Nepal

नेपालका बाल गृहमा गैरकानुनीरुपमा काम गर्छन् विदेशी स्वयम्‌सेवी, जोखिममा बालबालिका

स्वयम्‌सेवीको रुपमा बिनातलब काम गर्न आउँदा पनि विदेशीले ‘वर्क परमिट’ लिनुपर्ने व्यवस्था लागू गर्न नेपाल सरकारले संघर्ष गरिरहेको छ । केही स्वयम्‌सेवकहरुले बाल गृहमा छोटो अवधिको लागि काम गर्छन् जसमध्ये केहीले बालबालिकासम्म विर्वाध पहुँच पाउँछन् ।

Read this story in

Publication Date

In Nepal’s Children’s Homes, Volunteers Work Illegally and, in Some Cases, Put Kids at Risk

शिलु मानन्धर, जीपीजे नेपाल

ललितपुरमा रहेको बाल गृह रिलेसनसिप नेपालमा गणितको समस्या हल गर्दै एक बालक । यस्ता धेरै बाल गृहले विदेशी स्वयम्‌सेवीबाट आवेदन माग गर्छन् तर उनीहरुको पृष्ठभूमि जाँच गर्दैनन् जसका कारण बालबालिकाहरु दुव्र्यवहारमा पर्ने जोखिम छ ।

Publication Date

काठमाडौं, नेपाल– सन् २०१६ मा जे.ए. ब्लान्को बाल गृहमा स्वयम्‌सेवा गर्न नेपाल आइपुगे । बाल गृहमा स्वयम्‌सेवा गर्न आउँन सजिलो थियो, उनी भन्छन् । उनले एक महिना कहाँ काम गर्न पाइन्छ भनेर अनलाइनमा सर्च गरे र रिलेसनसिप नेपाल भेटे । राजधानी काठमाडौंसँगै रहेको ललितपुरमा रहेको सिलेसनसिप नेपालले आफूलाई अनाथ आश्रम भन्दै आएको छ ।

“अनाथ गृहमा बालबालिकालाई म अंग्रेजी बढाउँथें,” उनले जीपीजेलाई ह्वाट्सएप, म्यासेजिङ एप, मा भएको कुराकानीमा बताए, “म मेरो यात्राको अन्य कुराहरु पनि भन्छु र बालबालिकासँगको फोटोहरु पनि देखाउँछु ।”

ब्लान्को स्पेनका नागरिक हुन् । सबै विदेशीले जस्तै उनले पनि नेपालमा स्वयम्‌सेवा गर्न वर्क भिसाको लागि आवेदन दिनुपर्ने थियो । उनी आफूले रिलेसनसिप नेपालमा स्वयम्‌सेवा गरेको काम कानुनी ठान्छन् किनकी उनी तलबी कामदार थिएनन् र उनलाई बाल गृहका कसैले पनि कानुनबारे बताएनन् पनि ।

नेपालमा रहेका केही निकायहरुले स्वयम्‌सेवी आकर्षित गर्न अनलाइन विज्ञापन गर्नु र बाल गृहसँग सम्पर्क गराउनु सामान्य हो । बाल गृहमा बस्ने केही र सबैजसो बालबालिका अनाथ नभए पनि नेपालमा रहेका अधिकांश बाल गृहले आफूलाई अनाथ आश्रम भन्ने गरेका छन् । यस्ता निकायले अन्य खालका स्वयम्‌सेवाको अवसरबारे पनि विज्ञापन गर्छन् । यस्ता  स्वयम्‌सेवीको रुपमा आउने निकै थोरै विदेशीले मात्रै लिनुपर्ने वर्क भिसा लिएका हुन्छन् । नचिनेका व्यक्तिहरु बालक र बालिका बसोबास गर्ने स्थानमा निर्वाधरुपमा आउजाउ गर्ने यो अभ्यासले बालबालिकालाई शोषण र दुव्र्यवहारको जोखिम खुला गरेको छ ।

पर्यटक भिसाले स्वयम्‌सेवासहित कुनै पनि प्रकारको काम गर्न बन्देज लगाएको छ, गृह मन्त्रालयका अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले भन्छन् ।

expand image
expand slideshow

शिलु मानन्धर, जीपीजे नेपाल

ललितपुरमा रहेको बाल गृह रिलेसनसिप नेपालमा अध्ययन गर्दै बालबालिका । यो संस्थाले धेरै देशका स्वयम्‌सेवी स्वीकार्छ । विदेशबाट नेपालमा बिना तलब काम गर्न आउँने स्वयम्‌सेवीहरुले पनि वर्क भिसा लिनुपर्ने हुन्छ तर बाल गृहमा आउँने थोरै मात्र स्वयम्‌सेवीले यस्तो भिसा लिन्छन् ।

यो समस्या किन बढिरहेको छ भने सरकारका विभिन्न निकायहरुले कानुन कार्यान्वयनका लागि समन्वय गरिरहेका छैनन्, विभिन्न विभागका सरकारी अधिकारीहरु भन्छन् । यसको नतिजास्वरुप बाल गृहमा समय बिताउँन चाहने विदेशीहरु हिमाल चढ्न आउने र काठमाडौं घुम्न आउँने पर्यटकजसरी आउजाउ गर्छन् ।

विदेशीलाई स्वयम्‌सेवामा लगाउने संस्थाहरु पनि प्रायजसो उनीहरुको पृष्ठभूमि जाँच गर्दैनन, सरकारको केन्द्रिय बाल कल्याण समितिकी अधिकारी नमुना भुषाल भन्छिन् ।

“बालबालिकामाथि बलात्कार र दुव्र्यवहार पनि भएका छन्,” भुषाल भन्छिन्, “केही स्वयम्‌सेवीले बालबालिकालाई आफूसँगै घुमाउन लैजान्छन् र होटलमा राख्छन् ।”

बालबालिकासँग काम गर्न तालिमप्राप्त व्यक्तिबाट पनि यो समस्या सिर्जना भएको छ । एक घटनामा नेपालमा अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त व्यक्तिबाटै यस्तो समस्या सिर्जना भयो ।

संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनका अधिकारीका रुपमा विश्वभरका बालबालिकासँग काम गरेको पिटर डलग्लिस बाल यौन दुराचारको आरोपमा अप्रिलमा नेपालमा समातिए । डलग्लिस दुई बालबालिकासहित कोठामा भेटिएका प्रहरी अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यूनिसेफ, डलग्लिस काम गरेका संयुक्त राष्ट्रसंघीय निकाय, नेपालमा बाल यौन दुराचारको घटनाको उजुरी बिरलै पर्ने भएकाले यसको अनुसन्धान गर्न र दोषीलाई कारवाही गर्नु चुनौति भएको प्रतिवेदन प्रकाशित गर्दै आएको छ ।

तर केही घटनामा, भुषाल भन्छिन्, स्वयम्‌सेवा गर्नसमेत वर्क परमिट चाहिन्छ भन्ने कानुनी व्यवस्थाबारे थाहै नपाई नेपाल आएका स्वयम्‌सेवीले बाल गृहमा हुने दुव्र्यहारको घटना स्थानीय निकायमा उजुरी गरेर ती बाल गृहहरु बन्द गराउन र त्यहाँ भएका बालबालिकाको उद्दार गराउन भूमिका खेलेका छन् । सन् २०१६ को जुनदेखि सन् २०१७ को जुनसम्म सरकारले १२ बाल गृहहरु बन्द गराएको छ भने १ सय १४ जनाको उद्दार गरेको छ, उनी भन्छिन् ।

सन् २०१७ को नोभेम्बरमा केन्द्रिय बाल कल्याण समितिले बाल गृहमा स्वयम्‌सेवा गर्ने अवसर भन्दै विज्ञापन गर्ने २२ निकायको सूची तयार बनाएको भुषाल बताउँछिन् । प्रायजसो, स्वयम्‌सेवा गर्न आउँनेहरुले बाल गृहमा काम गर्ने अवसर पाएबापत शूल्क तिर्ने गरेका छन् ।

expand image
expand slideshow

शिलु मानन्धर, जीपीजे नेपाल

नेपालमा सञ्चालित बाल गृहमा स्वयम्‌सेवा गर्न सजिलो छ । धेरै बाल गृहहरुले स्वयम्‌सेवा गर्न आउँनेको पृष्ठभूमि जाँच गर्दैनन् र धेरै देशबाट स्वयम्‌सेवा गर्न आउँनेहरुलाई पनि नेपालमा वर्क भिसा बिना बिना गैरकानुनी काम गरिरहेको छु भन्ने थाहा छैन । नेपालमा बिना तलब र छोटो अवधिको लागि काम गर्न पनि वर्क भिसा आवश्यक पर्छ ।

“तीमध्ये अधिकांश बाल गृह दर्ता नभएका र गैरकानुनी हुन,” भुषाल भन्छिन्, “उनीहरु बालबालिकाको तस्बिर र अन्तर्राष्ट्रि गैरनाफामूलक संस्थाको लोगो दुरुपयोग गर्छन र अनाथ गृहको सञ्जाल देखाउँछन् ।”

भुषालको विभागले ती सबै निकायहरु बन्द गराउनुपर्ने सिफारिस गरेको छ तर ती बन्द बन्द भएका छैनन् । सरकारले यसमा समन्वय नगरेको उनी बताउँछिन् ।

बाल गृहमा बस्ने सबै बालबालिका अनाथ हुन्नन तैपनि त्यस्ता बाल गृहले आफूलाई अनाथ आश्रम भन्दै स्वयम्सेवाको अवसर भएको विज्ञापन गर्छन् । यूनिसेफको तथ्यांक अनुसार सन् २०१५ को भूकम्पअघि १५ हजार बढी बालबालिका बाल गृहमा बसिरहेका थिए । तीमध्ये ८५ प्रतिशतभन्दा बढी बालबालिकाको कम्तिमा एक अभिभावक जिवित थिए ।

यूनिसेफका अनुसार ती बालबालिकाहरुलाई विदेशी अनुदान वा निःशुल्क स्वयम्‌सेवी आकर्षित गर्न प्रयोग गरिएको छ ।

सरकारी अधिकारीहरु सन् २००६ मा टुंगिएका दशक लामो गृहयुद्धपछि अनाथ आश्रम र बाल गृहहरुको संख्या वृद्धि भएको बताउँछन् । तर, त्यसअघि यस्ता बाल गृहहरु कतिवटा थिए भन्ने यकिन तथ्यांक छैन ।

अहिले नेपालभर ४ सय ६७ वटा अनाथ आश्रम दर्ता भएर सञ्चालित छन् जहाँ १६ हजार ५ सय बालबालिका आश्रित रहेको केन्द्रिय बाल कल्याण समितिले ग्लोबल प्रेस जर्नललाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । देशभर दर्ता नभई पनि कतिपय यस्ता गृहहरु सञ्चालित छन् ।

ग्रामीण समुदाय विकास कार्यक्रमका कार्यक्रम प्रबन्धक होम ओझा आफ्नो संस्थाले सन् १९९८ देखि विदेशी स्वयम्‌सेवीसँग काम गर्न थालेका बताउँछन् । त्यस्ता स्वयम्‌सेवी र उनीहरुले तिर्ने शुल्कले संस्था सञ्चालनमा सहयोग गर्ने उनी खुलस्त बताउँछन् ।

बाल गृहमा पढाउने र संरक्षण वा स्वास्थ्य क्षेत्रमा गर्ने कामअनुसार स्वयम्‌सेवीले तिर्ने शुल्क १५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँभन्दा बढी हुन्छ । यो शुल्कले स्वयम्‌सेवीको खाना, आवास, यातायात र अन्य आधारभूत आवश्यकता पूरा हुन्छ ।

expand image
expand slideshow

शिलु मानन्धर, जीपीजे नेपाल

ललितपुरमा रहेको रिलेसनसिप नेपालको खुला स्थानमा चेस खेल्दै बालबालिका ।

ग्रामीण समुदाय विकास कार्यक्रमका अर्का कार्यक्रम प्रबन्धक दीपक अधिकारी छोटो समयका लागि आउँने स्वयम्‌सेवीका लागि वर्क भिसा लिनु झन्झटिलो भएको बताउँछन् ।

“एक हप्ताका लागि आउँने पर्यटकले यो प्रक्रिया पूरा गर्दैनन्,” उनी भन्छन् ।

नेपाल सरकारको श्रम विभागका अधिकारीले जीपीजेलाई बताएअनुसार आवश्यक कागजपत्र पूरा गरी आवेदन दिएमा १० दिनभित्र वर्क भिसा उपलब्ध हुन्छ ।

आफ्नो संस्था ग्रामीण समुदाय विकास कार्यक्रमले १० वटा विद्यालय र अनाथ आश्रम बनाएको ओझा बताउँछन् । उनी आफ्नो संस्था अरुभन्दा भिन्न रहेको दाबी गर्छन् ।

“केही बाल गृह पैसा कमाउने गलत नियतका साथ स्थापना भएका छन्,” उनी भन्छन्, “१० जना बालबालिका बटुल्यो अनाथ आश्रम खोल्यो । यो सजिलो व्यवसाय बनेको छ । तर सबै त्यस्ता छैनन् ।”

सन् २०१५ को भूकम्प अगाडि ग्रामीण समुदाय विकास कार्यक्रमले हरेक महिना २० देखि ३५ जना स्वयम्‌सेवी लिने गरेको ओझा बताउँछन् । तीमध्ये अधिकांश अमेरिका, अष्ट्रेलिया र यूरोपका हुन्थे । ओझाका अनुसार अहिले संस्थामा हरेक महिना ५ देखि १० स्वयमसेवी आउँछन् । उनीहरुले बालबालिकाका लागि खाना र लुगा ल्याउँछन् र अत्यावश्यक रहेको रकम जोहो गर्छन्, उनी भन्छन् ।

कृष्ण विश्वकर्माले रिलेसनसिप नेपाल सञ्चालन गर्छन । यो बाल गृहले यसअघि बालबालिका बस्ने स्थानमै स्वयम्‌सेवीहरुलाई पनि राख्दै आएको थियो । तर स्वयम्‌सेवीहरु बालबालिका बस्ने स्थानमा बस्न नपाइने सरकारी अधिकारीले बताए, उनी भन्छन्, त्यसपछि हामीले नियमको पालना गर्‌यौं ।

स्वयम्‌सेवीबाट केही नकारात्मक घटना भएका छैनन्, विश्वकर्मा भन्छन् ।

“हामीले जे गरिरहेका छौं, ठीक गरिरहेका छौं,” उनी भन्छन् ।

जीपीजेकी शिलु मानन्धरले केही अन्तर्वार्ताहरु नेपालीबाट अंग्रेजीमा अनुवाद गरेकी हुन् ।

जीपीजेका विजय तिमल्सिनाले यो रिपोर्ट अंग्रेजीबाट नेपालीमा अनुवाद गरेका हुन् ।