कम्पाला, युगान्डा – कम्पालाको एक कारखानाका कामदारहरु पिनेर बोरामा राखिएको पेपिरस जोख्छ्न्। त्यसलाई लेदो बनाएर लाम्चो आकारमा काट्छन् र ९५ प्रतिशत बायोडिग्रेडेबल मानिएको स्यानिटरी प्याडलाई अन्तिम रुप दिन्छन्।
म्याकाप्याड्स नामले चिनिने यी प्याडका प्रवर्तक मेकेरेर विश्वविद्यालयस्थित टेक्नोलोजीका प्राध्यापक मोसेस किज्जा मुसाजी हुन्। उनको उद्देश्य महिनावारी हुँदा स्यानिटरी प्याड किन्न असमर्थ र र यसैकारण स्कूल छुटाउने छात्राहरुको लागि सस्तो र कुहिनेखालका प्याडहरु बनाउनु थियो। म्याकाप्याड्स कच्चा र स्थानीय वस्तुहरुबाट बनाइन्छ र यसमा काम गर्ने मानिसहरु प्याड रसायनमुक्त रहेको बताउँछन्।
“मुख्य कुरा के हाे भने, अभावकै कारण कुनै पनि छात्राले आफ्नाे कक्षा छुटाउनु भएन,” स्यानिटरी प्याड किन्न नसक्ने किशोरीहरुतिर संकेत गर्दै मुसाजी भन्छन्। “आफ्नो लिङ्गलाई परिभाषित गर्ने कुनै स्थितिको लागि उसलाई कलंकित पार्नु हुँदैन।”
टिफरटिको नामले पनि चिनिने मुसाजीको कम्पनी टेक्नोलोजी फर टुमोरोले सन् २००६ मा प्याड उत्पादन गर्न थाल्यो। कम्पनीका धेरै उत्पादनमध्ये यो एक हो। त्यतिबेलादेखि नै मुसाजीले विश्वव्यापी विकास र नवप्रवर्तन समुदायहरूमा प्रशंसा बटुलिरहेका छन्। खुल्ल्ला बजारमा प्याड सस्तोमा बेचिन्छ। सन् २०१५ को मध्यसम्म, नौ बर्षको लागि म्याकाप्याड्सले शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसीआर) सँग करार सम्झौता गरेको थियो। यसै सम्झौताको माध्यमबाट शरणार्थी शिविरमा रहेको कारखानामा प्याडहरु उत्पादन र महिला तथा किशोरीको लागि नि:शुल्क वितरण गरिएको थियो।
निर्धारित समयमा सो सम्झौता सकिएपछि नवीकरण नगरिएको कुरा क्याका २ शरणार्थी शिविरका कार्यालय कमान्डेन्ट फ्रेड किवानुका बताउँछन्। उनी युएनएचसीआरसँगै शिविर संचालन गर्ने युगान्डाको प्रधानमन्त्री कार्यालयमा काम गर्छन्।
किवानुकाका अनुसार ती प्याड त्यति प्रभावकारी थिएनन् र शिविरका महिला तथा किशोरीहरु अन्य ब्रान्ड रुचाउँथे।
युगान्डा नेशनल ब्यूरो अफ स्ट्यान्डर्र्ड्स (युएनबिएस)ले युगान्डामा उत्पादित वस्तुहरुले गुणस्तरको मापदण्ड कायम राखेको सुनिश्चित गर्ने काम गर्छ। युएनबिएसबाट ती प्याडको निरीक्षण हुँदा कम्पनी त्यसमा असफल हुनु र युएनएचसीआर सम्झौता समाप्त हुनु झण्डै सँगसँगै भएको थियो। निरीक्षणका दौरान, प्याडहरु “आशा गरे अनुरुप नरहेको” कुरा युएनबिएसकी जन सम्पर्क अधिकृत बारबरा कामुसिमे बताउँछिन्। सम्झौता नवीकरण गर्न अस्वीकार गर्नुमा युएनबिएस रिपोर्टको भूमिका रहेको वा नरहेकोबारे युएनएचसीआरले स्पष्ट पार्न चाहेन।
सन् २०१५ को सो निरीक्षण म्याकाप्याड्सको लागि सन् २००६ पश्चात पहिलो भएको कुरा युएनबीएसका कार्यकारी निर्देशक बेन मनिन्डो जानकारी गराउँछन्।
म्याकाप्याड्सले २००६ मा अनुगमन पास गर्याे र प्रमाणित पनि भयो, तर मुसाजीले त्यसबेलादेखि नै वार्षिक निरीक्षण र पुन: प्रमाणीकरणको लागि प्याडहरुको जाँच गराउनुपर्थ्यो, मनिन्डो भन्छन्। प्रमाणित नभएका वस्तुहरु बेच्नु गैरकानुनी हुने उनी बताउँछन्।
यता टिफरटिकी म्यानेजर जुलिएट नाकिबुले भने आन्तरिकरुपमा गुणस्तर नियन्त्रण निरन्तर नै गरिराखेको र सरकारद्वारा प्याडको बार्षिक निगरानी पनि भइराखेको कुरा व्यक्त गर्छिन्।
“म्याकाप्याड्सको गुणस्तर र मानक कायम छ भन्ने सुनिश्चित गर्न उत्पादन प्रक्रियाको हरेक तहमा गुणस्तर नियन्त्रण सधैं नै गरिन्छ,” नाकिबुले भन्छिन्।
शरणार्थीलाई रोजगारी दिने र शिविरका महिला तथा किशोरीका निम्ति युएनएचसीआरले नि:शुल्क वितरण गरेको प्याड्स बनाउने क्याका २ शरणार्थी शिविरको म्याकाप्याड्स कारखाना सन् २०१५ को जुलाईमा बन्द गरियो ताकि टिफरटिले म्याकाप्याड्सको पूर्ण गुणस्तर समीक्षा र मूल्यमा हेरफेर पनि गर्न सकोस्, किवानुका बताउँछन्। सोही शिविरमा युएनएचसीआरसँग संलग्न कार्यक्रम सहयोगी आइज्याक ओकोटोकोले पनि सो कारखाना जुलाईमा बन्द गरिएको पुष्टि गरे।
टिफरटिले प्याड उत्पादन गर्ने दुईवटा थप फ्याक्ट्रीहरु संचालन गरेको कुरा मुसाजीले जिपिजेलाई बताए – एउटा सोरोती जिल्लामा र अर्को राजधानी कम्पालाको उपनगर कावेम्पेमा।
नाकिबुलेका अनुसार, सन् २००९ देखि २०१५ सम्म म्याकाप्याड्सले शरणार्थीका निम्ति युएनएचसीआरलाई १ करोड ६० लाखभन्दा बढी प्याडहरुको आपूर्ति गर्याे। क्याका २ शरणार्थी शिविरमा रहेको कारखानाले सबैभन्दा धेरै उत्पादन गर्याे। युएनएचसीआर सम्झौताबाट टिफरटिले कति नाफा आर्जन गर्याे भन्नेबारे नाकिबुलेले खुलाउन भने चाहिनन्।
मिशिगन विश्वविद्यालयका केही विद्यार्थीले सन् २०१५ को डिसेम्बरमा गरेको बजार विश्लेषण र रणनीतिको एक रिपोर्टले म्याकाप्याड्सका ९५ प्रतिशत उत्पादन संयुक्त राष्ट्रसङ्घको सम्झौतामा जाने देखायो। त्यस रिपोर्टका अनुसार शरणार्थी शिविरमा हुने प्याड वितरण सन् २०१५ को मेदेखि रोकियो।
फ्याक्ट्रीहरु प्रत्येक वर्ष ४४ लाख प्याड उत्पादन गर्न लागिपरेका छन्, नाकिबुले भन्छिन्।
उत्पादित वस्तुहरु निरीक्षणको लागि निरन्तर पेश गर्नु प्रत्येक कम्पनीको जिम्मेवारी हुने कुरा युएनबिएसकी प्राविधिक संचालन उपकार्यकारी निर्देशक प्याट्रिसिया बगैँ इजालु व्यक्त गर्छिन्।
“हामी सामान्यतया उत्पादित वस्तुको अवस्था मापनभन्दा कम भएर प्रयोगकर्तालाई नकारात्मक असर परेको छ वा छैन भनी सुनिश्चित गर्न अनुगमन गर्ने गर्छौं,” उनी भन्छिन्।
केही उद्यमी वार्षिक निरीक्षणबाट उम्किन्छन् किनकि उनीहरु यसको लागि कुनै शुल्क तिर्न चाँहदैनन्, इजालु भन्छिन्। शुल्क फरकफरक हुने गर्छ। म्याकाप्याड्सको हकमा भने यो ८००,००० युगान्डान सिलिङ ($२३०) हुन आउने युएनबीएसका कार्यकारी निर्देशक मनिन्डो बताउँछन्।
म्याकाप्याड्सबारे महिलाहरुको मिश्रित प्रतिक्रिया रह्यो।
“मलाई म्याकाप्याड्स बनाउने व्यक्ति व्यवसायी नभएर परोपकारी जस्तो लाग्छ किनभने उनले स्कूल जाने एउटा गरिब केटीप्रति माया दर्शाएका छन्,” बुकोटो सिनियर सेकेण्डरी स्कूलकी १७ वर्षीया विद्यार्थी ब्रेन्डा जामुकामा भन्छिन्।
तीनवटा प्याड भएको एउटा प्याक ५०० सिलिङ (करिब १५ सेन्ट्स) मा बेचिन्छ – मुसाजीको अन्दाजमा एक विद्यार्थीको लागि दिनभरि स्कूलमा बस्दा यति संख्या चाहिन्छ। यी ठूला प्याकमा पनि बेचिन्छन्।
क्याका २ शिविरमा बस्ने ४२ वर्षीया शरणार्थी लुहासा मुहाकानिरे प्याडहरु प्रभावकारी ढङ्गले प्याकेज नगरिएको गुनासो गर्छिन्।
“दोश्रो र तेश्रो दिनहरुमा धेरै रगत बग्ने हुँदा मलाई प्रयोग गर्न अफ्ठ्यारो भयो,” उनी भन्छिन्। “दिनमा पाँचवटा जति प्रयोग गरें। एउटै प्याकले दिनभरिको लागि चाहिं पुगेन।”
शरणार्थीहरु प्याडको गन्ध ढुँसीजस्तो भएको, भरिएपछि चुहिने र साँघुरो पट्टी राम्ररी नमिल्ने पनि भएको गुनासो गर्छन्।
प्रमाणीकरणको अभावमा समेत, टिफरटिले म्याकाप्याड्सको लागि व्यापार माग भने गरिरहेको छ। कम्पनीले युगान्डाको रकाई जिल्लाका केही भागहरुमा म्याकाप्याड्सको आपूर्ति गर्न रोटरी क्लब अफ मुएन्गासँग दुई वर्षको करार सम्झौता गर्याे। उक्त जिल्ला एचआईभी महामारीबाट शुरुमै असर परेका केहीमध्ये एक थियो, जसको कारण व्यापक गरिबी र उच्च अनाथ संख्या निम्तियो। रोटरी क्लबका अधिकारीहरुले सो सम्झौता कहिले भएको थियो भन्ने कुरा खुलाउन अस्वीकार गरे।
रोटरी क्लबले यस वर्षको फेब्रुवरीमा स्कूलहरु पुनः सुचारु हुँदा जिल्लाका स्कूलहरुमा प्याडको आपूर्ति गर्ने योजना बनाएको मुएन्गा रोटरी क्लबका जोन मेरी मपागी बताउँछन्।
विश्वभरका आठ रोटरी क्लबहरुले प्याडको लागि आवश्यक रकम सङ्कलन गर्न क्यानाडाको ब्रिटिश कोलम्बियास्थित एउटै मात्र रोटरी क्लब अफ व्हिस्लरसँग साझेदारी गरेको पनि मपागी उल्लेख गर्छन्।
मुसाजी एक दिन अन्तर्राष्ट्रियरुपमा प्याड बेच्ने आशा राख्छन्। हाल उनी नयाँ प्रवर्तनहरुमा काम गरिरहेका छन्। सबभन्दा पहिलो चाहिं बच्चाको लागि नयाँ खालको डाएपर हो रे।
जिपिजेकी एड्ना नामाराले स्वाहिली र लुगान्डा भाषाबाट केही अन्तर्वार्ताहरु अनुवाद गरेकी हुन्। जिपिजेकी अपोफिया एगीरेसासीले यस लेखमा योगदान दिएकी छिन्।