
सुनिता न्यौपाने, जिपिजे नेपाल
बागमती प्रदेशस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रको पछाडिपट्टि रहेको आफ्नो सानो कोठाको बाहिर बसेर पोट्रेट फोटो खिचाउँदै जित बहादुर गुरुङ । भाडाको यो सानो कोठामा उनी आफ्नी श्रीमती र छोरीसँग बस्छन् ।
काठमाडौं, नेपाल — जित बहादुर गुरुङले चार वर्षसम्म रेस्टुरेन्टमा लगातार मासु सेकाउने काम गरे । उनको हरेक सिफ्ट १२ घण्टाको हुन्थ्यो । कामको दबाबले गर्दा उनी समयमै पानी पिउन र शौचालय जान पाउँदैनथे । मुस्किलले पन्ध्र दिनमा एक दिन मात्र छुट्टी मिल्थ्यो ।
नेपालको गोरखा जिल्लाको हिमाली भेगका गुरुङ २२ वर्षको उमेरमा रोजगारीका लागि पहिलो पटक साउदी अरबको तातो भूमिमा जाँदा स्वस्थ र बलियो थिए । त्यसैले उनलाई जस्तोसुकै अप्ठ्यारो काम पनि सजिलै गर्न सक्छु भन्ने लाग्थ्यो । उनलाई विदेश पठाउने एजेन्टले वेटरको काम हो र काम सजिलो छ भनेको थियो ।
हुन पनि कडा परिश्रम गर्नु उनका लागि कुनै नौलो कुरा थिएन ।
गुरुङले आफ्नो किशोरावस्थाको सुनौलो समय परिवारको नाममा रहेको सानो खेतबारीमा कुटोकोदालो गरेर बिताएका थिए । दिनरात नभनी खेती किसानी गरे पनि त्यसबाट हुने उब्जनीले उनको परिवारलाई मुस्किलले वर्षभरि खान पुग्थ्यो । यस्तो अवस्थामा वैदेशिक रोजगारीमा जान पाउनु उनको लागि आशाको दियो बन्यो । आफूले पढ्न नपाए पनि छोरीलाई पढाउने र आमाबाबुलाई बुढेसकालमा सुख दिने सपना बोकेर उनी जहाज चढे ।
उनले वेटरका रूपमा काम गरेको चार वर्ष भइसकेको थियो र बिदामा स्वदेश फर्कने दिन आउन केही दिन मात्र बाँकी थियो । उनले त्यही बेला आफ्नो खुट्टा सुन्निएको देखे र उनलाई सास फेर्न पनि गाह्रो भइरहेको थियो । जँचाउन अस्पताल जाँदा उनका दुवै मिर्गौला फेल भइसकेका थिए ।
अब उनीसँग घर फर्कने बाहेक अर्को विकल्प थिएन ।
अहिले ३२ वर्षका गुरुङ काठमाडौंको राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा बसिरहेका छन् । उनलाई हप्ताको तीन पटक डायलाइसिस गर्नु पर्छ । अहिले उनमा पहिले जस्तो तागत छैन र गह्रौँ भारी उठाउने जस्ता काम गर्दा उनको ज्यान नै तलमाथि हुन सक्छ ।


हरेक दिन पन्ध्र सय जति नेपाली युवाहरू रोजगारीका लागि देश छाड्छन् । उनीहरूले विदेशमा कमाएर पठाएको पैसाले नेपालको अर्थतन्त्रको ठुलो हिस्सा धानेको छ । सन् २०२४ मा नेपालको कुल ग्राहस्थ उत्पादनको २५ प्रतिशतभन्दा बढी हिस्सा रेमिट्यान्सले मात्र थेगेको थियो । तर रेमिट्यान्सबाट नेपालको अर्थतन्त्रमा आएको यो समृद्धिको मूल्य वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले चुकाइरहेका छन् । नेपालबाट विदेशिने स्वस्थ युवाहरू फेल भइसकेको मिर्गौला लिएर घर फर्किरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक दीपेश घिमिरे भन्छन्, “रेमिट्यान्सले गर्दा देशले जति लाभ लिएको छ, त्योभन्दा महँगो मूल्य परिवारले चुकाउनु परेको छ ।” ऊर्जाशील उमेरका युवापुस्ता नै यसबाट प्रभावित भएकाले यसको मूल्य चर्को रहेको उनी थप्छन् । हाल नेपाली आप्रवासी श्रमिकको औसत उमेर २९ वर्ष छ ।
पानी पिउने र शौचालय जाने समय पनि नपाउने र खाडी मुलुकको चर्को गर्मीमा लगातार कडा काम गर्ने श्रमिकहरूमा दीर्घकालीन मिर्गौला रोगको सम्बन्धमा विश्वव्यापी रूपमा चिन्ता बढ्दै गएको छ ।
नेपालमा पहिलो पटक डायलाइसिस सुरु गर्ने नेफ्रोलोजिस्ट ऋषि कुमार काफ्लेका अनुसार खाडी मुलुक र मलेसिया जाने प्रायः श्रमिकहरूमा तीनदेखि चार वर्षभित्र मिर्गौला रोग देखिने गरेको छ । मिर्गौलाले शरीरमा तरल पदार्थको सन्तुलन कायम गर्ने भएकाले उच्च तापक्रममा मिर्गौलामा धेरै भार पर्ने गर्छ । मिर्गौला रोग लाग्नुका धेरै कारणहरू हुन्छन् तर वर्षौँसम्म वैदेशिक रोजगारीबाट फर्केका मानिसहरूको परीक्षण गर्दा भौगोलिक बसाइँसराइ र मिर्गौला रोगका बिचमा महत्त्वपूर्ण सम्बन्ध देखिएको छ ।
राष्ट्रिय मिर्गौला उपचार केन्द्रको पछाडिपट्टि रहेको एक घरमा डायलाइसिस गराइरहेका १२ जना बिरामी र तिनका परिवारले कोठा भाडामा लिएर बसेका छन् । गुरुङले पनि त्यही घर नजिकै महिनाको ६ हजार रुपैयाँका दरले एउटा कोठा भाडामा लिएका छन् । यो सानो कोठामा उनी, उनकी श्रीमती र छोरी बस्छन् । कोठाको एउटा कुनामा खाना पकाउने र्याक छ, अर्को कुनामा एउटा खाट छ भने उनले साउदी अरबबाट ल्याएको लगेज भित्तामा अड्याएर राखिएको छ ।
गुरुङ हरेक साता तीन पटक डायलाइसिस गराउन जान्छन् । काम गर्न असमर्थ उनी अरू बिरामीसँग मिलेर कहिले तास खेलेर दिन बिताउँछन् भने कहिले एकअर्कासँग आफ्ना कथाहरू साटासाट गरेर बस्छन् । घरखर्च धान्ने जिम्मेवारी उनकी श्रीमतीको काँधमा आएको छ । महिनाभरि जे काम पाइन्छ त्यही काम गरेर उनी ८ हजार रुपैयाँ जति जुटाउँछिन् । तर उनीहरूको आर्थिक कठिनाइ अन्त्य हुने कुनै सङ्केत छैन । कुनै उपाय नलाग्दा गुरुङ सडकमा माग्दै समेत हिँड्छन् ।






काफ्लेका अनुसार एक दशकको अवधिमा एक जना मिर्गौला रोगीका लागि सरकारले ३० लाख रुपैयाँ खर्च गर्छ भने बिरामीले आफ्नो तर्फबाट थप २० लाख तिर्नु पर्छ ।
नेपाल सरकारले सन् २०१६ देखि मिर्गौला डायलाइसिस र ट्रान्सप्लान्ट सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ भने मिर्गौला फेल भएका बिरामीलाई ५ हजार रुपैयाँ भत्ता समेत दिँदै आएको छ ।
नेपाल कैयौँ गम्भीर रोगहरूसँग जुधिरहेको भए पनि सरकारको स्वास्थ्य बजेटको सबैभन्दा ठुलो हिस्सा (अर्थात् २.१%) डायलाइसिसमा मात्र खर्च हुने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटा बताउँछन् ।
सरकारी अनुदानका बाबजुद पनि गुरुङले स्वास्थ्य परीक्षण र औषधिका लागि महिनाको झन्डै १० हजार रुपैयाँ थप खर्च गर्नु परिरहेको छ ।
ग्लोबल प्रेसले जनवरीमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रको भ्रमण गर्दा मिर्गौला ट्रान्सप्लान्ट र डायलाइसिस गरिरहेका बिरामीमध्ये एक तिहाइ बिरामी वैदेशिक रोजगारबाट फर्केका श्रमिकहरू थिए । केन्द्रका डाक्टरहरूका अनुसार वर्षौँदेखि यही अवस्था छ ।


गुरुङ जस्तै खाडी मुलुक र मलेसिया जाने ५९% श्रमिकहरू अदक्ष छन् । काफ्लेका अनुसार कम सीप भएका त्यस्ता कामदारहरूले प्रायः प्रतिकूल वातावरणमा काम गर्नु पर्छ, रोजगारदाताबाट शोषण खेप्नु पर्छ र लामो समयसम्म विश्रामविनै उच्च तापक्रममा काम गर्नु पर्छ ।
बहराइन, कतार, साउदी अरब, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स सदस्य रहेको गल्फ कोअपरेसन काउन्सिलले जुलाई २०२४ मा १९४० पछिकै सबैभन्दा गर्मी दिनहरू रेकर्ड गरेका थिए । साउदी अरबको राजधानी रियादमा जुलाई महिनाको तापक्रम ४६ डिग्री सेल्सियससम्म पुगेको थियो ।
उच्च तापक्रमका बाबजुद पनि अधिकांश खाडी मुलुकमा मध्यान्हको समयमा काम गर्न कडा रोक लगाइएको छैन । ह्युमन राइट्स वाचका अनुसार चर्को गर्मीमा काम गर्न रोक लगाएका देशले पनि वेट बल्ब ग्लोब टेम्प्रेचर इन्डेक्स प्रयोग गर्नुको साटो गर्मी महिनामा तोकिएको समयमा मात्र भवनबाहिर काम गर्न रोक लगाएका छन् । वेट बल्ब ग्लोब टेम्प्रेचर इन्डेक्स धेरै देशले प्रयोग गर्दै आएको इन्डेक्स हो र यसले वायुको तापक्रम र सापेक्ष आद्रताका आधारमा अकुपेसनल हिट स्ट्रेसको मापन गर्छ ।
यस्तो हुँदा हुँदै पनि नेपाली आप्रवासीहरूका लागि खाडी मुलुक नै लोकप्रिय गन्तव्य बन्दै आएको छ ।
१९७० को दशकदेखि खाडी मुलुकहरूमा निर्माण कार्यका लागि श्रमिकको माग वृद्धि भएको थियो । नेपाली श्रमिकहरूले त्यही बेलादेखि नै यी देशमा श्रमका अवसरहरू देख्दै आएका छन् र उनीहरू १९८० को दशकको मध्यदेखि वैदेशिक रोजगारीका लागि ती मुलुक जान थालेका हुन् । १९९० मा रेमिट्यान्सले नेपालको कुल ग्राहस्थ उत्पादनको लगभग २ प्रतिशत ओगटेको थियो । अहिले झन्डै ३५ लाख नेपालीहरू विदेशमा काम गरिरहेका छन् र तीमध्ये अधिकांश खाडी मुलक र मलेसिया छन् ।
संखुवासभा जिल्लाको दुर्गम ठाउँका सागर तामाङ पैसा कमाएर गाउँमै पक्की घर बनाउने सपना बोकेर मलेसिया हानिएका थिए । उनलाई पानी नचुहिने बलियो घर बनाउन मन थियो ।
उनले मलेसियामा दुई वर्ष कृषि क्षेत्रमा काम गरे । उनले त्यहाँ दिनको १२ घण्टासम्म तरकारी लगाउने र फलफूल टिप्ने काम गर्थे । तर यो कामबाट खासै कमाई भएन । त्यसैले उनले अझ राम्रो काम खोजे र सुरक्षा गार्डका रूपमा काम गर्न थाले । उनले त्यहाँ छ वर्ष काम गरे । आफूले लगातार ३६ घण्टाको सिफ्ट गर्ने गरेको उनी बताउँछन् । हरेक महिना उनी ४० हजार रुपैयाँ घर पठाउँथे । उनले पठाएको पैसाले उनकी आमाले एउटा पक्की घर बनाएर उनको सपना पूरा गरिन् ।
वर्षौँसम्म कडा श्रम गरेपछि एक दिन काम गर्ने क्रममा तामाङलाई रिगँटा लाग्यो र त्यसपछि विभिन्न स्वास्थ्य समस्या देखिन थाले । मलेसियाको अस्पतालमा पाँच दिन भर्ना भएर जँचाउँदा उनका मिर्गौलाले राम्रोसँग काम गर्न छाडेको पत्ता लाग्यो ।
नयाँ खोजका अनुसार चर्को गर्मीमा ब्रेकविनै काम गर्ने स्वस्थ श्रमिकहरूको समेत शरीरका अङ्गमा बिस्तारै असर पर्दै जाने देखिएको छ । यस्ता समस्याहरूका बारेमा एकदमै ढिलो थाहा हुन्छ र थाहा पाउँदा धेरै नै ढिलो भइसकेको हुन्छ । बोर्नमाउथ विश्वविद्यालयले सन् २०२१ मा गरेको एक अध्ययनमा ९२.१ प्रतिशत नेपाली नेफ्रोलोजिस्टहरूले बताएअनुसार मिर्गौला रोग लिएर फर्किएका अधिकांश श्रमिकहरूमा पहिले कुनै ठुलो रोग थिएन ।






नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार अधिकांश आप्रवासी श्रमिकहरू आधारभूत स्वास्थ्य शिक्षा र स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण जानकारीबाट वञ्चित हुन्छन् र उनीहरूले यस्ता किसिमका रोगबाट बच्नका लागि कुनै पूर्वतयारी वा सुरक्षाको उपाय अवलम्बन गरेका हुँदैनन् । पर्याप्त नीतिविनाको बसाइसराइ प्रणाली, स्वास्थ्य सेवाको पहुँचमा कमी र गैरकानुनी यात्रा र श्रम समस्याले गर्दा यो समस्या झन् धेरै विकराल बनेको छ र यसले गर्दा श्रमिकले उचित स्वास्थ्य जाँच र सुरक्षा प्राप्त गर्न सकेका छैनन् ।
सरकारले प्रभावित नागरिकलाई निःशुल्क डायलाइसिस प्रदान गरिरहेको बताउँछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे भन्छन् “आप्रवासी कामदारहरूले खान नहुने कुराहरू जथाभाबी नखाएर अनुशासित रूपमा बसेको भए उनीहरूलाई रोग लाग्दैनथ्यो । उनीहरूलाई रोग लाग्यो उनीहरू नै पूर्ण जिम्मेवार हुन्छन् ।”
अझै पनि मिर्गौला दान गर्ने व्यक्तिको खोजीमा रहेका गुरुङ बलियो आत्मविश्वास लिएर बसेका छन् । उनी आफू जवान हुँदाको समयलाई फर्केर हेर्छन् — त्यति बेला उनी ऊर्जा र जीवनले भरिपूर्ण थिए र अज्ञात ठाउँमा जाँदै थिए । अहिले विगतलाई सम्झँदा उनलाई कुनै कुराको पछुतो छैन । उनी भन्छन्, “जस्तो भाग्यमा लेखेको छ त्यस्तै भोगिरहेको छु ।”


