काठमाडौं, नेपाल — दुई वर्षअघि, अशोकजङ्ग कोइराला र सन्दीप थापा चीनको सबभन्दा ठूलो पुरुष-समलिङ्गी डेटिङ एप ब्लूडमा सामेल हुँदा उनीहरूले न डेट गर्ने बारेमा न बिहेका लागि पार्टनर खोज्ने बारेमा सोचेका थिए। स्वभावले लजालु खालका व्यक्ति थापा आफ्ना साथीहरूको सर्कल बढाउन ब्लूडमा सामेल भएका थिए। कोइरालाको कुरामा यो काठमाडौंस्थित “टुगेदर विद चिल्ड्रन” नामक एउटा गैरसरकारी संस्थामा उनले गर्ने जागिरको हिस्सा अर्थात् अनलाइन प्लेटफर्मका प्रयोगकर्ताहरू विरुद्ध हुने उत्पीडनको निगरानी गर्नु थियो।
त्यो समयमा, कोइरालासँग – जसले सन् २०२१ मा मात्र एउटा पुरुष-समलिङ्गी व्यक्तिको पहिचान आत्मसात गरेका थिए – ठूलो समुदाय थिएन। कोभिड-१९ महामारीको समयले सिर्जना गरेको आइसोलेसनले डेटिङ एप्स र विभिन्न सामाजिक सञ्जाल प्लेटफर्मलाई लोकप्रिय बनायो किनभने धेरैभन्दा धेरै मानिसहरू अरुसँग जोडिने उपाय (कनेक्सन) खोजिरहेका थिए। तीन महिनासम्म थापा र कोइरालाबीच यस एपमा नियमित कुराकानी भइरह्यो। थापाले प्रस्ताव राखे र व्यक्तिगत भेटघाट भएको तीन महिनापछि, उनीहरूले प्रसिद्ध हिन्दु मन्दिर पशुपतिनाथमा बिहे गरे।
थापासँगको भेटले कोइरालाको जीवनलाई नै बदलेको छ। उनको भनाइअनुसार यसले उनलाई एक पुरुष-समलिङ्गी व्यक्तिको रूपमा संसारमा अघि बढ्न चाहिने साहस र सहयोग दिएको छ। कोइराला भन्छन्, ”उसले मलाई अथाह खुसी र मेरो आफ्नै पहिचान बोकेर हिँड्न पर्याप्त शक्ति दिन्छ।” उनको भनाइअनुसार थापाको साथ र सहयोगकै कारण उनले अप्रिल महिनामा भएको मिस्टर गे नेपाल प्रतियोगितामा उपविजेताको स्थान हासिल गरेका थिए। उनी भन्छन्, ”थापा मेरो परिवार हो र उसको प्रेमले म संसार जित्न सक्छु।”
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई मान्यता दिने दिशामा नेपालको कानूनले फड्को मारेको भएपनि, सामाजिक स्वीकृति मायावी रहेको छ। नेपालमा एलजीबीटीक्यू+ मानिस – जसले आफ्नो पहिचान पुरुष-समलिङ्गी, महिला-समलिङ्गी, उभयलिङ्गी (बाइसेक्सुअल), पारलिङ्गी (ट्रान्सजेन्डर), क्वीअर चिनाउँछन् वा अन्य यौनिक झुकाव वा लैङ्गिक पहिचानको रूपमा चिनाउँछन् – अझैपनि लान्छना र विभेदको सामना गर्दछन्। कतिपय आफ्नै घर र पारम्परिक सहयोग प्रणालीबाट बहिष्कृत भएका छन्। यसको प्रतिक्रिया स्वरूप, फेसबुक समूह, डेटिङ एप्स र अनलाइन फोरम जस्ता भर्चुअल स्पेसहरू उनीहरूका लागि समुदाय खोज्ने र विना डर आफ्नो पहिचान अभिव्यक्त गर्ने महत्त्वपूर्ण आरक्ष बन्दै गइरहेको छ।
एक जना ट्रान्सजेन्डर पुरुष सुदीप गौतमले नेपालमा ट्रान्सजेन्डर पुरुषहरूलाई जोड्न सन् २०२२ मा एउटा फेसबुक ग्रुप बनाएका थिए। गौतम एउटा यस्तो स्पेस चाहन्थे जहाँ उनीहरूले आफ्ना पहिचान, वित्तीय चुनौती र अन्य सवालहरूबारे व्यक्तिगत अनुभव साझा गर्न सक्थे। “विशेषतः ट्रान्सजेन्डर पुरुषहरूका लागि स्वास्थ्यबारे छलफल गर्नु महत्त्वपूर्ण छ,” गौतम भन्छन्। उनीहरू अक्सर आफ्नो स्वास्थ्य, विशेषगरी महिनावारीको बारेमा कुराकानी गर्न गाह्रो मान्ने गर्छन् र यसले धेरैमा डर चिन्ता उत्पन्न गरिरहेको छ। भर्चुअल समूहले उनीहरूलाई अन्यत्र भन्न नसक्ने केही यस्ता अनुभव साटासाट गर्ने एउटा महत्त्वपूर्ण अवसर दिन्छ।
काठमाडौंका प्रतीक थापाको भनाइअनुसार यस समूहले उनलाई निरन्तर जुझिरहनुपर्ने हर्मोनसँग सम्बन्धित समस्या सुल्झाउन मद्दत गरेको छ।
अहिलेसम्म, यस समूहमा ६० सदस्य रहेका छन्। गौतम भन्छन्, ”हाम्रा लागि यो हाम्रो घर हो।” आफूलाई जन्म दिने परिवारबाटै अस्वीकार भएका सदस्यहरूका लागि यो समूह पारिवारिक सम्बन्ध खोज्ने एउटा स्पेस रहेको गौतमको भनाइ छ। यस समूहको अवधारणा भनेको “परिवारविहीन ट्रान्स-पुरुषहरूलाई एकताबद्ध गरी उनीहरूलाई सुरक्षित महसुस गराउनु हो।”
यस डिजिटल वातावरणले नियन्त्रण र सुरक्षाको भावना प्रदान गर्दछ। प्रयोगकर्ताले अज्ञात रहेर गोप्य खाताहरू खोल्न र आफ्नो वास्तविक संसारमा रहेको पहिचान खोल्नुपर्ने दबाव महसुस नगरी यसमा जोडिन सक्नेछन्। यो स्वायत्तताले उनीहरूलाई अर्थपूर्ण सम्बन्ध बनाउन, अनुभव साटासाट गर्न र अन्य हिसाबले पहुँचयुक्त नहुने सहयोगी सञ्जालहरू निर्माण गर्न सहयोग गर्दछ।
ट्रान्सजेन्डर महिला अनि नेपालमा एलजीबीटीक्यू+ वर्गको हक अधिकारका लागि कार्यरत संस्था ब्लू डायमण्ड सोसाइटीकी अध्यक्ष पिङ्की गुरुङका अनुसार महामारीको समयमा एलजीबीटीक्यू+ सदस्यहरूको एउटा फेसबुक समूह किन्नर बिग बोस मानिसहरूले आफ्ना सङ्घर्षका गाथा सुनाउने एउटा प्रमुख प्लेटफर्म बन्न पुग्यो। यस समूहमा ७०० यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको गुरुङ बताउँछिन्। यस समूहमा जोडिन चाहनेहरूलाई समूहमै आबद्ध भईराखेका सदस्यले निमन्त्रणा गर्नुपर्छ र त्यसपछि मात्र नयाँ सदस्यहरूले उक्त समूहमा प्रवेश पाउन सक्नेछन्।
किन्नर बिग बोस आफूले थालेको पैरवीमा सहयोग गर्ने एउटा महत्त्वपूर्ण स्रोत बनेको नेपालमा अभियन्ताको रूपमा समेत चिनिएकी पिङ्की गुरुङ बताउँछिन्। यस प्लेटफर्मको माध्यमबाट उनले आफूले सेवा गर्दै आएका मानिसहरूको खाँचो र आवश्यकताका बारेमा थाहा पाउँछिन्। यसमा हुने कुराकानीका विषयहरूमा रोजगारका अवसर, तालीम, र मानसिक स्वास्थ्यको उपचार समेत रहन्छन्।
उदाहरणका लागि, मार्च महिनामा, समूहको एक जना सदस्यले परिवारबाट नराम्रोसँग कुटपिट गरिएका कम उमेरका महिला-समलिङ्गी जोडीबारे समाचार पोष्ट गरेका थिए। यस समाचारको आधारमा, ब्लू डायमण्ड सोसाइटी उक्त ठाउँ पुगेर किशोरीहरूलाई उद्धार गरी आश्रयस्थलमा राख्न सहयोग गरेको थियो। गुरुङ भन्छिन्, “[एलजीबीटीक्यू+ वर्गमा पर्ने मानिसका लागि] आफ्नो परिवारसँग बस्न पनि जोखिमपूर्ण हुँदै गइरहेको छ।”
यस घटनाले भर्चुअल स्पेसहरूको महत्त्वमाथि प्रकाश पार्ने सन् २०२३ मा बीबीसीले निकालेको शीर्ष १०० प्रभावशाली महिलाहरूको सूचीमा रहेकी नेपाली ट्रान्सजेन्डर महिला रुखसाना कपालीको भनाइ छ। उनीहरूले घर किन्न सक्दैनन् र भाडामा बसेको ठाउँमा पनि उनीहरूले लान्छना सहनुपर्छ।
तर भर्चुअल स्पेस दुईतिर धार भएको तरबार हो।
कोइरालाका अनुसार यी प्लेटफर्ममा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई अन्य मानिसले हैरान पारिरहेका हुन्छन्। कोइरालाले यस्तो उत्पीडनको शिकार भएकाहरूलाई परामर्श दिने गर्दछन्। उनले एलजीबीटीक्यू+ वर्गका मानिसहरूका लागि सञ्चालित नौवटा सामाजिक सञ्जाल पेज र बन्द मेसेन्जर समूहलाई नजिकबाट निगरानी गर्दछन्। कोइरालाको भनाइअनुसार यस्ता प्लेटफर्महरू उपयोगी भएपनि यी प्लेटफर्मका माध्यमबाट कैयौँ मानिसले आर्थिक र यौन हिंसाको सामना गरिरहेका हुन्छन्। केही व्यक्तिहरूले नक्कली परिचय प्रयोग गरी हैरानी दिने गरेका र यो समस्या बढ्दै गइरहेको कोइरालाको भनाइ छ।
उनको भनाइअनुसार ट्रान्सजेन्डर पुरुषहरूका लागि उनले बनाएको फेसबुक ग्रुपमा यस्तो धेरै पटक भएको छ। उनले यीमध्ये केही घटनाबारे प्रहरीमा उजुरी गरेका भएपनि प्रहरीले राम्रोसँग सम्बोधन नगरेको उनको भनाइ छ। अहिले, उनी शंकास्पद व्यवहारको जाँच गर्छन् र आपत्तिजनक व्यवहार गर्ने सदस्यलाई समूहबाट हटाउँछन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको हकहितमा कार्यरत अभियन्ता आनिक रानामगरले फेसबुक मेसेन्जरमा एउटा बन्द समूह शुरू गरे। अहिलेसम्म यस समूहमा नेपालभरिबाट ४७ सदस्य बनेका छन्। रानामगरले यो समूह एकतालाई बढावा दिन र पहिचान, प्रशासन, स्वास्थ्य र रोजगारसँग सम्बन्धित सवालहरूमा सहयोग गर्न गठन गरेको बताउँछन्।
एक जना पुरुष समलिङ्गी व्यक्ति सूरज थापा सन् २०२२ मा यो समूहमा सामेल भए। उनका अनुसार उनले यस समूहको माध्यमबाट मिल्ने साथीहरू बनाएका छन्। सूरज भन्छन्, ”अनलाइनमा कुरा गर्दै हामी सूर्यास्तको समयमा एक साथ चिया पिउँछौँ।” “समूहका सदस्यहरूले मेरो समस्यालाई आफ्नै समस्याको रूपमा लिन्छन्।”