Nepal

चिन्ता थप्दै चिनियाँ कपडा

नेपालका व्यापारी र उपभोक्तामाझ चिनियाँ कपडा लोकप्रिय बन्दैछ । विज्ञहरु भन्छन्, सस्ता र कम गुणस्तरीय सामग्रीको आयात, कमजोर आन्तरिक उत्पादन र केही नेपाली उत्पादनमा लगाइएको भन्सार शूल्कका कारण चीनसँगको व्यापार घाटा बढिरहेको छ र यसले नेपालको अर्थतन्त्रलाई आघात पु¥याएको छ ।

Read this story in

Publication Date

Chinese Clothing Imports All the Rage in Nepal, but Some Fret Over Economic Impact

यामकुमारी कँडेल, जीपीजे नेपाल

नेपालको राजधानी काठमाडौंस्थित ‘चाइना टाउन’ नाम दिइएको एक बजारमा कपडा छान्दै ग्राहक । सस्तो मूल्यमा पाइने भएकाले चीनबाट आयातित यस्ता कपडा नेपालीबीच लोकप्रिय छन् ।

Publication Date

काठमाडौं, नेपाल– नेपालको राजधानी काठमाडौंस्थित व्यस्त बजार सुन्धारामा रहेको कपडा पसल शेरचन इम्पोरियममा खचाखच भीड छ । यहाँ राखिएको एक जोर निलो जिन्स जेनिशा बस्नेतलाई मन परेको छ ।

पसले राजेन्द्र शेरचन ग्राहकको भीड छिचोल्दै २० वर्षीया बस्नेतलाई उनले मन पराएको पाइन्ट हेर्न सघाउँछन् ।

शेरचनले पाइन्टको मूल्य १४ सय रुपैयाँ रहेको बताए पनि ग्राहक बस्नेत भने यसको आधा मूल्यमात्रै तिर्ने बताउँछिन् । केहीबेरको मोलमोलाई पछि शेरचनले बस्नेतले भनेकै मूल्यमा सामान दिएर पठाए ।

शेरचनको पसलबाट बिक्री भएको यो सामान नेपालको उत्तरी छिमेकी चीनबाट आयातित हो । यी सामान व्यापारीले ल्याउन पनि सस्तो पर्छ र ग्राहकलाई झन् सस्तो पर्छ, उनी भन्छन् । सन् १९७९ मा पसल खोल्दा उनी भारतबाट आयातित कपडा बिक्री गर्थे । त्यो बेला बेलायती शासन रहेको र अहिले स्वतन्त्र व्यापारिक केन्द्र हङकङबाट सामान ल्याउन एकदमै महंगो थियो । त्यसैले भारतबाट आयातित लुगा नेपालमा सबैको रोजाईमा हुन्थ्यो ।

“हङकङबाट ल्याउनभन्दा सजिलो र भारतको भन्दा सस्तो भएकाले हामी व्यापारीले पनि चिनियाँ सामान ल्याउन थालेका छौं,” उनी भन्छन् ।

नेपाली व्यापारी र उपभोक्तामाझ चिनियाँ कपडा लोकप्रिय बन्दैछ । आन्तरिक उत्पादनको कमीले केही वर्षयता व्यापारीहरु कपडा आयातको लागि छिमेकी देशमा निर्भर छन् । खुद्रा पसलको संख्या बढ्नुमा चीनबाट आयातित यस्ता सामग्रीको केही हदसम्म भूमिका भएको उनीहरु बताउँछन् । स्थानीय केही विज्ञहरु भने यस्ता आयातले अर्थतन्त्रमा पार्ने प्रभावबारे प्रश्न गर्छन् । सस्तो र कम गुणस्तरीय सामग्रीको बढ्दो आयात, अपर्याप्त आन्तरिक उत्पादन, केही नेपाली सामानमा चीनले लगाएको भन्सार शूल्कको कारण देशको व्यापार घाटा बढिरहेको छ, उनीहरु भन्छन् ।

expand image
expand slideshow

यामकुमारी कँडेल, जीपीजे नेपाल

काठमाडौंको व्यस्त बजार सुन्धारामा कपडा पसल सञ्चालन गर्ने राजेन्द्र शेरचन ग्राहकलाई कपडा छान्न सघाउँदै । शेरचन चीनबाट कपडा ल्याएर बिक्री गर्छन् ।

नेपाल र चीनले सन् १९५५ मा नै औपचारिक सम्बन्ध स्थापित गरेको भए पनि दुई देशबीचको आर्थिक सम्बन्ध पछिल्लो वर्षमा बलियो बन्दै गएको हो । चीन नेपालमा लागि सबैभन्दा बढी बैदेशिक लगानी भिœयाउने देश र दोस्रो ठूलो व्यापार साझेदार पनि हो । दुई देशबीचको सम्बन्ध बिस्तारको लागि सन् २०१५ यता चीनले नेपालबाट नियमित निर्यात हुने कम्तिमा ७७२ वस्तुमा भन्सार शूल्क छुट गरेको सरकारी निकाय व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा बताउँछन् । नेपालबाट चीन निर्यात हुने रबर, वनस्पति तेलजस्ता वस्तुमा भन्सार शूल्क लाग्दैन ।

विश्व बैंकको अनुसार नेपालको आर्थिक बृद्धिदर पछिल्ला वर्षमा उच्च छ । तर, व्यापार घाटा बढिरहेको छ, राणा भन्छन् । सन् २०१० देखि २०१५ सम्मको तथ्यांकअनुसार नेपालको आयात वर्षेनी ५ दशमलब ५ प्रतिशतका दरले बृद्धि भइरहेको छ भने निर्यात वर्षेनी १ दशमलब ७ प्रतिशत ऋणात्मक अवस्थामा रहेको मासाचुसेट्स ईन्स्टिच्युट अफ टेक्नोलोजीको अब्जरभेटरी अफ इकोनोमिक कम्प्लेक्सिटी (आर्थिक जटिलताको दृष्टि) मा उल्लेख छ ।

सन् २०१६–२०१७ मा मात्रै नेपालले चीनसँग १ खर्ब २८ अर्ब ४३ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ, राणा भन्छन् । यो नेपालको कूल व्यापार घाटाको करिब १० प्रतिशत हो । वर्ष २०१६–२०१७ मा मात्रै नेपालले चीनबाट १ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ बराबरको आयात गरेको थियो तर चीनतर्फ निर्यात भने १ अर्ब ८१ करोड रुपैयाँ बराबरको मात्रै ग¥यो, उनी भन्छन् ।

नेपालबाट निर्यात हुने केही वस्तुमा भन्सार छुट दिए पनि चिनियाँ सरकारले अझैं पनि केही वस्तुमा भन्सार लगाएको छ । भन्सार तिर्नुपर्ने सामानहरुमा सजावटका सामग्री, गहना, कपडा र जडिबुटी चिया छन् । चीनले नेपालबाट आफ्नो देश छिर्ने सामानको गुणस्तर जाँच पनि गर्छ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सचिव पुरुषोत्तम ओझा भन्छन् । तर, नेपालले भने चीनबाट आयात हुने वस्तुमा त्यस्तो जाँच गर्दैन ।

हङकङबाट ल्याउनभन्दा सजिलो र भारतको भन्दा सस्तो भएकाले हामी व्यापारीले पनि चिनियाँ सामान ल्याउन थालेका छौं ।

“कम गुणस्तरीय सामानको आयात रोक्न नेपालमा न कानुन छ न संयन्त्र नै,” ओझा भन्छन् । व्यापारको यो शैलीले निर्यातलाई निरुत्साहित गर्छ र देशको अर्थतन्त्रलाई बेफाइदा पु¥याउँछ, उनी भन्छन् ।

वर्षौको युद्ध, राजनीतिक अस्थिरता र प्राकृतिक प्रकोपका कारण नेपालको आन्तरिक उत्पादनमूलक क्षेत्र पर्याप्त बन्न सकेको छैन, पूर्व अर्थ सचिव रामेश्वर खनाल भन्छन् । भारत र चीनमा जस्तो नेपालमा यो क्षेत्रमा पर्याप्त श्रमशक्ति पनि छैनन् जसको कारण स्थानीयस्तरमा सामानको उत्पादन र बिक्री महंगो र अपर्याप्त हुनसक्छ, उनी भन्छन् ।

नेपालमा आयात हुने सामग्री व्यापारीको लागि जीविकोपार्जनको स्रोत पनि हो । ३९ वर्षदेखि व्यापार गरिरहेका शेरचन यसैबाट परिवार पाल्छन् र व्यापारबाट गरेको कमाईले जग्गासमेत जोडेका छन् । शेरचन चीनबाट वर्षमा तीन चोटी ५०–५० लाख रुपैयाँ बराबरको सामान ल्याउने गरेको बताउँछन् । ५८ वर्षीय उनी ल्याएको सामान सबै बिक्री भए एक पटकमा १५ देखि २० लाख रुपैयाँसम्म नाफा कमाउने बताउँछन् ।

काठमाडौं बाहिरका व्यापारी भने काठमाडौंको बौद्धनाथ र रञ्जना गल्लीका थोक व्यापारीबाट सस्तोमा चिनियाँ कपडा किन्छन् र आप्mनो ठाउँमा लगेर बिक्री गर्छन् । सुर्खेतकी निना आचार्य सन् २०१० मा बेकरी पसल बेचेर कपडा व्यवसाय सुरु गरेको बताउँछिन् । चिनियाँ तयारी पोशाकको माग एकदम धेरै छ, उनी भन्छिन् । ४८ वर्षीया उनले कपडा व्यवसायबाट कमाएको नाफाले उनले एक तले घर पनि बनाएकी छन् ।

“पाउरोटी बेचेरभन्दा कपडा बेचेर बढी कमाएकी छु,” उनी भन्छिन्, “चाँडै व्यवसाय विस्तार गर्ने सोचाइमा छु ।”

नेपाल आउने विदेशी पर्यटकसमेत यहाँ पाइनो सस्तो चिनियाँ कपडा किन्न चाहन्छन् । दक्षिण भारतीय राज्य तमिल नाडूबाट नेपाल आएकी चन्द्रकला सरस्वती आफ्नो नातिनातिनीका लागि गर्मीमा लगाउने चिनियाँ कपडा किनेको बताउँछिन् । उनी हिन्दूहरुले पवित्र धार्मिकस्थल मान्ने काठमाडौंमा रहेको एक मन्दिर दर्शन गर्न आएकी हुन् ।

“चिनियाँ कपडा भारतमा पनि पाइन्छ तर यहाँ सस्तो रहेछ,” उनी भन्छिन्, “गुणस्तरीय नभए पनि सामान सस्तो रहेछ ।”

जीपीजेका विजय तिमल्सिनाले यो लेख नेपालीमा अनुवाद गरेका हुन् ।