Nepal

पुरुष वर्चस्वलाई चुनौती दिँदै धामी महिलाहरु

रोजगारीको खोजीमा पुरुष विदेशिएपछि नेपालमा धेरै महिला धार्मिकरुपमा प्रतिष्ठित धामीझाँक्रीको जिम्मेवारी लिंदैछन् ।

Read this story in

Publication Date

Nepal’s Shamans Welcome More Women to Their Ranks

यामकुमारी कँडेल, जीपीजे नेपाल

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सेप्टेम्वर २०१७ मा आयोजित एक राजनीतिक ¥यालीमा धामीझाँक्रीहरु आफ्नो सांस्कृतिक झाँकी प्रस्तुत गर्दै । धामीझाँक्री खासगरी नेपालका पुरुषहरुले गर्ने सांस्कृतिक, धार्मिक र पेशागत अभ्यास हो । तर अहिले यो भूमिका महिलाहरुले पनि लिइरहेका छन् ।

Publication Date

काठमाडौं, नेपाल: नेपालको राजधानी काठमाडौंको पश्चिममा रहेको दुईतले एउटा पुरानो घरमाथि आगन्तुकलाई स्वागत गर्ने एउटा साइनबोर्ड झुण्डिएको छ । त्यहाँभित्र केही हिन्दू भक्तहरु देवीको पूजा गरिरहेका छन् । कोठाका भित्तामा देवीका ठूला रंगिन पोस्टर र फोटोहरु छन् ।

सविता बस्नेत पनि यहाँ आइपुगेकी छन् । चिकित्सकले रोग पत्ता लगाउन नसकेपछि उनी सञ्चो हुन्छ भन्ने आशामा झाँक्रीकोमा आएकी हुन् । तीन महिना अघिदेखि उनलाई मुटु र घाँटी दुख्ने, छाला चिलाउने र डरलाग्दो सपना देख्नेजस्ता समस्या देखिन थाल्यो ।

सवितामा देखिएका समस्याहरु मसान लागेको संकेत भएको झाँक्री मनिषा तामाङ बताउँछिन् । तमाङ अरु तीन महिला र दुई पुरुष झाँक्रीको सहयोगमा सवितामा चढेको मसानलाई निकालेर फाल्ने प्रयत्न गर्छिन् । तामाङले चामल, बत्ती र रातो वस्त्र राखिएको टपरी चकटीमा बसेकी बस्नेतको टाउकोमा घुमाउँदै गर्दा अन्य झाँक्रीहरु ढ्यांग्रो बजाएर मन्त्र पढ्दै नाच्छन् ।

expand image
expand slideshow

यामकुमारी कँडेल, जीपीजे नेपाल

सविता बस्नेतको झारफुक गर्न उनलाई बीचमा पारेर घुम्दै महिला झाँक्रीहरु । मुटु र घाँटी दुख्ने, छाला चिलाउने र डरलाग्दो सपना देख्नेजस्ता समस्याबाट आफू ग्रसित भएको बस्नेत बताउँछिन् ।

२३ वर्षीया तामाङ पछिल्ला ६ वर्षमा बस्नेत जस्तै स्वास्थ्य समस्या भएका थुप्रै मानिसहरुको झारफुक र उपचार गरेको बताउँछिन् । झाँक्री उनको पेशा हो, जुन परम्परागतरुपमा पुरुषहरुले गर्ने गर्छन् ।

“भगवानले मलाई मानिसको सेवा गर्न शक्ति दिनुभएको छ । यसमा म धेरै खुशी छु,”हिन्दू धर्मकी देवीलाई संकेत गर्दै उनी भन्छिन् ।

स्थानीय रुपमा सम्मानजनक मानिने धार्मिक झाँक्रीको पेशा र भूमिका बढ्दो मात्रामा महिलाहरुले ग्रहण गर्दैछन् । अधिकांश पुरुषहरु रोजगारीको लागि विदेशिने कारण महिला झाँक्रीको संख्या बढिरहेको विज्ञहरु बताउँछन् ।

“अहिलेको परिस्थितिमा अधिकांश पुरुषहरु बिदेशिएका कारण झाँक्रीको जिम्मेवारी महिलामा सरेको छ,”त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रका सहायक प्राध्यापक जनक राई भन्छन् ।

जानकारहरु स्थानीय समुदायलाई सेवा गर्न र आफ्नो जीविकोपार्जन गर्न महिलाहरु झाँक्री बन्ने बताउँछन् ।

नेपालको दुई ठूला हिन्दू र बौद्ध धर्ममा झाँक्रीहरुले आफ्नो आध्यात्मिक र तान्त्रिक विधिबाट रोगको निदान गर्नसक्ने र मानिसको जीवनका अन्य दुःखकष्टहरु निवारण गर्नसक्ने विश्वास गरिन्छ । झाँक्रीहरु ध्यान मार्फत् भगवान र मसानसँग अन्तरक्रिया गरेर समस्यामा रहेका मानिसहरुका लागि समाधान खोजिदिन्छन् । ध्यानमा रहँदा उनीहरु कसैको भूत र भविष्य देख्नसक्ने बताइन्छ ।

expand image
expand slideshow

यामकुमारी कँडेल, जीपीजे नेपाल

नेपालको राजधानी काठमाडौंको पश्चिममा रहेको आफ्नो घरमा झारफुकको काम सकेपछि झाँक्री चेतबहादुर सिंह (बायाँ) आफ्नो सहकर्मी मनिषा तामाङ (दायाँ) लाई आशिर्वाद दिँदै ।

अरुलाई निको पार्ने वा दैवी शक्ति भएका महिलाहरुलाई समाजले बोक्सी भनेर विश्वास गर्ने भएकोले वर्षौसम्म झाँक्री र झारफुकको काम नेपाली महिलाले विरलै गरेको राई बताउँछन् ।

तर मानिसहरु झाँक्री र झारफुकको काम गर्ने महिलाहरुलाई अचेल स्वीकार्न थालेको झाँक्री चेतबहादुर सिंह बताउँछन् । सिंह सन् २०१५ मा स्थापना भएको नेपाल झाँक्री संघका सदस्य पनि हुन् । संघमा देशभरका ९० धामीझाँक्रीहरु सदस्य छन् । यसका आधाजसो सदस्यहरु ९ वर्षदेखि ५० वर्षसम्मका महिलाहरु छन् । ४५ जना सबै महिला सदस्यहरु झाँक्रीको व्यवसायिक अभ्यास गर्ने र ग्राहकहरुबाट तन्त्रमन्त्र वा झारफुक सेवावापत शुल्क प्राप्त गर्ने सिंह बताउँछन् ।

धामीझाँक्रीहरु परम्परागतरुपमा ग्राहकबाट दक्षिणा प्राप्त गर्छन् वा शुल्क माग्दैनन् । शुल्क तोकेर बिरामी ग्राहकबाट पैसा उठाउनु धामीझाँक्रीको संस्कृति र मान्यताविपरीत रहेको राई बताउँछन् ।

“गाउँघरमा धामीझाँक्रीले छिमेकी बिरामी पर्दा वा भूतप्रेत लाग्दा त्यस्तो नकारात्मक शक्तिलाई भगाएर सेवा गरिरहेका छन् । उनीहरुले यो निःशुल्क गर्छन्,”उनी भन्छन्, “काठमाडौंमा जसरी शुल्क लिएर धामीझाँक्रीले सेवा दिन्छन्, त्यो राम्रो होइन ।”

आफ्नो गुरु सिंहलाई भेटेपछि झाँक्री भएकी तामाङ हप्तामा ५ जनाजति बिरामी झारफुक गर्ने र महिनामा १० देखि १५ हजार रुपैयाँसम्म कमाउने बताउँछिन् । तर तामाङ आफ्ना ग्राहकबाट शुल्क नअसुल्ने बताउँछिन् । उनको सबै कमाई ग्राहकले दिने दक्षिणा हो ।

ग्राहकबाट कुनै दिन ५ हजार रुपियाँ दक्षिणा पाउने त कुनै दिन सय रुपियाँ हुने उनी बताउँछिन् ।

“यो सबै बिरामीको स्वेच्छामा भरपर्छ,”उनी भन्छिन् ।

जीपीजेका सागर घिमिरेले यो लेख नेपालीमा अनुवाद गरेका हुन् ।

expand image
expand slideshow

यामकुमारी कँडेल, जीपीजे नेपाल

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सेप्टेम्बर २०१७ मा आयोजित एक राजनीतिक ¥यालीमा महिला झाँक्रीहरु ढ्यांग्रो बजाएर आफ्नो सांस्कृतिक झाँकी प्रस्तुत गर्दै । झाँक्रीहरु यस्तो ढ्यांग्रो बजाउने गर्छन् किनकी यो बाजाको आवाजले भूतप्रेत तथा नराम्रो आत्मालाई तर्साउने उनीहरुको परम्परागत विश्वास छ ।