बैतडी, नेपाल– नेपालको पश्चिमी जिल्ला बैतडी दशरथचन्द नगरपालिकाका गणेशदत्त भट्ट ४० वर्षदेखि यहाँ खेतीकिसानी गरेर बसिरहेका छन् ।
उनको घर र उनले ओखर र बदाम खेती गर्ने यो बारी २० वर्ष अघिसम्म यो समयमा हिउँले ढाकिएको हुन्थ्यो । डिसेम्बरदेखि फेब्रुअरी महिनासम्म पाँच फिटसम्म हिउँले छोपिन्थ्यो ।
पग्लिएको हिउँ र बरफलाई किसानहरु पानीको रुपमा आफ्नो गाईबस्तुलाई खुवाउँथे र बारीमा सिंचाईँ गर्थे । उनीहरुले स्याउ खेती पनि गर्थे, जुन भारतमा पनि निर्यात हुन्थ्यो ।
भट्टजस्तै धेरै किसानहरु अब स्याउ फलाउन सक्दैनन् ।
“मौसम पहिलेको जस्तो छैन । त्यसैले मैले मैले खेतीपातीको शैली पनि बदलेको छु,” उनी भन्छन् ।
भट्ट अहिले कागती, ओखर र बदाम फलाउन सकेकोमा नै आफूलाई भाग्यमानी ठान्छन् ।
नेपालभर तापक्रम बढ्दै जाँदा ग्रामीण क्षेत्रको कृषि व्यवसाय पनि परिवर्तन हुँदैछ । सरकारले प्रदान गर्ने तालिमले किसानलाई परिवर्तिन मौसमअनुसारको बाली फलाउन सहयोग त गरेको छ तर विज्ञहरु भने देशको कृषि व्यवसायलाई मौसम प्रतिरोधी बनाउन दीर्घकालिन नीति र समस्या समाधानको उपाय आवश्यक रहेको बताउँछन् ।
जनसंख्या बृद्धिका कारण विश्वव्यापीरुपमा खाद्यान्नको माग बढ्दो छ । संसारभरका मानिसलाई खानपुग्ने खाद्यान्न विश्वभर नै उत्पादन भइरहे पनि विज्ञहरु भने अहिलेको उत्पादनमा वृद्धि नभए धेरै मानिसहरु भोकै बस्नुपर्ने अवस्था उत्पन्न हुने बताउँछन् ।
तर, जलवायू परिवर्तनले विश्वभर किसानले गर्ने उत्पादनमा कमी ल्याउँदैछ । नेपालका किसानहरु परिवर्तिन मौसमका कारण आफ्नो परम्परागत अन्न उत्पादन गर्न समस्या परेको बताउँछन् । जलवायू परिवर्तनसँग जुध्न सन् २०१५ मा ल्याइएको पेरिस सम्झौतामा हस्ताक्षर गर्ने १९५ देशमध्ये नेपाल पनि एक हो ।
सन् २०१६ मा नेपाल सरकरकारले गरेको एक सर्वेक्षणमा सहभागीमध्ये ८६ प्रतिशत परिवारले २५ वर्षयता जलवायू परिवर्तनका कारण सुख्खा बढेको अनुभव गरेको बताएका थिए । यस्तै, ८५ प्रतिशतले वर्षा सुरु हुन कम्तिमा चार हप्ता ढिलो भएको बताएका थिए । नेपालमा वर्षा सामान्यतया जुनमा सुरु भएर अगस्टमा सकिन्छ ।
२५ वर्षयता जलवायू परिवर्तनसँग जुध्न नेपाली किसानले अप्राकृतिक बिषादी प्रयोग बढाएको रिपोर्टमा जनाइएको छ । तर, विज्ञहरु भने जलवायू परिवर्तनसँग जुध्न यस्ताखाले अभ्यास दीगो नहुने बताउँछन् ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको फलफूल विकास निर्देशनालयले २२ जिल्लाका किसानको जिल्लाको तापक्रमअनुसार कुन बाली कसरी लगाउने र हुर्काउने विषयमा तालिम दिइरहेको कार्यक्रम निर्देशक रमिता मानन्धर बताउँछिन् । एक दशकदेखि दिंदै आइएको तालिम वर्षको एक पटक हुने उनी बताउँछिन् ।
२१ वटा निजी कृषि फार्म र नर्सरीमा तालिमप्राप्त किसानहरुले कागती, बदाम, ओखर र जैतुनजस्ता खेती गरिरहेका छन् । बैतडी जिल्लामा ७२ एकड जमिनमा फैलिएको सरकारी कृषि फार्ममा १५ जना तालिमप्राप्त किसानलाई १३ थरीका फलफूल फलाउन रोजगारी दिएको सुख्खा फलफूल विकास केन्द्रका वागवानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डे बताउँछन् । यो केन्द्र फलफूल विकास निर्देशनालयबाट तालिम दिने निकाय हो । यो कृषि फार्मले आफ्नो उत्पादन बेचेर वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्छ, पाण्डे भन्छन् ।
दशरथचन्द नगरपालिकाकी स्थानीय द्रौपदी पाण्डै आफूले पनि सरकारी कृषि फार्ममा काम गरिरहेको र दैनिक ४ सय रुपैयाँ कमाईरहेको बताउँछिन् ।
सन् २००८ मा सरकारी फाराममा काम गर्नुअघि आफ्नो बारीमा मौसम परिवर्तन र कम गुणस्तरीय माटोका कारण आफ्नो ६ जनाको परिवारलाई खानपुग्ने अन्न मात्रै उत्पादन हुने गरेको उनी बताउँछिन् ।
दशरथचन्दकै किसान भट्ट सरकारी तालिम सुरु भएको वर्ष सन् २००८ मा आफूले नर्सरी खोलेको बताउँछन् । उनी कागती, बदाम र ओखर बेचेर मासिक ४ लाखसम्म कमाउने बताउँछन् । फलफूल विकास निर्देशनालय र अन्य जिल्लाका किसान पनि उनका ग्राहक हुन् ।
केही वर्षअघि आवश्यकता पु¥याउने गरी स्याउ उत्पादन गर्न नसकेको उनी बताउँछन् जुन उनको समुदायमा सामान्यखालको बाली मानिन्छ ।
प्रशस्त पानी पर्ने र तापक्रम ४५ फरेनहाइट (७ डिग्री सेल्सियस) भन्दा भन्दा कम भएको ठाउँमा स्याउ राम्ररी फल्ने लक्ष्मी पाण्डे बताउँछन् । तर, पश्चिमी जिल्लाहरुमा तापक्रम बढिरहेको छ । सरकारी तथ्यांकअनुसार यहाँको तापक्रम अहिले ४५ देखि ७२ फरेनहाइटमा पुगेको छ । कुनैबेला यहाँ ७३ प्रजातिको स्याउ फल्ने गरेको पाण्डे बताउँछन् तर अहिले २० प्रजाति मात्रै फल्छन् ।
“अब यहाँ पहिलेजस्तो हिउँ र पानी पर्छजस्तो लाग्दैन,” भट्ट भन्छन् ।
“बदलिंदो मौसमअनुसारको बाली लगाउन सरकारी तालिमले सघाएको छ,” उनी भन्छन्, “बाली लगाउने तरिका नसिकेको भए यहाँ केही उत्पादन हुन्नथ्यो ।”
बैतडी जिल्लाको श्रीकोट गाउँका किसान वीरेन्द्र भट्ट सबै किसानले सरकारी तालिम नपाएको बताउँछन् । उब्जनी नहुँदा गाउँका केही किसानले देश नै छाडिसके, उनी भन्छन् ।
“ग्रामीण भेगका किसानलाई लक्षित गरी कार्यक्रम सञ्चालन नगरे उनीहरुले जलवायू परिवर्तनको कारण यस्तै नतिजा व्यहोरिरहन्छन्,” उनी भन्छन् ।
लक्ष्मी पाण्डे भने सरकारी तालिम कार्यक्रम अहिले पनि विभिन्न क्षेत्रमा फैलिने क्रममा रहेकोे बताउँछन् ।
केही विज्ञहरु भने मौसम परिवर्तनअनुसार अन्नबाली परिवर्तन गर्नु अल्पकालिन रणनीति मात्रै भएको बताउँछन् ।
जलवायू परिवर्तनका कारण देशभरका ५ हजार पानीका स्रोत सुकिसकेका छन् । केही ग्रामीण क्षेत्रमा सिंचाईं प्रविधि पुगेको छैन जसकारण किसानहरु आकाशे पानीमै निर्भर रहन बाध्य छन्, जुन चाहिएको बेला नपर्न पनि सक्छ, जलवायू मैत्री संगठनका अध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् ।
वाइन्ड पावर नेपालका प्रमुख कार्यकारी अध्यक्ष कुशल गुरुङ जलवायू परिवर्तनसँग जुध्न तापक्रमअनुसार अन्नबाली लगाउने शैलीमा परिवर्तन गर्नेभन्दा पनि उद्योगहरु प्रदुषणरहित बनाउने राष्ट्रिय नीति हुनुपर्ने धारणा राख्छन् ।
जीपीजेका विजय तिमल्सिनाले यो लेख नेपालीमा अनुवाद गरेका हुन् ।
लक्ष्मीदत्त पाण्डे र द्रौपती पाण्डेबीच कुनै साइनो छैन ।
गणेशदत्त भट्ट र वीरेन्द्र भट्टबीच कुनै साइनो छैन ।