नामसुङ, नेपाल – पाँच वर्षअघि तिब्बती पठारको उच्च ठाउँमा रहेको दुर्गम गाउँ सामजोङमा एकसाथ बसिरहेका १८ परिवारले एउटा ठूलो निर्णय गरे: आफ्ना भएभरका सबै चीजवस्तु पोको पारेर त्यहाँबाट लगभग ८ किलोमिटर दक्षिणपश्चिममा बालीनाली खेतीका लागि पर्याप्त पानी भएको क्षेत्रमा बसाइँ सर्ने ।
यो उनीहरूले बाँच्नका लागि रोजेको विकल्प थियो। उनीहरूको पुरानो घर रहेको सामजोङमा एक समय लहलह जौ र केराउ फल्ने खेतहरू सुकेका थिए। गाईवस्तु पानीको खोजीमा यताउता भौंतारिन्थे।
संसारभरि नै ग्रामीण मानिसहरू उनीहरूको जमिनले अबउप्रान्त उनीहरूलाई चाहिने खाद्यान्न उत्पादन गर्न छोडेपछि प्रायः धेरै जनसंख्या भएको अन्य क्षेत्रमा बसाइँ सर्ने गर्दछन्, यस प्रक्रियामा उनीहरूले खाने बानी परिवर्तन गर्छन्। तर सामजोङका बासिन्दाहरूले फरक तरिकाले रोजे।
उनीहरूको बसाइसराइले चार वर्ष भन्दा बढी समय लिए तापनि यसका प्रतिफल अहिले देखिएका छन्। उनीहरूले शरद ऋतुमा पहिलो बाली फलाए। अप्रिल महिनामा उनीहरूले नयाँ सिंचाई कुलोहरू खने र फेरि बीउ रोपे।
“यहाँ प्रशस्त पानी छ,” नजिकैको खोलाबाट सुक्खा बाँझो खेतमा पानी ल्याउन चर्को घाममा काम गरिरहेका ३२ वर्षीय पासाङ छिरिङ गुरुङ भन्छन्।
केही दिनमै त्यो खेतमा कोदो रोपिनेछ।
सो गाउँ सामुहिक रूपमा आफ्नो सबै कुरा पोको पारेर अर्को नयाँ ठाउँमा जाने निर्णय गर्नु विश्वभर देखिएका प्रचलनहरूबाट नितान्त बेग्लै अभ्यास हो। संसारभरि बसाइसराइको कारणमध्ये खाद्य असुरक्षा एउटा प्रमुख कारण हो, तर धेरैजसो अवस्थामा भोकले पिल्सिएका ग्रामीण मानिसहरू शहरी क्षेत्रहरूमा पस्ने गरेका छन्। त्यहाँ उनीहरूले शिक्षा र जागिरका अवसरहरू भेट्टाउन सक्छन्, तर कहिलेकाहीं के खाने र कसरी खाने भन्ने कुरामा उनीहरू नियन्त्रण गर्न सक्दैनन्। वास्तवमा, अन्तर्राष्ट्रिय आप्रवासन संगठनको अनुसन्धानअनुसार शहरी क्षेत्रहरूमा बसाइँ सर्ने धेरै मानिसहरूले शारीरिक सुरक्षामा खतराका अतिरिक्त खाद्य असुरक्षा अनि कुपोषणको समेत सामना गर्छन्।
पहिलेभन्दा अहिले धेरै मानिसहरू बसाइ सरिरहेका छन्, र विश्व खाद्य कार्यक्रमले मे महिनामा प्रकाशित गरेर एउटा महत्वपूर्ण अनुसन्धानका अनुसार यी विश्वव्यापी आप्रवासन प्रवृत्तिहरू प्रायः कुनै न कुनै रूपमा खाद्य असुरक्षासँग जोडिएका छन्। अनुसन्धानकर्ताहरूको निस्कर्ष अनुसार मानिसहरू अनिवार्य भएर बसाइ सरेपछि आफ्नो घरको क्षेत्रको नजिकै रहने मानिसहरूले धेरै हदसम्म आफ्ना लागि सन्तोषजनक जीवन सिर्जना गर्नसक्छन् र यसबाट उनीहरूले आफ्नो यात्रालाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई बीट मार्न सक्नेछन्।
सामजोङका बासिन्दाहरूले कुनै पनि बाहिरी ठूलो सहायता विना नै बसाइसराइ गरेका छन्, उनीहरूको यस बसाइसराइमा स्थानीय संस्था लो मुस्ताङ फाउन्डेसनको केही सहयोग र यस क्षेत्रमा भ्रमण गरेका एक जना स्वीस फोटोग्राफरबाट केही चन्दा मात्र पाएका थिए। पानी पर्न छोडेपछि र र तिब्बती पठारको हिमखण्ड संकुचित भएपछि उनीहरूको गाउँ नजिकैको नदी सुकेको थियो। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र इसिमोडका रिमोट सेन्सिङ विशेषज्ञ सम्जवलरत्न बज्राचार्यले सन् २०१४ मा जेपीजेलाई बताएअनुसार नेपालको हिमनदी क्षेत्र प्रति वर्ष ३८ वर्ग किलोमिटर (१४.७ वर्ग माइल)ले संकुचित हुँदै आएको छ। (त्यो स्टोरी यहाँ पढ्नुहोस्।)
यी गाउँलेहरू वंशका आधारमा तिब्बती हुन्। उनीहरूले बताएअनुसार उनीहरूका पुर्खाहरू करिब ५०० वर्ष पहिले पहिले सामजोङमा आएर बसोबास गरे र पुस्तौंदेखि सफलतापूर्वक खाद्यान्न उब्जाउ गर्दै आए। तर गाउँको खेतीबालीका लागि जीवनआधार मानिएको सामजोङ खोला करिब ३५ वर्षअघिबाट सुक्न थालेको थियो।
यी मानिसहरू खाद्यान्न किनमेल गर्न चिनियाँ सीमाना वा माथिल्लो मुस्ताङ क्षेत्रको राजधानी लो मान्थाङसम्म पैदल हिँड्न बाध्य हुन पुगे – कुनै बेला यी ठाउँमा उनीहरूले आफ्नो खेतीपातीबाट धेरै भएका खाद्यान्न उनीहरूले बेच्ने गर्दथे।
यस क्षेत्रको राजपरिवारले लो मान्थाङबाट ४ किलोमिटर (२.५ माइल) पर नजिकैको कालीगण्डकी नदीको किनारमा रहेको नामासुङ क्षेत्रमा करिब १० हेक्टर (२५ एकड) जग्गा सामजोङका बासिन्दालाई नयाँ गाउँ बनाउन र खेती जग्गा विकास गर्न दान गरेको थियो । २०१३ मा, गाउँलेहरूले सो नयाँ स्थानमा एउटै लहरमा उस्तै प्रकारका समान घरहरू बनाउन थाले। स्वीस फोटोग्राफरबाट चन्दाको रूपमा आएको ६७ लाख रुपैयाँले उनीहरूलाई ढुङ्गा हटाउन र सामग्री किन्न सहयोग गर्यो, तर उनीहरूले आफ्नै श्रम प्रयोग गरेर घरहरू बनाए।पासाङ गुरुङ भन्छन्, “खोला नजिकै बग्छ। त्यहाँ पानी प्रशस्त छ। हामीसँग सामजोङमा भन्दा यहाँ पाँच गुणा बढी पानी छ।”
एउटा बाली राम्रोसँग खेती भइसकेपछि अब उनीहरूले खेतलाई विस्तार गर्दैछन् । यी खेतहरूमा सामुहिक स्वामित्वमा रहन्छ र सामुहिक रूपमा नै खेती गर्छन्।
अपर मुस्ताङ क्षेत्र दुर्गम छ, तर सामजोङ भने स्थानीय मापदण्ड अनुसार झन् दुर्गम मानिन्छ। यहाँ पैदल हिँडेर वा लो मान्थाङबाट तीन घण्टाको घोडा चढेर मात्र पुग्न सकिन्छ।
तर नामसुङ अन्य गाउँहरू भन्दा नजिक छ र सडकबाट पहुँचयोग्य छ।
कृषि विकास मन्त्रालयका सहसचिव सुरेशबाबु तिवारी भन्छन्, कुनै पनि समुदायको खानेकुरामा विविधीकरणका लागि अन्य ठाउँहरूमा पहुँच हुनु महत्त्वपूर्ण हुन्छ। नेपालभर, यस मन्त्रालयले मानिसका लागि स्वस्थ, सन्तुलित भोजन उपलब्ध गराउन काम गरिरहेको छ।
अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कअनुसार अधिकांश नेपालीहरू अर्थात् काम गर्न सक्ने उमेरका सबै मानिसहरूको ६८ प्रतिशत कृषिमा संलग्न छन्। यसका बाबजुद पनि विश्व खाद्य कार्यक्रमका अनुसार ५ वर्ष मुनिका बालबालिकामध्ये ४१ प्रतिशत कुपोषणका कारण पुड्को हुने गरेका छन् र विशेषगरी ग्रामीण क्षेत्रमा खाद्यान्नको मूल्य उच्च रहेको छ ।
तथापि देशैभरि मानिसहरूको जीवनस्तरमा सुधार भइरहेको छ, तिवारी भन्छन्।
“सडकको पहुँच र बजार प्रवेशले उपभोक्तालाई धेरै विकल्प दिएको छ,” उनी भन्छन्।
सामजोङको बसाइसराइ अझै पनि पूरा भएको छैन।
“हामीले हाम्रा गाईवस्तु सामजोङमा छाडेका छौं,” ३४ वर्षीय मिङमा धोन्डुप गुरुङ भन्छन्। “परिवारका एक सदस्य गाईवस्तु चराउन सामजोङमा बस्छन्।”
खेतहरू पूरा भएपछि र चर्ने जग्गा स्थापना भएपछि गाईवस्तुहरू गाउँमा जोडिनेछन्।
अहिलेका लागि कुनै हतार छैन।
पासाङ छिरिङ गुरुङ भन्छन्, ‘सबै ठिक हुन्छ । “यहाँ पर्याप्त पानी छ र बाली राम्रो छ। अब हामी बसाइसराइ गर्नु पर्दैन ।”
सम्पादक नोट: पासाङ छिरिङ गुरुङ र मिङमा धोन्डुप गुरुङ आफन्त होइनन्। यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूको एउटै थर रहकोले उनीहरूको थर मिलेको हो।
ग्लोबल प्रेस जर्नलकी रिपोर्टर शिलु मानन्धरले नेपालीबाट अन्तर्वार्ताहरू अनुवाद गरिन्। यस नेपाली संस्करण अंग्रेजी अनुवादबाट रुपान्तरण गरिएको हो ।