काठमाडौं, नेपाल — एक शनिबार सुनिलबाबु पन्त काठमाडौंको ठमेल क्षेत्रमा बिहान ८ बजेदेखि मध्यान्नसम्म मन्दिर-मन्दिर डुल्छन् र करिब ५० मन्दिर भ्याउँछन्। प्रत्येक मन्दिरमा छिर्नेबित्तिकै उनका आँखा अजिमा खोज्न थाल्छन्। नेवारी देवी अजिमालाई अरु देवताहरुझैं कुनै आकृतिले प्रतिनिधित्व गर्दैन, बरु उनलाई भित्तामा वा भुइँमा प्वालको रुपमा देखाइन्छ जसले देवीको गर्भ वा योनिलाई संकेत गर्दछ। यस देवीलाई एकापट्टि कंकाल र अर्कोपट्टि पुरुष र महिला दुबैको जनेन्द्रिय भएको एक आकृतिले रक्षा गरेको हुन्छ।
“हजारौं बर्षअघि, छ वटा फरक लैङ्गिक पहिचानको अस्तित्व थियो,” यौनिक अल्पसंख्यकका अधिकारका मामिलामा नेपालका प्रमुख अभियानकर्ता ५१ वर्षीय पन्त भन्छन्। अजिमाको खोजीमा पन्त काठमाडौंका सयौं मन्दिरहरुमा भौंतारिन्छन्। बहुलिंगीहरुलाई पुन: आत्मसम्मान दिने समाजको खोजीमा आफू रहेको उनी बताउँछन्।
सन् २००८ मा, पन्त खुल्लारुपमा एसियाकै पहिलो समलिङ्गी संघीय विधायक बने। उनले समलैङ्गिक विवाहलाई मान्यता दिनुपर्ने माग गर्दै दायर गरेको निवेदनको जवाफमा, नेपालको सर्वोच्च अदालतले सन् २०२३ मा एक अन्तरिम आदेश जारी गर्दै सरकारलाई समलिङ्गी विवाह दर्ता गर्न र अन्तिम फैसला नआउन्जेल त्यस्ता विवाहको अस्थायी अभिलेख राख्न निर्देशन दिएको थियो। सोही वर्षको अन्त्यमा नेपालले दुईवटा समलिङ्गी विवाह दर्ता गरेको थियो।
समलिङ्गी विवाह पन्तले नेपाली समुदायका लागि लडेका र जितेका धेरैवटा कानुनी लडाइँमध्ये एक हो। यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघ नेपालकी कार्यक्रम संयोजक सिमरन शेरचन भन्छिन्, “यौनिक” तथा “लैङ्गिक अल्पसंख्यक” शब्दहरू नेपालमा खुलेर चर्चा पनि गर्न नसकिने समयमा पन्त उदाएका हुन्। उनकै निरन्तर लडाइँको फलस्वरूप, आज नेपाललाई यौनिक र लैङ्गिक अल्पसंख्यकका सम्बन्धमा प्रगतिशील कानुन भएको देश मानिन्छ। पन्तकै कामका कारण, “आज हामी [यौनिक अल्पसंख्यकहरू] आफ्ना लागि खुलेआम वकालत गर्न सकिरहेका छौं,” शेरचन भन्छिन्।
पन्तले सन् २००७ मा एक मुद्दा जितेका थिए जसले सरकारलाई सबै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूहहरूका लागि पूर्णरुपमा आधारभूत समानताको ग्यारेन्टी गर्न र “तेस्रो लिङ्गी” लाई मान्यता दिन बाध्य तुल्यायो। सन् २०११ मा, नेपाल आफ्नो जनगणनाका फारामहरूमा “तेस्रो लिङ्गी” लाई मान्यता दिने विश्वकै पहिलो देश बन्यो। साथै, पन्तकै रिटको आधारमा, सन् २०१२ मा नागरिकता प्रमाणपत्रको लिङ्ग उल्लेख गरिएको महलमा “अन्य” समावेश गरी यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूलाई नागरिकता प्रदान गर्न नागरिकतासम्बन्धी नियमावली संशोधन गरियो।
पन्तको जन्म पहाडी जिल्ला गोर्खाको गाउँमा भएको थियो जहाँ उनले अध्ययन पनि गरे। पछि उनी काठमाडौं आए र सन् १९९१ मा बेलारुसमा कम्प्युटर साइन्स अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरे। त्यहाँको पाँच वर्षको बसाइमा, उनले यौनिक र लैङ्गिक अल्पसंख्यकहरू गिरफ्तार भएको देखे र उनीजस्ता मानिसहरूलाई समाजले कलंकित गरेको पाए। सन् १९९७ मा जापानमा इन्टर्नसिप गर्न गएपछि मात्र उनले पहिलोपटक आफ्नो यौनिक स्वतन्त्रताको अनुभव गर्न पाएका थिए। जापानले सबै लैङ्गिक समूहका लागि खुल्ला संस्कृति प्रदान गरेको छ, उनी भन्छन्।
जापानमा आफ्नो पहिचानको बारेमा आत्मविश्वास बटुलेपछि, हङकङमा सन् १९९८ मा एमफिलमा भर्ना भएका पन्तले देशमा आफ्नो समुदायलाई सहयोग गर्न नेपाल फर्किने निर्णय गरे। काठमाडौंमा आफूजस्तै मानिस खोज्ने हेतुले उनी काठमाडौंको मुटुमा रहेको सार्वजनिक पार्क रत्नपार्क पुगे, जहाँ यौनकर्मीहरु ग्राहक खोज्न उभिन्छन्। यी सबै गोप्य थिए किनभने वेश्यावृत्ति नेपालमा गैरकानुनी थियो र अझै छ। त्यहीं उनले अर्को समलिङ्गी नेपाली पुरुष भेटे।
पन्त रत्नपार्क जान र धेरै मानिसहरुलाई भेट्न थालेपछि उनीहरुको यौन स्वास्थ्यको अवस्था दयनीय भएको थाहा पाए। सन् २००० तिर नेपाल सरकारले एचआईभी/एड्स कार्यक्रम शुरु गर्यो। त्यतिबेला नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूबारे कुनै अध्ययन नभएकोले सरकारले सहस्राब्दीको शुरुका वर्षमा एमएसएम (पुरुषसँग यौन सम्पर्क राख्ने पुरुष) लाई पनि जोखिमपूर्ण समूहको रूपमा समावेश गर्यो, देशमा एचआईभी/एड्सको क्षेत्रमा काम गर्ने संस्था स्पर्श नेपालका अध्यक्ष सुशिल खत्री बताउँछन्।
न्यूयोर्कको एक साथीको सहयोगमा पन्तले सन् २००३ मा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि यौन स्वास्थ्य सचेतना कार्यक्रम शुरु गरे। उनले नेपालभरिनै कन्डम र लुब्रिकेन्टहरू वितरण गरे जसले उनलाई समुदायमा कन्डम बहादुरको रुपमा चिनायो (“कन्डोम” लाई नेपालीमा उच्चारण गर्दा कन्डम हुन्छ र बहादुर नेपालीहरूको बिचको नाम हो जसको अर्थ “आँटिलो” हुन्छ)।
समुदायले उनीमाथि विश्वास गर्यो किनकि उनले आफ्नो पहिचान त्यस्तो समयमा खुलाए जब त्यसो गर्दा उनी पक्राउ पर्न वा मानसिक उपचारककहाँ पुर्याइन सक्थे। “जब उनीहरू कुनै सामान्य मौसमी रोगको उपचारका लागि जान्थे, उनीहरूलाई मनोचिकित्सककहाँ पठाइन्थ्यो। यस्तो मानसिकताका कारण उनीहरु अस्पताल जान समेत डराउँथे,” शेरचन भन्छिन्।
यस्तै विभेद बिरुद्ध लड्न, पन्तले काठमाडौंका ६०० भन्दा बढी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मानिसहरुलाई भेटी सन् २००१ मा यौन स्वास्थ्य र अधिकारमा काम गर्ने एक गैर-सरकारी संस्था निलहिरा समाजको स्थापना गरे। एकवर्षभित्रमै ८००० सदस्यहरु आवद्ध भए। तर, “सामाजिक सन्तुलन खल्बल्याएको” भन्दै पन्तसँगै काम गरेका धेरैजनालाई पुलिसले बारम्बार गिरफ्तार गर्यो, पन्त भन्छन्।
नेपालको एलजीबीटी आन्दोलनको एक महत्वपूर्ण पक्ष के हो भने यसको स्थापना जनयुद्धकालताका भएको थियो। वास्तवमा, सन् २००६ मा नेपालमा राजसंस्था हटाउन भएको आन्दोलनमा पन्त र उनका साथीहरुले जोडदार नारा लगाएका थिए। पन्त भन्छन्, पार्टीका राजनीतिक उम्मेदवारहरुले उनलाई आन्दोलनमा भाग लिन उक्साए र यौनिक अल्पसंख्यकका अधिकारका लागि उनीसँगै मिलेर काम गर्ने आश देखाए। तर सरकारमा पुगेपछि उनीहरुले वास्ता गरेनन्, उनी भन्छन्।
नेपालमा त्यतिबेला फरक समय थियो। “दुई दशक अघिसम्म पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी कुनै नीति-नियम थिएनन्” र मानिसहरु पुलिसकहाँ जान डराउँथे, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनाली भन्छन्। “आज नेपालमा दक्षिण एसियाकै सबैभन्दा प्रगतिशील कानुन छ।”
परिवर्तन अझै भइराखेका छन्। क्वेयर युथ ग्रुपकी डाइरेक्टर रुक्शना कपाली पन्तले यौनिक अल्पसंख्यकका लागि काम गरेको स्वीकार्छिन् तर समाज र समुदाय परिवर्तन भइरहेको र नयाँ पुस्ताले के-कसरी सोच्छन् भन्ने कुरा पन्तलाई थाहा नभएको बताउँछिन्। क्वेयर युथ ग्रुप नेपालमा यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौनिक अधिकारका लागि काम गर्ने एक युवा नेतृत्वको सञ्जाल हो।
पन्त आफूसँग सबैजना सहमत नहुने कुराबारे सचेत छन्। उनका आफन्तहरु नै उनको कुरा काट्छन्, उनी भन्छन्, तर उनी आफ्नो कामलाई भने जारी राख्छन्। पन्तको निरन्तरताकै कारण सन् २०१४ मा उनी नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका थिए।
सन् २०१७ मा आफ्नो पार्ट्नर गुमाएपछि उनको व्यक्तिगत जीवनले नाटकीय मोड लियो। यो क्षतिलाई व्यहोर्न नसकेर बौद्ध भिक्षु बन्ने सोचले उनले श्रीलंकाको यात्रा गरे। उनी सांसारिक मायाजालबाट टाढा जान चाहन्थे र बुद्ध धर्म उनलाई उपयुक्त लाग्यो। “बुद्ध हुन पुरुषको शरीरमा नै जन्मिनुपर्ने र नराम्रो कर्म गरेको परिणामस्वरुप यौनिक तथा लैङ्गिक अल्पसंख्यक हुने बौद्ध धर्ममा लेखिएको छ।” पन्तल़ाई त्यो स्वीकार्य नभएको उनी बताउँछन्।
समाजमा पितृसत्तात्मक सोच रहुन्जेल आफ्नो लडाइँ जारी रहने उनी बताउँछन्। “यौनिक तथा लैङ्गिक अल्पसंख्यक र अरु मानिस बराबर हुन् भन्ने भएपछि लडाइँ त्यसै सकिनेछ।”
सुनिता न्यौपानेग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।