कम्पाला, युगान्डा – कागायी न्गोबीले अझै पनि शिक्षकले भन्ने गरेको अचम्मलाग्दो प्रश्न सम्झन्छन् : “युगान्डामा मिसनरी, अन्वेषक र ब्रिटिश उपनिवेशवादीहरूले सामना गरेका चुनौतीहरू के थिए?”
वर्षौं पछि पनि न्गोबी आश्चर्यचकित हुँदै भन्छन्, किन शिक्षकले ती बाहिरियाहरूले युगान्डालीलाई कसरी हानि पुर्याए भनेर सोधेनन्?
“मलाई थाहा थियो, इतिहासको पाठ्यक्रममा केही गडबड त छ,” ३४ वर्षीया न्गोबीले आफ्नो आखींभौं उचाल्दै भन्छन्। “आज हामीसँग रहेको इतिहास पाठ्यक्रम एउटा एकल विवरण (न्यारेटिभ) हो जसले उपनिवेशवादी र तिनका एजेन्टहरूको अनुभवलाई प्रशंसापूर्वक प्रस्तुत गर्दछ र अफ्रिकी न्यारेटिभलाई कमजोर बनाउँछ।”
न्गोबी आफैमा एक कवि, वकिल र शिक्षक हुन्, र उनी लगायत हजारौं अन्य युगान्डाली त्यो परिवर्तन चाहन्छन्।
कम्पालास्थित वकिल र लेखक अपोलो माकुबुयाले जुन महिनामा सरकारलाई उपनिवेशकालीन प्रशासक र ब्रिटिश शाही घरानाप्रति सम्मान देखाउने सार्वजनिक स्थानहरू, विशेष गरी सडकहरूको नाम परिवर्तन गर्न आग्रह गर्दै अनलाइन समावेदन सुरु गरे।
समावेदनले राष्ट्रिय कथालाई कसरी पुनर्निर्माण गर्ने भन्नेबारे वृहतस्तरको कुराकानी सुरु गराएको छ जहाँ केही इतिहासकार र शिक्षकका अनुसार अहिलेको पाठ्यक्रमले ब्रिटिश शासनको कठोर पक्षहरूलाई छोडेको र युगान्डाको इतिहासलाई तोडमरोड गरेको छ ।
“यसले व्यक्तिको आत्मविश्वास, पहिचान र आत्मसम्मानलाई असर गर्छ,” राजधानी कम्पालाको मेकेरेर विश्वविद्यालयका लेखक र सेवानिवृत्त इतिहास प्रोफेसर सामविरी लवाङ्गा लुनिइगो भन्छन्।
माकुबुया भन्छन्, गत वर्ष उनले एउटा पुस्तकका लागि युगान्डाको इतिहास अनुसन्धान गरेपछि उनलाई समावेदन जारी विचार आएको हो। आफूले देखेको कुराबारे उनी भन्छन्, “हाम्रो देशको स्वतन्त्रताका लागि धेरै काम गरेका हाम्रा नेताहरूबारे हामीलाई कति थोरै थाहा छ वा सम्मान दिएका छौँ।”
संयुक्त राज्य अमेरिकामा एक जना निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोयडको प्रहरीले हत्याले विश्वव्यापी विरोधको आगो फुकेको केही हप्ता पछि जुन महिनाको शुरुमा माकुबुयाले यो समावेदन सार्वजनिक गरे। समावेदनमा भनिएको छ, फ्लोयडको मृत्यु पछिको आक्रोशले “सबैतिर रहेका सबै प्रकारका अन्याय र भेदभावलाई सम्बोधन गर्न जरुरी छ।”
ती वकिलले उक्त समावेदनमा अन्य लगायत युगान्डाका राष्ट्रपति, संसद सदस्यहरू र शहरको सञ्चालन हेर्ने कम्पाला क्यापिटल सिटी अथोरिटीलाई सम्बोधन गरे।
“हामी के विश्वास गर्छौं भनी सार्वजनिक स्थानहरूबाट उपनिवेशको सर्वोच्चताका दृश्य अवशेषहरू हटाउनु बनेको गैरउपनिवेशीकरण प्रक्रियाको एक महत्त्वपूर्ण भाग र दमन तथा दण्डहीनताको युगको अन्त्य हो,” समावेदनमा भनिएको छ।
माकुबुयाले सन् १८९४ देखि १९६२ सम्म बेलायतले युगान्डालाई संरक्षित राज्यको रूपमा राखेको बेलालाई स्मरण गराउने सडकका नामहरू फेर्नुपर्ने आवाज उठाउँछन्।
सडक नामहरूले उपनिवेशकालका नेताहरू जस्तै फ्रेडरिक जोन डेल्ट्री लुगार्ड, कर्नेल ट्रेभर टर्नान, कर्नेल हेनरी एडवर्ड कोल्भिल र जनरल फ्रान्सिस डे विन्टनलाई देखाउँछन्।
मकुबुयाले यस समावेदनलाई संसदका सभामुखमा पेश गरे, धेरै टिभी कार्यक्रमहरूमा अतिथिको रूपमा आमन्त्रित गरियो र सिटी अथोरिटीमा गए। समावेदनमा ५,७०० भन्दा बढीले अनलाइन हस्ताक्षर गरेका छन् ।
“मैले हस्ताक्षर गरें, किनभने काला जातिको जीवन पनि महत्त्वपूर्ण छ,” किग्गुन्डु अहमदले अनलाइन समावेदनमा टिप्पणी गरेका छन्।
अरूले समावेदन सबैतिर नफैलिएको बताउँछन्।
अर्का टिप्पणीकर्ताले लबान जेम्बाले लेखेका छन्, “मेरो प्रार्थना के छ भने [यो] नाम परिवर्तनमा मात्र [न]रोकियोस् … तर हामी पूर्ण स्वतन्त्रताको खोजीमा लागिरहने छौँ … हामीले हाम्रो संस्कृति पुनर्स्थापित गर्नुपर्नेछ।”
लुनीइगो भन्छन्, युगान्डाको इतिहास पाठ्यक्रमले उपनिवेशकालको विकृत दृश्य प्रस्तुत गर्दछ। उनी भन्छन्, धेरैजसो स्कुलका बालबालिकाहरूलाई थाहा छैन कि बेलायतीहरूले युगान्डाका राज्यहरू बीच मतभेदको बिउ रोपेर विरोधलाई उत्तेजित बनाए, युद्धहरू चर्काए जसमा लडाइँ र भोकमरीबाट धेरैको मृत्यु भएको थियो।
बेलायतीहरूले आफ्नो धर्म, कपडा र अंग्रेजी भाषा जबरजस्ती थोपरे, अहिले अंग्रेजी भाषा युगान्डाको एउटा आधिकारिक भाषा भएको छ। उनीहरूले परम्परागत खेती जस्ता सामाजिक संरचनाहरूलाई पनि छिन्नभिन्न बनाए, लुनीइगो भन्छन्।
“स्कूलमा, बच्चाहरूलाई मातृभाषा बोल्दा सजाय दिइन्छ, अफ्रिकी जनता र उपनिवेशकालका युगका अफ्रिकी नेताहरूलाई असभ्य रूपमा चित्रण गर्ने पाठ पढाइन्छ, [र] अफ्रिकी संस्कृति र धर्म शैतानी थियो भनिन्छ,” उनी भन्छन्।
कम्पाला निवासी ३७ वर्षीया आयबाले एलेनले समाचार रिपोर्ट र सोसल मिडिया मार्फत समावेदनको बारेमा थाहा पाइन्। उनी एक परिमार्जित इतिहास पाठ्यक्रम हुनुपर्ने पक्षमा छिन् तर सडकको नाम नयाँ हुनुपर्छ भन्ने उनलाई लाग्दैन।
एलेन भन्छन्, “मैले [अंग्रेजहरू] को बारेमा के मात्र जानेको छु भने उनीहरूले कसरी सभ्यता, पढ्ने र लेख्ने ज्ञान, येशू, कटन र सिल्कका लुगाहरूसँग हामीलाई परिचित गराए”। “यदि हामीले सडकहरूको नाम परिवर्तन गर्यौं भने यसको अर्थ के हुनेछ भने स्कुल नगएका केही मानिसहरूले फ्रेडरिक लुगार्ड वा कर्नेल कोल्भिल को थिए भनेर कहिल्यै जान्न पाउने छैनन्।”
समुदायहरूले सडकको नाम परिवर्तन गर्नुपर्छ भन्ने अभियान चलाएका छन्, सिटी अथोरिटीका सार्वजनिक तथा कर्पोरेट मामिला हेर्ने अन्तरिम प्रमुख ड्यानियल मुहुमुजा नुवाबिन भन्छन्। उनी भन्छन्, कम्पालाका छिमेकी क्षेत्रहरूमा यस्तो कुरा आएको छैन।
इतिहासको नयाँ पाठ्यक्रम बनाउने काम संसद र शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको स्वायत्त निकाय राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रको हुनेछ। राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले सबै कक्षा तहका पाठ्यक्रम तयार गर्ने जिम्मेवारी वहन गर्छ।
मकुबुयाको समावेदनबारे जानकार रहेका राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रका निर्देशक ग्रेस के. बागुमा भन्छिन्, यस निकायले सबै विषयहरूको पाठ्यक्रम नियमित रूपमा समीक्षा गर्छ। तर उनी भन्छिन्, जसले इतिहासको पाठ्यक्रम परिमार्जन गर्छ, उनीहरूले यसो गर्नुको बलियो कारण प्रस्तुत गर्नुपर्छ।
“हामीलाई वास्तविक जानकारी चाहिन्छ,” उपनिवेशकालमा बेलायतले गरेको अत्याचारबारे बताउँदै उनी भन्छिन्। “पाठ्यक्रम परिवर्तन गर्न भन्नु अघि यसबारेको जानकारी कहाँ छ?”
लुनीइगो भन्छन्, सडकको नाम र पाठ्यक्रम दुवै परिवर्तन गर्नाले युगान्डालीलाई आफ्नो इतिहास पुनर्स्थापित गर्न मद्दत गर्नेछ।
“डरलाग्दो अपराध गरेका उपनिवेशवादीहरूको नामबाट सडकको नाम राख्नु भनेको उनीहरूलाई सम्मान दिनु हो,” उनी भन्छन्। “हामीले तिनीहरूलाई सम्मान दिनुहुँदैन। तर तिनीहरूको नाम सम्झनुपर्छ, र तिनीहरूको ठाउँ भनेको संग्रहालय हो।”
नाकिसान्ज सेगावा युगान्डाको कम्पालास्थित ग्लोबल प्रेस जर्नल रिपोर्टर हुन्। उनी स्वास्थ्य र मानव अधिकारका मुद्दाहरूमा रिपोर्टिङ गर्न कलम चलाउँछिन्।
अनुवाद नीति
नाकिसान्ज सेगावा (जीपीजे) ले लुगान्डाबाट केही अन्तर्वार्ताहरू अंग्रेजीमा अनुवाद गरिन्।