Reported from Argentina, Mexico, Mongolia, Nepal, Puerto Rico, Uganda and Zimbabwe
काठमाडौं, नेपाल — राधा लामाले आफ्नो घर नजिकैको मेडिकलबाट झोलाका झोला एन्टिबायोटिक औषधि ल्याएर वर्षौँसम्म सेवन गरिरहिन् । उनकी छोरी प्रतीक्षा लामाका अनुसार पेट वा टाउको दुख्यो भने पनि उनी डाक्टरसँग परामर्श नलिइकनै मेडिकलबाट ल्याएर औषधि सेवन गरिहाल्थिन् ।
५७ वर्षीय राधा लामालाई अहिले त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भेन्टिलेटर लगाएर राखिएको छ । अगस्ट महिनादेखि नै उनलाई श्वासप्रश्वास गर्न गाह्रो भइरहेको छ । उनी होसमै छिन् तर हात वा खुट्टा चलाउन सक्दिनन् । उनी आँखाको इसाराले मात्र आफ्नो मनको कुरा व्यक्त गर्न सक्छिन् ।
लामालाई क्याथेटर लगाइएको छ र डाक्टरका अनुसार उनले सायद अब जीवनभर नै क्याथेटर लगाउनु पर्छ । क्याथेटर हटाइयो भने उनलाई पक्का सङ्क्रमण हुने डाक्टर बताउँछन् । अधिकांश मानिसहरूलाई सामान्य सङ्क्रमण हुँदा एन्टिबायोटिकले ठिक हुन्छ तर अब लामालाई एउटा सामान्य सङ्क्रमण भयो भने पनि त्यसले उनको ज्यान नै लिन सक्छ ।
डा. पुष्कर विश्वकर्मा भन्छन्, “अहिले हामीसँग (लामालाई दिनका लागि) एन्टिबायोटिकको विकल्प छैन ।“
तर यो समस्या भोग्ने लामा एक्ली भने होइनन् । नेपालभन्दा झन्डै २ हजार माइल टाढा उत्तर पूर्वी भागमा रहेको मङ्गोलियाका डास्जेभेज सेन्ड आफूले अहिलेसम्म स्वास्थ्य समस्या आउने बित्तिकै एन्टिबायोटिक ल्याएर सेवन गर्ने गरेको बताउँछन् ।
हनहनी ज्वरो र छालामा फोका आएपछि उनी गत अक्टोबर अस्पतालमा जचाउन गएका थिए । डाक्टरले उनलाई एमआरएसए भनिने एक प्रकारको स्ट्याफ इन्फेक्सन भएको पत्ता लगाए । साथै यो सङ्क्रमण फैलाउने ब्याक्टेरियाले कैयौँ एन्टिबायोटिक औषधिप्रति प्रतिरोध विकास गरिसकेको पत्ता लाग्यो । अहिले उनी थला परेका छन् र उनी अक्सिजन, क्याथेटर र आइभीका सहायताले बाँचिरहेका छन् ।
प्रतिजैविक प्रतिरोधलाई आधुनिक युगको सबैभन्दा ठुलो स्वास्थ्य सङ्कटमध्ये मानिन्छ । जुन ब्याक्टेरियालाई मार्न भनेर एक्टिबायोटिक औषधिको आविष्कार गरिएको थियो अहिले त्यही ब्याक्टेरिया औषधिको प्रभावलाई नै निष्काम बनाउने गरी विकसित भएको छ र विश्व स्वास्थ्य सङ्गठनका अनुसार यसले गर्दा हरेक वर्ष ५० लाखभन्दा बढी मानिसहरूको मृत्यु भइरहेको छ । प्रतिजैविक प्रतिरोधका क्षेत्रमा खोज गर्ने लन्डनको फेमिङ इनिसिएटिभ संस्थाका अनुसार सन् २०५० सम्ममा क्यान्सरले भन्दा धेरै मानिसको मृत्यु प्रतिजैविक प्रतिरोधका कारण हुने छ।
विश्व स्वास्थ्य सङ्गठनको अत्यावश्यक औषधिहरूको नमुना सूची तयार पार्ने टिमको नेतृत्व गरिरहेका वैज्ञानिक लोरेन्जो मोजाका अनुसार तीस वर्षअघि मानिसको मृत्यु हुने बिमारीका मुख्य कारणलाई दुई श्रेणीमा विभाजित गर्ने गरिन्थ्यो: क्यान्सर वा हृदयघात तथा मस्तिष्कघात ।
“अहिले यसमा तेस्रो श्रेणी प्रतिजैविक प्रतिरोध पनि थपिएको छ,” मोजा भन्छन् ।
मुटु रोग वा हड्डी टुटेका कारण वा शरीरलाई कमजोर बनाउने अन्य कुनै कारणले गर्दा अस्पताल भर्ना भएका व्यक्तिलाई प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाको सङ्क्रमण सजिलै हुन सक्छ । सङ्क्रमित व्यक्तिलाई जुन प्रकारको एन्टिबायोटिक दिए पनि ब्याक्टेरियाले ती सबै औषधिप्रति प्रतिरोध जनाउँछ र मोजाका अनुसार यसले गर्दा “औषधिले फिटिक्कै काम गर्दैन” ।
प्रतिजैविक प्रतिरोध देखिनु पछाडिका कारणहरू जटिल छन् । कुनै व्यक्तिलाई फोहोर पानी पिउँदा वा सरसफाइमा ध्यान नदिँदा ब्याक्टेरियाको सङ्क्रमण हुन सक्छ । धेरै डाक्टरहरूले एन्टिबायोटिकको गलत डोज वा गलत औषधि सिफारिस गर्छन् । झन् छ्यास्छ्यास्ती खुलेका फार्मेसी र मेडिकलहरूले त मानिसहरूलाई सामान्य समस्या हुँदा पनि औषधि भिडाइहाल्छन् र एक नेपाली डाक्टरका अनुसार मानिसहरू त्यस्ता औषधिलाई “क्यान्डी” जसरी प्रयोग गर्छन् । अधिकांश मानिसहरू आर्थिक समस्याका कारण एन्टिबायोटिकको पूरा डोज सेवन गर्न सक्दैनन् । त्यस्तै, मासु वा दुधजन्य उत्पादनका लागि पालिने जनावरमा प्रयोग गरिने एन्टिबायोटिकका कारण पनि प्रतिजैविक प्रतिरोध हुने गर्छ । यस्ता जनावरलाई दिइने एन्टिबायोटिकहरू दिसा/पिसाबमार्फत वातावरणमा मिसिन्छन् । यस्तो अवस्थामा ब्याक्टेरिया अझ शक्तिशाली बन्दै जान्छ र सबैभन्दा प्रभावकारी उपचार पनि यसको अघि लाचार साबित हुन्छ । प्रायजसो अवस्थामा बिरामीलाई लागेको सङ्क्रमण किन निको भइरहेको छैन भन्ने कुरा स्पष्ट हुँदैन । बिरामीको मृत्यु नहुन्जेलसम्म ब्याक्टेरिया झन् झन् शक्तिशाली हुँदै जान्छ ।
बिरलै एन्टिबायोटिक सेवन गर्ने मानिसहरू पनि प्रतिजैविक प्रतिरोधको जोखिममा छन् । नाइजेरियाको इबादानमा स्थित हेल्दी अफ्रिकन्स प्लेटफर्मका अनुसन्धान निर्देशक अब्दुल्लाही टुन्डे अबोरोडका अनुसार “स्वस्थ मानिसका लागि यो टाढाको समस्या जस्तो लाग्न सक्छ तर प्रतिजैविक प्रतिरोध तीव्र रूपमा फैलिरहेको छ र यसको प्रभाव हाल बिमारी नभएका मानिसहरूसम्म पनि पुग्छ ।”
कुनै व्यक्तिको मृत्यु प्रतिजैविक प्रतिरोधकै कारण भएको हो भन्ने कुरा निदान गर्न एकदमै जटिल छ र यो सेवा सबैतिर उपलब्ध छैन । तर नेसनल इन्स्टिच्युट अफ पल्ब्लिक हेल्थ अफ मेक्सिकोका अनुसन्धाता अनाही ड्रेसरका भन्छन्, “हामीमध्ये धेरै जनाको परिवारका सदस्यहरूको प्रतिरोधी ब्याक्टेरियाका कारण मृत्यु भएको छ ।”
तर अन्य समस्या जस्तै यो समस्याले पनि सबैलाई समान असर भने गर्दैन ।
प्रतिजैविक प्रतिरोधका कारक तत्वहरू गरिब देशहरूमा बढी व्याप्त छन् ।
“यस्तो असमानता देखिनुमा प्रतिजैविक प्रतिरोधको वास्तवमा कुनै हात छैन । राजनीति वा भ्रष्टाचार र स्वास्थ्य सेवा तथा सरसफाइ प्रणालीका कारण यस्तो भइरहेको हो,” विश्व स्वास्थ्य सङ्गठन र अन्य मुख्य संस्थाहरूको अनुदानमा सञ्चालित रिसर्च फर्म वान हेल्थ ट्रस्टकी अनुसन्धान विश्लेषक इसाबेला इम्पाली भन्छिन् । इम्पाली सन् २०२४ मा द ल्यानसेटमा प्रकाशित प्रतिजैविक प्रतिरोधसम्बन्धी एउटा महत्त्वपूर्ण रिसर्च रिपोर्ट सिरिजकी एक लेखिकासमेत हुन् ।
यसअघि द ल्यानसेटमा प्रकाशित एक अध्ययनले प्रतिजैविक प्रतिरोधका कारण मृत्यु भएका ५ वर्षमुनिका लगभग सबैजसो बालबालिकाहरू प्रतिव्यक्ति आयका आधारमा विश्व बैंकले “न्यून तथा मध्यम आय भएका देशहरू” का रूपमा वर्गीकृत गरेका देशका छन् । उप-साहारा अफ्रिका क्षेत्रका बालबालिकाहरू विशेष जोखिममा छन्: उच्च-आय भएका देशका बालबालिकाको तुलनामा प्रतिजैविक प्रतिरोधका कारण उनीहरूको मृत्यु हुने सम्भावना ५८ गुणा बढी छ ।
डब्ल्यूएचओले “प्राथमिकतामा रहेका रोगजनक” का रूपमा सूचीकृत गरेका एक दर्जन जति प्रतिरोधी ब्याक्टेरिया क्षयरोगका ब्याक्टेरिया छन् । हरेक वर्ष अफ्रिकामा क्षयरोगका कारण ५ लाख मानिसहरू (अर्थात् क्षयरोगका कारण मृत्यु हुने विश्वका कुल मानिसमध्ये ३०%) को मृत्यु हुने गरेकाले यो अफ्रिकाको ठुलो समस्याका रूपमा रहेको छ ।
जिम्बावेमा झन्डै २० वर्षअघि तौराई चिङ्गोमालाई क्षयरोग भएको पत्ता लागेको थियो । अहिले ६२ वर्षका उनी अझै पनि आफूलाई कमजोरी महसुस हुने र आफूले कठिन शारीरिक परिश्रम गर्न नसक्ने बताउँछन् । उनी पहिले काठको काम गर्थे तर अहिले उनको कुनै भरपर्दो आय स्रोत छैन । उनी सधैँ आफूमा फेरि क्षयरोग बल्झिएला कि भन्ने कुराले चिन्तित रहने गर्छन् ।
आर्थिक समस्याका कारण उनले एन्टिबायोटिक औषधिको पूरा डोज लिन नसकेकाले उनी चिन्तित भएका हुन् ।
“हरेक दिन एकैचोटि १४ वटा ट्याब्लेट पो सेवन गर्नुपर्थ्यो त!”, उनी भन्छन् । “गरिबीका कारण हामीलाई दैनिक हातमुख जोड्न नै धौधौ पर्छ । यस्तो अवस्थामा लामो समयसम्म सेवन गर्नु पर्ने औषधि कसरी किन्न सक्नु?”
अरू एन्टिबायोटिक औषधि केही दिन वा केही हप्ता सेवन गर्दा पुग्ने भए पनि क्षयरोगको उपचारका लागि कम्तीमा छ महिनासम्म र केही अवस्थामा त दुई वर्षसम्म नियमित औषधि सेवन गर्नु पर्छ । अधिकांश मानिसहरू यति लामो समयसम्मको औषधि खर्च धान्न सक्दैनन् । एन्टिबायोटिक सेवन गर्न छाडेपछि पनि बिरामीको शरीरमा ब्याक्टेरिया रहिरहन्छ र औषधि छाडेपछि झन् शक्तिशाली हुँदै जान्छ ।
म्युटारेमा रहेको स्वास्थ्य चौकीमा आफ्नो दैनिक औषधि सेवन गर्दै तौराई चिङ्गोमा । चिङ्गोमालाई झन्डै २० वर्षअघि क्षयरोग लागेको पत्ता लागेको थियो र उनी आफ्नो उपचारका लागि स्वास्थ्य चौकी जाने गर्छन् ।
क्षयरोगका हकमा प्रतिजैविक प्रतिरोधको परिणाम झन् धेरै गम्भीर हुने गर्छ । क्षयरोग सङ्क्रमण भएका अधिकांश मानिसमा कुनै लक्षण नदेखिने भएकाले र त्यस्ता व्यक्ति ब्याक्टेरिया बस्ने घर जस्तो हुँदै जाने भएकाले यो रोग र प्रतिरोधी ब्याक्टेरियाका प्रजातिहरू फैलँदै जान्छन् । प्रतिजैविक प्रतिरोधका कारण मृत्यु हुने ३ जना व्यक्तिमध्ये झन्डै १ जना व्यक्ति औषधिप्रति प्रतिरोध देखाउने क्षयरोगको ब्याक्टेरियाका कारण हुन्छ ।
चिङ्गोमा जस्तै जिम्बावेका अधिकांश जनताहरू आधारभूत स्वास्थ्य सेवाको खर्च जुटाउन सक्दैनन् । एसोसिएसन अफ हेल्थकेयर फन्डर्स अफ जिम्बावेका अनुसार बिमा शुल्क उच्च भएकाले देशका ९३% जनसङ्ख्यासँग स्वास्थ्य बिमाको पहुँच छैन ।
बिमा नभएका व्यक्ति सार्वजनिक अस्पतालमा जँचाउन जाँदा एक पटकमा ५ अमेरिकी डलर तिर्नु पर्छ भने निजी क्लिनिकमा जाँदा १५ डलरसम्म लाग्छ। त्यसैले जिम्बावेका अधिकांश गरिबहरूसँग मेडिकलमा गएर प्रेसक्रिप्सनविनै एन्टिबायोटिक औषधि खरिद गर्नुबाहेक अन्य विकल्प छैन ।
अझ किनेको औषधि नक्कली पर्न पनि सक्छ । जिम्बावेको औषधि नियन्त्रण प्राधिकरणले अनौपचारिक रूपमा बिक्री गरिने औषधिका साथै डाक्टरको पुर्जी देखाएर बिक्री गरिने औषधिमा समेत आवश्यक पदार्थ नभएको पत्ता लगाएको छ ।
प्राधिकरणका जनसम्पर्क अधिकृत डेभिडसन काइयो भन्छन्, “यस्ता औषधिले रोग अझ बढाएर बिरामीको स्वास्थ्यमा असर गर्न सक्छन् र यसबाट मृत्यु समेत हुन सक्छ ।”
युगान्डाका आधि जनसङ्ख्याले डाक्टरकहाँ जँचाउन जानका लागि पैसा जुटाउन सक्दैनन् । माकेरेरे विश्वविद्यालय, जन्स् हप्किन्स विश्वविद्यालय र अन्य साझेदारका अनुसार उनीहरू स्वास्थ्य उपचारका लागि पैसा सापटी लिन वा आफ्नो सम्पत्ति नै बिक्री गर्न बाध्य हुन्छन् ।
उपचार खर्च व्यहोर्ने क्षमता भएका व्यक्तिसमेत गलत औषधिको फन्दामा पर्छन् ।
फार्मेसीले प्रयोगशालामा परीक्षण नगरिकनै हचुवाका भरमा रोगको निदान गर्ने र एन्टिबायोटिक औषधि भिडाउने गरेको मुलागो नेसनल रेफरल हस्पिटलका बाल रोग शाखाकी डाक्टर क्याथरिन अबाला बताउँछिन् ।
उनी भन्छिन्, “मानिसहरू आफूलाई हुँदै नभएको सङ्क्रमणका लागि पनि एन्टिबायोटिक लिइरहेका छन् र त्यस्ता औषधि सेवन गर्नाले प्रतिजैविक प्रतिरोध बढिरहेको छ” ।
पहिलो कुरा त अफ्रिकाका अधिकांश बिरामीहरूले सही एन्टिबायोटिक नै प्राप्त गरिरहेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनले एन्टिबायोटिकलाई तीन श्रेणीमा छुट्याएको छ: सामान्य सङ्क्रमणका लागि प्रयोग गरिने कम मूल्य पर्ने औषधिलाई “एक्सेस”, गम्भीर सङ्क्रमणका लागि प्रयोग गरिने उच्च मूल्य पर्ने औषधिलाई “वाच” र एकभन्दा बढी औषधिप्रति प्रतिरोध जनाउने सङ्क्रमणमा प्रयोग गरिने अन्तिम छनोटमा पर्ने औषधिलाई “रिजर्भ”।
अफ्रिकन युनियनले गत अगस्टमा सार्वजनिक गरेको रिपोर्टअनुसार अफ्रिका महादेशभित्र “रिजर्भ” श्रेणीका १४% औषधि मात्र सर्भसुलभ छन् भने यहाँ खपत हुने ८०% एन्टिबायोटिक “एक्सेस” श्रेणीका छन् ।
रिपोर्टमा उपचारका लागि पहिलो प्राथमिकतामा नपर्ने भए पनि केही उपलब्ध औषधिप्रति आवश्यकभन्दा बढी निर्भरता रहेको उल्लेख गरिएको छ ।
युगान्डाका आधि जनसङ्ख्याले डाक्टरकहाँ जचाउन जाने पैसा जुटाउन सक्दैनन् । माकेरेरे विश्वविद्यालय, जन्स् हप्किन्स विश्वविद्यालय र अन्य साझेदारका अनुसार उनीहरू स्वास्थ्य उपचारका लागि पैसा सापटी लिन वा आफ्नो सम्पत्ति नै बिक्री गर्न बाध्य हुन्छन् ।
मूत्रनलीमा हुने अधिकांश सङ्क्रमणको कारक तत्वका रूपमा रहेको ई. कोली ब्याक्टेरिया एन्टिबायोटिकप्रति धेरै नै प्रतिरोधी भएकाले यो विशेष चिन्ताको विषय भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ई. कोली प्रतिजैविक प्रतिरोधी रोगजनकको प्राथमिक श्रेणीमा पर्छ ।
ग्लोबल प्रेस जर्नलले आफूलाई पिसाबको सङ्क्रमण (यूटिआई) भएको शङ्का लाग्नेबित्तिकै एन्टिबायोटिक सेवन गरिहाल्ने विश्वका विभिन्न ठाउँका मानिसहरूको अन्तर्वार्ता लिएको थियो ।
कारमेन एना गोन्जालेज मिरान्डाले सन् २०१२ देखि पिसाबको सङ्क्रमण हुँदा एन्टिबायोटिक सेवन गर्दै आएकी थिइन् । औषधि सेवनपछि उनको स्वास्थ्यमा सुधार आउने गर्थ्यो तर केही समयपछि फेरि लक्षणहरू देखिन थाल्थे र उनी फेरि एन्टिबायोटिककै शरणमा पुग्थिन् । यो क्रम चलिरहेको थियो ।
उनी भन्छिन्, “पोर्टो रिकोका मानिसहरूमा एन्टिबायोटिक सेवन गरेपछि सानातिना स्वास्थ्य समस्या यत्तिकै निको भइहाल्छ भन्ने विश्वास छ ।”
एउटा डाक्टरले दिएको औषधिले काम नगरेपछि उनी अर्को डाक्टरकहाँ जाने गर्थिन् । उनले सुरुमा स्त्री रोग विज्ञलाई देखाइन्, त्यसपछि युरोलोजिस्टलाई देखाइन् अनि आफ्नो समस्या समाधान हुने आशामा ग्यास्ट्रोइन्टेरोलोजिस्टकहाँ पनि पुगिन् ।
अन्ततः उनी सङ्क्रामक रोग विशेषज्ञकहाँ गइन् र उनको शरीरमा प्रतिजैविक प्रतिरोध विकास भइसकेको, यो समस्या जीवनभर रहने र उनलाई अर्को सङ्क्रमण भएमा ज्यानसमेत जान सक्ने कुरा पत्ता लाग्यो ।
एन्टिबायोटिक कस्तो अवस्थामा प्रयोग गर्नु पर्छ र कस्तो अवस्थामा प्रयोग गर्नु हुँदैन भन्ने कुराका बारेमा स्पष्ट पारेर विश्वव्यापी स्वास्थ्य मार्गदर्शनहरू जारी गरिएका छन् । एन्टिबायोटिकले फ्लू वा रुघाखोकी जस्ता भाइरल बिमारी निको पार्न सक्दैन । सुरुवाती उपचारका लागि ब्रोड-स्पेक्ट्रर्म एन्टिबायोटिक दिन मिल्दैन र अधिकांश अवस्थामा लामो समयक लागि एन्टिबायोटिक दिनु हुँदैन ।
तर यस्तो प्रावधान हुँदा हुँदै पनि विश्वभर नै अनुचित रूपमा प्रेसप्क्रिप्सन दिइने गर्छ ।
मूत्रनलीमा सङ्क्रमण भएको कुरा पुष्टि गर्ने माइक्रोबायोलोजिकल प्रमाण नहुँदा समेत मानिसहरूले यसको औषधि सेवन गर्न खोज्ने भएकाले पनि प्रायः यस्तो हुने गर्छ ।
एकभन्दा बढी औषधिसँग प्रतिरोध देखाउने ई. कोली ब्याक्टेरियाको प्रजाति फैलिएकाले गर्दा विश्वभर नै प्रभावकारी उपचार गर्ने विकल्पहरूमा कमी आएको छ ।
निरन्तर रूपमा मूत्रनलीको सङ्क्रमण भएपछि नेपालका विष्णु राज कार्कीले सन् २०२० मा मूत्रथैलीको शल्यक्रिया गराएका थिए । शल्यक्रियापछि पनि उनको मूत्रनलीमा फेरि सङ्क्रमण भयो र एन्टिबायोटिक सेवन गर्दा पनि कुनै सुधार आएन । राम्रो उपचार होला भन्ने आशामा उनी सीमापारी भारतसम्म पुगे । भारतमा उनलाई किड्नी इन्फ्लेमेसन भएको पत्ता लाग्यो र ४२ दिनसम्म सेवन गर्नु पर्ने भन्दै एन्टिबायोटिक औषधि थमाइयो ।
त्यसपछि त उनको समस्या झन् बढ्दै गयो । मूत्रनलीको सङ्क्रमण फेरि बल्झियो र उनलाई सर्दी लाग्ने, हनहनी ज्वरो आउने र वाकवाकी लाग्ने लगायतका लक्षणहरू देखिन थाले । ७१ वर्षका कार्कीलाई अहिले पनि यसले गर्दा गाह्रो भइरहेको छ र उनलाई हप्ताको तीन पटक डायलाइसिस गर्नु पर्छ । उनले अहिलेसम्म आफ्नो उपचारका लागि २० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेका छन् ।
विष्णुराज कार्की भन्छन्,”युटिआई सङ्क्रमण भएको अवस्थामा उपचार भएन भने मेरो जुनसुकै समयमा मृत्यु हुन सक्छ ।”
कार्कीको स्वास्थ्य जाँच गर्ने सेन्टर फर अमेरिकन मेडिकल स्पेसलिस्ट इन नेपालका सङ्क्रामक रोग तथा क्रिटिकल केयर विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार मानिसहरूले अधिकांश अवस्थामा “क्यान्डी” जस्तै गरी एन्टिबायोटिक सेवन गर्ने गरेका छन् ।
उनका अनुसार मूत्रनलीको सङ्क्रमणका लागि ४२ दिने एन्टिबायोटिक सिफारिस गर्नु गलत हो र त्यसले नै कार्कीमा प्रतिजैविक प्रतिरोध विकसित भएको र पछि गएर मिर्गौला फेलसम्म भएको हुन सक्छ ।
नेपालमा मूत्रनलीको सङ्क्रमणमा प्रतिजैविक प्रतिरोध देखिने क्रम एकदमै उच्च रहेको अधिकारी बताउँछन् । सन् २०२१ मा गरिएको एक अध्ययनले देखाएअनुसार नेपालमा देखिएका ८४% मूत्रनलीका सङ्क्रमण कम्तीमा एउटा एन्टिबायोटिकप्रति प्रतिरोधी छन् भने ५४% सङ्क्रमण त एकभन्दा बढी एन्टिबायोटिकप्रति नै प्रतिरोधी छन् ।
अधिकारी भन्छन्, “युटिआई भएको बिरामीको क्वालिटी अफ लाइफ घट्छ ।”
धेरै हिसाबले भन्नु पर्दा एन्टिबायोटिक जादूमयी औषधि हो । एलेक्जेन्डर फ्लेमिङले १९२८ मा पेनिसिलिनको आविष्कार गर्दा त्यसलाई शताब्दीकै सबैभन्दा ठुलो वैज्ञानिक उपलब्धिमध्ये मानिएको थियो । सन् १९४५ मा यो औषधि व्यापक रूपमा उपलब्ध भएपछि स्वास्थ्य सेवा क्षेत्रमा ठुलो परिवर्तन आएको थियो । त्यसपछि मलेरिया र क्षयरोग जस्ता सरुवा रोग र अहिले सामान्य मानिने स्ट्रेप थ्रोट (घाँटी दुख्ने) जस्ता सङ्क्रमणहरूको सजिलै उपचार हुन थाल्यो । मानिसहरूको आयु बढ्यो ।
जिम्बावेका प्यान-अफ्रिकन ट्रिटमेन्ट एक्सेस अभियानका निर्देशक तापिवान्सी कुजिंगाका अनुसार अहिले त्यही एन्टिबायोटिक लापर्बाही रूपमा प्रयोग गर्नाले “एचआइभी भन्दा पनि ठुलो चुनौती खडा भएको छ ।”
प्रतिजैविक प्रतिरोधको प्रभावलाई उल्ट्याउन र एन्टिबायोटिकलाई ज्यान जोगाउने औषधिकै रूपमा कायम राख्नका लागि चाल्नु पर्ने पहिलो कदम भनेको ब्याक्टेरियाको सङ्क्रमण दर घटाउनु हो ।
सङ्क्रमण दर कम गर्नका लागि राम्रोसँग हात धुनु प्रभावकारी सुरुवात हुने वान हेल्थ ट्रस्टका अनुसन्धान विश्लेषक इम्पाली बताउँछिन् ।
अर्थात्, प्रतिजैविक प्रतिरोधसँग लड्नका लागि सबैभन्दा शक्तिशाली एन्टिबायोटिकभन्दा पनि सामान्य साबुन नै बढी प्रभावकारी हुन सक्छ ।
सफा पिउने पानी र प्रभावकारी सरसफाइ प्रणालीका साथै आधारभूत खोपहरू विश्वभरि उपलब्ध गराउनु प्रतिजैविक प्रतिरोध कम गर्नका लागि महत्त्वपूर्ण हुने इम्पाली बताउँछिन् ।
इम्पाली भन्छिन्, “हामी प्रतिजैविक प्रतिरोधलाई निवारण गर्नै नसकिने ठुलो समस्याका रूपमा लिन्छौँ र यसलाई सम्बोधन गर्न खोज्नु व्यर्थ ठान्छौँ । हो, यो वास्तवमै ठुलो समस्या हो र यसले धेरै क्षेत्रमा असर गर्छ । त्यसैले हामीले यो समस्या समाधान गर्न सघाउ पुर्याउने भनी पुष्टि भएका संयन्त्रहरूको उपयोगमा जोड दिन जरुरी छ ।”
प्रतिजैविक प्रतिरोधको समस्या समाधान गर्नका विश्वव्यापी अभियान चलेको छ । संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले प्रतिजैविक प्रतिरोधका सम्बन्धमा गत सेप्टेम्बरमा भएको उच्च अधिकारीहरूको उच्चस्तरीय बैठकमा ९०% भन्दा बढी देशहरूले प्रतिजैविक प्रतिरोधसँग लड्नका लागि योजना बनाइसकेको बताएकी थिइन् ।
यसका लागि आवश्यक कदम चाल्नु अपरिहार्य छ ।
अर्जेन्टिनाको नेसल एग्रिकल्चरल टेक्नोलोजी इन्स्टिच्युटमा प्रतिजैविक प्रतिरोधसम्बन्धी परियोजनाका संयोजक लिएन्द्रो मार्टिन रेडोन्डो भन्छन्, “अहिलेकै अवस्था व्याप्त रहिरहेमा प्रतिरोधी सूक्ष्मजीवका कारण हुने सङ्क्रामक रोगहरू मृत्युको मुख्य कारण बन्ने छन्।
यस्तो अवस्थामा सामान्य शल्यक्रिया समेत गर्न सम्भव नहुने उनी बताउँछन् ।
पेनिसिलिनका आविष्कारक फ्लेमिङले त्यति बेला नै भविष्यमा यस्तो दिन आउने अनुमान गरेका थिए । उनले सन् १९४५ मा न्युयोर्क टाइम्समा प्रकाशित लेखमा सर्वसाधारणहरूको एन्टिबायोटिकको चर्को मागले गर्दा यसको “दुरुपयोग” हुन थाल्ने बताएका थिए ।
उनी प्रतिजैविक प्रतिरोधले निम्त्याउने जोखिमका बारेमा स्पष्ट थिए: “पेनिसिलिनलाई खेलाँची ठानेर यसको अन्धाधुन्ध प्रयोग गर्ने व्यक्ति पेनिसिलिन प्रतिरोधी जीवको सङ्क्रमणका कारण हुने मृत्युप्रति नैतिक रूपमा जिम्मेवार हुने छ ।”
लिएन्द्रो मार्टिन रेडोन्डो र उनको टिमले प्रतिजैविक प्रतिरोधी ब्याक्टेरिया उत्पन्न हुने जोखिम न्यूनीकरण गर्दै जनावरहरूको वृद्धिविकासका लागि मद्दत गर्ने एन्टिमाइक्रोबियलहरूको विकल्प पत्ता लगाउनका लागि काम गरिरहेका छन् ।