गोमा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो — बिहानीको पारिलो घाम ताप्दै फ्लोरिडा बारालिजी एउटा सानो झुपडीको अगाडि रहेको एउटा ठूलो ढुङ्गामा बस्छिन् । उनी निराश र हतास देखिन्छिन् । गत मे महिनाको २२ तारिखमा अफ्रिकाको एउटा सबैभन्दा खतरनाक ज्वालामुखी माउन्ट निरागोन्गोको विस्फोटले सो ज्वालामुखीको फेदीमा बस्ने बारालिजी र अन्य लाखौँ बासिन्दालाई स्तब्ध बनायो । ज्वालामुखीले उनको घर, पसल, लुगा, पैसा, व्यक्तिगत कागजात र सिमी बाली लगाएको खेत सबै खरानीमा परिणत भयो ।
अहिले ४३ वर्ष पुगेकी बारालिजी आफ्ना चार सन्तानलाई लिएर ४०० अन्य परिवारसँगै ज्वालामुखीभन्दा करिब ८ किलोमिटरको दूरीमा गोमा सहरबाट केही टाढा रहेको बुकान्डा गाउँमा रहेको शरणार्थी शिविरमा बस्छिन् ।
“मलाई एक सेकेन्डको लागि त यो सबै सपना हो, कुनै विपना होइन भन्ने लाग्यो,” उनी भन्छिन् । “तर दुःखको कुरा यो मेरो आँखाको अगाडि छर्लंगै थियो, मैले मेरो घर र मसँग भएका सबै कुरा गुमाएकी थिएँ, मेरा बालबच्चाको पालनपोषणमा सहयोग गर्ने सबै कुरा गुमिसकेको थियो ।”
उक्त ज्वालामुखी विष्फोटले ३ हजारभन्दा बढी घरहरू नष्ट गर्यो र कङ्गोको पूर्वी क्षेत्रमा बसोबास गर्ने ४ लाख मानिसलाई विस्थापित गरायो । कम्तीमा ३१ जनाको मृत्यु भएको थियो । एकातिर बारालिजी र अन्य प्रभावित मानिसहरूले आफ्नो टुक्रिएको जीवनलाई फेरि सम्हाल्ने कोशिस गरिरहेका थिए, भने अर्कातिर त्यहाँका बासिन्दा र वैज्ञानिकहरू सरकारको प्रारम्भिक चेतावनी प्रणालीले राम्रोसँग काम गरेको भए यो विष्फोटको विनाशकारी नतिजाबाट बच्न सकिन्थ्यो भनिरहेका देखिन्थे ।
कङ्गोको जोखिम न्यूनीकरण कार्यक्रम मुख्यबिन्दु गोमा ज्वालामुखी अब्जरभेटरी हो । कङ्गो सरकारले १९८६ मा यो अब्जरभेटरी स्थापना गरेको थियो । सन् २००२ मा माउन्ट निरागोन्गो विष्फोट भएपछि यस अब्जरभेटरीले दुई वटा सक्रिय ज्वालामुखी – माउन्ट निरागोन्गो र माउन्ट न्यामुलागिरा – विष्फोट हुने सङ्केतहरूको निगरानी गर्न थाल्यो । यो पूर्वचेतावनी प्रणालीले त्यहाँका बासिन्दालाई ज्वालामुखी विष्फोट हुनुभन्दा दुई हप्ता अघि नै सतर्क गराएर उनीहरूलाई सुरक्षित स्थानमा जान सहयोग गर्नुपथ्र्यो । तर यस वर्षको मे महिनामा माउन्ट निरागोन्गो फेरि विस्फोट हुँदा यस अब्जरभेटरीले कुनै चेतावनी दिएन ।
स्थानीय बासिन्दा र वैज्ञानिकहरू अब्जरभेटरीका प्रशासकहरूको भ्रष्टाचार र खराब व्यवस्थापनले गर्दा यस्तो भएको आरोप लगाउँछन् । गत जुन महिनामा सो अब्जरभेटरीमा कार्यरत वैज्ञानिकहरूको समूहले कङ्गोका राष्टपति फेलिक्स तशिसकेडीलाई एउटा खुला पत्र लेख्दै अब्जरभेटरीका प्रशासकहरूले कोषको दुरूपयोग गरेको बताए । युरोपियन युनियन, विश्व बैंक र अन्य समूहहरूबाट सहयोग गरिएका ७० लाख डलरभन्दा बढी पैसा लक्षित परियोजनामा खर्च नगरिएको ती वैज्ञानिकहरूको आरोप थियो ।
“यी परियोजनाहरूको सहयोगका लागि आएका धेरैजसो कोषहरू अन्यत्र खर्च गरियो र धेरै परियोजनाहरू अगाडि बढ्न पाएनन्,“ पत्रमा भनिएको छ । यसो हुँदा जनचेतना अभियान, अनुसन्धान कार्यक्रम र उपकरण खरिद लगायतका कुरा अघि बढ्न सकेन ।
गोमा ज्वालामुखी अब्जरभेटरीका वैज्ञानिक निर्देशक सेलेस्टिन कासेरेका माहिन्दाले गोमा ज्वालामुखी अब्जरभेटरीले केन्द्रीय सरकार र अन्तर्राष्ट्रिय दाताहरूबाट सहायता पाउन छोडेको भन्दै यी आरोपहरूबाट एजेन्सीको बचाउ गर्दछन् । आर्थिक सहयोगको अभावका कारण अक्टोबर २०२० देखि अप्रिल २०२१ सम्म सात महिना माउन्ट निरागोन्गोको अनुगमन गर्न नसकिएको महिन्दा बताउँछन् ।
महिन्दा भन्छन्, “यस अवधिमा हामीसँग कुनै इन्टरनेट कनेक्सन थिएन र हामीले वास्तविक समयको कुनै पनि तथ्याङ्क प्राप्त गर्न सकेनौँ,” महिन्दा भन्छन् ।
गत मे महिनामा गोमा ज्वालामुखी अब्जरभेटरीले संयुक्त राज्य अमेरिकाबाट थप कोष सहायता प्राप्त गर्यो, महिन्दा भन्छन्, र यसले अब्जरभेटरीलाई फेरि ज्वालामुखी भित्रको म्याग्माको गतिविधिको निगरानी सुरु गर्न सहयोग गर्यो । तर दुर्भाग्य, यो विस्फोटको लागि तयारी गर्ने पर्याप्त समय थिएन ।
“इन्टरनेटमा पहुँच हुने बित्तिकै हामीले चेतावनीका सङ्केतहरू रेकर्ड गर्यौँ, तर ज्वालामुखीले पहिले नै निकै सक्रिय भइसकेको थियो,” महिन्दा भन्छन् । “त्यसैले हामी विस्फोटबाट स्तब्ध हुन पुग्यौँ ।”
जुन ५ मा आयोजित एउटा पत्रकार सम्मेलनमा वैज्ञानिक अनुसन्धान मन्त्री जोसे पान्डा काबान्गुले गोमा ज्वालामुखी अब्जरभेटरीलाई सरकारले स्रोत छुट्याउन असफल भएको स्वीकार गर्दै अबदेखि अब्जरभेटरीले आवश्यक रकम र उपकरणहरू प्राप्त गर्ने बताए ।
यस विपद्को समयमा सरकारले जनतालाई खाना, पानी र स्वास्थ्य सेवा उपलब्ध गराउने काम गरेको छ । जुन महिनामा तशिसेकेडीले अर्को एउटा एजेन्सी स्थापनाको घोषण गरे जसले विपद्को प्रभावकारी रोकथाम र व्यवस्थापन सुनिश्चित गर्न गोमा ज्वालामुखी अब्जरभेटरीसँग मिलेर काम गर्नेछ ।
प्रभावित धेरै बासिन्दाका लागि यी प्रस्तावहरू धेरै ढिलो गरी आएका छन् ।
“यस विष्फोटले मेरो सबै कुरा नष्ट गर्यो, यहाँ जीवन धेरै गाह्रो छ, खासगरी हाम्रा छोराछोरीका लागि,” ६ जना छोराछोरीका बाबु हाङ्गी बिजिमुन्गु भन्छन् । “उनीहरू राम्रोसँग खान र सुत्न पनि पाउँदैनन् ।”
गोमाबाट केही माइल पर रहेको किबाती गाउँको काहेम्बे स्कुलमा शरण लिने एक हजारभन्दा बढी मानिसमध्ये बिजिमुन्गुको परिवार पनि रहेको छ । विभिन्न सहायता समूहहरूबाट सहयोग प्राप्त भए पनि विद्यालयको आश्रय उनीहरूका लागि कठिन रहेको छ । विस्थापित परिवारहरू राति मात्र विद्यालयको कक्षाकोठामा सुत्न पाउँछन् तर बिहान विद्यार्थीहरू आइपुगेपछि उनीहरू बाहिर निस्कनुपर्छ । विद्यालयमा जम्मा चारवटा मात्र शौचालय छन्, यसले गर्दा शौचालयका लागि लामो लाइन लाग्नुपर्ने र सरसफाइ तथा स्वच्छतामा समेत समस्या हुने गरेको छ ।
बारालिजी विष्फोट हुनुअघि आर्थिक रूपमा आत्मनिर्भर थिइन्, तर अहिले उनी आफू र छोराछोरीको जीवन थेग्न खानेकुरा कतिबेला पाइने हो भनेर प्रतीक्षमा नै दिनहरू बिताउँछिन् । हरेक साँझबिहान उनी फेरि राम्रो घर बनाउन र व्यवसाय गर्न सकियोस् भनेर प्रार्थना गर्छिन् ।
“राष्ट्रपतिले हालै शिविरको भ्रमण गरी सबै कुरा ठीक हुने वचन दिएका छन्,” बारालिजी भन्छिन् । “तर एउटा कुरा स्पष्ट छः जीवन फेरि कहिल्यै पहिलेजस्तो हुनेछैन ।”
नोएला निराबिहोगो प्रजातान्त्रिक गणतन्त्र कङ्गोको गोमास्थित ग्लोबल प्रेस जर्नलका सम्वाददाता हुन् । उनी शान्ति र सुरक्षा विषमा कलम चलाउँछिन् ।
अनुवाद जानकारी: इमिलाइन बर्ग, ग्लोबल प्रेस जर्नलले फ्रान्सेलीबाट अंग्रेजीमा अनुवाद गर्नुभयो। यस नेपाली संस्करण अंग्रेजी अनुवादबाट रुपान्तरण गरिएको हो ।
Noella Nyirabihogo est journaliste à Global Press Journal en poste à Goma, en République démocratique du Congo. Elle est spécialiste des reportages sur la paix et la sécurité.
NOTE À PROPOS DE LA TRADUCTION
Traduit par Kiampi Kongopi, GPJ.