झापा, नेपाल — एक दाजुभाइलाई जिज्ञासु बनाउँदै घेरिएको ठाउँको एउटा कुनामा दुई अजिङ्गर गुजुल्टिएर बसेका छन् । ११ वर्षका अनिल थापा त्यस खोरको तार जालीलाई घचेडेर हल्लाउँछन् भने ४ वर्षका अनिश त्यही हल्लाएको तारजालीको प्वालबाट अजिङ्गरतिर एउटा मसिनो ढुङ्गा फ्याँक्छन् । ढुङ्गा ठ्याक्कै ठाउँमै पर्छ । अजिङ्गर चलमलाउँछ र केटाहरु तर्सेर “ला! टोक्छ, भाग्” भन्दै चिच्याउँछन् र पर सर्छन् ।
यी दाजुभाइ पूर्वी नेपालको जामुनखाडी सामुदायिक वनको सानो चिडियाखानामा छन् । विगतमा उद्धार केन्द्र रहेको यस ठाउँ कुनैबेला जङ्गलमा बसोबास गर्ने तर घाइते भएकाले यहाँ ल्याइएका वन्यजन्तुहरुले भरिएको छ । हाल यो ठाउँ सर्वसाधारणको लागि खुला गरिएको छ ।
सन् २०१७ मा सरकारले वैधता प्रदान गरेयता नेपालका सामुदायिक वनभित्र साना चिडियाघर छ्याप्छ्याप्ती खुलेका छन् । तर जनावरहरुलाई साँघुरो खोरभित्र राखिएको र अदक्ष कर्मचारीद्वारा खाना खुवाउने र रेखदेख गर्ने गरिएको संरक्षणविद् बताउँछन् । स्कूलका विद्यार्थीका लागि यी जूहरु लोकप्रिय फिल्ड ट्रिप गन्तव्य हुने गरेको छ । त्यसैले, बालबालिकाले वन्यजन्तुप्रतिको उचित व्यवहारको बारेमा गलत सन्देश पाइरहेकाले शिक्षाविद् र अभिभावकहरु चिन्तित बनेका छन् । यदि यस्ता सामुदायिक चिडियाखानालाई प्रभावकारी सिकाइ केन्द्रको रुपमा विकास गर्ने हो भने, त्यहाँ वन्यजन्तुका बारेमा सूचना पाटी हुनुपर्छ र उनीहरुका बासस्थान पनि प्रत्येक प्रजाति सुहाउँदो हुनुपर्छ, उनीहरु भन्छन् ।
“साँच्चै नै सिकाइ केन्द्र बनाउने हो भने वन्यजन्तु-मैत्री खोर बनाउन आवश्यक छ,” पाथीभरा इङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल राजन सिग्देल स्कूलका १५० विद्यार्थीहरुसँग जामुनखाडीको सामुदायिक चिडियाखानाको भ्रमणमा बताउँछन् । केही विद्यार्थी आफूलाई ती जनावरसँग तुलना गर्ने र उनीहरुलाई सानो खोरभित्र देखेर दु:खी हुने गरेको उनी बताउँछन् । “साँघुरो खोरमा दुर्गन्ध फैलिने गरी वन्यजन्तु राख्दा बालबालिकाको मस्तिष्कमा नकारात्मक छाप पर्नसक्छ ।”
उनी एउटै खोरभित्र चारवटा हिमाली गिद्ध बसेको तर्फ इशारा गर्छन् । एउटाको खुट्टा सुन्निएको छ । जङ्गलमा बस्दा यी जनावरहरु गुँडमा एक्ला-एक्लै वा स-साना समूहमा बस्ने गर्दछ्न्, प्राकृतिक छटा विनाको भुइँमा होइन कि ठाडा भीरपहरामा पँखेटा फिजाउँछन् ।
कामदारहरुमा जनावरको रेखदेख गर्ने प्राविधिक ज्ञानको कमीले गर्दा हालैमात्र पूर्वी नेपालका सामुदायिक चिडियाखानामा केही जनावरहरु मरेको वन विभागका कर्मचारीहरु बताउँछन् । तर यस्ता केन्द्रहरु विभागको क्षेत्राधिकारभन्दा बाहिर पर्ने भएकोले विभागले मृत्युको कुनै आधिकारिक रेकर्ड नराख्ने र सामुदायिक वन समूहले नै यसको व्यवस्थापन गर्ने डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अन्जना पुरी बताउँछिन् ।
सन् २०२२ मा तापले गर्दा मेचीनगरको कालिका सामुदायिक वनको चिडियाघरमा दुई अजिङ्गर मरेको वन उपभोक्ता समितिका वन हेरालु राजन राई बताउँछन् ।
“अजिङ्गरलाई माटो चाहिने रहेछ । हामीले सिमेन्टको पक्की खोर बनायौं, बाफिएरै मरे,” उनी भन्छन् ।
सन् २०१९ मा जामुनखाडीको चिडियाघरमा पनि एउटा अजिङ्गर मरेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका निवर्तमान अध्यक्ष ख्यामराज सिटौला बताउँछन् । यस संस्थाले सो चिडियाघर संचालनको निरीक्षण गर्ने गर्दछ ।
त्यस्तै, सन् २०२० यता बाँसबारी सामुदायिक वनको चिडियाखानामा मरेकामा चार हरिण, एक दर्जन लभ वर्ड र एउटा अस्ट्रिच रहेको जिल्ला सामुदायिक वन उपभोक्ता महासंघ नेपालका झापा अध्यक्ष वेदप्रकाश भण्डारी बताउँछन् । अनुचित बासस्थानको कारण केहीलाई भने अन्य जनावरहरुले आक्रमण गरेर मारिदिएका थिए ।
“नेपालका [सामुदायिक वनका] जूहरुको अवस्था दयनीय छ । त्यहाँ उद्धार गरेर राखिएका वन्यजन्तुको उद्धार गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ,” राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता अम्बिकाप्रसाद खतिवडा भन्छन् ।
पर्या-पर्यटकको आकर्षण
यी साना चिडियाघर नेपालका चर्चित सामुदायिक वनभित्र छन् जसलाई संरक्षणको विकेन्द्रित मोडेलमा स्थानीय समुदायद्वारा पूर्णरुपमा व्यवस्थापन गरिएको छ । सन् २०१७ अघिसम्म सामुदायिक वन समूहले प्राणी उद्यान खोल्ने अनुमति नपाएपनि, जामुनखाडीसहित १७ वटा त्यस्ता समूहले घाइते वन्यजन्तुको लागि उद्धार केन्द्र संचालन गरेका थिए । केही समय अघिसम्म पनि नेपालको एकमात्र अधिकारिक चिडियाखाना ललितपुरको सदर चिडियाखाना थियो ।
तर नेपाल सरकारले सन् २०१७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई संशोधन गरी सामुदायिक वन समूहलाई पर्या-पर्यटन उद्यमको रुपमा वन्यजन्तुको प्रदर्शन गर्न अनुमति दिएयता यसमा परिवर्तन आएको हो । सरकारले सन् २०१९ को नयाँ वन ऐनमा पनि यी संशोधनलाई निरन्तरता दिएको थियो । त्यसयता करिब ५० सामुदायिक चिडियाखानाहरु खुलेका छन्, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारी भन्छन् ।
जामुनखाडीमा पहिलेदेखि नै उद्धार केन्द्रमा बसिरहेका घाइते, बुढा वा जङ्गलमा बाँच्न नसक्ने जनावरहरुका साथसाथै धेरै दु:ख दिएकाले जङ्गलबाटै समातिएका वन्यजन्तु समावेश छन् । त्यहाँ स्वस्थ्य जनावरहरु पनि छन् । आगन्तुकहरुले प्रवेशको लागि १०० रुपियाँ (०.७५ अमेरिकी डलर) सम्म तिर्नुपर्छ र सो आय पार्कको संचालनमा प्रयोग हुने गर्दछ, सिटौला भन्छन् ।
कोशी प्रदेशको सबैभन्दा ठूलो सामुदायिक चिडियाखाना जामुनखाडीमा फेब्रुअरीको भ्रमणमा बालबालिकाहरुको बाक्लो भिड देखिन्छ । यहाँ सरीसृप, चराचुरुङ्गी र स्तनपायी समेत जम्मा २८ प्रजाति छन् । सन् २०२२ को एक अध्ययन अनुसार, यीमध्ये ९ जनावर विश्वव्यापी रूपमा खतरामा परेका हुन् भने १५ वटा नेपालमै जोखिममा परेका हुन् ।
जनावरहरुलाई, जङ्गलमा भएका उनीहरुका बासस्थानको कुनै झल्को नपाइने साना खोरमा राखिएको छ । सिमेन्टको ढलान वा खस्रो जमिनको भुइँ छ । साइडमा तारजाली छन् । धेरैजसो घेरिएको ठाउँमा प्रजातिको कुनै नाम छैन र भएका थोरैमा पनि देखाइएका जनावरको बारेमा अन्य कुनै जानकारी छैनन्।
यद्यपि, सिटौला भन्छन्, यस्ता प्रदर्शनीले बालबालिकाहरुलाई किताबमा मात्रै पढ्न पाउने जनावरको बारेमा ज्ञान दिन्छ ।
उचित बासस्थान?
सन् २०२३ मा, प्रदेश र जामुनखाडी सामुदायिक वनले २ करोड रुपियाँ (१५०,००० डलर) भन्दा बढी लगानी गरेर काठ र बाँसका खोरलाई सिमेन्ट र तारजालीका घेरामा प्रतिस्थापन गरी आधुनिक उद्धार केन्द्र बनाएको सिटौला बताउँछन् । जनावरहरुलाई उचितरुपमा राखिएको र रेखदेख गरिएको छ, उनी भन्छन् ।
अन्य संरक्षणविद्हरु असहमति जनाउँछन् । दुर्लभ प्रजातिलाई राखिने केन्द्रहरुलाई राम्रोसँग व्यवस्थापन गर्दा अध्ययन र अनुसन्धानको लागि उपयोगी हुने भएपनि धेरैजसो सामुदायिक चिडियाखानाहरु नाजुक अवस्थामा रहेको काठमाडौंस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्रकी कार्यक्रम व्यवस्थापक रचना साह बताउँछिन् ।
विगतमा काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका प्राणीशास्त्री डा. मुकेशकुमार चालिसे भन्छन्, सामुदायिक वनहरूले खोरमा राखिएका जनावरका प्रजातिको आवश्यकता बुझेर अनुकूल र उनीहरुलाई प्रजनन गराउन मिल्ने बासस्थानको निर्माण गर्नुपर्छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयअन्तर्गत झापाका वन विज्ञानका प्राध्यापक तपिलप्रकाश राईका भनाइमा जनावरहरुलाई कहिलेकाहीं गलत पहिचान गरिएको हुन्छ । उनले हालै जामुनखाडीमा गलत पहिचान गरिएको कछुवालाई सच्याएका थिए ।
“यदि जनावरको बारेमा गलत सूचना राखियो भने, बालबालिकाले गलत सिक्छन्,” उनी भन्छन् । “त्यसैले पनि यस्ता उद्धार केन्द्रमा विषय विज्ञहरुको संलग्नता गराएर वन्यजन्तुको सूचना सही राख्नु आवश्यक छ ।”
आफ्ना पाठ सिक्दै
बालबालिकाले सिक्नको लागि जनावरहरुलाई उनीहरुको उचित बासस्थानमा देख्नुपर्छ, शिक्षा विकास तथा समन्वय इकाइ झापा प्रमुख राजकुमार विक भन्छन् ।
सूचना पाटीहरुले जनावरहरुको मूल बासस्थान र क्षेत्रको साथै कसरी उनीहरु चिडियाघरसम्म आइपुगे भन्ने जानकारी दिनुपर्छ, उनी भन्छन् । बालबालिकाले बुझ्ने भाषामा हुनुपर्छ, उनी थप्छन् ।
यस्ता जानकारी विना, केटाकेटीहरुले ती जनावरहरु चिडियाखानामै जन्मे होलान् भन्ने गलत धारणा बनाउन सक्छन्, उनी भन्छन् । “विद्यालय र शिक्षकहरुले विद्यार्थीलाई अवलोकनका लागि लैंजादा आफू पनि सचेत [ती जनावरको पृष्ठभूमिबारे] हुन आवश्यक छ ।”
फेब्रुअरीको भ्रमणमा स्कूलका केटाकेटीहरु उत्साहित र जनावरबारे अन्यौलमा छन् । कोही खोरका जाली हल्लाउँछन् र जनावरको प्रतिक्रिया पाउन उनीहरुलाई जिस्काउँछन् । अलग्गै रहेको र भुइँमा सिमेन्टको ढलान भएको साँघुरो ठाउँमा बसेको हिमाली कालो भालुसँग कुनै खेल्ने साथी नभएकोमा एक बालक दु:खी देखिन्छन् ।
दुई शिक्षकहरु पनि साँघुरो तापयुक्त घेराबारे आफू अन्यौलमा रहेको बताउँछन् । यी वन्यजन्तुलाई जङ्गलमै राख्दा राम्रो हुन्छ, उनीहरु भन्छन् ।
मायामितु न्याैपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।