
सुनिता न्यौपाने, जिपिजे नेपाल
भक्तपुरस्थित एक बाल सुधार गृहमा केटाहरू दुबोमा पानी हाल्दै छन्। यस्ता केन्द्रहरूले उचित पुनर्स्थापना प्रदान गर्न संघर्ष गरिरहेका छन्, साथै ठाउँ सीमित र भीडभाडयुक्त छ। तर कैदीबन्दीहरू बगैँचाको हेरचाह, खेलकुदमा सहभागिता र अन्य गतिविधिहरूमा संलग्न भएर मनोरञ्जन र मानसिक राहतको केही क्षण अनुभव गर्न सक्छन्।
भक्तपुर, नेपाल — बाल सुधार गृहको रङ उडेको भित्ताछेउ पट्पटी फुटेको सिमेन्टको भुइँमा बसेर १२ वर्षीय खान एउटा कथाको पुस्तक पढिरहेका छन् । १२ बाई १६ फुटको यो कोठामा उनीसँगै अरू सत्र जना मानिसहरू पनि राखिएका छन् । अहिले यो कोठामा क्षमताभन्दा दोब्बर मानिस कोचिएर बस्न बाध्य छन् । नजिकैका चर्पीबाट निस्किएको नमीठो दुर्गन्ध हावामा फैलिएको छ ।
कंलकको डरले गर्दा हामीसँग आफ्नो थर मात्र प्रयोग गर्न अनुरोध गरेका खानलाई बलात्कारको अभियोगमा यहाँ राखिएको हो । उनीमाथि आफूसँग सम्बन्धमा रहेकी युवतीलाई नै बलात्कार गरेको आरोप लागेको हो । त्यस बेला १६ वर्षका उनी नाबालिग भएका कारण पुनर्स्थापनाका लागि भन्दै यहाँ पठाइएको थियो । तर वरपर तिखो तारले बेरिएको यो ठाउँ खानका लागि जेल जस्तै छ । उनलाई १९ वर्षको कैद सजाय सुनाइँदा उनलाई बाल अदालतमा नभएर सामान्य अदालतमै पेस गरिएको थियो । अदालको यो फैसला बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घको महासन्धिको ठाडो उल्लङ्घन हो । महासन्धिमा उल्लिखित प्रावधानअनुसार नाबालिगलाई हिरासतमा राख्ने कुरालाई अन्तिम विकल्पका रूपमा मात्र लिनु पर्छ र यदि राख्नु नै पर्ने भए पनि छोटो समयका लागि मात्र राख्नु पर्छ । खानको उमेर १८ वर्षभन्दा कम भएका कारण पछि उनको सजाय घटाएर १३ वर्ष तोकिएको थियो । तर उनले आफू वयस्क भएपछि पनि बाल सुधार गृहमा नै अन्य बालबालिकासँग रहेर सजाय काट्नु पर्ने भनिएको छ ।
नेपालको सन् २०७५ को बालबालिकासम्बन्धी ऐनमा टेकेर उनलाई यस्तो सजाय सुनाइएको हो । यस ऐनले नाबालिगको उमेर बढाएर १८ वर्षभन्दा कम उमेरका सबै व्यक्तिलाई नाबालिगका रूपमा परिभाषित गरेको छ । नेपालको सर्वोच्च अदालतले एक वर्षअघि बाल अदालत स्थापना गर्न आदेश दिएको थियो तर अहिलेसम्म पनि सो आदेशको पालना भएको छैन ।
न्युनतम सुविधाविहीन बालबालिकाहरूका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) नामक गैरसरकारी संस्थाका संयोजक संगम चालिसेका अनुसार २०७५ को यो परिवर्तनले गर्दा बाल हिरासतमा राखिने मानिसहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।



नाबालिग हुँदा यहाँ ल्याइएका ६०० भन्दा बढी व्यक्ति अब वयस्क भइसकेका छन् । हाल नेपालका नौ वटा बाल सुधार गृहमा राखिएका झन्डै आधा व्यक्ति वयस्क उमेरका छन् । कानुनले नाबालिग र वयस्क कैदीहरूलाई एकै ठाउँमा राख्न स्पष्ट रूपमा निषेध गरेको भए पनि केही अवस्थामा १३ वर्षे बालबालिकालाई २६ वर्षे वयस्कहरूसँग राखिने गरिएको छ । नेपालमा भएका नौ वटै बाल सुधार गृहहरूमा क्षमताभन्दा दुईदेखि चार गुणा मानिसहरू राखिएको छ र यसले गर्दा उनीहरूका बिचमा
कुटपिट हुने, उनीहरूले भाग्ने प्रयास गर्ने र उनीहरूको मृत्युसमेत हुने गरेको छ ।
विश्वव्यापी मापदण्डअनुसार बालबालिकाका हकमा पुर्नस्थापनालाई जोड दिइने भए पनि नेपालको प्रणालीले भने दण्ड सजायलाई नै जोड दिइने गरेको समालोचकहरू बताउँछन् ।
कंलकको डरले गर्दा हामीसँग आफ्नो थर मात्र प्रयोग गर्न अनुरोध गरेकी माझीलाई १६ वर्षको उमेरमा आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दोषी ठहर भएर सुधार केन्द्रमा राखिएको छ । अहिले १९ वर्षकी उनले अझै १४ वर्ष यही भीडभाडयुक्त बाल सुधार केन्द्रमा बिताउनु पर्ने छ । कुनै बेला प्रहरी इन्स्पेक्टर बन्ने सपना देखेकी उनी अहिले १२ युवतीहरूसँगको साँघुरो कोठामा बस्छिन् र कहिलेकाहीँ आफूलाई वयस्क कैदीहरूले हातपात समेत गर्ने बताउँछिन् ।



उनी भन्छिन्, “यहाँ बस्न सारै गाह्रो छ ।”
नेपालको बाल न्याय प्रणालीले कागजमा त सजायको साटो पुनर्स्थापनालाई नै प्राथमिकता दिन्छ र किशोरकिशोरीहरूको मानसिक विकास भइनसकेको र उनीहरूका फरक आवश्यकताहरू हुने कुरालाई स्वीकार गर्छ ।
तर बालबालिका प्रतिवादी भएका मुद्दाहरू पनि सामान्य अदालतमै हेरिने र बालबालिकाको फरक अवश्यकताहरूको ख्याल नगरिने अधिवक्ता रबिन्द्र भट्टराई बताउँछन् । खास गरी बाल अधिकारका मुद्दाहरू हेर्ने उनी काठमाडौंस्थित लिगल एड एसोसिएसनसँग आबद्ध छन् । अध्ययनहरूका अनुसार बाल
सुधार गृहमा राखिएका १८% भन्दा बढी बालबालिकाहरूलाई आत्महत्याको सोच आउने गर्छ भने अधिकांश सुधार केन्द्रमा मनोचिकित्सक र अन्य विज्ञहरूको पहुँच छैन ।
बाल अधिकारसम्बन्धी विज्ञ तारक धिताल भन्छन्, “आम मनोविज्ञान प्रतिशोध लिने र सजायमा कष्ट बेहोराउनु पर्छ भन्ने छ, जुन बाल विकासको सन्दर्भसँग मेल खाँदैन ।”



सरकारका अनुसार बजेट अभावका कारण बाल न्याय प्रणालीमा सुधार गर्न समस्या भएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार सरकारले यही वर्षभित्र बाल अदालतको व्यवस्था गर्ने लक्ष्य राखेको छ ।
यसैबिच गाउँमा बस्ने खानकी आमा गाउँका मानिसहरूलाई छोरो सहरमा पढ्न गएको छ भन्ने गर्छिन् । छोरा फर्केर आएपछि समाजमा बदनाम नहोस् र नयाँ सुरुवात गर्ने मौका मिलोस् भनेर उनले सबैलाई यसरी झुट बोल्दै आएकी हुन् ।
तर खानलाई थाहा छ, सत्य बाहिर आयो भने गाउँलेले उनलाई अपराधी करार गर्ने छन् ।
उनी भन्छन्, “गाउँलेहरूले मलाई त्यो केटाको रूपमा हेर्ने छैनन् जो उनीहरूको खेतमा फुटबल खेल्थ्यो र उनीहरूको गोठाला जान मद्दत गर्थ्यो । उनीहरूले मलाई लेबल लगाउने छन् र म मेरो गल्तीले परिभाषित हुन चाहन्न ।”
सुनिता न्यौपानेग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।
अनुवाद नोट
जिपिजेका अनुप जोशीले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।