ब्यूनस आयर्स, अर्जेन्टिना – ६ वर्षसम्म मारिया बेलेन स्मालले आफ्नो घरमा इन्टरनेट सेवा जोडिदिन सञ्चार कम्पनीहरूलाई बारम्बार सम्पर्क गरिन् – तल उनको यो प्रयास सफल भएन।
त्यसपछि महामारी आयो, अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम जारी गरियो र देशको कुल ४ करोड ५० लाखमध्ये अधिकांश मानिसहरूको झैँ एउटी आमा र सोसल मिडिया म्यानेजर समेत रहेकी उनको जीवन भर्चुअल बन्न पुग्यो।
भरपर्दो, सस्तो इन्टरनेट सेवाको पहुँच नहुँदा स्मालले अन्ततः आफ्नो जागिर गुमाइन् र व्यवस्थापन विषयको अध्ययनलाई पनि रोक्नुपर्यो । पार्के प्याट्रिसियोस समुदायको दुई “बारियोस पपुलारेस” नजिक रहेको उनी बस्ने गल्ली प्राय: भीडभाड हुने क्षेत्र हो जहाँ धारा र बिजुलीबत्ती जस्ता आधारभूत सेवाहरूको कमी छ, जहाँ आधाभन्दा बढी बासिन्दासँग आफू बस्दै आएको भूमिको स्वामित्व छैन।
स्मालको समस्याले अर्जेन्टिनामा रहेको डिजिटल विभाजनलाई देखाउँछ, जहाँ केही खास गल्लीमा धेरैजसो बारियोस पपुलारेस नजिक बसोबास गर्नेहरूले छिटो चल्ने र सस्तो इन्टरनेट सेवा पाउँदैनन्। धेरै बासिन्दा र विज्ञहरूले दाबीगरेअनुसार, यसको कारण इन्टरनेट कम्पनीहरूले यी क्षेत्रलाई धेरै जोखिमपूर्ण वा पर्याप्त नाफा नदिने भनेर उपेक्षा गर्छन्। स्मालले सम्पर्क गरेका कुनै पनि कम्पनीले आफ्नो इन्टरनेट सेवा किन उपलब्ध नभएको भनेर उनलाई बताएनन्।
घरबाट काम गर्न थालेपछि स्मालले फेरि एउटा प्रमुख दूरसञ्चार कम्पनी मोभिस्टारलाई सेवा उपलब्ध गराउन अनुरोध गरिन्, तर कम्पनीका प्रतिनिधिले उनी बसोबास गर्ने गल्लीमा कम्पनीले सेवा दिएको छैन भनेर बताए। इन्टरनेट पहुँचका लागि आवश्यक पर्ने सेलफोन डाटामा उनी खर्च गर्न सक्दिन थिइन्।
स्मालको हकमा इन्टरनेट नहुनु र उनी बस्ने क्षेत्रसँग जोडिएको सामाजिक लान्छनाबीचको सम्बन्ध तब प्रष्ट भयो जब जागिर गुमाएर घरमै बस्दाको क्रममा आफू बस्ने गल्लीको पारिपट्टि बनेका नयाँ अपार्टमेन्ट कम्प्लेक्समा सञ्चार कम्पनीहरुले तीनवटा असीमित ल्यान्डलाइन सेवाको विकल्प प्रदान गर्दै इन्टरनेट जडान गरिरहेको देखिन्।
स्माल बसोबास गर्ने समुदायमा नै भए पनि ती अपार्टमेन्ट कम्प्लेक्स बारियोस पपुलारेसबाट धेरै टाढा छ र त्यहाँका मानिसले अपार्टमेन्टमा बस्नयोग्य हुनका लागि देशले निर्धारण गरेको न्यूनतम मासिक तलबको चारदेखि आठ गुणा कमाउनुपर्ने हुन्छ । सन् २०२१ को मे महिनामा ती अपार्टमेन्टहरू उपलब्ध हुँदा स्मालको जागिर थिएन, तर पछि प्राइभेट नेशनलिटी म्यानेजरको रूपमा उनले पाएको नयाँ जागिरमा उनी सन् २०२२ को अप्रिल महिनामा निर्धारण गरिएको हालको न्यूनतम तलब ३८,९४० अर्जेन्टिनी पेसो (३३९ अमेरिकी डलर) भन्दा करिब दोब्बर मात्र कमाउँछिन्।
“गल्ली पार गरेर आउन प्रश्न उठ्थ्यो, र [इन्टरनेट प्रदायकहरूले] यो गरेनन्,” स्माल भन्छिन्। “यसको कारण उनीहरूलाई हाम्रो क्षेत्र जोखिमपूर्ण लाग्छ। यो महामारीको मध्य समय थियो। त्यहाँ आवश्यकता थियो, तर त्यो आवश्यकताको कुनै सम्बोधन गरिएन।”
एउटा अत्यावश्यक सार्वजनिक सेवा मानिएको भए पनि इन्टरनेट सेवा उपलब्ध गराउने जिम्मा निजी कम्पनीहरूको हातमा छ, जसले आफूले सेवा कहाँ दिने आफै छनोट गर्छन् । तिनीहरू बारियोस पपुलारेस र आफूले “जोखिमपूर्ण” वा नाफा नदिने ठानेका अन्य क्षेत्रहरूमा जाँदैनन्, Universidad Popular Barrios de Pie (बारियोस डे पाई पपुलर युनिभर्सिटी) निर्देशक लुसिया बियान्ची भन्छन्, जुन सन् २०१९ देशको सबैभन्दा जोखिममा रहेका समुदायले सामना गरिरहेका समस्याहरू उजागर गर्न स्थापना गरिएको संस्था हो।
यस संस्थाले बारियोस पपुलारेसमा इन्टरनेट पहुँचबारे एक अध्ययन गर्यो र सर्वेक्षणमा ४४% बासिन्दाहरू इन्टरनेटका लागि मोबाइल डेटामा भर परेको देखियो।
“ठूला [इन्टरनेट] व्यवसायहरू यहाँ आउँदैनन्,” ब्यूनस आयर्समा रहेको एउटा बारियो पपुलर बारियो २० मा बस्ने ग्लेडिस क्विन्टाना भन्छिन्। “म यो ठूलो भेदभाव हो भन्ने मान्छु। इन्टरनेट नहुनुको अर्थ हाम्रो कुनै पनि कुराको पहुँच नहुनु हो।”
नियामक निकाय Ente Nacional de Comunicaciones (राष्ट्रिय सञ्चार प्राधिकरण) का सञ्चार उपसभापति गुस्ताभो फर्नान्डो लोपेज भन्छन्, यस निकायले कम्पनीहरूलाई यो यो क्षेत्रमा इन्टरनेट उपलब्ध गराउनु भन्न नसक्ने भए पनि २००० भन्दा कम ग्राहक भएका इन्टरनेट सेवा प्रदायकलाई सेवा नपुगेका समुदायहरूमा नेटवर्क बिस्तार गर्नका लागि अनुदान दिन कोष स्थापना गरेको छ।
“अहिलेसम्म, सन् २०२१ देखिका सबै कार्यक्रमका सेवा जोड्दा लगभग ५ लाख मानिस यी योजनाहरूबाट लाभान्वित भएका छन् र इन्टरनेटमा जोडिएका छन्,” लोपेज भन्छन्। “मलाई के विश्वास छ भने हामी २० लाख नयाँ मानिसहरू इन्टरनेटसँग जोडिएको आँकडासहित सन् २०२३ मा प्रवेश गर्नेछौं।”
यस्तै एउटा कार्यक्रमअन्तर्गत अटालया सुर Atalaya Sur ले ६३० परिवारलाई उच्च गुणस्तरको सस्तो इन्टरनेट उपलब्ध गराउँछ र क्विन्टानाको छिमेकी समुदाय बारियो २० यसमध्येको एउटा लाभग्राही हो । सरकारी कोषले यस कार्यक्रमलाई रेडियो फ्रिक्वेन्सीमा आधारित इन्टरनेट प्रणालीबाट फाइबर अप्टिक प्रणालीमा परिणत हुन मद्दत गरिरहेको छ, जसले १ हजार घरधुरीलाई जोड्ने छ, यस परियोजनाका एक संयोजक रहेकी मानुएला गोन्जालेज उर्सी भन्छिन्।
एस्टेबान गेनाजिर कुनै बारियो पपुलर वा त्यसको नजिकै बस्दैनन् तर ब्यूनस आयर्स प्रान्तको तटीय सहर मार डेल प्लाटास्थित समुदायमा इन्टरनेट उपलब्ध गराउन चाहिने तामाका तारहरू चोरी भएपछि जनवरीबाट मोभिस्टारले उनको इन्टरनेट सेवा बन्द गरेदेखि इन्टरनेटबाट आफू अझैसम्म विच्छेद भएको बताउँछन्।
विश्वभर ग्राहक भएका कपडा उद्योगमा कार्यरत एक जना टेक्निसियन गेनाजिरले मोभिस्टारले फाइबर अप्टिक केबलहरू जडान गरेमा यो समस्या समाधान गर्न सक्ने ठान्छन्, तर यो सञ्चार कम्पनीले उनको क्षेत्रमा लगानी गर्न चाहँदैन र उनी बस्ने समुदायलाई नाफा नकमाउने क्षेत्र भनेर छोडेको छ, उनी भन्छन् । मोभिस्टारले यस लेखका लागि आफ्नो भनाइ राख्न मानेन।
“यदि कम्पनीले नाफा नकमाउने देखेमा तिनीहरू त्यो ठाउँबाट जान्छन्,” गेनाजिर भन्छन्। “कुनै यस्तो एउटा पनि कम्पनी छैन जसले मलाई दीर्घकालीन समाधान दिन सकोस्।”
यसैबीच, स्मालले नयाँ जागिर भेटिन् र उनको इन्टरनेट कनेक्सनसम्बन्धी समस्या केही हदसम्म समाधान भएको छ। एउटा छिमेकीको अनुमतिमा उनले कनेक्सन बुक गर्न ती छिमेकीको ठेगाना प्रयोग गरिन्, त्यसपछि प्राविधिकलाई उनको घरमा केवल जडान गर्न मनाइन्। यो उत्तम समाधान होइन – हरेक समस्या र बिल उनको छिमेकीको नाममा आउँछ – तर आफ्नो पढाइ पुनः सुरु गर्न र फेरि काम गर्नका लागि स्मालसँग अर्को विकल्प छैन।
“यो अर्को आर्थिक र मानसिक स्वतन्त्रता हो,” स्माल भन्छिन्। “तर यो स्थिति आदर्श भने होइन।”
लुसिला पेलेटिएरी अर्जेन्टिनाको ब्यूनस आयर्सस्थित ग्लोबल प्रेस जर्नल रिपोर्टर हुन्।
अनुवाद नोट
जीपीजेमा कार्यरत स्यानन कर्बीले यो स्टोरी स्पेनिसबाट अनुवाद गरिन्।
Lucila Pellettieri es reportera de Global Press Journal, radicada en Buenos Aires, Argentina.
NOTA SOBRE LA TRADUCCIÓN
Aída Carrazco, GPJ, adaptó este artículo de su versión en inglés.