बर्दिया, नेपाल — नेपाली नयाँ वर्षको दिन थियो । तेजिलो र पोल्ने घाम लागेको थियो । खेतबारी उजाड देखिन्थे । तर कतैकतै भने हरिया मकै हुर्किरहेका थिए। नजिकैको हातेकलबाट पानी निकालेपछि १८ वर्षीय प्रकाश जैशी आफ्नो घर फर्किन्छन् । उनीहरू तीन भाइबहिनीसँगै बस्छन् । उनीहरूको घर बर्दिया जिल्लाको बनवीरमा छ, जुन नेपालको राजधानी काठमाडौँबाट ५०० किलोमिटरको (३०० माइलभन्दा धेरै) दुरीमा छ । नयाँ वर्षको सार्वजनिक बिदा परेकोले उनका सबै साथीहरू रमाइलो गर्न बाहिर गएका थिए । “साथीभाइसँग रमाउन मन लाग्छ । समय नै मिल्दैन,” उनी भन्छन् । बरु जैशीले भाँडा माझे र घरका अरु सबै बाँकी कामहरू पुरा गरे । उनको परीक्षा नजिकै आइरहे तापनि उनले त्यसको तयारी गर्न पाएका छैनन् । उनलाई त्यसको लागि समय नै छैन ।
जैशीका आमाबुवा घर बनाउँदा लागेको ८ लाख रुपैयाँ (६, ०८९ अमेरिकी डलर) ऋण तिर्नका लागि पैसा कमाउन २०६८ मङ्सिरमा कामको खोजीमा छिमेकी मुलुक भारत गए । उनीहरू गएपछि घरको र भाइबहिनीको जिम्मेवारी जेठो छोरा जैशीको काँधमा आयो ।
जैशीका आमाबुवा जस्तै १५ लाख नेपाली परिवारका २१ लाख ९० हजार सदस्यहरू विदेशमा छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार विदेश गएका मध्ये पुरुषको जनसङ्ख्या ८० प्रतिशत छ । धेरै नेपालीहरू वैदेशिक रोजगारीमा जाने प्रमुख कारणहरूमा राम्रो भविष्यको खोजी र आर्थिक अवस्थामा सुधारको इच्छा हो ।
प्राय: यी नेपाली कामदारहरू आफ्नो परिवार विना नै वैदेशिक रोजगारीका लागि जाने भएकाले अभिभावकहरूले जैशी र उनका भाइबहिनीलाई जस्तै आफ्ना बच्चाहरू नेपालमै छोडेर जाने समाजशास्त्री तथा आप्रवासन विज्ञ गणेश गुरुङ बताउँछन् । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार देशका ७७.९ प्रतिशत बालबालिका आफ्नो आमाबाबु दुवैसँग बस्छन् भने आमासँग मात्रै बस्ने बालबालिकाको सङ्ख्या १७.१ प्रतिशत छ । त्यसै गरी जनगणनाको नतिजाअनुसार १ प्रतिशत अर्थात् ७५ हजार परिवारहरूमा १९ वर्ष वा सो भन्दा मुनिका व्यक्तिहरू परिवारमूली छन् । सात हजार तीन सय परिवारहरू १० र १४ वर्षबिचको बच्चाले धान्ने तथ्याङ्क छ ।
वैदेशिक रोजगारीमा जाँदा अभिभावकहरूले कति बच्चाहरू नेपालमा छोडेर गएका छन् भन्ने सरकारी तथ्याङ्क नभए तापनि मनोवैज्ञानिकहरूले विदेशिएकाहरूको नेपालमा रहेका परिवारमा देखिन थालेको व्यवहारको प्रवृत्ति फेला पार्न थालेका छन्, जसले देशमा बिस्तारै बढ्न लागेको मानसिक स्वास्थ्य सङ्कटलाई सङ्केत गर्दछ । देशले केही वर्ष भित्रमा यी सबै बालबालिकाको मानसिक स्वास्थ्य चुनौतीहरूसँग जुधिरहेको भविष्य आफूले प्रस्ट रूपमा देखेको काठमाडौँ मा रहेकी बाल मनोविद् गंगा पाठक बताउँछिन्।
जैशी आफ्नो घरमा खाना पकाउने, लुगा धुने, घरको सरसफाइ गर्ने र खाद्यान्न किनेर ल्याउने सबै कामहरू गर्छन् । उनकी एउटी १२ वर्षीय बहिनी दुर्गा जैशी र अर्की ११ वर्षीय बहिनी भावना जैशीले पालैपालो भैँसी चराउन लैजाने र तीनलाई घाँस काट्ने काम गर्छन् । उनीहरू सबै मिलेर सबैभन्दा कान्छो भाइ ६ वर्षीय राजेन्द्र घोडासैनीको स्याहार गर्छन्।
घरको जिम्मेवारी र आमाबुबाको अनुपस्थितिले आफूलाई प्रायजसो राती निद्रा नलाग्ने जैशी बताउँछन् । “तनाव भएको बेलामा दिमागले काम गर्दैन । रिस मात्र उठ्छ,” उनी भन्छन् ।
नेपाल श्रम निर्यात गर्ने एउटा प्रमुख देश मध्येमा पर्छ र यहाँको अर्थतन्त्र धेरै मात्रामा विप्रेषणमा आधारित रहेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पठाएको विप्रेषणले धेरै परिवारको आम्दानीका साथै देशको कुल गार्हस्थ्य उत्पादनमा मात्रै योगदान पुर्याएको छैन, अन्तर्राष्ट्रिय मुद्रा कोषको २०२० को एक अध्ययन अनुसार यसले गरिबी निवारण गर्न पनि ठुलो भूमिका खेलेको छ ।
विदेश गएका नेपालीहरूले देशको अर्थतन्त्रमा पारेको सकारात्मक प्रभावका बारेमा राम्रो दस्तावेजीकरण भए तापनि त्यसका पारिवारिक आयाम तथा अन्य परिणामहरूका बारेमा भरखर छलफलहरू हुन थालेको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको २०१९ को एक प्रतिवेदनले वैदेशिक रोजगारमा गएका आमाबुवाका बच्चाहरू मनोवैज्ञानिक समस्याहरूको बढी जोखिममा रहेको औँल्याएको छ। प्रतिवेदनका अनुसार विदेश जाँदा आमाबाबुले नेपाल छोडेर गएका १३७ बालबालिका तथा किशोर किशोरी मध्ये ४८.२ प्रतिशतमा एङजाइटी (चिन्ता), १८.३ प्रतिशतमा डिप्रेसन र ८ प्रतिशतमा आत्महत्याको सोचाइ देखिएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगले २०२२ मा गरेको एक अध्ययनले पनि आमाबाबुसँग बिछोडले बालबालिकाको सिकाइ तथा विकासमा नकारात्मक प्रभाव पर्ने देखाएको छ।
जैशी, भावना र दुर्गा सबैले आफूहरू दिनदिनै तनाव र चिन्तामा बाच्ने गरेको बताउँछन्। उनीहरूको आमाबुबाले ऋण चुक्ता गर्न र घर खर्च धान्नको लागि भनेर महिनाको ३० हजार रुपैयाँ (२२८ अमेरिकी डलर) पठाउँछन् । पाँच हजार रुपैयाँ (३८ डलर) खाद्यान्न र अन्य कुराहरूमा खर्च हुन्छ भने दाल र चामल उनीहरूले आफै उत्पादन गर्छन् । पछिल्ला तीन महिनामा उनीहरूको आमाबुबाले पैसा पठाउन नसकेको कारणले ऋण उठाउन साहु दिनहुँ घर आउन थालेको छ ।
“उहाँहरू घरमा भएको भए हामी सँगै हुनुहुन्थ्यो । ऋण लागेर मात्र जानु भएको हो,” आमाबाबुको तस्बिर मोबाइल फोनमा हेर्दै दुर्गा भन्छिन् । आमासँग सुत्न र आमाले पकाएको खाना खान नपाएको कारणले आफूलाई दुख लाग्ने गरेको भावना बताउँछिन्।
अभिभावकसँग टाढा रहने बालबालिकामा रिसाउने, झर्किने र विद्यालयमा कमजोर हुने गरेको ट्रान्सकल्चरल साइकोसोसियल अर्गनाइजेसन (टीपीओ) नेपालकी मनोविद् तथा क्लिनिकल संयोजक इन्दिरा प्रधान बताउँछिन् ।
किशोर किशोरीमा मानसिक स्वास्थ्य समस्याहरूलाई न्यूनीकरण गर्न टीपीओले बर्दियाको मधुवन नगरपालिकामा खेलकुद कार्यक्रमको आयोजना गर्दछ । बालबालिकाहरूले साप्ताहिक रूपमा आयोजना हुने फुटबल, मार्सल आर्ट्स र नाच जस्ता गतिविधिमा सहभागी भएर कसरी जीवनको लक्ष्यहरू तय गर्ने, समस्याहरूको पहिचान गरेर समाधान गर्ने, भावनाहरू बुझेर व्यवस्थापन गर्ने, असफलतालाई सम्हाल्ने र हानिकारक व्यवहारहरूबाट जोगिने तरिकाहरू सिक्छन् । टीपीओ नेपाल, द्वन्द्वका घाइते तथा अन्य जोखिममा रहेका समुदायका परिवार तथा बच्चाहरूको मनोसामाजिक तथा मानसिक स्वास्थ्यको प्रवर्द्धनका लागि सन् २००५ मा स्थापना भएको संस्था हो ।
८ वर्षीय मालिका चौधरी आफ्ना १२ वर्षीय दाइ आविष्कार चौधरी र अर्को १८ वर्षीय दाइ धिरज चौधरी तथा हजुरआमा लक्ष्मी देवी चौधरीसँग बस्छिन् । उनीहरूको घर प्रकाशको घरदेखि धेरै टाढा छैन । उनीहरूको पनि आमाबुबा दुवै वैदेशिक रोजगारीमा छन् । एकापसमा झगडा गरिराख्ने भएकोले बच्चाहरू स्याहार्न आफूलाई गाह्रो भएको उनीहरूको हजुरआमा लक्ष्मी देवी बताउँछिन् । उनका अनुसार बच्चाहरू जति बेला पनि रुने र आमाले आफूहरूलाई साँच्चै माया गर्छिन् भनेर सोध्ने गर्दछन् ।
“बच्चाहरूले मनमा रहेको कुरा भन्न सक्दैनन्,” पाठक भन्छिन्, “अनि मनको कुरा जब दब्छ त्यो मनमा गाँठो परेर बस्छ।”
पाठक र प्रधानजस्ता मनोविद्हरूको धारणालाई विद्यालयमा शिक्षकहरू कुराले पनि पुष्टि गर्दछ। आमाबुबाको अनुपस्थितिमा बच्चाको शैक्षिक र मनोसामाजिक व्यवहारमा देखिने गरी भएका परिवर्तन आफूहरूले अनुभव गरेको उनीहरू बताउँछन् ।
आमाबुबासँग विद्यालय आउने बच्चा खुसी भएर समयमै विद्यालय आइपुग्ने तर आमाबुबाविना आउने विद्यार्थी प्राय ढिला आउने र दुखी देखिने बर्दियाको बनकट्टीमा रहेको किसान माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हरि प्रसाद गौली बताउँछन् । यी बच्चाहरूले आफ्नो गृहकार्य नगर्ने, किताब कापी नल्याउने, झर्किने र कक्षाकोठामा अरू विद्यार्थीभन्दा अलग्गै बस्ने गरेको उनी बताउँछन्। यो विषयमा भएका अध्ययनले पनि यस्तो व्यवहार तथा प्रवृत्ति देखाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारी विदेशमा रहेका आमाबाबुका बच्चाहरूको मानसिक स्वास्थ्य समस्याका बारेमा मन्त्रालय जानकार रहेको बताउँछन् । यो समस्या समाधानको लागि भनेर सरकारको छुट्टै कार्यक्रम नभए तापनि देशव्यापी रूपमा समग्र मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको उनी बताउँछन् । “यदि कुनै बच्चालाई मानसिक स्वास्थ्य उपचार सेवा चाहियो भने उनीहरूले त्यो सरकारबाट प्राप्त गर्न सक्छन्,” उनी भन्छन् ।
जैशीको टिनले छाएको सानो घर सुनसान छ । उनको आमाको बारेमा कुरा गर्ने बित्तिकै उनको आँखाबाट आशु झर्छ । “आमा घरमा भएको भए हामीले राम्रोसँग पढ्न पाउने थियौँ । समयमै विद्यालय जान मिल्थ्यो । अरू साथिहरू समयमै विद्यालय जान्छन् । हामीलाई ढिलो भइहाल्छ,” प्रकाश भन्छन् ।
पाठकको विचारमा यो धेरै वास्ता नगरिएको सङ्कट यति चिन्ताजनक छ कि यसलाई सम्बोधन गर्नका लागि आमाबुबाले बच्चाहरूलाई छोडेर बाहिर जान नपाउने कानुन लागु गर्न जरुरी भइसकेको छ । यदि बच्चाको मानसिक स्वास्थ्यमा सुधार ल्याउने हो भने समुदायमा बाल मनोविज्ञानको महत्त्व बारेमा सचेतना फैलाउनुपर्ने उनी बताउँछिन् ।
“यदि बच्चा धेरै रोयो भने उसलाई रुन्चे भनिन्छ । तर मानिसहरूले यो एउटा लक्षण हो भन्ने कुरा बुझ्दैनन् ।”
याम कुमारी कंडेल ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।