बाँके, नेपाल – १४ वर्षीय दिलीप गोडियाको मनपर्ने विषय अंग्रेजी र स्वास्थ्य हुन् । नेपालगन्ज सहरस्थित उनको स्कुलमा पढाइने अन्य विषयमा जस्तो यी विषयका लागि उनले फरर नेपाली बोल्नुपर्दैन। दिलीप आफ्नो घरमा अवधी भाषा बोल्दै हुर्केका हुन्, जुन भाषा ५ लाख जति नेपाली र उत्तरी भारतका लाखौँ बासिन्दाको मातृभाषा हो। त्यसैले सिकाइको भाषाको रूपमा नेपाली भाषामा सहजता महसुस गर्नु एउटा ठूलो चुनौती थियो। कक्षा चारसम्म उनलाई नेपाली भाषा पढ्न गाह्रो लाग्थ्यो र कक्षामा बोल्न हिचकिचाउँथे।
‘अहिले पनि कहिलेकाहि शुद्ध नेपाली बोल्न सकिँदैन’ आठ कक्षामा पढ्दै गरेका उनी भन्छन्।
नेपालमा १ सय २३ भाषाहरू बोलिन्छन्। सांस्कृतिक हिसाबले विविधता रहेको बाँके जिल्लामा भाषिक विविधता रहेको प्रष्ट देखिन्छ। यहाँ प्रत्येक ५ जना बासिन्दामा ३ जना गैर-नेपाली मातृभाषी छन्। नेपालको संविधान २०७२ ले सबै बालबालिकालाई आफ्नो मातृभाषामा शिक्षा पाउने हकको प्रत्याभूत गरेको भए पनि — साथै २०७६ सालमा ल्याइएको राष्ट्रिय पाठ्यक्रम प्रारूपले स्थानीय पाठ्यक्रम लागू गरी गैरनेपाली मातृभाषी विद्यार्थीहरूको सिकाइलाई सहज बनाउन बहुभाषामा शिक्षण गर्न सिफारिस गरेको भए पनि – बाँके जिल्लाका आठवटा पालिकाले अझै स्थानीय भाषामा पाठ्यक्रम बनाएर लागू गर्न सकेका छैनन्।
फलस्वरूप, धेरै गैरनेपाली मातृभाषीहरूले आफ्ना छोराछोरीलाई छिमेकी देश भारतको सीमाक्षेत्रमा रहेका स्कुलमा पठाउने गरेका छन्। नेपालगन्जमा डेन्टल क्लिनिक चलाउने भूपेन्द्र सिंह सोडी पनि तीमध्ये एक हुन्। सोडी परिवार पाँच पुस्ताअघि भारतीय क्षेत्र पञ्जाबबाट व्यापारको सिलसिलामा यहाँ बसाइँ सरेर आएको हो र समयसँगै बाँकेमा धेरै बोलिने अवधी र हिन्दी भाषाको प्रभावले उनीहरूको परिवारमा मातृभाषा पंजाबी बोल्ने क्रम हराउँदै गयो। नजिकमा सरकारी स्कुल भए पनि सोडीका छोरा र दुई छोरीहरू सीमावर्ती भारतीय सहर रुपैडिहामा रहेको एसेम्बली अफ गड चर्च स्कुलमा पढ्छन् जहाँ सोडीले पनि स्कुलको शिक्षा पूरा गरेका थिए। नेपालका स्थानीय स्कुलको शिक्षणमा प्रयोग हुने नेपाली भाषाभन्दा त्यहाँको हिन्दी माध्यमबाट हुने पढाइ अवधी भाषीहरूलाई बुझ्न सजिलो लाग्छ।
सोडीले भारतकै एउटा कलेजबाट समाजशास्त्रमा स्नातक डिग्री हासिल गरेका हुन्। उनी भन्छन्, “भारतको राष्ट्रपतिदेखि लिएर राजसभा, लोकसभा सबै इतिहास थाहा छ। भारतको राष्ट्रगान आउँछ, यसलाई रविन्द्रनाथ ट्यागोरले लेखेको थाहा छ । नेपालको राष्ट्रगान कस्ले लेखेको त्यो चाहि थाहा छैन।” आफ्नै देशको बारेमा कम जानकारी हुनु नराम्रो लाग्ने गरेको उनी सुनाउँछन् र आफ्नो छोराछोरी पनि यसरी नै बिरानो बन्ने हुन् कि भन्ने उनी चिन्ता गर्छन्। उनी आफ्नी छोरीलाई डेन्टिस्ट पढाउन चाहन्छन्। ‘नेपालमा डेन्टलको पढाइ सस्तो भएकाले छोरीलाई काठमान्डौमा पढ्न जाउ भनेको। भाषाका कारण यहाँ पढ्न सक्दिनँ, भारतमै पढ्छु भनिन्’ उनले सुनाए ।
गैरनेपाली मातृभाषीहरूको स्कुलको पढाइ नतिजा कमजोर देखिन्छ। सरकारी तथ्याङ्कअनुसार विगत पाँच वर्षमा बाँकेका नेपालगञ्ज, नरैनापुर, डुडुवा र जानकीजस्ता गैरनेपाली मातृभाषीको बाहुल्य क्षेत्रका प्राथमिक स्कुलका विद्यार्थीहरूमा कक्षा दोहोर्याउने दर धेरै रहेको देखिन्छ। बाँके जिल्लाको कक्षा १० को अन्त्यमा संचालन हुने अन्तिम माध्यमिक शिक्षा परीक्षाको पछिल्लो तीन वर्षको नतिजा हेर्दा ३.० भन्दा बढी जीपीए ल्याउने विद्यार्थीमध्ये ३० प्रतिशत मात्र गैरनेपाली मातृभाषी रहेका छन् । सिकाइ उपलब्धि समान भएको भए यो नतिजा ६०% को हाराहारीमा हुने थियो, जुन २०६८ सालको जनगणना अनुसार बाँकेमा बस्ने गैरनेपाली मातृभाषीहरूको जनसंख्या प्रतिशत हो। (२०२१ को जनगणनामा भाषासम्बन्धी तथ्यांक प्राप्त नभएको।)
शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख भगवानप्रसाद पौडेलले नतिजा कमजोर आउनुमा नेपाली भाषामा हुने शिक्षण मात्र कारण नरहेको बताउँछन्। “भर्नाको समयमा स्कुल उपस्थिति हुने तर चाडवाड र खेतीपातीको समयमा स्कुल नियमित नहुने समस्या छ। यो दर पहाडी मूलको तुलनामा तराई मुलको समुदायमा बढी छ। यसले सिकाइ उपलब्धि पनि नहुने हुन्छ” उनी भन्छन्। नेपालगन्जको एउटा स्कुलमा तेस्रो कक्षामा ५३ विद्यार्थी भर्ना भए पनि २० जना जति मात्र नियमित रूपमा उपस्थित हुनुलाई एउटा दृष्टान्तको रूपमा लिन सकिन्छ।
तर मातृभाषा अवधी रहेका शिक्षा विज्ञ विक्रममणि त्रिपाठी भाषाको प्रभाव एक भन्दा बढी क्षेत्रमा देखिने बताउँछन्। “पहिले हरेक जातको आफ्नै काम थियो। कसैले काठको, कसैले फलामको, कसैले छाला, माटोको काम गर्थे। यसैबाट आम्दानी हुन्थ्यो। घरखर्च चल्थ्यो। पेशा मरेपछि सबै भार कृषिमा पर्यो” नेपाली वा अंग्रेजी भाषा राम्रो नहुँदा गैरनेपालीभाषीहरू सरकारी जागिरका लागि प्रतिस्पर्धामा आउन नसकेको त्रिपाठीको भनाइ छ। “पेशा मरेपछि कमाइ भएन। पैसा नभएपछि अभिभभावकले सानैमा बालबालिकालाई काममा लगाउन थाले। यसले कक्षा दोहोरिनु र छोड्नुमा भाषा प्रत्यक्ष नजोडिए पनि यसको साइड इफेक्ट हो,”, त्रिपाठी भन्छन्।
नेपाली भाषा राम्रोसँग नजान्नु नै गैरनेपाली भाषी विद्यार्थीहरू पछि पर्ने कारण रहेको श्री माध्यमिक स्कुल लग्दहवाका शिक्षक सतिश महर्जन बताउँछन्। “कक्षा ८ को विज्ञान परिक्षामा मधेसी विद्यार्थीले ठेलागाढालाई अवधी भाषामा लडिया लेख्यो भने अर्को समुदायको शिक्षकले नम्बर काटिदिन सक्छ । यसले गैरनेपाली भाषी विद्यार्थीको उत्कृष्ट नतिजा आउँदैन” उनी भन्छन्।
अधिकांश विद्यार्थीमा व्याकरणको समस्या रहेको र पाठ उच्चारणमा समस्या हुने गरेको मंगल प्रसाद माध्यमिक स्कुलका सहायक प्रधानाध्यापक कृपाराम बर्मा बताउँछन्। उनी उदाहरण दिन्छन् “जस्तै अवधी भाषी विद्यार्थीहरु केला भन्छन्। अंग्रेजी पढाउने शिक्षकले बनाना भनेको केला, केला भनेको केरा भनेर बुझाउनुपर्छ।’ भाषाका कारण लेखाइमा पनि समस्या पनि छ । ‘मधेसी समुदायको विद्यार्थीले काटेरलाई काटे र (नजोडेर) लेख्छन्। अंक (४९) उन्पचासलाई उन्चास भन्छन्, लेख्छन्।”
गैरनेपाली भाषी विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन उनीहरूको भाषा जानेको शिक्षक हुनुपर्छ, तर एक भन्दा बढी भाषा जान्ने र शिक्षण गर्ने शिक्षकहरूको कमी छ। उदाहरणका लागि ७० प्रतिशत गैर नेपाली भाषि विद्यार्थी भएको श्री मावि लग्दहवामा १७ जना शिक्षकमा ५ जना मात्र गैरनेपाली भाषि शिक्षक छन्। आफ्नो क्षेत्रका स्कुलमा के पढाउने भन्ने निर्णय गर्ने स्थानीय तहका पदाधिकारीहरू नेपालीबाहेक अन्य भाषामा स्थानीय पाठ्यक्रम लागू गर्नमा शिक्षकको अनुपातमा रहेको असन्तुलन नै प्रमुख बाधा रहेको बताउँछन्।
एउटै समुदायभित्र धेरै भाषिक विविधता हुनु, धेरै भाषाहरू बोलिनु पनि चुनौतीको विषय रहेको छ। बाँके जिल्लाका आठमध्ये चार पालिका कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाले यस वर्ष स्थानीय पाठ्यक्रम विकास गरेका भए पनि नेपाली भाषा बाहेक अन्य भाषामा पाठ्यपुस्तकहरू उत्पादन गर्न सकेका छैनन्। अन्य चार पालिकामा पनि यही स्थिति छ र यसको एउटा कारण भनेको स्थानीय विद्यार्थीमा अवधी, उर्दू, थारु र अन्य भाषा बोल्ने भाषिक विविधता हुनु पनि हो।
“यस वर्षदेखि हामीले स्थानीय पाठ्यक्रम लागू गरेका छौं, तर मातृभाषा अनुसार भने छैन,” राप्ती सोनारी गाउँपालिकाको शिक्षा शाखा प्रमुख जीवन न्यौपाने भन्छन्। बाँकेका झण्डै २४ प्रतिशत बासिन्दाले बोल्ने अवधी भाषामा केही पालिकाले पाठ्यक्रम विकास गर्ने तयारी गरिरहेका छन्। कक्षा १ देखि १० सम्मको पाठ्यक्रम तयार भइसकेको यस परियोजनामा सरकारसँग मिलेर काम गरेका त्रिपाठी बताउँछन्।
चौध वर्षीय दिलीप बाँकेमा अवधी भाषाको शिक्षा लागू हुँदासम्म स्कुल शिक्षा पूरा गरिसकेका हुन्छन्, तर उनीपछि आउने धेरैका लागि यो वरदान नै हुनेछ। गैरनेपाली मातृभाषी विद्यार्थीलाई नेपालीमा “आमा” भन्नु अवधीमा “माँ” भन्नु एउटै हो भनेर बुझाउन सक्ने शिक्षक हुँदा पढ्न सजिलो हुने उनको भनाइ छ । उनी भन्छन्, “अवधी भाषाको शिक्षक अगाडि उभिएको छ भने बोल्न, प्रश्न सोध्न सहज हुन्थ्यो। कोहि त फटाफाट नेपाली बोल्नुहुन्थ्यो। मत कुनै कुरामा नर्भस भइहाल्थे । के बोल्ने के नबोल्ने भइहाल्थ्यो।”
अमृता जैसीग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।