झापा, नेपाल — “तपाईं बाइक बनाउनु हुन्छ र?”
निर्मला परियार झण्डै दुई दशकदेखि नेपालको दक्षिणपूर्वी कुनामा पर्ने जिल्ला झापामा, राजमार्गको छेउमै आफ्ना श्रीमानसँग मोटरसाइकल मर्मत गर्ने पसल चलाउँदै आएकी छिन्। तैपनि, हरेक पटक कुनै नयाँ ग्राहक भित्र पसेर परियारलाई भेट्दा चकित हुन्छन् र एउटै प्रश्न गर्छन्: “तपाईंले पो बाइक मर्मत गर्ने?”
धुलाम्मे राजमार्गको भीडमा आफ्नो ग्रीसको दाग लागेको कालो सुरुवाल र खुकुलो कालो भेस्टमा परियार अलग्गै देखिन्छिन्। व्यस्त चारआली बस स्ट्यान्ड नजिकै, नेपाली सेनाको ब्यारेकको अघिल्तिर रहेको यहाँका अन्य महिलाहरू मन्दिर अगाडि फूल बेच्छन् वा चिया र किराना पसल थाप्छन् जसलाई झापाका मानिसले महिलाले गर्ने कामको रुपमा लिन्छन्। यसैबीच, परियार भने यस क्षेत्रमा ग्यारेजमा काम गर्ने एक मात्र महिला हुन्। वास्तवमा, जिल्लाभरिमै उनी मात्रै चिनिएकी महिला मेकानिक हुन्।
नेपालको अति सीमान्तकृत दलित परिवार जातिबाट आएकी परियारले आफ्नो समाजमा पुरुषहरूसँग सम्बन्धित पेशालाई अँगालेकी छिन्। साथै, उनको सफलताले उनका जातका महिलाहरूले पहुँच पाउनसक्ने आर्थिक अवसरहरूको बारेमा विचारहरूलाई पुन: परिभाषित गर्न बिस्तारै सहयोग गरिरहेको छ। उनको छिमेकमा, काम गर्न विरलै घरबाट बाहिर निस्किने महिलाहरूले पनि आफ्ना श्रीमानहरुलाई विभिन्न काममा सहयोग गर्न थालेका छन्। उनकै सल्लाहमा, स्थानीय अर्जुनधारा नगरपालिकाले २० जना महिलालाई ड्राइभिङ सिकाउने योजना ल्याएको थियो। तीमध्ये कतिपयले हाल विदेशमा ड्राइभरको रूपमा वा झापामै भ्यान चलाउने काम गर्छन्।
“१८ वर्षअघि मोटरसाइकल बनाउँछु भन्दा मेरी आमा र सासु तीनछक परे। यो आइमाईको काम हैन, तिमीले गर्न सक्दिनौ भने”, ४० वर्षकी परियार भन्छिन्।
तर आफ्नो श्रीमानको सहयोगले, आम्दानीमा भरथेग गर्न उनले मर्मत गर्ने सीपमात्र हैन कि यी वर्षमा बाइकका पाटपुर्जा जडान गरेर आफ्नो व्यवसायलाई पनि विस्तार गरिन्।
अहिले यी दम्पतीसँग दुईवटा घर र एउटा गाडी छ। परियार नेपाल अटो मेकानिक्स ट्रेड युनियनकी सचिव पनि हुन् जहाँ उनी दुई महिला सदस्यमध्ये एक हुन्। उनी संगठनको जिल्ला अध्यक्षमा निर्वाचित हुने पहिलो महिला पनि थिइन्।
यसको शुरुवात भने सजिलो थिएन।
मेचीनगर नगरपालिकामा मोटरसाइकल मर्मत गर्ने सानो पसल चलाउने रोशन परियारसँग स्कुल छाडेर बिहे गर्दा परियार १७ वर्षकी थिइन्। यी किशोरी हुनेखाने परिवारकी त थिइनन् तर पहिलोपटक उनलाई खर्च जुटाउने र घरभाँडा तिर्ने चिन्ता परेको थियो। उनको श्रीमानको मर्मत पसलको थोरै आम्दानीले उनीहरूले आफ्नो सानो घरको भाँडा तिर्न नसक्ने दिनहरू पनि थिए।
विवाहको पाँच वर्ष र दुई सन्तानपछि परियारलाई पैसाको चिन्ताले अति नै सताएको थियो। जीविकोपार्जनको लागि नयाँ सीप सिक्दा पैसा पर्थ्यो तर बाइक मर्मत गर्न सिक्नु नि:शुल्क थियो। फेरि उनको श्रीमानको वर्कशप उनीहरूको घरबाट २०० मिटर (६५६ फिट) मात्र टाढा थियो।
बाइकहरू हेभी हुन्थे। उनले पहिले बाइक चलाएकी पनि थिइनन्, मर्मतको त कुरै छोडौं। सिक्ने निर्णय गरेपनि परियार आफू यो कलामा पारङ्गत हुन सक्दिनन् भन्नेमा विश्वस्त थिइन्।
उनीहरूको छोरा त्यतिबेला एक वर्षको थियो र काममा जाँदा उनले बच्चालाई पनि बोक्नुपर्थ्यो। “बाबु हेर्ने कोही पनि थिएन, अनि वर्कशपमै लिएर जान्थें। एउटा हातले बाबु च्यापेर पनि काम सिकें,” परियार भन्छिन्।
“म वर्कशपमा जान थालेपछि सबैले मेरो श्रीमानलाई मैले अरू महिलाहरूले जस्तै पकाउन वा घर चलाउन नआएकोले बाइकको बारेमा सिकिरहेको हो कि भनेर सोध्न थाले,” परियार थप्छिन्। शुरुवाती दिनहरुमा यस्ता आलोचनाले उनलाई पिरोल्यो। “म प्रायः घरायसी कामको बहाना बनाउँथें र वर्कशपबाट भाग्थें।”
संघर्षका ती दिनहरु अहिले कुनै सपनाजस्तै लाग्छ, उनी भन्छिन्।
आफ्नी श्रीमतीको कुरा गर्दा रोशन परियार मुस्कुराउँछन्। “उनलाई धेरै सिकाउनु पर्दैनथ्यो। एकपल्ट भन्थें, बुझिहाल्थिन्। धेरै त हेरेरै सिकिन्,” उनी भन्छन्। पसलमा छिरेपछि उनकी श्रीमतीलाई काम गरिरहेको देख्दाको मानिसहरूको असन्तुष्टि उनी महसुस गर्न सक्थे रे तर उनले त्यसमा त्यति ध्यान दिएनन्। “बाहिर-बाहिर चिया पसलतिर चाहिं कुरा गर्थे रे तर बाहिर जेसुकै भनून् भनेर वास्तै गरिनँ।”
परियारलाई पूर्णकालीन मेकानिक बन्न धेरै समय लागेन। “ज्यान पनि छोरा मान्छेको जस्तै भएर होला, काम पनि त्यस्तै छ, तर मलाई कहिले पनि गाह्रो भएको खासै अनुभव भएन। शुरुमा सिक्दा पनि, मोटरसाइकल ओसारपसार गर्दा होस् या इन्जिन बनाउँदा नै किन नहोस्, सजिलै गरें जस्तो लाग्छ,” परियार भन्छिन्। तर उनले कुशलतापूर्वक काम गरेको देख्दादेख्दै पनि ग्राहकहरूलाई उनी एक प्रशिक्षित मेकानिक हुन् भनेर विश्वस्त पार्न भने धेरै समय लाग्यो। ग्राहकहरु प्रायः उनका श्रीमान् वा ग्यारेजमा काम गर्ने अन्य पुरुषहरूबाट सेवा लिन अड्डी कस्थे।
परियारले बोल्दै गर्दा मोटरसाइकलमा निहुरिएर मोटरसाइकलको एउटा भाग फुकालिन्। “मेरा पतिले त्यत्रा मान्छेलाई मोटरसाइकल बनाउन सिकाए। तर कोही टिकेनन्। म टिकें र हाम्रो व्यवसाय बढाएँ,” उनी भन्छिन्।
व्यस्त राजमार्गमा परियार वर्षौंदेखि एक परिचित अनुहार बनेकी छिन्। तैपनि, जब मानिसहरू बसबाट ओर्लिन्छन् वा उनको पसलको छेउमा चिया पिउन आउँछन्, उनलाई मोटरसाइकलमा काम गरिरहेको देखेर केही मिनेट घुरेर हेर्छन्। उनलाई यो रमाइलो लाग्छ। “मलाई मेकानिक भएपछिको शुरुका दिनको सम्झना छ। मैले टायर पञ्चर टालेकी थिएँ तर ग्राहकले केही भन्ने हो कि भन्ने डर मनमा लागिरह्यो। राम्रो बनाउनुभयो भनेपछि ढुक्क भएकी थिएँ,” उनी भन्छिन्।
सन् २०११ मा उनका पतिको दुर्घटनामा हात भाँचिएपछि मात्र उनको परिवारले उनको कामको निर्णयलाई स्वीकार गर्यो। उनले महिनादिनसम्म काम गर्न सकेनन्। परियार आफैले पसलको व्यवस्थापन गरिन्। “यही बेलादेखि केही स्थानीय पत्रिकाले मेरो काममा चासो दिएर समाचार बनाए। त्यसबेला देखि नै मलाई फरक ढङ्गले हेर्न थालियो,” उनी भन्छिन्।
एक्लो काम गराइले परियारलाई हराइरहेको आत्मविश्वास दिलायो र उनले यो पेशामा भविष्य र सम्भावना देख्न थालिन्। उनी नागरिकका काममा पनि लाग्न थालिन्। सन् २०१७ मा मेचीनगर नगरपालिकाको कार्यपालिकामा दलित महिला सदस्यको रुपमा निर्वाचित भइन् । उनले वडामा पाँच वर्ष काम गरिन्।
यता घरमा भने परियारले मेकानिक भएर काम गर्न नहुने अडान लिएकी परियारकी सासुले उनलाई सहयोग गर्न थालिन्। “जब सिकिसकेर काम गर्न थालें, त्यसपछि भने खाना बनाएर सहयोग गर्ने, चिया खाजा बनाइदिने, घरको काम सघाइदिने, खाना खान ढिलो भयो भने ग्यारेजमै बोलाउन जाने, बनाउँदै गरेको मोटरसाइकल छाडेर पहिले खाना खाऊ भन्ने; ग्राहकलाई पनि एकछिन पर्खिदिनुस् ल, अहिलेसम्म बुहारीले खाना खाकी छैन, पहिले खाना खान्छे भनेर ग्राहकलाई सम्झाउने गर्नुहुन्थ्यो,” परियार भन्छिन्। यसले परियारलाई आर्थिक स्वतन्त्रताले गर्दा मानिसले समाजमा महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सक्छ भन्ने महसुस गराएको छ।
महिलाबाट बाइक मर्मत गराउने कुरामा ढुक्क नभएका कारण अन्य पसलमा गएका कतिपय ग्राहकहरू अहिले आफ्नो काम गराउन उनैलाई खोज्छन्। जीवन भण्डारी ती थोरै व्यक्तिहरूमध्ये एक हुन् जसले परियारले शुरु गर्दाका दिनमा पिठ्युँ फर्काएनन् र उनी अहिले पनि आफ्ना सबै कामहरू उनकै पसलमा गराउँछन्। “साँझ-बिहान मेरो हिंड्ने बाटो यही हो। उनको मिहिनेत देखेर पनि यहीं आउँछु। फेरि चित्तबुझ्दो काम गरिदिनुहुन्छ। साथै उहाँको यसमा मात्रै सीमित नभएर सामाजिक क्षेत्रमा, गाउँघरमा केही साह्रो- गाह्रो पर्दा पुग्ने बानी पनि ज्यादै राम्रो छ,” उनी भन्छन्।
“यदि मैले मोटरसाइकल बनाउन नसिकेको भए अहिले म एउटा सामान्य गृहणी मात्रै हुन्थें। वा मैले थाहा पाएका धेरै महिलाहरुझैं घरेलु कामदारको जागीरमा विदेश जानुपर्ने हुन्थ्यो,” परियार भन्छिन्। “बाध्यताले यो पेशामा लागे पनि, यसले मलाई खुशी र सन्तुष्टि दिएको छ।”
मायामितु न्याैपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।