काठमाडौं, नेपाल — लाजिम्पाटमा हिंड्दै गर्दा तपाईंले चहलपहलले भरिएका साँघुरा गल्ली, हाँसो र गफगाफले भरिएका आरामदायी क्याफेका साथसाथै मानिसहरुले एक आपसलाई मेकअप गर्न सघाउँदै गरेका ब्युटी पार्लरहरु देख्न पाउनुहुन्छ । काठमाडौंको मुटुमा रहेको यस क्षेत्र जीवन्त र मित्रवत समुदायको लागि चिनिन्छ । यौन व्यवसाय पेशा अपनाइरहेकी सुनिता लामा समुदायको खोजीमा आठ वर्षअघि यहाँ आएको बताउँछिन् ।
“अँध्यारोमा थिएँ, उज्यालोतिर जाने बाटो भेटें,” लामा भन्छिन् ।
नेपालको प्रगतिशील कानूनको बाबजुद, यहाँ उनी र उनीजस्ता यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले आफू बस्ने घर पाउन संघर्ष गर्नुपर्ने अवस्था छ । तर यस संभ्रान्त आवास क्षेत्रले उनीहरुलाई स्वतन्त्ररुपले बाँच्न दिएकोले उनीहरुको सुरक्षित आश्रयस्थल बनेको छ । स्थानीय यौन व्यवसाय र ब्लु डायमण्ड सोसाइटी यस क्षेत्रमा हुनाको कारण यस क्षेत्रको रुपान्तरण भएको हो । नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुसँग काम गर्ने यस गैरसरकारी संस्था शुरुमा यहाँ अवस्थित थियो । तर सन् २०१४ मा यसको मुख्य कार्यालय झन्डै ४ किलोमिटर टाढा धुम्बाराहीमा सरेको थियो । कार्यालय सरे पनि यसका केही काम कारबाही भने लाजिम्पाटबाटै संचालन हुने गरेका छन् ।
लाजिम्पाटमा सर्नुअघि लामाले आफ्नो साथीमार्फत ब्लु डायमण्ड सोसाइटीको बारेमा सुनेको बताउँछिन् । उनले यसका कार्यक्रमहरुमा भाग लिन थालेपछि विभिन्न खालका यौनिक झुकाव तथा लैंगिक पहिचान भएका मानिसहरुलाई भेटिन् । त्यसपछि उनी सो क्षेत्रमा बसाइँ सरिन् ।
आफू पारलैंगिक महिला भएकै कारण आफू बसेका पाँच ठाउँमा घरबेटीले दुर्व्यवहार गरेको र अरुले कोठा भाडामा नदिएको लामा बताउँछिन् । नेपालका घरबेटीहरुलाई भाडामा बस्ने मान्छे पारलैंगिक भएको शंका लागेमा, नागरिकता माग्ने गरेको उनको अनुभव छ । तर धेरैजनाले आफ्नो नाम र लिङ्ग अनुकूल नागरिकता लिन बाँकी नै रहेकोले समस्या निम्तिन सक्छ ।
तर यहाँका समुदाय सधैं यति मिलनसार भने थिएनन् । ब्लु डायमण्ड सोसाइटीको कार्यालय स्थापना गर्नु आफैमा एक चुनौती रहेको कुरा अभियन्ता तथा समूहका संस्थापक सुनिलबाबु पन्त बताउँछन् । “स्थानीय समुदायले हामीलाई घर भाडामा [दिन चाहेनन्],” पन्त भन्छन् । उनकी दिदीले उनीहरुलाई आफ्नो घर भाडामा दिएकी थिइन् । पछि फन्डिङ आउन थालेपछि उनीहरुले सो घर किनेका थिए ।
तर कुरा त्यतिमा सीमित थिएन । उनीहरुले होहल्ला गरेको र विकृति फैलाएको भन्दै स्थानीय समुदायले वडा कार्यालयमा गएर उजुरी दिन्थे, पन्त भन्छन् । “पछि हामीले छिमेकीलाई कार्यक्रममा बोलाउन थाल्यौं । उनीहरु आउन थाले र बिस्तारै चेतना फैलियो ।”
५० वर्षीया लक्ष्मी मानन्धर तिमल्सिनाले आफ्नो सम्पूर्ण जीवन लाजिम्पाटमा बिताएकी छिन् । “उनीहरुलाई देख्दा पहिले अचम्म लाग्थ्यो” उनी भन्छिन् । उनीजस्ता स्थानीय बासिन्दाहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई लामो समयसम्म यौन व्यवसायसँग जोडेर हेर्ने गरेको र सो कार्य उनीहरुलाई अस्वीकार्य रहेको तिमल्सिना बताउँछिन् । तर कुरा बुझ्दै गएपछि उनको ज्ञान पनि बढ्दै गयो ।
सो समुदाय एलजिबिटिक्यु प्लसहरुका लागि महत्वपूर्ण सांस्कृतिक केन्द्र बनेको छ । सन् २००२ यता लाजिम्पाटका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले दिवंगत भएका आफ्ना प्रियजनलाई सम्झिने नेवारी पर्व गाइजात्रा मनाएका छन् । तर हाल यो नेपालको गौरव यात्रा भएको छ । पारलैंगिक महिला र पुरुष आफूलाई मन लागेको तरिकाले लुगा लगाउने र मृत्यु भएका साथीहरुको सम्झनामा हिंड्ने गर्दछन्, गुरुङ भन्छिन् ।
बाबुदुमी राई आफ्नो परिवारबाट छुट्टिएर भर्खरै लाजिम्पाटमा बसाइँ सरेका छन् । समलिङ्गी राई लाजिम्पाटको समुदायको हिस्सा हुन पाउँदा आफ्नो आत्मविश्वास बढेको बताउँछन् । “यहाँ हामीलाई जज गरिंदैन,” उनी भन्छन् ।
ब्लु डायमण्ड सोसाइटीभन्दा अगाडि आफूले कहिल्यै पनि एलजिबिटिक्यु प्लस समुदायको बारेमा नसुनेको राई बताउँछन् । हाल २१ वर्षका उनी १४ वर्षको उमेरमा सामाजिक विज्ञान पढ्न काठमाडौं आएका थिए । ब्लु डायमण्ड सोसाइटीमा काम गर्ने अवसरले सबै कुरा परिवर्तन भएको र शुरुमा उनले स्वीकार्न कठिन भएको पहिचानप्रति उनको आँखा उघ्रिएको उनी बताउँछन् ।
लाजिम्पाटलाई सुरक्षित आश्रयस्थल बनाउन भने भारी मूल्य चुकाउनु परेको छ । काठमाडौंका अन्य स्थानझैं, यहाँको भा
डादर पनि अनियमित रहेको वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ बताउँछन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले आवश्यकभन्दा बढी तिरिरहेका छन्, उनी भन्छन् । “हामीले कसरी नियमन गर्ने भन्ने सोचिरहेका छौं,” उनी भन्छन् ।
आफ्नो लैंगिक पहिचानको कारण घरबेटीबाट दुर्व्यवहार सहनुपरेको वा निकालिएको बताउँदै लाजिम्पाटमा भाडामा बस्नेहरुबाट कहिलेकाहीं वडा कार्यालयमा उजुरी पर्ने गरेको पनि श्रेष्ठ थप्छन् । “हामी दुवै पक्षलाई मेलमिलाप गर्छौं ।” यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि आवासको पहुँच सुनिश्चित गर्नेबारे कुनै कार्यक्रम वा नीति नभएकोले समस्या भएको उनी बताउँछन् ।
अधिवक्ता सुजन पन्त लाजिम्पाटमा मानिसहरुले आफ्ना लागि समुदाय बनाउँदै गर्दा, केहीले भने आवासमा पहुँच पाउन चुनौतीको सामना गर्नुपरेको र कसैलाई पनि मन नपर्ने ठाउँमा चित्त बुझाउनु परेको बताउँछन् ।
रुवीना भुजेल विगत दश वर्षदेखि लाजिम्पाटमा बस्दै आइरहेकी छिन् । उनी यस समुदायका मानिसलाई आफ्नो परिवार मान्छिन् । “रगतको नाताले पाएको घर अर्कै थियो तर वास्तविक घर मेरो समुदाय हो,” भुजेल भन्छिन् । “म मरेपछि मेरो समुदायले नै मलाई जलाउन् भन्ने इच्छा राख्छु ।”
उनको लागि घर भनेको साथीहरुसँग जमघट गर्नु र आफ्नो सुख-दु:ख साझा गर्न पाउनु हो ।