य चिकित्सक हुन् । नेपालका जम्मा तीन अस्पतालले मात्रै मृगौला प्रत्यारोपणको सेवा दिन्छन् । तर सन् २०१७ को सुरुवातसम्म मात्रै १ हजार ५ व्यक्तिमा प्रत्यारोपण भइसकेको छ ।
अस्पताल व्यवस्थापनले रगत वा वैवाहिक नाता भएकामध्ये कसले मृगौला दान गरेका हुन् भन्ने निश्चित गर्नुपर्ने हो तर प्रत्यारोपण गर्नुअघि नाता प्रमाणित गर्न नक्कली कागजपत्र पेश गर्ने गरिएको अस्पतालका कर्मचारीहरु बताउँछन् ।
बिरामीका आफन्त र अस्पतालको मिलोमतोमा यस्तो हुने गरेको प्रहरीको आशंका छ ।
“यदि यस्तो भएको रहेछ र उजुरी पायौं भने कारबाहीको लागि अवश्य पनि कानुनी प्रक्रिया अघि बढाउँछौं,” काभ्रेपलाञ्चोक जिल्लाका प्रहरी उपरीक्षक सहकुल थापा भन्छन् ।
तर जोशी भने अस्पतालका कर्मचारीले मिलोमतो नगरेको बताउँछन् । उनीहरुले विश्वस्त खालका कागजात लिने हो जुन नक्कली पनि हुनसक्छ ।
“नक्कली कागजपत्र बनाएर आफन्त बनी मृगौला लिनेदिने गरेको घटना धेरै देखिन्छ,” उनी थप्छन्, “कानुन कार्यान्वयनको प्रणाली कमजोर भएकाले यो समस्या आएको हो ।”
मृगौला बेचबिखनको जालो तोड्न गाह्रो भएको प्रहरीको भनाई छ । अधिकांश अवैध शल्यक्रिया भारतमा हुन्छन् र बिरामीलाई दिइएको मृगौला अवैधरुपमा किनेको वा नक्कली कागजपत्र बनाएर लिइएको हो भन्ने कुरा आफन्तले पनि खुलाउँदैनन् ।
३६ वर्षीया मन्दिरा रम्तेल बाध्य बनाएर आफ्नो पतिको मृगौला झिकिएपछि आफू डरैडरमा बाँचेको बताउँछिन् । मृगौला झिकेपछि स्वास्थ्यमा पर्ने दीर्घकालिन असरबारे आफूहरु अनभिज्ञ रहेको दम्पति बताउँछन् । मृगौला झिकेको ७ वर्षपछि पनि उनी बारम्बारको दुखाई र शारीरिक कमजोरीबाट पीडित छन्, मन्दिरा भन्छिन् ।
“मेरा आफन्तहरु मलाई ‘तिम्रो पतिको आयू कम छ’ भन्छन् । उनीहरु अर्को बिहे गर्ने सल्लाह समेत दिन्छन्,” पतिको मृगौला झिकेदेखि दुई छाक टार्न पनि गाह्रो भएको उनी बताउँछिन् ।
उनका पति काठमाडौंमा काम गरेर मासिक १२ हजार रुपैयाँ कमाउथे ।
“उहाँ शारीरिकरुपमा कमजोर भएको थाहा भएदेखि गाह्रो काम गर्न दिएको छैन,” उनी भन्छिन् ।
कुनै गह्रौ सामान सार्दा वा उचाल्दा दुख्ने ज्ञानबहादुर रम्तेल बताउँछन् । हिंड्दा वा थकाई लाग्दा उनको पिँडौला बटारिन्छ ।
मृगौला झिकेपछि यस्तो लक्षण सामान्य हो, जोशी भन्छन् ।
जिल्ला प्रहरी कार्यालयका उपरीक्षक थापा आफूहरु यो अवस्थाको बारेमा जानकार भएको बताउँछन् तर मृगौला बेचबिखनबारे सन् २०१४ यता कुनै उजुरी परेको छैन ।
“दोषीविरुद्ध प्रहरी कार्यालयमा उजुरी नआई हामी केही गर्न सक्दैनौं,” उनी भन्छन् ।
कानुन कार्यान्वयनको अभावमा यस्ता अवैध बेचबिखन झन् मौलाउने गैरसरकारी संस्था फोरम फर प्रोटेक्सन अफ पिपुल्स राइट्सका कार्यक्रम संयोजक सतिश शर्मा बताउँछन् ।
उनको संस्थाले काभ्रेपलाञ्चोकमा मात्रै स्वेच्छाले वा जबरजस्ती मृगौला बिक्री गरेका ३ सय जनाको तथ्यांक संकलन गरेको उनी बताउँछन् ।
“चेतनाको कमीले उनीहरु आफूलाई झुक्याएको पनि थाहा पाउँदैनन्,” शर्मा भन्छन् ।
मृगौला बेच्न बाध्य पारिएकाहरु अहिले शारीरिक र मानसिक आघात बोकेर बाँचिरहेको उनी बताउँछन् ।
“मृगौला बिक्री गरेपछि पनि धेरैले भनिएको रकम पाउँदैनन्,” उनी भन्छन् ।
उनको संस्थाले भर्खरै गरेको एक अध्ययनअनुसार नेपाली दलालले एउटा मृगौला १ लाख ५० हजार रुपैयाँमा बिक्री गर्दै आएका छन् ।