मिरिकी, प्रजातान्त्रिक गणतन्त्र कङ्गो — अम्बा-केराका रुखहरु, कासावा-सिमीका बोटहरु यस ग्रामीण भेगको सानो गाउँ मिरिकीतिर जाने साँघुरो, चिटिक्क परेको बाटोछेउ उभिएका छन् । त्यहाँ पुग्न यात्रुहरूले काघुमोको सानो बस्ती पार गर्नुपर्छ ।
यस भेगको समस्याको पहिलो सङ्केत काघुमोमा स्पष्ट देखिन्छ: सालाखाला २०० घरधुरीमध्ये झन्डै १५० त्यागिएका छन्। मानिसहरूले किन बस्ती छाडे भने, उनीहरूले कुनै समयमा बजार गएको र व्यापार गरेको मिरिकी गाउँमा अब नि:शुल्क जान पाउँदैनन् ।
वर्षौंदेखि मिरिकी सशस्त्र समूहको कब्जामा छ जसले प्रवेश कर तिराउँछ । प्रत्येक महिना १,००० कङ्गोली फ्रान्क (लगभग ६२ सेन्ट) तिरेको रसिद विना कसैले गाउँ प्रवेश गर्ने अनुमति पाउँदैन । (ग्लोबल प्रेस जर्नलले गाउँमा बस्ने मानिसहरूको अन्तर्वार्ता लिन प्रवेश कर तिरेको थियो । )
तर कर त्यतिमै मात्र सीमित छैन । मे मे माजेम्बे भनेर चिनिने सशस्त्र समूहले, काटिएका बालीनालीका केही भागमा पनि दाबी गर्छ वा किसानहरूलाई आफ्नो खेतमा जाँदा ३०० कङ्गोली फ्रान्क (लगभग १९ सेन्ट) शुल्क तिराउँछ ।
दुर्लभ नगद, थोरै वा नगन्य आम्दानी भएको यस क्षेत्रमा, ती करहरूले ग्रामीण प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेको अस्थिरताको तीतो यथार्थको सम्झना दिलाइराख्छन् ।
तथापि, धेरै परिवारले सशस्त्र समूहको नियन्त्रणबाट बच्न गाउँ छाड्दै गर्दा, त्यहाँ बसेका केहीले चाहिं, कहिलेकाहीं तनावपूर्ण नै भएपनि शान्ति कायम राख्न कर एक आवश्यक विधि भएको बताउँछन् ।
“साँच्चै भन्नुपर्दा, हामीले हाम्रो परिवारलाई भोकमरीबाट बचाउनको लागि मात्रै नियमहरूको पालना गरेका थियौं,” छ सन्तानकी आमा ३८ वर्षीया रेचेल कन्येरे भन्छिन्।
कन्येरे सन् २०१३ मा मिरिकीमा जाँदा, डेमोक्रेटिक फोर्सेज फर द लिबरेसन अफ रुवान्डाको सबैभन्दा डरलाग्दो हुतु सशस्त्र समूहहरूमध्ये एक एफडिएलआर-एफओसीए यस क्षेत्रमा सक्रिय थियो र गाउँलाई नियन्त्रण गरेको थियो । रुवान्डामा लाखौं मानिसहरूको हत्या भएको सन् १९९४ को नरसंहारपछि त्यो समूह प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा सरेको थियो ।
त्यस समूहका केही नेताहरुले नरसंहारलाई उक्साएको आशंका गरिएको छ।
कन्येरेका भनाइमा, एफडिएलआर-एफओसीए आउँदा ठूलो झगडा भएको थियो । साथै, स्थानीय बासिन्दा बिरुद्ध अनियन्त्रित हिंसा पनि थियो। स्थानीयका भनाइमा, १२० भन्दा बढी गाउँका बासिन्दाहरू मारिएका र २० महिला र बालिकाहरू बलात्कृत भएका थिए । (सन् २०१७ को एम्नेस्टी इन्टरनेशनलको एक रिपोर्टले एफडिएलआर-एफओसीएद्वारा एकै दिनमा १४ व्यक्तिको हत्या भएको जनाएको थियो।
“हामी आफ्ना घरबारी र सामान छाडेर भाग्न बाध्य पारियौं,” कन्येरे भन्छिन् ।
सन् २०१५ र २०१६ को बीचमा, नन्दे, हुन्डे र कोबो जनजातिका सशस्त्र समूहहरूबीच नयाँ गठबन्धन बन्यो । आफूलाई मे मे माजेम्बे भन्दै एफडिएलआरलाई क्षेत्रबाट बाहिर निकाल्ने र स्थानीयहरूलाई एफडिएलआरको कब्जामा हुँदा सहेकोजस्तो हिंसाबाट बचाउनको लागि समूह ठूलो आन्दोलनको एक हिस्साको रूपमा गठन भयो । सन् २०१६ को अन्त्यसम्ममा मे मे माजेम्बेले मिरिकीलाई नियन्त्रणमा लिएपछि आन्दोलन सफल भयो ।
“मे मे” प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा स्थानीय सशस्त्र समूहहरूलाई जनाउने एक साधारण शब्द हो ।
मिरिकीका नागरिक समाज अध्यक्ष फर्डिनान्ड काटेम्बो, मे मे माजेम्बेले शृंखलाबद्ध करको बदलामा स्थानीय जनतालाई सुरक्षाको अंश प्रदान गर्ने कुराको पुष्टि गर्छन् ।
कर सङ्कलनका दौरान समूहले कहिलेकाहीं हिंसा प्रयोग गरेतापनि कन्येरेलाई अरु समूहभन्दा मे मे माजेम्बेले नै गाउँ नियन्त्रण गरोस् भन्ने लाग्छ रे ।
“हामीलाई घर फर्किउँ फर्किउँ जस्तो लाग्यो,” उनी भन्छिन् ।
मानिसहरुले नियम पालना गरुन्जेल सुरक्षित रहन्छन् ।
“मार्लान् भन्ने डरले कर तिर्छौं,” वधशालाका मालिक पालुकु शबानी भन्छन् ।
तिरेनौं भने, मे मे लडाकुहरूको क्रोधबाट बच्ने एक मात्र उपाय भनेको ठाउँ छाड्नु हो, उनी बताउँछन् । अनि ठाउँ छाडियो भने, भोकै परिन्छ किनभने हामीलाई अन्न दिने खेतबारीहरूबाट हामी टाढा गएका हुन्छौं, उनी थप्छन् ।
ती नियम पालना नगर्नुका गम्भीर परिणामहरू हुन सक्छन् ।
एक ट्याक्सी चालक चार्ल्स किभुया भन्छन्, उनी र एक यात्रु मिरिकी पुग्नै लाग्दा उनीहरूले सडक अवरोध भएको देखे । मे मे माजेम्बे लडाकुहरूले कार रोकेपछि उनीहरुले कर तिरे । त्यसपछि लडाकुहरूले किभुयाका यात्रुलाई आफ्नो मतदाता कार्ड देखाउन भने तर उनीसँग थिएन ।
“लामो भाला बोकेको एउटा बडेमानको केटो रिसले पागलजस्तै भयो, हामीलाई तुरुन्तै फर्किनू र त्यहाँबाट भागिहाल्नू भन्यो,” किभुया भन्छन् । “डरले बान्तै आउला जस्तो भएर हामीले गाडी घुमायौं र बेग गतिमा कुदायौं,” उनी थप्छन् ।
नागरिक समाज अध्यक्ष काटेम्बो, मानिसहरुसँग मे मे माजेम्बेको अधीनमा रहन स्वीकृति दिनुबाहेक अन्य विकल्प नभएको बताउँछन् ।
“यो हामी जङ्गलमा बसेजस्तै हो । हाम्रो राष्ट्र अराजकताबाट मुक्त नभएसम्म केही परिवर्तन हुनेवाला छैन,” उनी भन्छन् ।
जिपिजेका न्दहयो सिल्भेस्टरले फ्रेन्चबाट यो लेख अनुवाद गरेका हुन्।