Nepal

यौन पेशा छाड्न संघर्ष गर्दै वादी महिलाहरु

नेपालका अल्पसंख्यक वादी समुदायका महिलाहरु धेरै अघिदेखि देह व्यापारमा छन् । उनीहरुलाई आयआर्जनका अन्य अवसर प्रदान गर्न छुट्याइएको बजेट घट्दै गएको कारण थुप्रै वादी महिलाहरु जीविकोपार्जनका लागि यौन पेशामै रहन बाध्य छन् ।

Read this story in

Publication Date

Despite Promises of Aid, Sex Workers Struggle to Leave Industry in Nepal

कल्पना खनाल, जीपीजे नेपाल

नेपालको कैलाली जिल्लाको वादीटोलमा रहेको आफ्नो घरमा बसिरहेकी ५० वर्षीया कल्पना वादी । आफूसहित आफ्नो ६ जनाको परिवारको लालनपालन गर्न आफूसँग यौन पेशाबाहेक विकल्प नरहेको उनी बताउँछिन् ।

Publication Date

टीकापुर, नेपाल : आफ्नो घरको आँगनमा घाम तापेर बसेकी कल्पना वादीको भिजेको लामो कपालबाट पानीको थोपा चुहिरहेको छ । बिहानीपखको घाममा कपाल सुक्दै गर्दा उनी भने गाला र निधारमा बसेका चाउरीका रेखा छोप्न अनुहारमा पाउडर र ओठमा लिपिस्टिक लगाउँदैछिन् ।

“यो क्रिम र पाउडर मैले पुरुषको लागि लगाएकी हुँ,” उनी भन्छिन्, “३४ वर्षदेखि मेरो दिनचर्या यसरी नै बितिरहेको छ ।”

कल्पना वादी, ५०, नेपालको सुदूरपश्चिम जिल्लामा रहेको कैलालीमा बस्छिन् जहाँ उनले यौन पेशा सुरु गरिन् ।

उनी अहिले पनि आमाले एउटा पुरुषसँग सुत्न पठाएको पहिलो दिन सम्झिन्छिन् ।

“आमाले मलाई एउटा अध्याँरो कोठामा पठाउनुभयो । केहीबेरमा ४५ वर्षजति उमेर भएको एउटा मोटो मान्छे आगाडि देखापर्यो । म डरले आत्तिएँ,” यौन व्यवसायको पहिलो अनुभव सुनाउँदै कल्पना वादी भन्छिन् । उनी त्यति बेला आफू १६ वर्षको भएको बताउँछिन् ।

तर चाँडै यो काममा अभ्यस्त भएको उनी बताउँछिन् । यो कामले उनलाई परिवारको लालनपालनमा सहयोग गर्यो । अहिले उनी एक ग्राहकबाट सय रुपैंयाँदेखि दुईसय रुपैंयाँ कमाउँछिन् । कुनैदिन ३ जनासम्म ग्राहक आउने त कहिले कोही पनि नआउने उनी बताउँछिन् । यौन पेशा नै आफूसहित एक कान नसुन्ने दाई, बिरामी भाउजु र भाईबुहारी, भदा र भदिनीलाई पाल्ने एकमात्र विकल्प भएको उनी बताउँछिन् ।

expand image
expand slideshow

कल्पना खनाल, जीपीजे नेपाल

कैलालीस्थित सत्ति गाउँमा रहेको आफ्नो घरको आँगनमा १० वर्षीया छोरी चाँदनी वादी (दायाँ) र ४ वर्षीय छोरा अमित वादीसँग बसिरहेकी ४० वर्षीया कृष्णी वादी । देह व्यापारबाट कमाएको पैसाले कृष्णी वादीले छोरी चाँदनीलाई स्कुल पढाएकी छन् ।

नेपालका अल्पसंख्यक वादी समुदायका महिलाहरु धेरै अघिदेखि देह व्यापारमा छन् । यो समुदायका सदस्यहरु अन्य ठाउँमा काम गर्न जाँदा परम्परागत पेशाको कारणले भेदभावको सामना गर्नुपर्ने गुनासो गर्छन् । सरकारले वादी समुदायका गरिब र बेरोजगार सदस्यलाई सहयोग गर्ने उदेश्यले प्रत्येक वर्ष  केही बजेट छुट्याउँदै आएको छ । तर यो समुदायका केही सदस्यहरु यसरी छुट्याइएको बजेट घट्दै गएको कारण थुप्रै वादी महिलाहरु जीविकोपार्जनका लागि यौन पेशामै रहन बाध्य भएको बताउँछन्  ।

नेपाली समाजमा अझै पनि जातीय वर्णव्यवस्था कायम छ । दलित समुदायका २२ जातिमध्ये एक वादी उनीहरुको थरबाट सजिलै चिनिने गर्छन् । परम्परागतरुपमा यो समुदायको मुख्य पेशा मनोञ्जन दिने हो । उनीहरुले राजामहाराजा तथा धनाढ्यहरुलाई चाडपर्व तथा विवाहमा नाचगान गरेर मनोञ्जन प्रदान गर्थे ।

तर वि.सं. २००७  पछि रेडियो, टेप रेकर्डर र मनोञ्जनका अन्य माध्यमहरु आएपछि वादी समुदायले उक्त परम्परा छाड्नु परेको वादी समुदाय उत्थान विकास समितिका कार्यकारी निर्देशक महेश नेपाली बताउँछन् । वादी समुदाय उत्थान विकास समिति सरकारद्वारा गठित एक संस्था हो । त्यसपछि केहीले थोरै कमाई हुने सानोतिनो कामको सहारा लिए भने धेरै महिला जीविकोपार्जनका लागि यौन पेशा गर्न थालेको नेपाली बताउँछन् ।

नेपालीका अनुसार देशभर वादीको जनसंख्या करिब ७० हजार छ । अधिकांश वादीहरु देशको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्ने उनी बताउँछन् । तर उनीहरुसँग आफ्नो जग्गाजमिन वा आफू बसिरहेको घरको स्वामित्व नभएको उनी बताउँछन् ।

कारबाहीको डरले केहीले लुकिछिपी देह व्यापार गर्ने हुँदा यौन व्यवसाय गरिरहेका वादी महिलाहरुको अनुमानित संख्या भन्न गाह्रो छ । नेपालमा यौन व्यवसाय गैरकानुनी छैन तर तस्करविरुद्ध लक्षित मानव बेचबिखन सम्बन्धित कानुनका कारण यौन पेशाको कानुनी वैधता केही अनिश्चित छ  ।

expand image
expand slideshow

कल्पना खनाल, जीपीजे नेपाल

माछा मार्ने जाल बुनिरहेका ५३ वर्षीय गोपाल वादी । उनकी श्रीमति ५१ वर्षीया लक्ष्मी वादी (बीच) खाना पकाउन तरकारी केलाउँदै उनकी ५० वर्षीया बहिनी कल्पना वादी । यौन पेशाबाट आफ्ना दाई भाउजुलाई पनि पाल्दै आएको कल्पना बताउँछिन् ।

सन् २०१६ को घरधुरी सर्वेक्षणअनुसार नेपालमा ४ जना सदस्य रहेको एउटा परिवारले वर्षमा औसत ३ लाख २२ हजार ७ सय ३० रुपैयाँ खर्च गर्छ । तर यो रकम आफ्नो समुदायको लागि भने पहुँच बाहिरको कुरा भएको कल्पना वादी बताउँछिन् ।

अगस्ट २००७ मा रोजगारीको अवसर, जग्गाजमिनमा स्वामित्व, आफ्ना बच्चालाई पढ्ने छात्रवृत्ति, स्वास्थ्य सेवामा अनुदान र यौन पेशामा लागेका महिलाको पुर्नस्थापनाको मागसहित वादी समुदायका सदस्यहरुले आन्दोलन थालेका थिए ।

वादीहरु बसेको स्थानीय गाउँबाटै सुरु भएको आन्दोलन राजधानी काठमाडौं आइपुगेर ४८ दिनसम्म चलेको सामुदायिक सहयोग समितिकी अध्यक्ष उमादेवी वादी बताउँछिन् । यो समिति वादी समुदायलाई सहयोग गर्ने गैरसरकारी संस्था हो ।

आन्दोलन गरेको दुई वर्षपछि मात्र सरकारले मन्त्रिपरिषद् बैठकबाट वादी महिला र पुरुषहरुलाई आयआर्जन तालिमसहित सिलाईकटाई, पशुपालन र पसल सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेको उमा वादी बताउँछिन् । यौन पेशामा लागेका सबै वादी महिलालाई नगद अनुदान दिने वाचा पनि सरकारले गरेको उनी बताउँछिन् ।

त्यसैवर्ष सरकारले जनता आवास कार्यक्रम ल्याएको शहरी विकास तथा भवन निर्माण विभागकी इन्जिनियर आशा प्रधान बताउँछिन् । यो कार्यक्रममार्फत सरकारले विपन्न दलित, अल्पसंख्यक र अपाङ्गका लागि घर निर्माण गरिदिन्छ । हालसम्म सरकारले १० हजार घर बनाइसकेको तर जातअनुसार लाभग्राहीको तथ्यांक नराखिने हुनाले कति वादी महिला र पुरुषले त्यस्तो आवास सुविधा प्राप्त गरे भन्ने जानकारी नरहेको प्रधान बताउँछिन् ।

सरकारले वादी समुदायलाई सहयोग गर्ने निर्णय कार्यन्वयन गर्न वार्षिक बजेटमा उनीहरुका लागि पैसा छुट्याउने गरेको वादी समुदाय उत्थान विकास समितिका नेपाली बताउँछन् । वादीहरुको लागि छुट्याइने बजेटको व्यवस्थापन समितिले गर्ने गर्छ । तर पछिल्लो समय सहायता रकम घटेको नेपाली बताउँछन् । आर्थिक वर्ष २०७२–७३ मा वादी समुदायले २ करोड ७४ लाख रूपैयाँ बजेट पाएका थिए भने त्यस्तो रकम चालु आर्थिक वर्ष २०७४–७५ मा २ करोड २३ लाखमा घटेको नेपाली बताउँछन् । वादी समुदायको लागि छुट्याइएको रकम कूल बजेट करिब १२ खर्बको एक प्रतिशतभन्दा पनि कम हुन आउँछ ।

expand image
expand slideshow

कल्पना खनाल, जीपीजे नेपाल

नेपालको कैलाली जिल्लास्थित वादीटोलमा रहेको आफ्नो घरमा बेलुकाको खानाका लागि माछा पकाउँदै बबी वादी (फोटोमा नदेखिएकी) की ५० वर्षीया आमा कल्चु वादी ।

केही वादी महिलाले सरकारले आफ्नो लागि रोजगारीको अवसर प्रदान गर्ने आशामा यौन पेशा छाडे तर तिनीहरुको संख्या देह व्यापार गरिरहेका महिलाभन्दा थोरै रहेको कल्पना वादी बताउँछिन् । २००९ को मन्त्रिपरिषद बैठकपछि १५ हजार रुपैयाँ अनुदान प्राप्त गर्ने यौन पेशामा रहेका ३ सय वादी महिलामध्ये कल्पना वादी पनि एक हुन् ।

तर त्यसको केही वर्षपछि पनि उनी यौन पेशामै छिन् । एकपटक पाएको अनुदानले उनको परिवारको लालनपालनलाई केही सहयोग भए पनि त्यो छोटो समयका लागि मात्रै भएको उनी बताउँछिन् । आयआर्जनको तालिम र रोजगारीको अवसर दुवै नपाएको उनी बताउँछिन् । केही महिलाले होटेलमा भाँडा माझ्नेजस्ता काम खोज्ने प्रयास गरेको तर नसकेको उनी बताउँछिन् ।

“वादीले माझेको भाँडामा कसैले खाँदैनन् भनेर होटेल मालिकहरुले हामीलाई काम नै दिंदैनन्,” उनी भन्छिन् ।

काम पाउन नसक्दा केही वादी पुरुषहरु जीविकोपार्जनका लागि घरका महिलाहरुको आम्दानीमै निर्भर हुने सामुदायिक सहयोग समितिकी अध्यक्ष उमादेवी वादी बताउँछिन् । वादी महिलासँग यौन पेशामा रहनुबाहेक विकल्प नै नभएको उनी बताउँछिन् ।

२५ वर्षमा यौन पेशामा लागेको बताउँने ३२ वर्षीया बबी वादी अहिलेसम्म सरकारबाट अनुदान वा सीपमुलक तालिम केही पनि नपाएको गुनासो गर्छिन् । धेरै पैसा नकमाउने र कहिलेकाहीं त ग्राहकले भने जति रकम नदिने हुँदा आफूलाई ७ वर्षीय छोराको लालनपालन गर्न नै मुश्किल परिरहेको उनी बताउँछिन् ।

expand image
expand slideshow

कल्पना खनाल, जीपीजे नेपाल

: नेपालको पश्चिमी जिल्ला कैलालीमा रहेको आफ्नो घर अगाडि उभिइरहेकी ३२ वर्षीया बबी वादी । उनले यौन पेशाबाटै आफ्नो ५ जनाको परिवार पालिरहेकी छन् ।

वादी समुदायलाई छुट्याइने सरकारी बजेट घट्दै गएपनि पछिल्लो बजेटबाट मात्रै यौन पेशामा लागेका २० जना वादी महिलाहरुले करिब ७८ हजार रूपैयाँ अनुदान प्राप्त गरेको नेपाली बताउँछन् । उनका अनुसार यसैवर्ष १० जना अरु वादी समुदायका सदस्यहरुलाई आयआर्जन र सीपमुलक तालिम दिइएको छ । वादी समुदायमा विभिन्न प्रकारका सहयोग गर्नुपर्ने थुप्रै सदस्यहरु भएकाले उनीहरुलाई सहायता दिने सरकारी प्रयास सुस्त रहेको उनी बताउँछन् ।

“सबैलाई एकै पटक सहयोग दिन त सकिदैन,” उनी भन्छन् ।

 

जीपीजेका सागर घिमिरेले यो लेख नेपालीमा अनुवाद गरेका हुन् ।