किसानगानी, प्रजातान्त्रिक गणतन्त्र कङ्गो – जनवरी महिनामा नङ जत्रो चन्द्रमाले छरेको प्रकाश भएको एक रात फइदा मुसोन्गे अन्य सयौं मानिसले खचाखच भरिएको सेक्रिड हार्ट नामक तीन तले काठको ह्वेलबोटमा चढिन्। उनी डराएकी थिइन्।
४२ वर्षीया मुसोन्गे एक दशकदेखि व्यापारी भएर काम गर्दै आएकी थिइन्। उनी चप्पल र अन्य सामानहरू देशको राजधानी किन्शासामा बेच्न लैजान्थिन् र त्यहाँबाट सयौं टोकरी सुकाएर नुन लगाइएको माछा लिएर किसानगानीमा रहेको घर फर्किन्थिन्। यी शहरहरू जोड्ने सडकहरू सबै धुलाम्य र हिलाम्य छन्, त्यसैले उनले ह्वेलबोटमा सिट पाउन २५ हजार कङ्गोली फ्रान्क (लगभग १३ अमेरिकी डलर) तिरेर कङ्गो नदीबाट करिब १७५० किलोमिटरको यात्रा सुरु गरिन्।
सयौं मानिसका तौलको भारी – जुन क्षमता भन्दा धेरै बढी हो – र बाख्रा, सुँगुर, हाँस र कुखुराका भालेहरूको बथान बोकेका डुङ्गाहरू कहिलेकाहीँ नराम्रोसँग कराउँछन् । जहाजमा लाइफ ज्याकेटहरू विरलै हुन्छन्। नदीको यात्रालाई मार्गदर्शन गर्ने कुनै सङ्केत वा बत्तीहरू छैनन्, त्यसैले डुङ्गाहरू चन्द्रमाको मधुर प्रकाश भएको जलमार्गमा अघि बढ्छन् र कहिलेकाहीं नदीमा पल्टिन्छन्। गत वर्ष मात्रै मुसोन्गे तीन पटक डुङ्गा दुर्घटनामा परेर चिसो पानीमा हुत्तिएकी थिइन्। उनले नदीको कडा धारमा पौडेर ज्यान बचाइन्, लुगा भिजेर भारी भएको छातीले राहतको सास फेर्थ्यो। कतिपयले पानीमा डुबेर ज्यान गुमाउँथे।
यो यात्रामा उनले आफ्नो १० महिनाको छोरा नाथनलाई काखमा च्यापेकी थिइन्।
कङ्गो नदी त्शोपो प्रान्तको १० लाखभन्दा बढी मानिस बसोबास गर्ने बन्दरगाह सहर किसानगानी र पश्चिममा रहेको ठूलो र समृद्ध सहर किन्शासालाई जोड्ने प्रमुख व्यापारिक मार्ग हो। १०० भन्दा बढी ह्वेलबोटहरूले – लगभग १५ देखि ३० मिटर लामो समतल फेद भएका डुङ्गाहरू – चामल, तेल, साबुन, नुन, चिनी, कफी, कपास, मकै, फुफु, माछा र सिमेन्ट ढुवानी गर्छन्। तर प्रत्येक यात्रामा यात्रु र व्यापारीहरू ज्यान गुमाइने पो हो कि भनेर डराइरहेका हुन्छन्।
फ्रान्सस्थित वातावरणीय क्षेत्रमा काम गर्ने गैरनाफामूलक संस्था रोबिन डेस बोइसको रिपोर्टअनुसार सन् २००८ देखि २०१८ सम्म डीआरसीमा भएका यात्रुवाहक डुङ्गा दुर्घटनाहरूमा करिब १४०० मानिसले ज्यान गुमाए। डीआरसीले संसारभरि हुने यस प्रकारको मृत्युको ११% हिस्सा ओगट्छ, र तान्जानिया र बंगलादेशपछि डुङ्गा यात्राका लागि तेस्रो जोखिमपूर्ण राष्ट्र बनेको छ। सोही अवधिमा फ्रान्स, ग्रीस, इटाली, नर्वे र रसियामा भएका दुर्घटनामा जम्मा गरेर दुई सयभन्दा कमको मृत्यु भएको थियो।
“मेरो जीविका मुख्यगरी यही व्यापारले धानेको छ,” डीआरसीमा १५ वर्षदेखि व्यापारी रहेका जोसे मोन्गा भन्छन्। “तर आज मलाई डुङ्गा चढेर नदी यात्रा गर्न डर लाग्छ।”
देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको यस नदीबाट हुने व्यापारलाई प्रभावकारी रूपमा नियमन गरिएको छैन। जलमार्ग अधिकारीहरूले प्रत्येक यात्राअघि काठको डुङ्गाहरू – जसलाई बेलेनियर पनि भनिन्छ – सुरक्षित छन् भनी सुनिश्चित गर्न निरीक्षण गर्छन् । तर धेरै डुङ्गाहरू राम्रोसँग बनेका छैनन् र केही वर्षभित्रै यात्रुहरूले यात्राको समयमा डुङ्गाभित्र छिर्ने पानी हातले फाल्नुपर्ने हुन्छन्, जर्नल अफ डेभलपमेन्ट इकोनोमिक्समा गरिएको एउटा अध्ययनमा उल्लेख गरिएको छ।
प्रान्तीय यातायात मन्त्री जीन पियरे लिटेमा येनी भन्छन्, अधिकारीहरूले डुङ्गाका कप्तानहरूलाई प्रत्येक यात्रुको लागि लाइफ ज्याकेट उपलब्ध गराउन भन्छन्, तर धेरैले ज्याकेटहरू किन्न सक्दैनन्। कतिपयले डुङ्गा भाडामा लिन वा इन्धन, इन्जिन र कार्गो ढाक्न त्रिपालहरू किन्न पहिले नै ऋण लिएका हुन्छन्।
लगभग हरेक बिसौनीमा कप्तानहरूले अधिकारीहरूलाई – कानूनी र गैरकानुनी – शुल्क तिर्नु पर्छ । यसले यात्राको लागतलाई १४% सम्म महँगो बनाउने गर्छ, जर्नल अफ डेभलपमेन्ट इकोनोमिक्समा १०० डुङ्गा चालकहरू सहभागी गराएको एउटा सर्वेक्षण अध्ययनमा उल्लेख गरिएको छ।
४५ वर्षीय पाब्लो बिसोयाम्बीले ह्वेलबोट बिलिन्गो चलाउँछन्। किसानगानी छोड्नुअघि उनले १२ ठाउँमा शुल्क तिर्नुपर्छ जुन १५ हजारदेखि १ लाख १९ हजार फ्रान्क (८ देखि ६० डलर) सम्म पुग्छ, उनी भन्छन्। “यदि हामीले धेरै सङ्ख्यामा ग्राहकहरू हालेनौं भने हामीले यो सबै पैसा कसरी उकास्ने?”
धेरै डुङ्गाहरू रातको समयमा नदी यात्रा गर्छन्, किनभने यो समयमा केही अधिकारीहरू घर जान्छन् र चालकहरूले कम शुल्क तिर्नुपर्छ र धेरै पैसा जोगाउन सकिन्छ, येनी भन्छन्। तर कङ्गोका रूख र बालुवाका किनारहरूले चन्द्रमाको उज्यालोमा डुङ्गा चलाउन गाह्रो बनाउँछ, र केन्द्रीय सरकारले बत्ती राखेको छैन।
दुर्घटनाका सङ्ख्याको बारेमा चिन्ता गर्दै सन् २०१७ मा सरकारले रातको यात्रामा प्रतिबन्ध लगाउने आदेश जारी गर्यो। तर पनि स्थानीय जलमार्ग अधिकारीहरूले यसलाई लागू गर्दैनन्, येनी भन्छन्। यसबारे बुझ्नका लागि राष्ट्रिय यातायात मन्त्रालयका अधिकारीसँग सम्पर्क गर्न सकिएन।
त्यो जनवरीको यात्रामा ३०० भन्दा बढी मानिसले खचाखच भएको सेक्रिड हार्टमा मुसोन्गे र उनको छोरा नाथन पनि चढे। अधिकारीहरूले पछि के पत्ता लगाए भने डुङ्गा प्रस्थान गर्नुअघि अधिकारीहरूले यात्रुहरू जाँच गर्ने म्यानिफेस्ट सूचीमा ६१ जनाको मात्र सूची थियो, स्थानीय अभियन्ता मिकान्डा लिलामा भन्छन्। यसबारे बुझ्न डुङ्गाका क्याप्टेनसँग सम्पर्क गर्न सकिएन। नदी यात्रामा जोखिम हुँदाहुँदै पनि मुसोन्गेसँग यात्रा गर्नुको विकल्प थिएन। राम्रो पैसा कमाइने जागिरहरू पाइँदैन, र मुसोन्गे आफ्नो परिवारको एकमात्र कमाउने व्यक्ति हुन्। उनले हप्तौं लामो यात्रामा सानो बच्चा बोकेर हिंड्नु अनौठो कुरा थिएन; उनले नाथनका दुई दाजुलाई पनि यसरी नै ल्याउने गर्थिन्।
बेलुकी ८ बजेभन्दा ठीक अगाडि उक्त बेलेनियरले किसाङ्गानीबाट यसको अर्को बिसौनी बासोको सहरका लागि – नदीबाट करिब २०० किलोमिटर पश्चिम – यात्रा थाल्यो। यसले राष्ट्रपतिबाट कोरोनाभाइरस महामारीको प्रतिकार्यका लागि घोषणा गरिएको कर्फ्यू उल्लङ्घन गरेको थियो, येनी भन्छन्। डुङ्गा बन्दरगाहबाट धेरै टाढा पुगेकै थिएन, अचानक यो ढलपलिन थाल्यो, सायद क्षमताभन्दा धेरै मानिस भएको कारणले होला। मुसोन्गेले पानीमा छप्ल्याङ गरेको सुनिन्, मद्दतको लागि कराइन्। “म आत्तिएँ र मेरो बच्चालाई छोडिदिएँ,” उनी भन्छिन्। आमा र छोरा पानीमा तलमाथि हुँदै थिए।
येनीले सेक्रिड हार्टलाई रातिको समयमा यात्रा गर्न दिनु स्थानीय अधिकारीहरूको “व्यावसायिक लापरवाही” दोषी रहेको बताउँछन्। केही समयपछि नै अधिकारीहरूले नदी नियमको अवज्ञा गरी डुङ्गा चालकहरूसँग मिलेको आरोपमा आन्तरिक जलमार्गका प्रमुख अधिकारीलाई पक्राउ गरे। उनीसँग कुरा बुझ्नका लागि सम्पर्क गर्न सकिएन र उनको पदको जिम्मेवारी लिएका अधिकारीले यस घटनाको बारेमा छलफल गर्न मानेनन्।
“हामीले यो डरलाग्दो अवस्थाको अन्त्य गर्न जालसाजी, भ्रष्टाचार र व्यक्तिगत स्वार्थहरू विरुद्ध लड्नुपर्छ,” येनी भन्छन्।
केही व्यापारीहरू अहिले ह्वेलबोटमा यात्रा गर्न मान्दैनन् र यसको सट्टा अप्ठेरो सडक मार्गहरू नै रोज्ने गर्छन्। यसको अर्थ तिनीहरूले धेरै पटक यात्रा गर्न सक्दैनन्। येनी भन्छन्, किसानगानीमा तरकारी तेल, साबुन, चिनी र अन्य बस्तुको बजार मूल्य बढेको छ, र कफी र कपास पाउन छोडिएको छ। व्यापारीहरू सेक्रिड हार्टका यात्रुहरूको नियति सम्झेर डराउँछन् – सो दुर्घटनामा २९७ जना जीवित थिए, ९ जनाको मृत्यु भयो र १९ जना बेपत्ता छन्।
दुर्घटनाको भोलिपल्ट मुसोन्गे नदीको किनारमा धुलोमैलो थिइन्, उनको चितुवाप्रिन्ट भएको माथिको लुगा र रङ्गीचङ्गी फरिया सुकिसकेको छ। उनको वरिपरि यात्रुको झोलाहरू यत्रतत्र छरिएको थियो : लुगा, सिमी, कुकीज, सार्डिनका झोलाहरू। कुहिएका जनावरको दुर्गन्ध पानीबाट आइरहेको थियो । मुसोन्गे उठिन् र उभिएर भीडलाई चारैतिर नियालिन् उनको अनुहारमा पीडाले बादल छाएको थियो। “मैले मेरो सानो छोरा नाथन गुमाएको छु” उनले रुँदै भनिन्। उनले आफ्नो बच्चालाई कहिल्यै भेट्टाइनन्।
Zita Amwanga est journaliste à Global Press Journal et vit à Kisangani, en RDC. Elle est spécialisée dans des reportages sur l’environnement.
Note à propos de la traduction
Traduit par Kiampi Kongopi, GPJ.