Nepal

मोबाइल फोन र शिक्षाको प्रभावले तानेर लैजाने विवाह परम्परा हराउँदै

नेपालको मुस्ताङ जिल्लाका केही गाउँमा त्यहाँको परम्पराअनुसार केटाले आफूलाई मन परेको केटी घरैबाट तानेर लाने र अन्य आफन्तहरु राखेर विवाहको लागि फकाउने गर्थे । तर शिक्षा र टेलिभिजनको प्रभावले अहिलेका युवापुस्ता विवाहको त्यस्तो परम्परा छाड्दै छन् ।

Read this story in

Publication Date

Fewer Marriages Start With Abduction, Thanks to Texting – and Education

शिलु मानन्धर, जीपीजे नेपाल

निलो टोपी लगाएका रिदम गुरुङ नेपालको मुस्ताङ जिल्लामा रहेको खिंगा गाउँमा आयोजित आर्चरी प्रतियोगितामा सहभागी हुँदै । विवाह गर्न मन लागेको महिलालाई पुरुषले तानेर लैजाने यो क्षेत्रको पुरानो परम्परा हो । तर यो परम्परामा परिवर्तन आइरहेको छ र त्यसको उदाहरण गुरुङ हुन् जसले भागी विवाह गरेका थिए ।

Publication Date

खिंगा, नेपाल : विवाहको पुरानो नियम एकदमै सजिलो थियो । मन पराएको केटीलाई उसको घरबाटै तानेर लगेपछि यो प्रक्रिया सुरु हुन्थ्यो । विवाह गर्ने मन भएको अविवाहित पुरुषले आफ्ना साथीभाई र आफन्त बटुल्छ र उनीहरु घोडा चढेर केटाले मन पराएको केटीको गाउँ पुग्छन् । राति केटा लुकेर केटीको घरभित्र पस्छ र केटीलाई तानेर घोडामा बसाल्छ । केटा आफ्नो गाउँ फर्कन्छ र केटीलाई कम्तीमा तीन दिन गाउँको अगुवाको घरमा राख्छ । तीन दिनपछि यदि केटी उक्त केटासँग विवाह गर्न राजी भइन् भने उनीहरुको विवाह हुन्छ । यदि केटीले उक्त केटासँग बिहे गर्न मानिन भने उनलाई आफ्नो घर फर्काइन्छ ।

सेवाङ नाम्गे गुरुङले आफू २२ वर्षको हुँदा यसैगरी पाल्मो गुरुङसँग विवाह गरेका थिए । उनी त्यतिबेला २४ वर्षकी थिइन् ।

“म एकदमै डराएको थिएँ,” २४ वर्षअघिको त्यो क्षण सम्झदै उनी भन्छन्, “मेरो मुटु एकदमै जोडले धड्किएको थियो ।”

उनले डराउँदै भए पनि पाल्मो गुरुङलाई घोडामा राख्न सफल भए । झन् त्यो बेला पाल्मोकी आमाले उनलाई चिच्याएर गाली गर्दै थिइन् । जब पाल्मो गुरुङले के भइरहेको छ भन्ने थाहा पाइन् अवस्था झन् जोखिमपूर्ण भयो ।

“उनले मेरो नाकमा मुक्का हानिन्,” सेवाङ नाम्गे गुरुङ भन्छन्, “मेरो नाकबाट रगत बग्न थाल्यो। उनी एकदमै आँटी महिला हुन्।”

तर यो कोलाहल सकिएपछि उनीहरुले रातभर कुराकानी गर्ने अवसर पाए । सेवाङ नाम्गे गुरुङले आफ्नो परिवार र आफूले कल्पना गरेको जीवनका बारेमा पाल्मोलाई बताए ।

“‘हाम्रो भाग्य यही हो,’ मैले उनलाई भनें । ‘भगवानले हामीलाई एक ठाउँमा ल्याएका हुन्,’” उनी भन्छन् ।

पाल्मो गुरुङ सेवाङसँग विवाह गर्न सहमत भएको बताउँछिन् । त्यसयता यी दुई सँगै जीवन बिताइरहेका छन्।

यो परम्परा निर्मम पनि छ । श्रीमती बनाउनका लागि तानेर लैजाँदा शारीरिकरुपमै महिलालाई दबाउनु पर्ने भएकोले कहिलेकाहीं यो हिंसात्मक बन्न पुग्छ । पुस्तौसम्म चल्दै आएको यो परम्पराको स्वास्थ्यमा समेत प्रभाव पर्ने एउटा नयाँ अध्ययनले देखाएको छ ।

ड्युक विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक रहेका चाल्र्स बेकरको नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले अपहरण गरी विवाह गरिएका बेहुलीबाट जन्मने सन्तान कम तौलका हुनसक्ने तथ्य पत्ता लगाएको छ । बेहुली अपहरणको परम्परा तुलनात्मकरुपमा सामान्य मानिने किर्गिस्तानमा अनुसन्धानकर्ताहरुले यो बिषय विशेषरुपमा अध्ययन गरेता पनि उनीहरुले अन्य देशहरुमा पनि यस्तो अभ्यास रहेकोअध्ययनमा उल्लेख गरेका छन् ।

तर खिंगाका स्थानीयहरु यो प्रचलन अकस्मात हराएको बताउँछन् । इन्टरनेट पहुँच बिरलै रहेको र अर्को दुर्गम गाउँ पुग्न घण्टौं हिंड्नुपर्ने नेपालको यो पहाडी भूभागमा पनि युवाहरु जीवन बिताउने नयाँ तरिका देख्छन् ।

रिदम गुरुङ र साङ्गे गुरुङले ६ वर्षअघि विवाहगर्ने निर्णय गरे ।उनीहरु एक वर्षदेखि प्रेममा थिए र यो सम्बन्धलाई जिवनभर निरन्तरता दिन चाहन्थे । त्यसैले उनीहरु घेन्पा भनेर चिनिने गाउँको मुखियाकोमा गए जहाँ उनीहरुको विवाहको साइत टुंगो लाग्यो । त्यसको १० दिनपछि उनीहरुले विवाह गरे ।

“यो पुस्ता परिवर्तन हुँदै छ र अहिले धेरैले भागेर वा मागी विवाह गर्दैछन्,” रिदम गुरुङ भन्छन् ।

“मानिसहरु टिभी हेर्छन् र शहरमा के भइरहेको छ भन्ने देख्छन् । धेरै बच्चाहरु विद्यालय जाँदैछन् र जीवनयापनका विकल्पहरु सिक्दैछन् । मोबाइल फोन सामान्य घरायसी साधन बनेका छन् भने मोबाइल म्यासेज अन्यत्रजस्तै ग्रामीण नेपालमापनि लोकप्रिय छ ।

विवाहको पुरानो चलन लगभग हटिसकेको रिदम गुरुङ बताउँछन् ।

हाम्रो भाग्य यही हो,” मैले उनलाई भने, “भगवानले हामीलाई एक ठाउँमा ल्याएका हुन् ।

यो परिवर्तन मुख्यतः आफ्नो निर्णय आफैं लिने र त्यसलाई स्वीकार्न परिवारलाई बाध्य पार्ने युवाको कारणले भएको खिंगाका पूर्व घेन्पा छेवाङ नोर्बु गुरुङ बताउँछन् । उनी अप्रिल २०१६ देखि अप्रिल २०१७ सम्म खिंगाका घेन्पा थिए ।

केटा र केटी दुवैले एकअर्कासँग बिहे गर्ने निर्णय गरेर घेन्पालाई भनेका छन् भने तिनका अभिभावकहरु उक्त विवाहको लागिअझ सजिलै राजी हुने गरेका छन् ।

“यो अभिभावकहरुलाई मनाउने झन सजिलो तरिका हो,” छेवाङ नोर्बु गुरुङ भन्छन् ।

मागी विवाहमा परिवारले खोजेको केटाको बारेमा निर्णय गर्दा अचेल केटीको निर्णय मुख्य हुने काठमाडौंस्थित समाजशास्त्री गणेश गुरुङ बताउँछन् ।

“अहिले केटीको ईच्छा विपरीत केही हुन थाल्यो भने उनले प्रतिक्रिया जनाउन सक्छिन्,” उनी भन्छन् । “यो लैङ्गिक समानताको दिशामा एउटा प्रगतिशील परिवर्तन हो ।”

पुरानो परम्पराअनुसार विवाह गरेका जोडीहरु पनि अहिले परिवर्तनका लागि तयार छन् ।

आफूलाई तानेर लैजाँदा आफ्नो हुनेवाला श्रीमानको नाकमा मुक्का हानेकी पाल्मो गुरुङ पनि यो नयाँ प्रवृतिसँग खुशी छिन् ।

“मेरो छोरा र छोरीले आफ्नो जीवनसाथी आफै खोज्न र आफू तयार भएपछि विवाहको निर्णय गर्न सक्छन्,” उनी भन्छिन् ।

 

जीपीजेका सागर घिमिरेले यो लेख नेपालीमा अनुवाद गरेका हुन् ।

सम्पादकको नोट: लेखमा उल्लेखित गुरुङ ति गाउँका साझा थर हो । विवाहित जोडी पाल्मो गुरुङ र सेवाङ नाम्गे गुरुङ र रिदम गुरुङ र साङ्गे गुरुङ बाहेक कुनै पनि श्रोतहरुको एकअर्कासँग प्रत्यक्ष साइनो छैन् ।