
सुनिता न्यौपाने, जिपिजे नेपाल
काठमाडौंस्थित आफ्नो पसलमा बसिरहेका नेत्र । मानव तस्करहरूले २१ वर्षको उमेरमा उनलाई साइबर दासत्वको हब म्यानमार पुर्याएका थिए। त्यहाँ उनले मानिसहरूलाई अनलाइनमार्फत स्क्याम गर्न दैनिक १८ घण्टा काम गर्नु पर्थ्यो। उनी तस्करीको शिकार बनेका अर्का व्यक्तिको मद्दतमा त्यहाँबाट भाग्न सफल भएका थिए।
काठमाडौं, नेपाल — पूर्वी नेपालका २१ वर्षीय नेत्रलाई आफू आइटीसम्बन्धी आकर्षक जागिरका लागि ‘टेक्नोलोजी सेन्टर’ मा जाँदै छु भन्ने लागेको थियो। तर म्यानमारको त्यो दुर्गम क्षेत्रमा पुग्दा उनको आँखाअगाडि जुन दृश्य देखियो, त्यसबाट उनी छाँगाबाट खसे जस्तो भए। त्यहाँ केही मानिसको आँखा फुटाइएको र कसैको खुट्टा काटिएको थियो। कोही बेहोस जस्तै भएर सुतेका थिए।
उनका अनुसार गार्डहरूले गेटमै उनको राहदानी र फोन खोसिसकेका थिए र उनलाई एउटा सम्झौता पत्र थमाइएको थियो। जसमा लेखिएको थियो: लागुपदार्थ सेवन गर्दिनँ। फोन चलाउन्न। मानव बेचबिखन स्वीकार गर्छु।
उनले तुरुन्तै बुझिहाले, उनले यहाँ आफ्नो सपनाको काम गर्न पाउने छैनन्। उनलाई त साइबर दास बनाइसकिएको छ र उनी मानव तस्करको जालोमा फसिसकेका छन्। त्यहाँ उनको काम विश्वभरका मानिसहरूलाई इन्टरनेटमार्फत ठग्नु थियो । उनीहरूले भनेअनुसार काम नगर्दा उनलाई चरम यातनाको दिइन्थ्यो।
उनी भन्छन्, “मसँग कि मर्ने कि हस्ताक्षर गर्ने बाहेक विकल्प थिएन। मैले आफू बेचिएको आफैँ हस्ताक्षर गरेको थिएँ।”
म्यानमार र कम्बोडियाका दुर्गम क्षेत्रमा खडा गरिएका साइबर अपराधका अखडामा २ लाख २० हजारभन्दा बढी मानिसहरूलाई तस्करी गरेर लागिएको बताइएको छ। नेत्र उनीहरूमध्ये एक हुन्। हातहतियारसहितका गार्डहरूको कडा निगरानीमा सञ्चालित यस्ता स्क्याम सेन्टरमा उनीहरूलाई क्रिप्टो तथा प्रेम घोटाला गर्न बाध्य पारिन्छ र भूमिगत रूपमा रहेर अर्बौं डलर बराबरको विश्वव्यापी साइबर दासत्व उद्योग सञ्चालन गरिन्छ । हल्काफुल्का अङ्ग्रेजी बोल्न जानेका र गरिबी र बेरोजगारीको चर्को समस्या भएका देशका युवाहरूलाई यस्तो ठाउँमा तस्करी गरेर ल्याउने गरिन्छ।
बङ्गलादेशका २६ वर्षीय फैसललाई उनकै एक विश्वासिला साथीले थाइल्यान्डमा आकर्षक तलवसहितको काम पाइएको छ जाने हो भनेर सोधे। उनले साथीको कुरा सजिलै पत्याएर थाइल्यान्ड जान राजी भए। फैसलले दुबईमा वर्षौँसम्म ग्राफिक्स डिजाइनरका रूपमा काम गरेका थिए। पछि कोरोना महामारीका बेला काम गुमाएका उनले एउटा रेस्टुरेन्टको किचनमा काम गर्दै थिए। उनलाई थाइल्यान्ड जाने यो अफर एकदमै राम्रो लाग्यो। उनी आकर्षक तलव र समृद्ध जीवनको प्रलोभनमा परे। अझ दलालहरूले नै उनको भिजा शुल्क र प्लेनको टिकट व्यहोर्ने भनेपछि त उनी दङ्ग भए। तर उनले त्यहाँ पुगेपछि निकै यातना खेप्नु पर्यो र उनलाई अमानवीय परिस्थितिमा काम गर्न बाध्य बनाइयो।



फिलिपिन्सकी जेनीको पनि यस्तै कथा छ। आफूलाई २०२२ मा एक जना आफन्तले थाइल्यान्डमा इन्कोडरको कामका बारेमा बताएको उनी बताउँछिन्। त्यस बेला उनी मनिलाको दक्षिण पश्चिमी भागमा सुरक्षा गार्डका रूपमा काम गर्थिन्। यो नयाँ काममा उनलाई साबिकको भन्दा चार गुणा तलव दिइने भनिएको थियो। उनले म्यासेन्जरबाट एउटा भिडियो आवेदन पठाइन् र त्यसको तीन दिनभित्रै उनलाई थाइल्यान्डको विमान चढ्ने चाँजोपाँजो मिलाइयो। त्यहाँ उनलाई “मिरिन्डा” नामकी एक कोरियाली मोडेलको नामबाट दैनिक रूपमा ५० जनाभन्दा बढी मानिससँग च्याट गरेर उनीहरूबाट पैसा धुत्न बाध्य पारियो। त्यहाँ रहँदा आफ्नो अनुभव एकदमै दर्दनाक भएको र आफूले पटक पटक शारीरिक दुर्व्यवहारको शिकार बन्नु परेको उनी बताउँछिन्।
कैयौँ एसियाली र अफ्रिकी देशमा रेमिट्यान्सले नै देशको कुल गार्हस्थ उत्पादनको ठुलो हिस्सा ठग्ने गरेको छ। बङ्गलादेशको ५%, फिलिपिन्सको ९% र नेपालको २५% कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सकै देन छ। यी देशका नागरिकहरू प्रायः निर्माण क्षेत्रका न्यून वा मध्यम स्तरका श्रमिक, ड्राइभर वा घरेलु कामदारका रूपमा विदेश जाने गर्छन्। यस्तो अवस्थामा कार्यालयमा बसेर सूचना प्रविधिको क्षेत्रमा काम गर्नु सपना जस्तै हुन्छ।
नेपालको मानव अधिकारका लागि जनमञ्चका सोम लुइँटेलका अनुसार मानिसहरूको “विदेश जाने बाध्यता” को फाइदा उठाउँदै यस्ता ठगी धन्दा सञ्चालन गरिन्छ।



आधुनिक उद्योग
साइबर दासत्व तुलनात्मक रूपमा नयाँ कुरा हो। यसबाट उद्धार गरिएका वा जसोतसो भागेर आएका मानिसहरूले आफूलाई शारीरिक दुर्व्यवहार गरिएको, अमानवीय वातावरणमा काम गराइएको, बन्धक बनाएर राखिएको र अन्य मानव अधिकारहरूको उल्लङ्घन भएको बताउँछन्।
संयुक्त राष्ट्रसङ्घले २०२५ को अप्रिल महिनामा जारी गरेको एउटा प्रतिवेदनअनुसार लामो समयदेखि कल-सेन्टर स्क्यामको हब बन्दै आएको एसियामा श्रमिक तथा आम्दानीको दुवै स्रोत भएकाले यो क्षेत्र यस्ता अपराधको ‘ग्लोबल इन्जिन’ बनेको छ। कोभिड महामारीपछि एसियाको डिजिटल रूपान्तरण तीव्र रूपमा अघि बढ्दै गर्दा स्क्यामहरू पनि सोही गतिमा बढेका छन्। यो वर्षको फेब्रुअरीमा मात्र म्यानमारको एक जातीय सशस्त्र सैन्य समूहले म्यानमारमा उद्योग स्तरमा सञ्चालित स्क्याम सेन्टरमा बन्धक बनाएर राखिएका १९ देशका २६० जना व्यक्तिको उद्धार गरेको थियो।
संयुक्त राष्ट्रसङ्घको लागुऔषध तथा अपराध कार्यालयअन्तर्गत एसियाको मानव तस्करी शाखाकी क्षेत्रीय संयोजक रेबिका मिलर भन्छिन्, “खास गरी दक्षिण पूर्वी एसियामा यस क्षेत्रको अहिलेसम्मकै उच्च दरमा सीमापारको सङ्गठित अपराध बढिरहेको छ।” सेवामा आधारित नयाँ मोडेलहरूले गर्दा र “तीव्र गति र प्रभावकारिता” सहित एउटा देशबाट अर्को देशमा नाफा लैजान सक्ने क्षमता बढ्दै गएकाले यस्ता अपराधको दर पनि बढ्दै गइरहेको उनी बताउँछिन्।
तस्करी गरेर लगिएका मानिसहरूलाई जबर्जस्ती काम गर्नका लागि राखिने भवन परिसरहरू महामारी यता एसियामा च्याउ जस्तै उम्रिएका छन् भने १९९० को दशकका चिनियाँ तथा कम्बोडियाली क्यासिनो
क्षेत्रहरू ‘साइबर स्लेभरी हब’ मा रूपान्तरित भएका छन्।
संयुक्त राज्य अमेरिकाको इन्स्टिच्युट अफ पिसले २०२४ मा सार्वजनिक गरेको एउटा प्रतिवेदन मा साइबर स्क्यामबाट कम्बोडियामा १२.५ अर्ब अमेरिकी डलर, म्यानमारमा १५.३ अर्ब अमेरिकी डलर र लाओसमा १०.९ अर्ब अमेरिकी डलर भित्रिएको उल्लेख गरिएको छ। यो यी देशहरूको कुल गार्हस्थ उत्पादन जोड्दा प्राप्त हुने राशिको झन्डै ४०% रकम हो।
अहिले अरू थप देशहरूमा पनि साइबर दासत्वका नयाँ नयाँ अखडाहरू खुलिरहेका छन्। फिलिपिन्समा सरकारले मानव तस्करी र अन्य किसिमका आपराधिक गतिविधि सञ्चालन गरिँदै आइएका कैयौँ भवनहरूमा छापा मारेर नियन्त्रणमा लिएको छ। अहिले ती भवनहरूलाई त्यही ठाउँमा श्रमिक तस्करी केन्द्र सञ्चालन गर्ने अपराधीहरूलाई राख्ने डिटेन्सन सेन्टरका रूपमा प्रयोगमा ल्याइएको छ।






र यो सङ्कट यस क्षेत्रमा मात्र सीमित छैन: २०२३ मा अमेरिकीहरूले साइबर स्क्याममा फसेर १२ अर्ब अमेरिकी डलर गुमाएका थिए। योमध्ये अधिकांश स्क्याम दक्षिण पूर्वी एसियाका सिन्डिकेटहरूबाट सञ्चालित छन्।
नेपाल, बङ्गलादेश र फिलिपिन्स जस्ता न्यून आय भएका देशका मानिसहरू साइबर स्लेभरी सेन्टरमा तस्करी गरिने सबैभन्दा बढी जोखिममा छन्। यी देशमा गरिबीको चर्को समस्या छ र राम्रो तलव सुविधासहितका काम पाउन एकदमै कठिन छ।
नेपाल सरकारको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपमहानिरिक्षक ज्ञान बहादुर बिस्टका अनुसार तस्करहरूले डिजिटल साक्षरता भएका र सामान्य प्राविधिक ज्ञान भएका युवाहरूलाई निशाना बनाउने गर्छन्। स्क्याम सेन्टरहरू अझ बहुभाषी हुँदै गएकाले अङ्ग्रेजी भाषा जानेका मानिसहरू अझै पनि मुख्य निशाना बन्ने गरेको उनी बताउँछन्।
केही युवाहरूलाई अपहरणकै शैलीमा स्क्याम सेन्टर लगिने भए पनि अधिकांश युवाहरू फेसबुक, इन्स्टाग्राम वा ह्वाट्सएप र टेलिग्राम जस्ता म्यासेजिङ एपमा देखिने रोजगारीका विज्ञापनबाट प्रलोभनमा परेर आफैँ फस्ने गर्छन्। यस्ता विज्ञापनमा अनुवादक वा कस्टमर सर्भिस एजेन्ट जस्ता स्पष्ट विवरण नखुलाइएका पदमा कर्मचारी चाहिएको र १ हजारदेखि १५ सय अमेरिकी डलर तलव दिने प्रस्ताव गरिएको हुन्छ। विभिन्न कम्पनीका नक्कली लोगो देखाएर र साँच्चिकै अन्तर्वार्ता लिएको जस्तो गरेर यस्ता रोजगारी वास्तविक भएको भ्रम छरिन्छ।
स्याम सेन्टरका सञ्चालकहरूले सुरुमा यसरी आकर्षक रोजगारीको प्रलोभन देखाउँदै युवाहरूलाई स्क्याम गरेर साइबर स्लेभरीको जालोमा फसाउँछन् र पछि उनीहरूलाई नै विश्वभरका मानिसहरूलाई स्क्याम गर्न लगाएर पैसा धुत्न बाध्य पर्छन्। २०२४ को जनवरी महिनामा प्रकाशित संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार उनीहरू डिफफेक, ब्लकचेक जेनेरेटिभ एआई र मेसिन लर्निङका सहायताले “मानिसहरूको विश्वास तथा भावनामाथि खेलबाड गर्दै उच्च सफलता दरसहित सोसल इन्जिनियरिङ स्क्यामहरू सञ्चालन गर्छन्।”
तस्करहरूले श्रमिकहरूलाई फसाउँदै छन् भन्ने कुरा प्रायः थाहा पाउनै सकिन्न। रोजगारीको आशामा जाने श्रमिकहरू प्रायः स्थानीय एजेन्टहरूले मिलाइदिएको पर्यटक भिजामा यात्रा गर्छन्। त्यसैले उनीहरू विदेश प्रस्थान गर्दा सुरक्षा निकायलाई कुनै शङ्का उत्पन्न हुँदैन। एजेन्टहरूले अवैध कागजात तथा होटेल बुकिङहरू खडा गर्दा कहिलेकाहीँ मात्र अध्यागमन विभागका अधिकारीहरूले हस्तक्षेप गर्छन्।
फिलिपिन्सको आप्रवासी श्रमिक विभागकी उपसचिव ओलालिया भन्छिन्, “सिन्डिकेटहरूले पीडितहरूलाई उनीहरूले कत्ति पनि पैसा खर्च गर्नु पर्दैन भनेर सजिलो बनाइदिन्छन्… र पीडितहरूले पनि उनीहरूको कुरा सही हो होइन भन्ने कुरा पुष्टि नगरिकनै राजी भइहाल्छन्।”
आवश्यक सबै कागजातहरू हुने भएकाले आफ्नो सपना पूरा गर्न जान लागेका युवाहरू सुरक्षा अधिकारीहरूको सन्देहविना नै सीमा पार गर्छन्।
विदेश गएका युवाहरू कहिल्यै फर्केर नआएपछि मात्र परिवारका सदस्य र साथीभाइलाई शङ्का लाग्न थाल्छ। गत वर्ष भारतीय सरकारले जनवरी २०२२ र मे २०२४ का बिचमा झन्डै ३० हजार भारतीय नागरिक कम्बोडिया, थाइल्यान्ड, म्यानमार र भियतनाम गएको तर फर्केर नआएको विवरण सार्वजनिक गरेको थियो।
भ्रस्ट कर्मचारी, दुर्गम क्षेत्र
यस्ता स्क्याम सेन्टरहरू मुख्य गरी म्यानमारको अप्रशासित क्षेत्रमा अवस्थित छन्। तर यी सेन्टरहरूको सञ्चालनका लागि चाहिने बिजुली, टेलिकम र फाइनान्स जस्ता पूर्वाधारहरू भने सिमाना जोडिएको थाइल्यान्डबाट प्राप्त हुन्छ। संयुक्त राज्य अमेरिकाको इन्स्टिच्युट अफ पिसका अनुसार थाइल्यान्ड र म्यानमारको सिमाना छुट्याउने मोई खोला कोरिडोरको ५० लाख वर्ग मिटरमा फैलिएर कम्तीमा १७ वटा आपराधिक क्षेत्रहरू सञ्चालनमा छन्। २०२१ मा म्यानमारमा सैन्य कू भएसँगै यी क्षेत्रहरू फस्टाएका हुन्।
यी भवनका परिसरहरू झट्ट हेर्दा सशस्त्र बिजनेस पार्क जस्ता देखिन्छन्। यहाँ निरन्तर रूपमा सिपाहीहरूले गस्ती गरिरहेका हुन्छन् तर यहाँ बास्केटबल कोर्ट, क्लिनिक्स, सैलुन र रक्सी र यौनकर्मीहरूको व्यवस्था भएका पसलहरू पनि देख्न सकिन्छ।
संयुक्त राष्ट्रसङ्घको लागुपदार्थ तथा अपराध विभागका मिलरका अनुसार राजधानी सहरभन्दा धेरै टाढा पर्ने यस्ता सीमा क्षेत्रमा कानुनी राज्य कमजोर वा भ्रस्ट हुने भएकाले यी आपराधिक सञ्जालहरू यहाँ केन्द्रित भएका हुन् र केही अवस्थामा त यस्ता ठाउँहरू सशस्त्र समूहहरूको नियन्त्रणमा हुन्छन्।
“यसले यो क्षेत्रका सरकारलाई कडा चुनौती दिइरहेको छ,” मिलर भन्छन्। “आफ्नो नियन्त्रण नै नभएको ठाउँमा भएको अपराधसँग सरकारले कसरी जुध्ने?”
जुवादेखि लिएर मानव तस्करीसम्मका अवैध गतिविधिहरू ढाकछोप गर्नका लागि यस्ता सङ्गठनहरूले हेर्दा कानुनी जस्तो लाग्ने मोहरा र भर्चुअल एसेटहरूको प्रयोग गर्छन्। यहाँ जताततै भ्रस्टाचार व्याप्त छ। थाइल्यान्ड, म्यानमार र चीनका प्रशासनिक निकायका साथै बङ्गलादेश र दुबईका मानव तस्कर सञ्जालहरू सबै यस्ता गतिविधिमा संलग्न भएको बीएआरसी माइग्रेसन प्रोग्रामका क्षेत्र विशेषज्ञ रेहान कबिर दाबी गर्छन्।
उनी भन्छन्, “यो चेनको हरेक लिंक मानव तस्करी गर्ने प्रक्रियामा संलग्न हुन्छ।” “यो विश्वव्यापी सङ्गठित अपराध हो।”
प्रहरीले नै तस्करी गरिने मानिसहरूलाई अध्यागमनबाट पार गराउने र त्यसपछि होटेल र सिमानासम्म पुर्याउने उनी बताउँछन्। त्यसपछि उनीहरूलाई नदी पार गराइन्छ र सशस्त्र समूहहरूले उनीहरूलाई नियन्त्रणमा लिन्छन्।
ओलालिया भन्छिन्, “धेरै ठाउँमा प्रहरी नै भ्रस्ट छन्। सरकारी अधिकारीहरूको सिन्डिकेटसँग लिंक हुन्छ।”



‘प्रक्रिया यति छिटो छिटो भएको थियो कि…’
नेत्रसँगै प्रविधिको क्षेत्रमा काम गरेको कुनै पनि अनुभव थिएन। तर उनका काकाको साथीले थाइल्यान्डमा कम्प्युटर टेक्निसियनको काम लगाइदिने प्रस्ताव गर्दा उनले त्यसलाई तुरुन्तै स्वीकार गरिहाले। नेपालको औसत तलवभन्दा १२ गुणा बढी, अर्थात् महिनाको १६०० अमेरिकी डलर तलव हुने कुरा सुनेपछि उनको मन यसै फुरुङ्ग भएको थियो।
नेत्र भन्छन्, “प्रक्रिया यति छिटो छिटो भएको थियो कि मैले केही सोच्ने मौका नै पाइनँ।”
नेत्र उनको वास्तविक नाम होइन। यो उनले म्यानमारमा हुँदा आफ्नो पहिचानका लागि प्रयोग गरेको नाम हो। उनलाई “एलिसिया” नामक नक्कली महिला व्यापारीको नामबाट पीडितहरूलाई इन्भेस्टमेन्ट स्क्याममा फसाउन लगाइन्थ्यो। पीडितहरूको भावनामा खेलेर विश्वास जित्नका लागि उनले उनीहरूसँग स्क्रिप्टअनुसार कुरा गर्थे। पीडितलाई झुक्याएर झन्डै २६५ अमेरिकी डलर ठगेपछि भने उनी बेपत्ता भइहाल्थे।
बन्धक बनाएर जबर्जस्ती काममा लगाइएका स्क्यामरहरू आफूलाई उपलब्ध गराइएको विस्तृत निर्देशिकाअनुसार बल्छी थापेको माछालाई जस्तै गरी आफ्ना शिकारलाई चारो हाल्छन् र बल्छीमा फसाइसकेपछि उनीहरूबाट सक्दो धेरै पैसा धुत्छन्।
म्यानमार-थाइल्यान्ड सिमानामा पुगेपछि आफूलाई “एउटा भवनको झ्यालबाट हाम फाल्न लगाएर टायरमा बसेर नदी पार गर्न बाध्य पारिएको” जेनी बताउँछिन्। उनले आफ्नो इच्छाविपरीत झन्डै एक वर्षसम्म स्क्याम सेन्टरमा काम गरिन्।
सूचना प्रविधिको क्षेत्रमा सुरक्षित काम पाउने सपना बोकेका फैसल थाइल्यान्ड अवतरण गरे। तर उनलाई विमानस्थलमा हातहतियारसहितका मानिसहरू लिन आए र उनलाई घण्टौँसम्म गाडीमा राखेर बन्दुकको बलमा म्यानमार छिराइयो।
उनले त्यहाँ आफूलाई दिइएको स्क्याम टार्गेट पूरा गर्न नसक्दा उनले चरम यातना भोग्नु पर्यो। एक पटक त उनका यौनाङ्गहरूमा करेन्ट लगाइयो।
“एक जनालाई उनीहरूले कुटेर मारेका थिए,” उनी भन्छन्। “मैले त्यहाँ हुँदा एक जना महिलाले आत्महत्या गरिन् भन्ने सुनेको थिएँ।”



त्यहाँबाट भाग्न असम्भव जस्तै
यी स्क्याम सेन्टरहरूको परिसरभित्र छिरिसकेपछि भाग्य बलियो छ, बाहिर कसैले मद्दत गर्यो वा यी दुवै कुरा भयो भने मात्र त्यहाँबाट निस्किने सम्भावना हुन्छ।
इन्टरनेटको कुनै सीमा नहुने भएकाले यो समस्या झन् जटिल बनेको छ र अपराधीहरू एउटा देशमा बसेर अर्को देशका मानिसलाई सजिलै लक्षित गर्न सक्छन्। ‘क्रिप्टो र्यान्सम पेमेन्ट’ जस्ता अपराधहरू परम्परागत कानुनी फ्रेमवर्कभन्दा बाहिर पर्छन्।
अप्रिल २०२५ मा उपलब्ध तथ्याङ्कअनुसार नेपालको मानव बेचबिखन अनुसन्धान ब्युरोले पछिल्ला १८ महिनामा डिजिटल दासत्वका १६ वटा केस दर्ता गरेको छ भने ३ चिनियाँ नागरिकसमेत गरेर जम्मा २५ जनालाई पक्राउ गरेको छ। तर यस्ता अपराधमा क्षेत्राधिकारसम्बन्धी चुनौतीले गर्दा आवश्यक कानुनी कारबाही गर्न कठिन हुने गर्छ।
प्रहरी उपमहानिरीक्षक ज्ञान बहादुर बिस्ट भन्छन्, “फिसिङ र प्रेम घोटाला जस्ता स्क्याम गर्दा प्रायः विदेशी सर्भर प्रयोग गरिने भएकाले नेपाली अधिकारीहरूलाई डिजिटल प्रमाण सङ्कलन गर्न कठिन हुने गरेको छ।”
अन्य देशहरूले पनि यस्तै चुनौतीहरूको सामना गइरहेका छन्।
बङ्गलादेशका प्रहरी सीआईडी अतिरिक्त सुपरिटेन्डेन्ट मोस्ताफिजुर रहेमान भन्छन्, “बङ्गलादेशभित्र यस्ता घटना हुँदा हामी आफ्नो सम्पूर्ण तागत लगाएर तुरुन्तै कारबाही गर्न सक्छौँ तर अन्तर्राष्ट्रिय अपराध वा धेरै देशका पक्षहरू संलग्न अपराधका हकमा भने हामीले उपयुक्त च्यानलमार्फत अघि बढ्नु पर्ने हुन्छ र त्यसका लागि धेरै समय पनि लाग्छ र आवश्यक कारबाही गर्न एकदमै चुनौतीपूर्ण हुन्छ।”
मानव तस्करीका यी घटनामा श्रमिकहरू आफैँले कामका लागि सहमति जनाएको देखिने भएकाले मानव तस्करीका अन्य घटनाका तुलनामा कसैलाई दोषी ठहर गर्न कठिन हुने गर्छ।



ओलालिया भन्छिन्, “कहिलेकाहीँ विदेशी फिलिपिनो श्रमिकहरू पक्राउ पर्दा उनीहरूलाई नै कानुनको उल्लङ्घन गर्ने व्यक्तिका रूपमा लिइन्छ र उनीहरू यी देशमा कसरी पुगे भनेर प्रश्न गरिन्छ।”
डेमोक्रेटिक करेन बुद्धिस्ट सेनाका मानिसहरूले आफूलाई त्यहाँबाट छुटाएबापत ८ हजार अमेरिकी डलर मागेको नेत्र बताउँछन्। तर उनी पछि नेपाली मूलका बर्मेली नागरिकको मद्दतबाट त्यहाँबाट भाग्न सफल भएका थिए। ती व्यक्ति स्क्याम सेन्टरबाट बन्धकहरूलाई भगाउन मद्दत गर्ने व्यक्तिका रूपमा परिचित भएको उनी बताउँछन्। उनी भन्छन्, “चार महिनापछि सूर्यको प्रकाश देखेँ र खुसीले चिच्याएर रोएँ । म बाँचेर फर्किएँ ।”
फैसलले त्यहाँबाट सामूहिक रूपमा भाग्ने योजना बनाउन मद्दत गरेका थिए। उनलाई फेरि समातिएको थियो तर उनी थाइल्यान्ड-म्यानमार सेनाको संयुक्त कारबाहीका क्रममा छुट्न सफल भए। उनीहरूले ९२ जनाको उद्धार गरे।
भाग्ने क्रममा लिगामेन्टमा चोट लागेकाले आफू अझै पनि सीधा बस्न नसक्ने फैसल बताउँछन्।
जेनी छ महिनापछि त्यहाँबाट छुटेकी थिइन् र अहिले उनी आफू जस्तै अरूलाई मद्दत गर्न सङ्गठित अपराध विरुद्धको राष्ट्रपतीय आयोगसँग मिलेर काम गर्छिन्।
उनी भन्छिन्, “त्यहाँबाट फर्किएको एक वर्षसम्म त मैले त्यहाँ भोगेका पीडाका बारेमा कुरा गर्न खोज्दा आँशु बरर झरिहाल्थ्यो। तर म जस्तै यो भूमरीमा अरू नफसून् भनेर मैले अहिले यसबारे आवाज उठाउने अठोट लिएकी छु।”
सुनिता न्यौपाने नेपालको काठमाडौंस्थित रिपोर्टर-इन रेसिडेन्स हुन् । ग्लोबल प्रेस जर्नलमा काम गर्नुअघि सुनिताले नयाँ पत्रिका, रातोपाटी.कम र अन्नपूर्ण पोस्टलगायतका नेपालका शीर्ष मिडिया आउटलेटमा काम गरेकी थिइन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेकी उनले आफ्नो पत्रकारितामा कानुनी दृष्टिकोण ल्याउँछिन् । उनको पत्रकारिता सामाजिक समस्या र मानव अधिकारमा केन्द्रित हुन्छ । उनले लैङ्गिक हिंसा, एलजिबिटिक्यू+ का अधिकार, जातीय विभेद र जनस्वास्थ्यसम्बन्धी चुनौती जस्ता विषयमा रिपोर्टिङ गर्छिन् ।
फबेहा मोनिर बङ्गलादेशको ढाकास्थित सिफ्टिङ डेमोक्रेसी फेलो हुन् । गज्जबको भिजुअल स्टोरीटेलिङका लागि परिचित फबेहाका सामग्री न्युयोर्क टाइम्स, ब्लुम्बर्ग न्युज, द वाल स्ट्रिट जर्नल र वासिङ्गटन पोस्टमा प्रकशित छन् । उनले विश्वभरका भिडियो तथा फोटोग्राफ्री प्रोजेक्टहरूमा काम गरेकी छिन् । उनको चलचित्र ‘द टेस्ट अफ हनी’ले इटालीको टेर्नी फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्रको अवार्ड हात पारेको थियो।
गिला गार्सिया फिलिपिन्सको मनिलास्थित सिफ्टिङ डेमोक्रेसी फेलो हुन् । उनी महिला, खाद्य सम्प्रभुता र वातावरणीय विषयहरूमा केन्द्रित भएर रिपोर्टिङ गर्छिन् । टम्सन रोयटर्स फाउन्डेसन, साउथ चाइना मर्निङ पोस्ट, सीएनएन फिलिपिन्स लाइफ र फिल्स्टारमा उनका सामग्री प्रकाशित छन् ।
अनुवाद नोट
जिपिजेका अनुप जोशीले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।