ढोला, नेपाल : यो पहाडी मुलुकमा लगभग सबैतिर दुई वर्षअघि गएको भूकम्पका संकेतहरु अझै पनि देखिन्छन् । भत्किएका बाटाहरु, घरका भग्नावशेषहरु, पूरै परिवारहरुको लागि बासस्थान बनेका पालहरु ।
प्रायः सबैतिर त्यस्ता दृश्यहरु देखिन्छन्, ७.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको ढोला गाउँबाहेक ।
यहाँ दुई समूहमा टलक्क टल्किने रातो छानो भएका र एकै डिजाइनमा लामबद्ध गरी बनाइएका ५५ वटा चिटिक्क परेका नयाँ घरहरु छन् । यहाँका सम्पूर्ण समुदायलाई केही नियमहरुले बाँधेको छ । सुनौलो रंगको यो बस्तीको प्रवेशद्वारमा लेखिएको छ, ‘हिंसा नगर्नु, मादकपदार्थ, लागूपदार्थ र सुर्ती सेवन नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झुटो र अपशब्द नबोल्नु ।’ त्योभन्दा केहीपर बौद्धमार्गीले ध्यान गर्ने एउटा नयाँ स्तुपा छ ।
“हामीलाई त स्वर्गमै भएजस्तो अनुभव हुन्छ,” आफ्ना साथीहरुसँग बरण्डामा आराम गरिरहेकी ढोलाकी कामिसाङ तामाङ, ७४, भन्छिन् ।
ढोलाका बासिन्दाहरु गाउँको पुनःजीवनको श्रेय आफ्नै गाउँका ३६ वर्षीय दिनेश तामाङलाई दिन्छन्, जसले आफ्नो एक्लो प्रयासमा ती घरहरु निर्माणका लागि जग्गा किने, बस्ती बसाल्न चाहिने पर्याप्त रकम संकलन गरे र ती सबै परिवारलाई स्थानान्तरणका लागि मनाएर समुदायकै संलग्नतामा बस्ती निर्माण गर्ने प्रयासको व्यवस्थापन गरे । (तामाङ उक्त गाउँको साझा थर हो । यो लेखमा उल्लेखित कसैसँग दिनेश तामाङको प्रत्यक्ष साइनो छैन ।)
दिनेश तामाङसहित ती सबै ५५ परिवारको मूल घर विकट रुवीभ्याली गाउँपालिकाको लापा र कपुर गाउँमा थियो । १२ वैशाख २०७२ मा गएको भूकम्पले निम्त्याएको विनाश र मानवीय क्षति यस्तो रह्यो की मानिसहरु आफ्नो आँसु अझै नथामिएको दुखेसो पोख्छन् ।
भूकम्पलगत्तै ती गाउँहरुमा पहिरो आयो, जसले गर्दा गाउँलेहरुका भत्किएका घरहरु पहाडका भिरालोमा खस्न थाले । ती पहिरोहरुमा थप मानिसले ज्यान गुमाए । जो बाँचे, ती हतास थिए ।
दिनेश तामाङ आफ्नो घर छाडेर स्वास्थ्य सहायक अध्ययनका क्रममा सिन्धुपाल्चोक जिल्लामा थिए र भूकम्पका बेला एउटा स्थलगत भ्रमणमा थिए । जमिन हल्लिन लाग्दा उनी बाहिर थिए । हेर्दाहेर्दै सबै भत्किएको उनी सम्झन्छन् ।
दुई साथी घटनास्थलमै बितेको उनी बताउँछन् । एकछिन अघिसम्म तन्दुरुस्त रहेका उनका एक साथी अपाङ्ग भए । कोही भग्नावशेषमा पुरिएका थिए । उनले भ्याएसम्म उनीहरुलाई उद्दार गरी नजिकैको अस्पताल पुर्याए ।
“ममा केही गर्नको लागि बाँचेको हुँ र मैले केही गर्नैपर्छ भन्ने भावना थियो,” उनी भन्छन् ।
तामाङ केही समयपछि आफ्नो गाउँ रुवीभ्याली फर्के र आफ्नो घरको बचेको भग्नावशेष देखे ।
“बालबच्चा, बुढापाका सबैले बचाउ भनेर हात जोड्न थाले,” उनी भन्छन् ।
त्यसपछि तामाङ आफ्नो काममा लागे । उनले नेपालभित्र र संसारभरका मानिसहरुलाई सहयोगका लागि अपिल गरे । ‘‘जति नै पैसा भएपनि त्यो ठूलो सहयोग हुनेछ,” उनले अरुलाई भने । यसरी सहयोगका लागि आउने दाताहरुमध्ये बौद्ध लामाहरु, स्थानीय गुम्बाहरु र क्यानाडास्थित चाइल्ड हेवन इन्टरनेसनललगायत छन् ।
चाँडै नै स्थानीय र अन्तर्राष्ट्रिय दाताहरुबाट उनले ढोलामा २१ रोपनी जग्गा किन्न सक्ने रकम संकलन गरे । लापा र कपुरका परिवारले त्यहाँ बस्नका लागि अस्थायी टेन्ट गाडे र घर निर्माणका लागि सबैले सँगै काम गर्नुपर्छ भनेर तामाङले तय गरेको एउटा महत्वपूर्ण नियम मान्न राजी भए ।
तामाङले बुनेको त्यो योजनाले काम गर्यो । ती परिवारहरुले महिनौं सँगै श्रमदान गरे । कयौं पटक गीत बजाउँदै जोसका साथ रातीसम्म काम गर्थे । सबैले आफ्नो क्षमता अनुसार योगदान गरे । कसैले डकर्मीको रुपमा त कसैले मजदुरी गरेर या त खाना बनाउने वा दाताले सहयोग गरेको बोतलको पानी पु¥याएर सबैले तामाङको अभियानमा साथ दिए ।
चैत २०७३ सम्म घर निर्माण भए अनि एकसाथ एउटै नयाँ समुदायमा बसाईं सरे ।
अहिले सबै खुशी छन् ।
“यसरी परिवारसँग पक्कीघरमा बस्छु भन्ने त मैले कल्पना पनि गरेको थिइनँ,” उक्त नयाँ बस्तीको एउटा घरमा आफ्नो परिवारसँग बस्ने सोनीमाया तामाङ भन्छिन् ।
राष्ट्रियस्तरमा पुनःनिर्माणको प्रयासहरु कमजोर भएकाले केही सरकारी पुनःनिर्माण अधिकारीहरु ढोलाको सफलतालाई इर्ष्याको नजरले हेर्छन् । देशभरमा लाखौं परिवारहरु आफ्नो घर पुनःनिर्माणका लागि अझै संघर्षरत छन् । चाहे निर्माणको लागि चाहिने प्राविधिक उपलब्ध गराएर होस् वा निजी आवास पुनःनिर्माणको लागि प्रतिवद्धताअनुरुपको अनुदान प्रदान गरेर, सरकारले ती भूकम्पपीडित परिवारहरुलाई अझै सक्दो सहयोग पुर्याउन सकेको छैन् ।
दिनेश तामाङले गरेको काम हरेक ढंगले त्यसमा पनि देशभर रहेका पुनःनिर्माणका चुनौतीहरुसँग तुलना गर्दा उदाहरणीय रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका धादिङ जिल्ला संयोजक रवीचन्द्र पञ्जियार बताउँछन् । ढोला गाउँ धादिङ जिल्लामै पर्छ ।
“दिनेशको कामबाट हामीले ठूलो पाठ सिक्न सक्छौं,” पञ्जियार भन्छन् ।
समुदायको सात करोड रुपियाँ बराबरको श्रम सहायतासहित ढोला परियोजनामा कूल १६ करोड रुपैयाँ खर्च भएको तामाङ बताउँछन् । यो पैसामा एउटा स्वास्थ चौकी र अरु केही सुविधायुक्त संरचना निर्माण खर्च पनि समेटिएको छ ।
प्रत्येक घरको मूल्य करिब १४ लाख रुपैयाँ पर्छ ।
दिनेश तामाङ अब अरु गाउँहरुलाई पनि सहयोग गर्ने इच्छा व्यक्त गर्छन् । धादिङमा ३२ रोपनी जग्गा किन्ने र एक सय घर बनाउने उद्देश्य छ उनको ।
“सबैले सक्दो सहयोग गरिदिए चाँडै घर बनाउने छु,” उनी भन्छन् ।
जीपीजेका सागर घिमिरेले यो लेख नेपालीमा अनुवाद गरेका हुन् ।