गिसेनी, रुवान्डा — प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँगको रुवान्डाको बोर्डरनजिकैको क्षेत्र पैदलयात्री र बालबालिकाले भरिएको छ।
यी देशहरूबीचका दुई चेकपोइन्टमध्ये एक ला पेटाइट ब्यारियरमा मानिसहरूको निरन्तर प्रवाह छ। सीमा नजिकका गाउँका रुवान्डन महिलाहरुले ती यात्रीको धेरै हिस्सा ओगटेका छन्।
साना व्यापारीको रूपमा, महिलाहरू फलफूल, मकै र अन्य खाद्यान्नजस्ता वस्तुहरूको उच्च माग भएको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बेच्नको लागि आफ्ना टाउकामाथि त्यसका ठूला टोकरीहरू बोक्दै दुई देशबीच आवतजावत गर्छन्।
फलस्वरूप, रुवान्डन बोर्डरनजिकै रहेको क्षेत्र स्याहार केन्द्रजस्तै भएको छ जुन शिशुदेखि किशोरसम्मले भरिभराउ छन्। दिनभरि आमाहरुले सामान बेच्न देश छाडेपछि, उनीहरु यतै छाडिन्छन् र आफ्ना लागि आफै हेरविचार गर्न बाध्य पारिन्छन्। आमाहरूका अनुसार, उनीहरूको काम सडकमा घण्टौं हिंड्नुपर्ने वा आक्रोशपूर्ण लडाइँहरूमा आफ्नो रक्षा गर्नुपर्ने खालको हुन्छ जुन छोराछोरीहरूलाई सँगै लगे गर्न सकिंदैन।
बोर्डरमा केही बच्चाहरु आफ्ना साना भाइबहिनीलाई पिठ्युँमाथि बोक्छन् भने अरु चाहिं धूलोमै बसेर कुर्छन्।
एकल आमा ओलिभ मुरेकाटेट आफूसँग हरेक दिन ला पेटाइट ब्यारियरनजिकै आफ्ना २ र ७ वर्षका बच्चाहरूलाई एक्लै छोड्नुको विकल्प नभएको बताउँछिन्।
“बिहान-बिहान बच्चाहरुसँग यहाँ आउँछु। सीमा पार गर्नुअघि उनीहरूलाई यहीँ छाड्छु। बेलुकी ५ बजेतिर तरकारी बेच्न सकिएपछि मात्र फर्केर आएर बल्ल उनीहरूलाई भेट्छु,” मुरेकाटेट भन्छिन्।
उनकी छोरीले दिनभरि सानो भाइको ख्याल राख्छिन्।
मुरेकाटेट आफ्नो परिवारको आर्थिक अवस्थाले अन्य कुनै विकल्प नछाडेको बताउँछिन्।
“बच्चाहरुलाई एक्लै छाड्दा डर त पक्कै पनि लाग्छ नै तर बिहान-बिहान म सधैं भगवानसँग यिनीहरुको लागि प्रार्थना गर्छु,” उनी भन्छिन्।
सबै उमेरका बालबालिकालाई सिमानामा पर्खेर बस्नुपर्ने दिनहरु सहन अति कठिन भइरहेको छ।
“आमा काँक्रो बेच्न बोर्डर पार गइन्। बाबुचाहिं मलाई हेर्न दिइन्,” १८ महिनाको भाइको हेरचाह गर्ने ११ वर्षीया मोनिका मुरागीजिमाना भन्छिन्। “बाबु रोयो भने कि त केरा कि त बिस्कुट दिएर चुप गराउन खोज्छु।”
सामाजिक सेवाकर्मी कार्टास मुकन्यामवासाका भनाइमा, सिमानामा यस्ता धेरै बालबालिकाहरू हुनाले, रुवान्डाको नेशनल कमिसन फर चिल्ड्रेन (एनसिसि) ले प्रारम्भिक बालविकास कार्यक्रमको लागि विकल्पहरूबारे विचार गरिरहेको छ र यसले सीमावर्ती समुदायहरूमा डे केयर सेन्टरहरूको स्थापना गर्नेछ। मुकन्यामवासाको गिसेनीस्थित एनसिसिसँग संलग्नता छ।
उनका उद्धरणमा, “यस कार्यक्रमले बालबालिकालाई सुरक्षा मापदण्डहरू पूरा भएका ठाउँहरूमा दिन बिताउन र आधारभूत शिक्षामा पहुँच पुर्याउन अनुमति दिनेछ।”
मुकन्यामवासाका भनाइ अनुसार, प्रस्तावित कार्यक्रम अन्तर्गत आफ्ना साना भाइबहिनीहरूको हेरचाह गर्नुपर्ने भएकोले हाल विद्यालय जान नपाएका ठूला बालबालिकाले त्यसो गर्ने मौका पाउनेछन्।
रुवान्डाले प्राथमिक शिक्षामा विश्वव्यापी पहुँच प्रदान गर्दछ, तर केही अभिभावकहरू भने उनीहरुले खानेकुरा दिन नसक्ने अवस्थामा आफ्ना बच्चाहरूलाई स्कूल पठाउन नसक्ने भनाइ राख्छन्। साथै, उनीहरू ठूला बच्चाहरूले सानाको हेरचाह पनि गर्नैपर्ने कुरा थप्छन्।
“घरमा केही खानेकुरा नहुँदा कसरी बच्चालाई स्कूल पठाउनु? मेरो पहिलो प्राथमिकता भनेको छोराछोरीलाई ख्वाउन पैसा खोज्नु हो,” मुरेकाटेट भन्छिन्।
युनिसेफका अनुसार, रुवान्डामा करिब ११ प्रतिशत बालकहरू र १२ प्रतिशत बालिकाहरूले पूर्व-प्राथमिक कार्यक्रमहरूमा भाग लिन्छन् जसमा प्रिस्कूल र किन्डरगार्डेन पनि समावेश छन्। विशेषज्ञहरू भन्छन्, कम सहभागिता दरको कारण गरिबी हो। रुवान्डामा झण्डै ३० प्रतिशत बालबालिका बाल श्रममा संलग्न छन्।
विश्व खाद्य कार्यक्रमले हालैका वर्षहरूमा रुवान्डाको बाल कुपोषण दरमा कमी आएको जनाएको छ तर पाँच वर्षमुनिका रुवान्डन बालबालिकामध्ये लगभग ३७ प्रतिशत भने दीर्घकालीन रूपमै कुपोषित छन्।
मार्च २६ मा, रुवान्डन राष्ट्रपति पल कागामेले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सिमानामा रहेको रुबाभु जिल्लाको भ्रमण गरे। उनले त्यहाँका स्कूल जाने उमेरका बालबालिका शिक्षाबाट वञ्चित हुनुको कारणमा, आमा-बुबाहरु साना भाइबहिनीहरूको रेखदेख गर्न उनीहरूमाथि नै भर पर्नु रहेको खुलाए।
त्यति नै बेला कागामेले बालबालिकाको शिक्षामा पूर्ण पहुँच सुनिश्चित गर्न अभिभावक र शिक्षकहरुले सक्दो प्रयास गर्नुपर्ने भनाइ राखे। साथै, राष्ट्रपतिले आफ्ना छोराछोरीलाई स्कूल नपठाउने अभिभावकहरुलाई कारबाही पनि हुनसक्ने जानकारी दिए।
स्थानीय नेताहरूले पनि बालबच्चालाई विद्यालय पठाउन परिवारलाई दबाब दिइरहेका छन्।
गिसेनीनजिकै रहेको गाउँ मुहिरा क्षेत्रकी कार्यकारी सचिव क्लेयर जानिन्का भन्छिन्, आफ्ना बालबच्चा बोर्डरमा छाडेका महिलाहरुबारे रुवान्डा सचेत छ र समाधानमा प्रयासरत छ। सेल भनेर चिनिने बिशेष समुदायहरूमा भएका घटनाहरूको बारेमा कार्यकारी सचिवहरूले जिल्लाका मेयरलाई रिपोर्ट गर्ने गर्छन्।
“हामीले परिवार नियोजनको बारेमा सचेतना बढाइरहेका छौं, पैसा बचत गर्ने र बालबालिकालाई विद्यालय पठाउने आवश्यकताबारे मानिसहरूलाई संवेदनशील गराउने तालिमको आयोजना गरिरहेका छौं,” जानिन्का भन्छिन्।
तर अवस्था भने स्कूल पठाउने वा नपठाउने भन्दा बढी जटिल रहेको कुरा मुरेकाटेट बताउँछिन्।
अभिभावकको रुपमा, खानेकुरा नै उनको सबैभन्दा ठूलो चुनौती रहेको कुरा व्यक्त गर्छिन्।
“मसँग साधन भइदिएको भए, अहिले छोरी स्कूलमा हुन्थी, तर उसले मलाई भाइ हुर्काउन मद्दत गर्नुपर्ने भएकोले मैले उसलाई गर्नसक्ने केही छैन। उनीहरुको लागि केही खानेकुराको बन्दोबस्त त गरिदिनुपर्यो नि”, उनी भन्छिन्।
स्कूलहरुले निःशुल्क खाजाको व्यवस्था गर्नुपर्ने उनी बताउँछिन्।
रुवान्डाले दिवा स्याहार केन्द्रबारे सोच्दै गर्दा, ठूला केटीहरु र किशोरीहरुले सिमाना नजिकै शिशु स्याहार केन्द्रहरु संचालनमा ल्याएका छन्।
आमाले बच्चा छाड्दा, फर्केपछि ३०० रुवान्डन फ्रान्क (४० सेन्ट जति) तिर्नुपर्छ, सुसारेहरु भन्छन्। स्याहार गर्ने किशोरीहरु दिनमा तीनदेखि पाँचजनासम्म बच्चाहरु हेर्ने गरेको बताउँछन्।
२६ वर्षीया मरियम न्याराहबिमाना सिमानामा बच्चा स्याहार्ने काम गर्छिन् तर बच्चाहरूलाई खाना उपलब्ध गराउनु भने चुनौतीपूर्ण भएको बताउँछिन्।
“कुनै बच्चाको आमा आउन ढिला भएमा उसलाई म चिसै पोरिज वा सोर्घम बियर दिन्छु। बच्चा धेरै नै सानो भए उसको आमालाई कुर्दै अलिकति पानी दिन्छु,” उनी भन्छिन्।
बोर्डरमा आफ्ना छोराछोरीलाई छाड्ने आमाहरु अरु कुनै समाधान निस्कनेमा आशावादी रहेको कुरा व्यक्त गर्छन्।
“हामीले बालबच्चालाई स्कूल पठाउनसक्ने बनाउन र उनीहरुलाई ख्वाउन हाम्रो काम पनि जारी राख्न कुनै समाधान पाउनेमा हामी आशावादी छौं,” मुरेकाटेट भन्छिन्।
जिपिजेका न्दहयो सिल्भेस्टरले यस लेखलाई फ्रेन्चबाट अनुवाद गरेका हुन्।