Democratic Republic of Congo

तिनीहरू अब खोप खेर फाल्दैनन्

जब कङ्गोलीहरूले गत वसन्तमा कोभिड-१९ विरुद्धका खोपहरू लिने कुराको अस्वीकार गरे, प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) सरकारले आफूले पाएको खोपहरू अन्य अफ्रिकी देशहरूलाई दियो। त्यसपछि डेल्टा प्रजातिको प्रकोप आयो।

Read this story in

Publication Date

They’re Not Throwing Away Their Shots — Anymore

नोएला निराविहोगो, जीपीजे, डीआरसी

अल्फोन्सिन मवासी (दायाँबाट दोस्रो) आफ्नो श्रीमान अन्त्येष्टिमा रुँदै। उनको श्रीमानको गत जुलाईमा कोभिड-१९ रोगबाट मृत्यु भयो । यो घटना ती दम्पतीले खोप लगाउन अस्वीकार गरेको हप्ता दिनपछि भएको थियो।

Publication Date

गोमा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो – अल्फोन्साइन मवासीले कोभिड-१९ झुटो समाचार हो भनी सोचिन्। उनको परिवारले सरकारको कर्फ्यू आदेशलाई बेवास्ता गर्‍यो। उनीहरूको गोमाको काटिन्डो जिल्लामा रहेको आफ्नो बार-रेष्टुरेन्ट यासोलो खुला राखे। त्यहाँ मानिसहरू भरिएका हुन्थे र ढिलोसम्म खुला राख्थे, जसरी उनीहरूले १५ वर्षदेखि चलाइरहेका थिए।

तर जुलाईको शुक्रबार राति उनका श्रीमानलाई अचानक सास फेर्न गाह्रो भयो । अस्पतालमा गएर जचाउँदा उनको कोभिड-१९ को परीक्षण पोजेटिभ देखियो र उनलाई भेन्टिलेटरमा राखियो। दुई हप्तापछि ती ५१ वर्षीय व्यक्तिको मृत्यु भयो – उनले विधवा श्रीमती, सात छोराछोरी र उनको अस्पतालमा भर्ना र गाड्नको लागि १५०० अमेरिकी डलरको खर्च बोकाएर गए।

“उनी बिते र मलाई एक्लै छोडे,” मवासी रुँदै भन्छिन्। “यदि पहिल्यै थाहा भएको भए हामीले खोप लगाउने थियौँ र यसले उनको जीवन बचाउन सक्थ्यो।”

महामारीको खोपको दौडमा अफ्रिका धेरै पछाडि परेको छ – डीआरसी पुछारमा रहेको छ। अक्टोबर २४ सम्म यस देशका ९ करोड २४ लाख मानिसमध्ये ०.०५% भन्दा थोरैले पूर्ण खोप लगाएका थिए, जबकि ५.६% अफ्रिकी जनसङ्ख्याले र विश्वको ३८% जनसङ्ख्याले खोप लगाइसकेका थिए, यो तथ्याङ्क बेलायतको गैरनाफामूलक ग्लोबल चेन्ज डाटा ल्याबको प्रोजेक्ट आवर वर्ल्ड इन डाटाअनुसार हो।
कङ्गोलीहरूको खोप पाउनुपर्ने माग बढ्दो छ तर यस तीतो ज्ञानले तिनीहरूको निराशामा घिउ पनि थपेको छ – धेरैले महिनौं अघि खोप लिन पाउने मौका गुमाएका थिए।

जब डीआरसीले मार्च २०२० मा आफ्नो पहिलो कोभिड-१९ बिरामी अभिलेख गर्यो, तब मिथ्या सूचना र हल्ला त्यो रोगभन्दा छिटो फैलियो। देशको पूर्वी भागमा रहेको उत्तरी किभु प्रान्तको राजधानी गोमामा मास्क नलगाएका भीडहरूले सामाजिक जमघट जारी राखे। कोरोनाभाइरसले एशिया र युरोपलाई मात्र तर्साएको हो भन्ने उनीहरू सोच्ने गर्थे – र उनीहरूले जितेको सन् २०१८ को इबोला प्रकोप भन्दा यो धेरै कम घातक छ भन्ने गर्थे।

expand image
expand slideshow

नोएला निराविहोगो, जीपीजे, डीआरसी

जुलियन फटाकीले पहिले कोभिड-१९ विरुद्धका खोपले बाँझोपन हुने वा ज्यानै जानसक्ने जटिलताहरू निम्त्याउन सक्छ भन्ने हल्लाहरूमा विश्वास गरे। उनका दुई साथीहरू यस रोगबाट मरेपछि उनले आफ्नो मन बदले, र यहाँ सेप्टेम्बरमा पहिलो डोज लिँदैछन्।

कोभ्यक्समार्फत मार्च २०२१ मा १७ लाखभन्दा बढी एस्ट्राजेनेका डोजहरू आइपुग्दासम्म कङ्गोलीहरूमा भाइरसको डर र खोपमाथिको विश्वास दुईटै कम थियो। कोभ्याक्स कोलिशन फर एपिडेमिक प्रिपेडनेस इनोभेसन, ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेसन, युनिसेफ र विश्व स्वास्थ्य संगठन बीचको साझेदारी थियो। यस देशका स्वास्थ्य अधिकारीहरूले अन्य देशहरूमा रिपोर्ट गरिएका साइड इफेक्टहरूबारे थप अध्ययनहरूको पर्खाइमा खोप अभियान सुरु गर्न केही समय ढिलाइ गरे।

अप्रिल १९ मा खोप कार्यक्रम सुरु हुँदासम्म बाँझोपनको साइड इफेक्ट र ज्यानै जानसक्ने जटिलता उत्पन्न हुने हल्लाका कारण मानिसहरूमा विश्वास झनै हराएको थियो। यी खोपहरू जून महिनाको म्याद सकिनुअघि खेर जान्छ भन्ने चिन्ताले सरकारले १३ लाख डोजहरू फिर्ता गर्‍यो, जसलाई त्यसपछि अङ्गोला, घाना, मध्य अफ्रिकी गणतन्त्र, मेडागास्कर र टोगोमा पुनर्वितरण गरियो।

त्यसपछि कोभिडको डेल्टा प्रजाति आयो, यस गर्मी मौसममा डीआरसीभरि फैलियो, यस प्रकोपको केन्द्रबिन्दुमा गोमा थियो। हप्तामा नयाँ केसहरू औसत सङ्ख्या जुन १ सम्ममा ९२ रहेकोमा यो बढेर जुन २० मा ३६९ पुग्यो, यो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको भोकमरी सम्बन्धी पूर्वसूचना प्रणाली नेटवर्कद्वारा प्रकाशित सरकारी तथ्याङ्क अनुसार हो।

अस्पताल भर्ना र मृत्यु हुनेको सङ्ख्या आफ्नो वरिपरि बढ्दै जाँदा शङ्कालु सोचका धेरै मानिसहरूले अचानक आफ्नो सोच परिवर्तन गरे – तर आफूलाई भाग्यले साथ नदिएको पाए।

“मेरा दुई साथीहरू यस रोगबाट भर्खरै मरेपछि कोभिड-१९ कत्तिको खतरनाक रहेछ भनेर म अहिले सचेत छु,” जुलियन फटाकी भन्छन्, जो एक ट्याक्सी चालक हुन् र जसले पहिले खोपको साइड इफेक्टहरू ठूलो खतरा हो भन्ने हल्लामा विश्वास गर्थे।

हरेक पटक यात्रुहरू बोक्दा महिनौंको चिन्तापछि र उनका दुई बहिनीहरूलाई उसको कमाइमा नै निर्भर छन् भन्ने कुरालाई मनन गर्दै उनले सेप्टेम्बरमा पहिलो खोप लिए।

expand image
expand slideshow

यस प्रकारको विश्वाससम्बन्धी समस्यामा डीआरसी एक्लै थिएन। मलावी, दक्षिण सुडान र दक्षिण अफ्रिका लगायत अन्य अफ्रिकी देशहरूले पनि म्याद सकिने मिति र स्थानीय प्रजातिहरू विरुद्धको प्रभावकारिताबारे चिन्ताका कारण यस वर्षको सुरुमा खोपको लाखौँ डोज अस्वीकार गरेका थिए।

तर अगस्ट र डिसेम्बर २०२० को बीचमा अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले १५ देशमा गरेको सर्वेक्षणमा कङ्गोली उत्तरदाताहरूमा खोपबारे सबभन्दा न्यून विश्वास रहेको देखियो। यी जवाफहरू क्षेत्र अनुसार पनि फरक छन्; उत्तरी किभु प्रान्तका ५३% वयस्कले मात्रै आफूले खोप लगाउने बताए भने अर्को प्रान्त कासाइ ओसीडेन्टलमा ८५% भन्दा बढीले खोप लगाउने बताए।

जुन २०२१ को अन्त्यसम्ममा डीआरसीका बासिन्दाहरूको खोप माग बढ्दै गएपछि मुलुकमा पहिले नै घटाइएको मौज्दात पनि सकियो र जुलाई ११ मा खोप कार्यक्रम रोक्नुपर्‍यो, उत्तर किभु प्रान्तमा डब्लुएचओको खोपसम्बन्धी विस्तारित कार्यक्रमको संयोजक डा. स्टेफेन हान्स बटेई भन्छन्।

गोमामा जुलाई १५ मा भएको पत्रकार सम्मेलनमा नेशनल इन्स्टिच्युट अफ बायोमेडिकल रिसर्चका महानिर्देशक जीन-ज्याक्स मुएम्बेले उत्तरी किभुका बासिन्दाहरूलाई मुलुकले थप खोप अनुदान हासिल गर्न प्रयास गरिरहेको हुनाले तबसम्म कोभिडबाट जोगिन अझ बढी सावधानी अपनाउन आग्रह गरे।

“हामी जाँच र व्यवस्थापनलाई सुदृढ बनाउँदैछौं र हामी जनताहरूलाई आवागमनमा हुने अवरोधको सम्मान गर्न आग्रह गर्छौं,” उनले भने। “र यदि खोपहरू उपलब्ध छन् भने [तपाईंले] सङ्कोच गर्नु हुँदैन। जानुहोस् र छिटो खोप लगाउनुहोस्। त्यसैले बचाउँछ, त्यसैले जोगाउँछ।”

बेलायतबाट ५१००० एस्ट्राजेनेका खोप अनुदानमा पाएपछि अगस्टको मध्यमा खोप अभियान पुन: सुरु भयो, त्यसपछि सेप्टेम्बरमा अमेरिकाबाट २५०००० मोडेर्ना र २५०३८० फाइजर खोपका डोजहरू आयो। अमेरिकाबाट थप ४० लाख फाइजर डोजहरू र एकल डोजको जोन्सन खोप २ करोड ६० लाख डोजहरू आउनसक्ने अनुमानमा मुलुकले यस वर्षको अन्त्यसम्ममा आफ्नो जनसङ्ख्याको २५% खोप लगाउने लक्ष्य राखेको छ, जनस्वास्थ्य, स्वच्छता तथा रोकथाम मन्त्री जीन-ज्याक्स म्बुन्गानी भन्छन्। स्वास्थ्यकर्मी, ५५ वर्षभन्दा माथिका र मृगौलाको दीर्घ रोग, उच्च रक्तचाप वा मधुमेह भएकाहरूलाई प्राथमिकता दिइनेछ।

अहिले डीआरसीमा कोभिड-१९ बाट बाँचेकाहरूमा पनि खोपहरूको माग बढ्दो छ, जो पहिले खोप लगाउन डराउँथे भने अहिले फेरि संक्रमण पो हुने हो कि भनेर डराउँछन् ।

जुनको अन्त्यमा सास फेर्न गाह्रो भएको अनुभव र परीक्षण गर्दा पोजेटिभ आएपछि फरिदा नबिन्टुले दुई हप्ता भेन्टिलेटरमा बिताइन्। ती ४८ वर्षीया कोभिडको परीक्षाबाट त बाँचिन्, तर यसले उनमा स्वास्थ्य समस्या आइरहने बनायो र अस्पतालमा २५० अमेरिकी डलर खर्च गरायो – जुन उनले पसलबाट मासिकरूपमा कमाउने भन्दा दोब्बर बढी थियो ।

“म यति मात्र भन्न सक्छु कि म धेरै बिरामी थिएँ र अझै पनि कोभिड-१९ को दीर्घ प्रभावबाट ग्रस्त छु,” उनी भन्छिन्। अहिले उनले खोप लगाइसकेको बताउँछिन्।

आफ्नो श्रीमान् र व्यापार साझेदार गुमाएकी मवासीको कुरा गर्दा उनी अझै पनि आफ्नो पालो पर्खिरहेकी छिन् – र साथी र परिवारलाई उनको परिवारको दुखद घटनाबाट पाठ सिक्न भन्छिन्।

“यो रोगले कति चाँडो मार्न सक्छ भनेर मैले देखेकी छु, त्यसैले मैले खोपहरूका बारेमा सबै गलत हल्लाहरू सुन्न छोडेकी छु,” उनी भन्छिन्। “खोप लिने लाइनमा म पहिलो हुनेछु।”

नोएला न्याराबिहोगो प्रजातान्त्रिक गणतन्त्र कंगोको गोमास्थित ग्लोबल प्रेस जर्नल रिपोर्टर हुन्। उनी शान्ति र सुरक्षाको क्षेत्रमा कलम चलाउँछिन्।


अनुवाद नोट

एमिलिन बर्ग (जीपीजे)ले यो लेखलाई फ्रान्सेली भाषाबाट अंग्रेजीमा अनुवाद गरेकी हुन्।

Noella Nyirabihogo est journaliste à Global Press Journal en poste à Goma, en République démocratique du Congo. Elle est spécialiste des reportages sur la paix et la sécurité.


NOTE À PROPOS DE LA TRADUCTION

Traduit par Kiampi Kongopi, GPJ.