Nepal

झोलुङ्गे पुलको अभावमा आफ्नै देशबाट टाढिएर जिउन बाध्य मेचीपारीका बासिन्दा

मेची नदीले आफ्नो बाटो फेरेसँगै तीन नेपाली बस्तीहरू नेपालको बाँकी भूभागबाट टाढिन पुगे । अहिले एक शताब्दी कटिसक्दा पनि अझै उनीहरूलाई आफ्नो देशसँग जोड्ने पुल बन्न सकेको छैन ।

Read this story in

Publication Date

Cut Off From Their Own Country, All These People Want Is a Bridge

मायामितु न्याैपाने,जिपिजे नेपाल

छोरा सुमन कुमार यादव र श्रीमान् प्रकाश यादवसँग मेचीनगर नगरपालिकाको ग्वालबस्तीमा रहेको आफ्नो मकैबारीमा काम गर्दै ममता यादव (दायाँबाट) ।

Publication Date

ग्वालबस्ती, नेपाल — ममता यादवले सानैदेखि आफू एक दिन ठुलो भएर कलेज पढ्ने सपना देखेकी थिइन् । उनलाई पढ्न र विद्यालय जान निकै मन पर्थ्यो । हाल २७ वर्षकी ममता नेपाल-भारतको दक्षिणपूर्वी सिमानामा अवस्थित ग्वालबस्तीका २५० महिलामध्ये सबैभन्दा बढी शिक्षित व्यक्ति मानिन्छिन् ।

तर उनले उच्च शिक्षाका लागि कलेज जान पाइनन् । आठ कक्षामै उनको औपचारिक शिक्षा टुङ्गियो । उनी आफ्नो पढाइ अघि बढाउन चाहन्थिन् तर प्राकृतिक अवरोधका कारण अघि बढ्न सकिनन् । गाउँका अरू बालबालिका जस्तै उनी र उनको दाई पनि मेची नदी तरेर विद्यालय जान्थे । यसरी विभिन्न अवरोधहरू पार गर्दै विद्यालय गएर पनि उनले आफ्नो कक्षा उत्तीर्ण गरिन् तर उनको दाई भने उत्तीर्ण हुन सकेनन् । दाई विद्यालय जान छाडेपछि उनलाई एक्लै नदी तरेर विद्यालय जाने आँट आएन । उनको परिवारलाई पनि उनी त्यसरी विद्यालय गएको मन परेको थिएन । यत्तिकैमा उच्च शिक्षा हासिल गर्ने उनको सपना तुहिँदै गयो ।

मेची नदीले नेपाल र भारतको सिमाना छुट्याएको छ । यो नदीलाई आधिकारिक रूपमा नै दुई देशबिचको सिमाना मानिने भए पनि नदीले आफ्नो बाटो परिवर्तन गरेकाले अहिले नदीको पूर्वतिर पर्ने केही जमिन नेपालकै भूभाग मानिन्छ । अहिलेसम्म पनि एउटा पुल बन्न नसकेकाले मेचीनगरको पूर्वी भागमा पर्ने तीन नेपाली बस्तीमा बसोबास गर्ने बालबालिकाले अझै दुई कक्षाभन्दा धेरै पढ्न यो नदी तरेर पारी जानु पर्छ ।

यी नेपाली बस्तीहरू देशको अन्य भूभागबाट एक्लिएका छन् र शिक्षाको पहुँचका साथै जीवनका अन्य आधारभूत आवश्यकताबाट पनि वञ्चित छन् । यी तीन वटै नेपाली बस्तीका टोल सुधार समितिका अध्यक्ष अमल यादवका अनुसार यी बस्तीमा दुई कक्षासम्म मात्र पढाइ हुने एउटा विद्यालय छ र पुलको अभावले गर्दा यहाँका अधिकांश बासिन्दाहरूले दुई कक्षाभन्दा बढी पढ्न पाएका छैनन् ।

expand image
expand slideshow
expand image
expand slideshow

मायामितु न्याैपाने,जिपिजे नेपाल

मेचीनगर नगरपालिकाको ग्वालबस्तीमा हिँडिरहेकी एक बासिन्दा । यहाँ मान्छेहरूको घर नजिकै सागसब्जीका बिरुवाहरू हुर्किरहेको देख्न सकिन्छ ।

सन् १८१८ र १८७३ का बिचमा मेची नदीले आफ्नो बाटो परिवर्तन गरेको थियो र यसले गर्दा नेपालको केही भूभाग नदीपारी परेको थियो । यसरी मेचीपारीका तीन नेपाली बस्तीमा झारुबस्ती र सिसौडाँगीसँगै ग्वालबस्ती पनि पर्छ ।

नेपाल सरकारले सन् २००१ मा यी नेपाली बस्तीका बालबालिकाका लागि भनेर मेची प्राथमिक विद्यालय स्थापना गरेको थियो । तर यो विद्यालयमा दुई कक्षासम्म मात्र पढाइ हुन्छ । ममता यादवको जेठो छोरा सुमन कुमार यादव हाल ११ वर्षका छन् । उनको उमेरका अन्य बालबालिका सामान्यतया पाँच कक्षामा पुगिसकेका हुन्छन् तर उनले भने गाउँकै विद्यालयमा विगत तीन वर्षदेखि दुई कक्षामै दोहोर्‍याएर पढिरहेका छन् । ममता यादवलाई उनका अरू साना बच्चाको नियति पनि यही हुन्छ कि भन्ने कुराको चिन्ता छ

वरपर अरू विद्यालय नभएकाले यी बस्तीका अधिकांश बालबालिकाहरू आफ्नो नाम लेख्न नबिर्सियोस् भनेर दुई कक्षामा नै पटक पटक दोहोर्‍याएर पढिरहने गर्छन् । केही बालबालिका भने नदी तरेर कालिका आधारभूत विद्यालयका जाने आँट गर्छन् । नेपालमा आठ कक्षासम्मको पढाइलाई आधारभूत शिक्षा वा प्राथमिक शिक्षा मानिन्छ । मेची प्राथमिक विद्यालयमा आवश्यक पूर्वाधार र शिक्षकको दरबन्दी नभएकाले दुई कक्षासम्म मात्र पढाइ भइरहेको छ भने मेचीवारी रहेको कालिका आधारभूत विद्यालयका आठ कक्षासम्म अध्यापन गराउने पूर्वाधार र शिक्षकको सुविधा छ ।

मेचीपारीका बालबालिका घरमै बस्दा लगाउने लुगा लगाएर बिहान घरबाट विद्यालय जानका लागि निस्कन्छन् । नदी तर्दा विद्यालयको ड्रेस पानीले नभिजोस् भनेर उनीहरू आफ्नो ड्रेसलाई हातले माथि उचालेर नदी तर्छन् । नदी तरेपछि उनीहरू नदीपारी बगरमा भएको काँसघारीमा छलिएर लुगा फेर्छन् । केही बच्चाहरू काँधमा साइकल बोकेरै नदी तर्छन् । मेची प्राथमिक र कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेश श्रेष्ठ भन्छन्, “मेची प्राथमिक विद्यालयका २५ जना विद्यार्थीमध्ये मुस्किलले पाँच जना कालिका आधारभूत विद्यालयका। उनीहरू पनि बर्खामा भने विद्यालय आउन सक्दैनन् । खोला तरेर आउन कठिनाइ हुनाले मेची प्राथमिक विद्यालयमा पास भएका सबै माथिल्लो कक्षामा भर्ना हुँदैनन् ।”

expand image
expand slideshow
expand image
expand slideshow

मायामितु न्याैपाने,जिपिजे नेपाल

ग्वालबस्ती नजिकै रहेको मेची प्राथमिक विद्यालयको अँध्यारो कोठामा घुँडा टेकेर विभिन्न उमेरका बालबालिकालाई पढाइरहेकी शिक्षिका रमा देवी ढकाल (दायाँ) ।

मेचीपारीका विद्यार्थीहरू पढ्नका लागि नदी तरेर पश्चिमतिर जान्छन् भने नदीवारी बस्ने मेची प्राथमिक विद्यालयका शिक्षक चाहिँ पढाउनका लागि नदी तरेर पूर्वतिर जान्छन् । रमा देवी ढकालले सन् २०२३ को डिसेम्बर महिनादेखि मेची प्राथमिक विद्यालयमा पढाउँदै आएकी छिन् ।

विद्यालय छुट्टी भएपछि हरेक दिन ढकाल आफ्नो सुरुवाल घुँडासम्म सार्छिन् र नदी तर्न थाल्छिन् । उनलाई यो विद्यालयमा पढाउन सुरु गर्दा आफू यहाँ एक हप्ता पनि टिक्न सक्दिनँ जस्तो लागेको थियो । तर अहिले भने उनी विद्यार्थीहरूमा आएका स-साना सुधारहरू देखेर खुसी छिन् । यहाँका बालबालिकाको मातृभाषा नेपाली नभएर भारत र नेपालमा बोलिने मैथली वा हिन्दी भाषा हो । तर अहिले आफूले सिकाएपछि बच्चाहरूले नेपाली बोल्न सक्ने भएको उनी बताउँछिन् ।

विद्यालयमा तीन जनाको दरबन्दी भए पनि ढकाल र अर्का एक जना कार्यालय सहयोगी मात्र नियमित विद्यालय आउँछन् । ढकाल भन्छिन्, “बाटो अप्ठ्यारो छ, खोला तर्नु पर्छ, गाह्रो हुन्छ भनेर म पनि विद्यालय आउन छाडेँ भने यहाँका नानीहरूले नेपालीमा आफ्नो नामसमेत लेख्न जान्दैनन् ।“

नेपालका अन्य विद्यालयमा वर्षको एक महिना मात्र छुट्टी हुन्छ तर मेची प्राथमिक विद्यालय भने वर्षको चार महिना बन्द हुन्छ । मेचीनगर नगरपालिका-१५ का वडाध्यक्ष गुणराज भट्टराई भन्छन्, “बर्खामा विद्यालय बन्द रहने गरेको छ । खोलामा बाढी आएर शिक्षकहरू खोला तरेर विद्यालय जान सक्दैनन् ।” जाडोयाममा र अझ विशेष गरी फेब्रुअरी र मार्च महिनाको हावा चल्ने सिजनमा बतासले नदीको बालुवा उडाएर गाडी चलाउन र हिँड्नसमेत मुस्किल हुने हुनाले एम्बुलेन्ससमेत यी बस्तीमा पुग्न सक्दैन ।

expand image
expand slideshow

मायामितु न्याैपाने,जिपिजे नेपाल

मेचीनगर नगरपालिका जानका लागि नदी तर्दै गरेका मेची नदीको पारीपट्टि बसोबास गर्ने नेपाली बस्तीका बासिन्दाहरू ।

सन् १९१६ मा नेपाल र तत्कालीन ब्रिटिश इन्डियाको बिचमा भएको सुगौली सन्धिले नेपाल र भारतबिचको सिमाना छुट्याएको थियो । उक्त सन्धिपछि पश्चिममा महाकाली नदी र पूर्वमा मेची नदीलाई नेपाल-भारतको सिमानाका रूपमा लिइने गरेको मेची बहुमुखी क्याम्पसका इतिहास विषयका पूर्व सहप्राध्यापक तथा क्याम्पस प्रमुख चिन्तामणी दाहाल बताउँछन् । नदीले आफ्नो बाटो परिवर्तन गरेपछि यी बस्तीहरू मेचीपारी परेका थिए ।

यी बस्तीमा शिक्षा मात्र नभएर अन्य आधारभूत सेवाहरू पनि उपलब्ध छैन । मधेसी र अन्य आदिबासी समुदायको बाहुल्यता रहेको यी गाउँका अधिकांश मानिसहरू कृषि क्षेत्रमा र चिया बगानमा काम गर्छन् । कुनै मार्गको नाम नराखिएको, कुनै पसल नभएको र कतै साइनबोर्ड नदेखिने यी बस्तीमा मेची प्राथमिक विद्यालयको साइनबोर्ड देख्दा मात्र आफू नेपालमै भएको थाहा हुन्छ । तीन नेपाली बस्तीमध्ये सिसौडाँगीमा अझै पनि बिजुली पुगेको छैन भने नेपाल सरकारले गत वर्ष मात्र झारुबस्ती र ग्वालबस्तीमा बिजुली पुर्‍याएको थियो । हरेक बस्तीमा पानी आउने एउटा-एउटा कल भए पनि कलको पानी पहेँलो छ र अमिलो स्वाद आउँछ । नेपाली बस्तीका ४५ घरमध्ये जम्मा तीन घरमा मात्र शौचालय छ । मान्छेहरू नदी किनारमा गएर खुला रूपमा शौच गर्छन् ।

“हामीले बोलेर के हुन्छ र ? अहिलेसम्म एउटा झोलुङ्गे पुल त बनेन,“ ममता यादव भन्छिन् । पुल नभएकाले यी बस्तीका दीर्घरोगीहरूले सरकारले निःशुल्क उपलब्ध गराउने डायलाइसिस जस्ता सुविधाहरूको समेत उपभोग गर्न पाएका छैनन् । नुन-तेल जस्ता अत्यावश्यक सामग्री खरिद गर्न अधिकांश बासिन्दाहरू भारतीय बजारमा जाने गर्छन् ।

सन् १९९१ को संसदीय चुनावमा पहिलो पटक यहाँ झोलुङ्गे पुल बन्ने कुरा चलेको स्थानीयहरू बताउँछन् । ७५ वर्षीय मदन पानलाई अझै याद छ, त्यस निर्वाचनमा झापाको क्षेत्र नं. ३ बाट निर्वाचित भएका राधाकृष्ण मैनाली मेची नदीमा पुल हाल्छु भनेर वाचा गर्ने पहिलो नेता थिए । पानका अनुसार मैनालीपछि यस क्षेत्रबाट निर्वाचित हुने सबै सांसदले झोलुङ्गे पुल बनाउने आश्वासन दिएका छन् तर पुल बन्ने सुरसार भने अझै पनि देखिँदैन ।

आफूले चुनावी नाराका रूपमा मात्र नभएर यो ठाउँमा वास्तवमै पुलको खाँचो भएकाले पुलको कुरा उठाएको तत्कालीन सांसद मैनाली बताउँछन् । उनी भन्छन्, “जनसङ्ख्याका हिसाबले पुल आवश्यक नहुन सक्छ तर त्यहाँका बासिन्दाको दैनिक जीवनयापन र त्यहाँका बासिन्दालाई राष्ट्रिययतासँग जोड्नका लागि पनि त्यहाँ पुल बनाउन जरुरी छ ।“

expand image
expand slideshow

मायामितु न्याैपाने,जिपिजे नेपाल

मेचीनगर नगरपालिकाको ग्वालबस्तीमा रहेको मेची प्राथमिक विद्यालयमा काम गर्न जानका लागि नदी तरिरहेका शिक्षिका रमा देवी ढकाल र कार्यालय सहयोगी राजेश कुमार चौधरी । उनीहरू हरेक दिन यसरी नै नदी तरेर विद्यालयमा काम गर्न जान्छन् ।

पुलले देशको बाँकी भूभागसँग जोड्ने भएकाले यी बस्तीका बासिन्दाहरूका लागि पुल राष्ट्रियतासँग जोडिएको छ । टोल विकास समितिका अध्यक्ष अमल यादव भन्छन्, “सबैभन्दा दुख त यसमा लाग्छ कि उताका मानिसले मेचीको डिलमा उभिएर हाम्रो बस्ती देखाउँदै ऊ त्यो भारत हो भन्दा नेपाली हुन नपाएकोमा दुख लाग्छ ।“

मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी मेचीपारीका नेपाली बस्तीले धेरै समस्याहरू सामना गर्नु परेको कुरा स्वीकार्छन् । तर स्थानीय सरकारले मात्रै समस्या समाधान गर्न नसक्ने भएकाले सङ्घीय सरकारसँग पनि समाधान पहलका लागि प्रयास गरिरहेको उनी बताउँछन् ।

तर यस क्षेत्रको प्रतिनिधित्व गर्ने हालका सङ्घीय सांसद विश्वप्रकाश शर्मा भने यो विषयका बारेमा अझै संसदमा छलफल नभएको बताउँछन् । उनी भन्छन्, “संसदमा छलफल गर्न पहिला योजना बनाउनु पर्छ । कुन कुन विषय महत्त्वपूर्ण छन्, ती विषयमा छलफल गरेर योजना बनाइन्छ र संसदमा पेस गरिन्छ । तर यो पुलको दीर्घकालीन समस्या समाधानका बारेमा सोचिरहेकाले अहिले यो विषय छलफलमा उठेको छैन तर म आफू पनि त्यही नगरपालिकाको भएकोले यसलाई कसरी सम्बोधन गर्ने भनेर सोचिरहेको छु ।“

आफ्नो विगतका बारेमा सोच्दै गर्दा ममता यादवले लामो सुस्केरा हालिन् । नदीले गर्दा कलेज गएर उच्च शिक्षा हासिल गर्ने आफ्नो सपना त्यसै तुहिएको उनी बताउँछिन् । अहिले उनको एउटै चाहना छ कि उनका बच्चाहरूको सपना चाहिँ उनको सपना जस्तो चकनाचूर भएर नफुटोस् ।

मायामितु न्याैपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।


अनुवाद नोट

जिपिजेका अनुप जोशीले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।